केन्द्रीय संस्करण
राष्ट्रियता

गाउँ गाउँमा देशभक्तिको उर्जासन्चार

शासकको बुद्धि नपुगेरै खुम्च्यो नेपाल । पूर्वमेची र पश्चिम महाकालीमा खुम्च्यो नेपाल । अहिले त्यही महाकालीको लिपुलेक र लिम्पियाधुरा पनि लुट्न आए ।

person explore access_timeपुस २६, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको थियो ।

‘ए हो हो पहिला आरती !’ भट्ट्याउने गुरु कराए, ‘हाम्रा वीर पुर्खालाई पहिला आरती !’

सोरमा सोर मिलाउँदै साथ दिनेहरु कराए,  ‘ए हो हो हाम्रा वीर पुर्खालाई पहिला अरती । ए हो हो !’ खैँचडी बजाएर बुरुक्क नाचे साथ दिनेहरु ।

गुरु पुनः भट्ट्याउन थाले.....‘कुनै दिन हाम्रो नेपाल कस्मीरदेखि व्रह्मपुत्रसम्म थियो । वेदपुराणले हाम्रो महिमा गाउँथे । संसारमा अन्यत्र नभएको जरीबुटी हाम्रो मुलुकमा थियो । ऋषिमुनिहरु हाम्रै हिमालमा बसेर तपस्या गर्थे । अठार पुराण रच्ने व्यास हाम्रै बाजुरामा जन्मेका थिए । रामायण महाकाव्य बनाउने संस्कृत भाषाका आदिकवि वाल्मीकी हाम्रै गैंँडाकोटमा बस्थे । यजुर्वेद संहिता बनाउने ऋषि याज्ञवल्क्य हाम्रै जनकपुरमा बस्नुहुन्थ्यो । अमरकोषकार अमरसिँह शाक्य हाम्रै देशका गौरव हुनुहुन्थ्यो । हाम्रै हिमालको काखमा बसेर ऋषिहरुले वेद बनाए । महादेव शिव र पार्वती काशीबाट मानस सरोवरतिरको यात्रामा रहँदा हाम्रै आदि कैलास लिम्पियाधरुामा विश्राम गर्नुहुन्थ्यो ।

’एः कुलायन‘, ’एः शिव शिव !‘ ’हामी नेपाली !‘

 ए हो हो हामी नेपाली ! ए हो हो,

(बीचमा गुरु)

 उहिल्यैदेखि गौरवशाली हामी नेपाली !

साथ दिनेहरु खैंचडी बजाएर बुरुक्क नाच्दै ’ए हो हो उहिल्यैदेखि गौरबशाली हामी नेपाली !‘

गुरु—(भट्ट्याउनेक्रममा) हाम्रो नेपालमाथि पटक पटक शत्रु लागे । सात समुद्रपारीका पनि लागे । जनता बहादूर थिए । त्यति बेलाका शासक नामका भीमसेन थिए । कामका भमिसेन थिएनन् । शासकको बुद्धि नपुगेरै खुम्च्यो नेपाल । पूर्वमेची र  पश्चिम महाकालीमा खुम्च्यो नेपाल । अहिले त्यही महाकालीको लिपुलेक र लिम्पियाधुरा पनि लुट्न आए ।

 एः कुलायन,

एः शिव शिव,

एः लुट्न आएछ !

ए हो हो लुट्न आएछ । एः हो हो...

विस्तारवादी भारत अहिले अुट्न आएछ !

एः कुलायन, एः शिव शिव,

हामी नेपालीले छिमेकी मुलुक भारतलाई खेत बारी बन जंगल घर गोठ  कारखानादेखि लिएर कठिन कठिन युद्धक्षेत्रमा पनि सघाएकाछौं । सघाउँदै आएकाछौं । आज पनि गोर्खा सैनिकका रुपमा भारतका सीमा रक्षामा हामी नै खटेकाछौं । त्यही भारत हाम्रो सुस्तादेखि लिम्पियाधरासम्मको जमीन मिच्दै छ । कब्जा गर्दै छ । यो त अति भयो । हैन र ?

हो ! (समवेत आवाज)

अतिलाई कति सहने ? अव हामी नसहौं !

एः कुलायन,

एः शिव, शिव ।

उठौं चिच्याउँदै...

ए हो हो उठौं चिच्याउँदै , ए..हो हो..

आफ्नो जमनि खोस्न दुश्मनलाई ठोक्न उठौं चिच्याउँदै ! एः हो हो...

भजन जम्दै थियो । हतारका कारण म त्यताबाट हिँडेँ । घर पुग्न अझै बाँकी थियो । बाटोमा पर्ने एउटा घरमा गीत घन्केको सुनेर पसेँ ।

घरको आँगनमा गाउँका युवायुवति टन्नै जुटेका थिए । आँगन बीचमा एक दर्जन युवा युवति समवेत स्वरमा गीत गाउँदै थिए । कति नाचिरहेका थिए ।

हाम्रो लेक लिपु लेक लिम्पियाधुरा

आज हामी कोट्याउँदैछौं आफ्ना खाँटी कुरा ।

कुटीयाङ्दी हाम्रै नदी हाम्रै कालापानी

हाम्रो बाटो हाम्रै माटो हाम्रै जिन्दगानी ।

त्यो ठाउँको सेरोफेरो हाम्रै बस्ती गाउँ

हाम्रै जाति हाम्रै भाषा हाम्रै पुर्खे नाउँ !

 

लुट्यो लुट्यो भारतले ल्ट्यो, ल्ट्या,े लुट्यो ।

हाम्रो भूमि हड्पनलाई आज भारत जुट्यो ।

उठौं उठौं हत्केलामा ज्यान लिई उठौं

हामी पनि वारपारको संघर्षमा जुटौं ।

 

अत्याचार सह्यो भने अत्याचार बढ्छ

यो चालाले दिनोदिन हाम्रो मुटू डढ्छ ।

 

हामी तीन करोड छौं तीनै करोड उठौं

मातृभूमि मुक्त गर्न तीनै करोड उठौं ।

हामी सवै जागेपछि माटो पनि जाग्छ ।

हामी सवै उठेपछि हिमाल अभैm उठ्छ ।

 

हाम्रो लेक लिपुलेक लिम्पियाधुरा

हाम्रै शिव अदि कैलास हाम्रै  टाकुरा

हाम्रो पानी कालापानी हाम्रै खेतबारी

भारतको सीमाना त कुटीयाङ्दी पारी

 

लेकपाखा हाम्रै गाउँ हाम्रै जातगोत

भारतले लुटेपछि खपिसक्नु भो त ?

आज पनि भारतनिम्ति हामी मरिराछौं

लडाइँका मोहरीमा हामी परिराछौं ।

त्यही भारतले हाम्रो भूमि दिनोदिन लुट्छ

सीमा जोगाउन खोज्दा एसवीआइले कुट्छ ।

 

खपिसक्नु भएन है अव सहँदैनौं

अव सहँदैनौं हामी अव सहँदैनौं ।

हामी तीन करोड छौं देशका सिपाही

छाड्दैनौं आफ्नो जमीन आपैmले नपाई ।

 

हाम्रो लेक लिपुलेक लिम्पियाधुरा

विश्वलाई सुनाउँछौं हामी यो कुरा ।

कस्सिएर गुहार लाउँछौं लुटेरा भगाउन

आफू जाग्छौं संसारभरका आफ्नालाई जगाउन ।

 गीत सुनेर र गाउँका युवाहरुका जोस देखेर देश र जनताको भविष्यप्रति ढुक्क हुँदै घरतिर अगाडि बढेँ । हाम्रो घरैनिर काकाको घरबाट पनि कसैको सुरिलो लय अक्कास्सिँदै थियो ।

ए च्याङ्वा, ठट्टैमा यो माटो जान लाग्यो ...

जाँदन रगत् खेर पर्ख लड्न आउँला ।

 

बहादूर पुर्खा हाम्रो तिनकै सन्तान हामी

मुटूभरी साहस खेल्छ पर्ख भिड्न आउँला !

 

ए च्याङ्वा.......

 

दुश्मनलाई लखेटेर जमनि खोसिल्यूँला

हामी हाम्रो जमीन हाम्रै सन्ततिलाई द्यूँला

 

ए च्याङ्वा....।

गीत सुन्दै घर पसेँ । खाना खाएँ । राति ननिदाउँदासम्म मेरा कानमा लिम्पियाधुरा आवाजका ती  गीत बजिरहेका थिए ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...