बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षहरुले लगाएको ताला नगरप्रमुखले प्रहरी लगाएर तोडाए

आइतबार, २७ पुस २०७६, २३ : ०३
आइतबार, २७ पुस २०७६

जनकपुर । धनुषाको एक स्थानीय तहमा नगर प्रमुखले एकलौटी गरेको भन्दै जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् ।
आइतबार धनुषाको नगराइन नगरपालिकामा नेकपा निकटका वडाध्यक्ष तथा सदस्यहरुले तालाबन्दी गरेका हुन् ।

नगर प्रमुख परमेश्वर यादवले सो पदमा निर्वाचित भएदेखि नै मनपरी ढंगले विभिन्न निर्णय गर्दै आएकाले तालाबन्दी गर्नुपरेको वडाध्यक्षहरुको भनाइ छ । 
वडाध्यक्षहरुले आर्थिक बर्ष २०७६÷०७७ को तेश्रो नगरसभाबाट पारित भएको वडास्तरीय योजनालाई कार्यपालिका बैठकको बहुमतबाट संशोधनको निर्णय गर्न नपाउने तथा २०७६÷०७७ को चौथो नगरसभाबाट अनुमोदन गराउन नपाउने साथै नगरसभाबाट पारित भएको वडास्तरीय योजनालाई कार्यान्वयन गर्नबाट रोक्न नपाउने, वडा भित्र पर्ने जुनसुकै योजना वडा समितिद्वारा उपभोक्ता समिति गठन भई सञ्चालन गराई कार्य सम्पन्न प्रतिवेदन वडाबाट हुनुपर्ने, वडा भित्र पर्ने योजनालाई नगरपालिकाबाट उपभोक्ता समिति गठन गरि सञ्चालन गर्न नपाउने तथा सम्पन्न प्रतिवेदनद्वारा भुक्तानी गर्न नपाउने,प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई परिवर्तन गरि मेयर स्वरोजगार कार्यक्रम नामाकरण गरि काम गर्न नपाउने लगायतका १८ बुँदे मागहरु अघि सारेका छन् ।

वडा नम्बर १ का वडा सदस्य किशारी महतोले  नगरप्रमुख यादवले आर्थिक बर्ष २०७४÷०७५ को खानेपानी ह्याण्डपाइपको बजेटलाई ०७५÷०७६ मा खर्च गर्न नमिल्ने भएपनि उक्त रकम मनोमानी ढंगले खर्च गरि सम्बन्धित वडालाई कुनै जानकारी नदिइ भ्रष्टाचार गरेको समेत आरोप लगाए । 
नगरप्रमुख यादवले आफूहरुलाई सोधखोज नै नगरी आइतबार चौथो नगरसभा गर्न लागेको जानकारी पाएपछि आफूहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडा नम्बर ४ का वडाअध्यक्ष अमिरीलाल राउतले बताए । नगरप्रमुख यादवले विगत ६ महिनादेखि वृद्धाभत्ता समेत नबाँडेको वडा नम्बर ८ का वडा सदस्य बिक्कु मुखियाले आरोप लगाए ।
यता नगरप्रमुख यादवले प्रहरी लगाएर ताला फोडाएका छन् । 

नगराईन नगरपालिकामा नगरप्रमुख परमेश्वर यादव, उपमेयर रञ्जु कुमारी साह र ५ जना वडाअध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् भने ४ जना वडाअध्यक्षहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट जितेका छन् । यस तालबन्दीमा राजपा नेपालको समेत समर्थन रहेको छ ।
यसैबीच तालाबन्दी गरेका वडाध्यक्षहरुले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप