मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तक्माले तनाव : एआईजीमा सिफारिस भएकी सिंहविरुद्ध अख्तियारमा उजुरी (पूर्णपाठसहित)

कसुर प्रमाणित भए २ वर्ष जेल
सोमबार, २८ पुस २०७६, १२ : ०५
सोमबार, २८ पुस २०७६

प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी डा. आशा सिंह विवादमा तानिएकी छन् । आफूले नगरेको काम गरेको भन्दै पदीय दुरुपयोगको आरोपमा सिंहविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

एआईजीमा सिफारिस भएकी डा. सिंहविरुद्ध पुस २७ गते अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको हो । १४ पुसमा गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालको प्राविधिकतर्फको एआईजीमा सिंहलाई बढुवा सिफारिस गरेको थियो ।

डिएसपीदेखि डिआईजीसम्म बढुवाको बरियताक्रममा १ नम्बरमा रहेका डा. मीनराज पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिएको थियो  । सिंहलाई बढुवा सिफारिश गर्ने निर्णयविरुद्ध पाठक असन्तुष्ट बनेका थिए  । यसैक्रममा सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभएपनि यूएनको तक्मा लगाएको भेटिएपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको छ  ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नै नभई सहभागी प्रहरी अधिकारीले लगाउने लोगो लगाएको, नेपाल सरकारले प्रदान गर्ने पदक नपाइ पदकसमेत लगाएर दुरुपयोग गरेको भन्दै छानबिनका लागि अख्तियारमा सिंहविरुद्ध उजुरी परेको अख्तियार स्रोतले बताएको छ ।

‘आफूले नगरेको काम गरेको भन्दै पदीय दुरुपयोग गर्नु गम्भीर फौजदारी कसुर हो,’ डाक्टर सिंहविरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ । प्रहरी प्रवक्ता शैलेश क्षेत्री थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए  ।

सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ  । डिआईजी हुँदा सिंहले पदक लगाएको फोटो राखेकी छिन् भने एसएसपी हुँदा पदक लगाएको देखिँदैन । सिंहले युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने तक्मा लगाएकी छन् ।

तर, प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएकी छैनन् । सार्वजनिक पदमा बसेर सरकारी तथा अन्तर्राष्ट्रिय चिन्हको दुरुपयोग गरेको हुँदा डाक्टर सिंहलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

अख्तियारमा परेको उजुरीमा डा. सिंहले संलग्न नै नभएको अन्तर्राष्ट्रिय मिसनबाट प्राप्त हुने रिवन प्रयोग गरेको फोटो र सिंहले पाउँदै नपाएको तक्मा (रिवन) प्रयोग गरेको अवस्थामा खिचिएको भिडियो समेत पेश गरिएको छ ।

४ पुसमा प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. दुर्गा थापाले ३० वर्षे सेवा हदका कारण अवकाश पाएपछि एआईजी पद रिक्त थियो ।

थापाको अवकाशपछि वरिष्ठताका आधारमा अस्पतालका प्रहरी नायव महानिरीक्षक (डिआईजी) डा. मिनराज पाठकले प्रहरी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए । पाठक र सिंह दुबै २०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

हेर्नुहोस्, डाक्टर आशा सिंहविरुद्ध अख्तियारमा परेको उजुरीको पूर्णपाठ ।

कसुर प्रमाणित भए २ वर्ष जेल

मुलुकी फौजदारी संहिताअनुसार अपराध गरेको पुष्टि भए १ वर्षदेखि २ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ मा कुनै राष्ट्र सेवकले वा अन्य कुनै व्यक्तिले आफूले नपाएको ओहदाको अधिकार, हैसियत वा सुविधा पाए भनी वा कुनै राष्ट्र सेवकको ओहदा, अधिकार हैसियत वा सुविधा प्रयोग गरेमा वा नपाएको ओहदा सम्बन्धी चिन्ह पोसाक निस्सा जस्तो देखिने कुनै कुरा लगाएमा वा देखाएमा निजलाई कसुरको मात्राअनुसार १ वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुुने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप