शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव गौतमको खुलासा : केपी, प्रचण्ड, माधव र झलनाथले 'अबको प्रधानमन्त्री तपाईं' भनेकै हुन्

‘भैँसेपाटी बैठकबारे औँलो ठड्याउने काम निकृष्ठ किसिमको मान्छेले मात्रै गर्छ’
सोमबार, २८ पुस २०७६, १३ : ३५
सोमबार, २८ पुस २०७६

काठमाडौँ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधनको पहल जारी राख्ने बताएका छन् । उनले यो प्रस्ताव पार्टीको सचिवालय बैठकबाट पास हुने ठोकुवासमेत गरेका छन् । यही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपाका बहुमत सचिवालय सदस्यहरूको नेता गौतमको निवास भैैँसेपाटीमा छलफल नै भयो । तर यो जमघट विवादरहित भने हुन सकेन । उक्त जमघटलाई कतिपय नेकपाकै नेता कार्यकर्ताहरुले गुटगत भेलाको संज्ञासमेत दिए । तर गौतम स्वयं भने उक्त भेटघाट र नेताहरुबीच छलफल हुनु स्वाभाविक भएको बताउँछन् ।

‘पार्टीका यति माथिल्लो तहका शीर्षस्थ नेताहरु बसेर गरेको छलफल र मिटिङप्रति औँलो ठड्याउने काम जसले गर्छ । यो निकृष्ट किसिमको मान्छेले मात्रै गर्छ’ नेता गौतमको भनाइ छ ।

सभामुखको टुङ्गो लगाउन नसकेर संसद बैठक स्थगित भइरहेका बेला भैँसेपाटी भेला किन राखियो ? त्यसले के निर्णय गर्‍यो ? र त्यो निर्णय लागू हुने सम्भावना कति छ भनेर नेता वामदेव गौतमसँग रातोपाटीले जिज्ञासा राखेको छ । प्रस्तुत छ, नेता गौतम रातोपाटीका लागि फणिन्द्र नेपालले गरेको कुराकानी :

नेकपामा सभामुखको लफडा चलिरहेका बेला गत बुधबार तपाईंको निवास भैँसेपाटीमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्यहरूको जमघटको खुबै चर्चा भयो । यो विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘बाहिर भेला गर्नेले सभामुखको निर्णय आफै गरून्’ भन्नुभएछ । के वास्तविकता त्यही हो ?

त्यो मिटिङको विषयमा कुनै प्रसङ्ग नै उठेको छैन । हामी पार्टीका प्रमुख नेताहरू जो त्यहाँ जम्मा भएका मर्यादाक्रमले एउटा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाहेक सबै छौँ ।  प्रधानमन्त्री केपी ओलीसँग भेट हुन सक्ने अवस्था भएन । दुईवटा विषयमा छलफल गर्नुपर्ने थियो । त्यसमा पहिला हामी छलफल गरौँ भनेर त्यो दिन हामी छलफलमा बसेका थियौँ । तर त्यसलाई अनेक अर्थ लगाएर बाहिर विभिन्न प्रचार गरियो । त्यसमा कुनै सत्यता छैन । 


पार्टीका यति माथिल्लो तहका शीर्षस्थ नेताहरू बसेर गरेको छलफल र मिटिङप्रति आँैलो ठड्याउने काम जसले गर्छ, यो निकृष्ठ किसिमको मान्छेले मात्रै गर्छ । नत्र अरूले गर्नै सक्दैन ।


केके विषयमा छलफल गर्नुभयो त भैँसेपाटी मिटिङमा ?

दुईवटा विषय थिए । एउटा संविधान संशोधन गरेर राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यबीचको विभेद अन्त्य गर्ने । अर्को सभामुखको निर्वाचन गर्ने । यिनै दुईवटा विषयमा हामीले छलफल गर्‍यौँ र अबको पार्टी बैठकमा दुवै विषय निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर हामी निस्क्यौँ । तर यो त्यत्रो विषय बनाउनुपर्ने आवश्यकता नै होइन ।

तर पार्टीमा त आलोचना भयो नि ?

पार्टीका यति माथिल्लो तहका शीर्षस्थ नेताहरू बसेर गरेको छलफल र मिटिङप्रति आँैलो ठड्याउने काम जसले गर्छ, यो निकृष्ठ किसिमको मान्छेले मात्रै गर्छ । नत्र अरूले गर्नै सक्दैन ।

त्यो जमघट जायज हो भन्ने तपाईंको दाबी हो ?

किन होइन ? नेपालको संविधान बमोजिम पनि हामी भेला हुन सक्छौँ । नेकपाको विधान बमोजिम पनि हामी भेला हुन सक्छौँ र हामी अन्तर्राष्ट्रिय स्तरमा उठिसकेका व्यक्तिहरू संसारको सम्बन्धमा भेला हुन, कुराकानी र छलफल गर्न सक्छाँै । यो कुनै ठूलो कुरा पनि होइन । त्यो छलफलपछि पनि हामी पार्टी बैठकको छलफलमा गएर आआफ्ना कुरा राख्यौँ ।

तपाईंले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधन गरौँ भन्दै आउनुभएको थियो । यद्यपि सचिवालय बैठकले त्यसलाई अस्वीकार गर्‍यो । भैँसेपाटी छलफलमा चाहिँ त्यसबारे केके कुरा गर्नुभयो ?

वामदेव गौतमलाई सचिवालय बैठकले अस्वीकार गर्‍यो भन्ने भ्रम हाम्रा कामरेडहरूलाई परेछ । कुरा त्यस्तो होइन । सचिवालयमा त्यस्तो भएको पनि होइन । त्यसकारण त्यो प्रस्ताव जीवितै छ । हामी त्यो प्रस्ताव सचिवालयबाट पास गर्छौं ।

फेरि मेरो माग पनि होइन त्यो । जब मलाई राष्ट्रिय सभाको सदस्य बन्नुपर्‍यो भनेर भन्नुभयो ‘म राष्ट्रिय सभा सदस्य बन्दैन’ भनेँ ।


उहाँहरूले हाम्रो पार्टीमा केपी पनि प्रधानमन्त्री बन्नुभयो । दोस्रो मर्यादाको प्रचण्ड पनि बन्नुभयो । तेस्रो मर्यादाको झलनाथजी पनि प्रधानमन्त्री बन्नुभयो । चौथो मर्यादाको माधव नेपाल पनि प्रधानमन्त्री हुनुभयो । त्यसो हो भने प्रधानमन्त्रीको पालो यदि नयाँ कसैलाई लैजाने हो भने प्रधानमन्त्रीको पालो वामदेवको हो भनेर चारैजना कमरेडहरूले भन्नुभएको छ ।


किन नबन्ने त तपाईं राष्ट्रिय सभा सदस्य ?

राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यमा विभेद छ । मैले बैठकमा पनि यही भनेको हो ।

कस्तो विभेद छ ?

प्रतिनिधिसभा ‘क’ श्रेणीको र राष्ट्रिय सभा ‘ख’ श्रेणीको जस्तो छ । यस्तो विभेद भएकाले म त्यस्तो सदनमा जान्न भनेको हुँ । जुन दिन यी दुईवटा सदनबीचको मूल विभेद अन्त्य हुन्छ, त्यसपछि खुसीका साथ म जानेछु भनेर वर्तमान प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले भन्दाखेरी मैले दिएको जवाफ हो यो । यो जवाफलाई कतिपय व्यक्तिले के भने ? कतिपयले के भने अनि अहिले साच्चै विषय बनेर आएको छ । त्यसमा फेरि त्यो विषय मलाई नै भनेर पनि उठाएको होइन ।

प्रतिनिधि सभामा सक्षम मानिस नदेखेर या पछि पनि नआउने देखेर तपाईंले यो प्रस्ताव अघि सार्नुभएको हो वा यसमा अरू के छ रहस्य ?

होइन, होइन । मान्छे नै नभएर होइन । संसदमा मेरो आवश्यकता छ भनेर नै प्रधानमन्त्रीले भन्नुभएको हो– तपाईं राष्ट्रिय सभामा जानुस् भनेर । उहाँले त्यसो भनेपछि ‘मेरो आवश्यकता छ भने प्रतिनिधि सभा र राष्ट्रिय सभाको विभेद अन्त्य गर्नुस्’ मैले भनेको यति हो ।

प्रधानमन्त्री हुन लायक मान्छे छैनन्, संसद चलाउन सक्ने मान्छे छैनन भनेर त्यो हिसाबमा मैले यो कुरा गरेको होइन ।

‘तपाईंलाई प्रधानमन्त्री बनाउँछौँ’ भनेर नेताहरूले भनेका छन् पनि भन्नुभएको थियो । के नेताहरूले तपाईंलाई प्रधानमन्त्री बनाउँछौँ भनेर वचन दिनुभएको थियो त ?

हो, एक पटक होइन अनेक पटक भन्नुभएको थियो । उहाँहरूले हाम्रो पार्टीमा केपी पनि प्रधानमन्त्री बन्नुभयो । दोस्रो मर्यादाको प्रचण्ड पनि बन्नुभयो । तेस्रो मर्यादाको झलनाथजी पनि प्रधानमन्त्री बन्नुभयो । चौथो मर्यादाको माधव नेपाल पनि प्रधानमन्त्री हुनुभयो । त्यसो हो भने प्रधानमन्त्रीको पालो यदि नयाँ कसैलाई लैजाने हो भने प्रधानमन्त्रीको पालो वामदेवको हो भनेर चारैजना कमरेडहरूले भन्नुभएको छ ।


म राष्ट्रियसभामा जान्छु भनेर मैले कहिल्यै पनि माग गरिनँ । यो प्रस्ताव प्रधानमन्त्रीजीले ल्याउनुभएको हो मलाई । मैले त्यो प्रस्ताव मानिनँ । मैले नजाने भनेपछि किन जानुहुन्न भन्दा मैले भनेँ, ‘विभेद छ म जान्न भनेँ’ । विभेद भएको ठाउँमा म कहीँ पनि जान्न ।


त्यसो भए अहिले चाहिँ चारैजना नेताहरूले बोली फेर्नुभएको हो ?

अह.. अह.. बोली फेर्नुभएको छैन । कसैले पनि बोली फेर्नुभएको छैन ।

त्यसोभए अझै पनि संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने बाटो खुल्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

हैन, हैन, तपार्इंले यो कुरा बटार्ने काम नगर्नुुुस् । म राष्ट्रियसभामा जान्छु भनेर मैले कहिल्यै पनि माग गरिनँ । यो प्रस्ताव प्रधानमन्त्रीजीले ल्याउनुभएको हो मलाई । मैले त्यो प्रस्ताव मानिनँ । मैले नजाने भनेपछि किन जानुहुन्न भन्दा मैले भनेँ, ‘विभेद छ म जान्न भनेँ’ । विभेद भएको ठाउँमा म कहीँ पनि जान्न । कुनै पनि ठाउँमा जान्न । विभेदकै विरुद्ध लडेर आएको मान्छे त्यो विभेद भएको ठाउँमा जान्छु ? भनेर मैले भनेँ । र, मैले सोँचे भित्र कि यो विभेद अन्त्य गर्न जरुरी छ । त्यसो भएकाले मैले यो कुरा उठाएको हुँ त्यहाँ । संविधान संशोधन गरेर विभेद अन्त्य गर्नुस् त्यसपछि बल्ल प्रस्ताव राख्नुस् । जाने नजाने अनि निर्णय गरौँला भनेर मैले सचिवालयमा भनेको हो ।

पार्टीले सभामुखको टुङ्गो लगाउन नसकेर अन्योल जस्तो देखिन्छ । यसबारेमा चाहिँ के छलफल भएको हो ?

अब अन्योल रहँदैन । एक हप्ताभित्रमा हामी सबै कुरा सक्छौँ, सकिदिन्छौँ ।

कसरी सक्नुहुन्छ, एक महिनामा हुन नसकेको सहमति अब गर्नु सक्नुहोला र ?

कसरी भन्ने कुरै छैन । हामी हाम्रो पार्टीभित्र सहमति गर्छौं । सहमति गरिसकेपछि सबैले मान्ने हुन्छ । शिवमायाले पनि मान्नुहुन्छ । सबैले मान्नुहुन्छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्नुहुन्छ भन्ने के आधार छ ? उहाँले त आफूलाई महाअभियोग लगाएर हटाउनुुस् भनेर चुनौती दिइसक्नुभएको छ नि ?

के गर्नुहुन्छ भन्ने कुरा छोड्दिनुस् न । शिवमायाबाट अब अवरोध हुँदैहुँदैन ।

त्यसो भए अब सभामुख कसलाई बनाउँदै हुनुहुन्छ त ? तपाईं त प्रस्ट वक्ता पनि हो, यति कुरा आज भन्दिनुस् त ?

तपाईं मलाई प्रस्ट वक्तसक्ता भनेर नउक्साउनुस् । यति कुरा बुझ्नुस्, हाम्रो पार्टीभित्रबाट प्रतिनिधि सभामा रहनुभएका मध्ये एक जना योग्य सदस्यलाई हामी सभामुख बनाउँछौँ । यो पक्कापक्की छ । यसमा कुनै धरमर छैन र भ्रम पनि नपाल्नुहोला ।

भनेपछि माघ ६ गतेको बैठक फेरि सूचना टाँसेर स्थगित हुँदैन ?

त्यस दिनको बैठक स्थगित हुँदैन । त्यसै दिनबाट सभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।

सभामुख प्रकरणमा नेताहरूबीच यो र ऊ भनेर दोहोरीजस्तै चलेको देखिन्छ, यो कतिको ठीक छ ?

दोहोरी नै चलेको छैन । कहाँ चलेको छ दोहोरी ? भिडियो देखाउनुस् त ?

तपाईंले सञ्चारमाध्यम हेर्नु र पढ्नु भएको छैन ?

छ, मैले दोहोरी देखेको छैन ।

एक महिनासम्म संसद बैठक बस्न नसकेर स्थगित हुँदै आएको छ । सभामुखको टुङ्गो नलाग्दा संसद नै बन्धक भयो भनेर भन्न थालिएको छ । के यसलाई बेवास्ता गर्न मिल्छ र ?

त्यो किन भएको छ ? तपाईंलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन । र, अरू कसैलाई पनि थाहा छैन । संसद बैठक जसले सार्ने काम गरेको छ उसैलाई थाहा छ ।

धमाधम कानुन बनाउनुपर्ने बेलामा यसरी संसद नै बस्न नसक्दा कस्तो सन्देश गएको होला ?

यसले देशलाई घाटा हुन्छ । यो अब गर्नुहुन्न । म निर्णय गर्ने ठाउँमा हुन्थेँ भने मेलै जुन दिन अब सभामुख चाहियो भन्ने स्थिति आउँथ्यो कि सभामुख नभएको अवस्थामा संसदको बैठक नै बस्नपर्ने थिएन । सभामुख भएपछि मात्रै बैठक बसाइदिन्थेँ ।

सरकारका कामकारबाहीबाट तपाईं कति सन्तुष्ट हुनुहुन्छ ?

सरकारले जति काम गर्नुपर्ने हो त्यति भएको छैन । कार्यशैलीबाट सन्तुष्ट बन्ने ठाउँ छैन । पार्टीका नेताहरूको, प्रधानमन्त्रीको र मन्त्रीहरूको कार्यशैलीका कारणले जति हुनुपर्ने हो त्यति भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप