शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी गरौँ न कृषि क्रान्ति

कृषि उत्पादन र बजार व्यवस्थापनमा पैँचो पसल
शनिबार, २६ पुस २०७६, १० : ४५
शनिबार, २६ पुस २०७६

स्वामी नजाऊ छाडी विदेश

स्वामी नजाऊ छाडी विदेश

यस्तो राम्रो रमाइलो देश

छाडी जाँदिनँ म त विदेश....

-शरण कर्माचार्य

मास्टर रत्नदास प्रकाशले विदेश नजान आह्वान गर्दै रेडियो नेपालबाट गीत गुन्जाएको दशकौँ बितिसकेको छ । कस्तूरीले आफ्नै नाभीको बास्ना नचिनेझैँ प्रकृतिले अनुपम उपहार दिएर पनि हामी नेपालीमा विदेश प्रेम भने कहिल्यै घटेन । नेपाली युवाले लाहुर जान थालेको सदियौँ अघिदेखि नै हो । बेलायती गोर्खा सैनिकका रूपमा बर्मा, मलायादेखि फकल्यान्डसम्म त्यस्ता  लाहुरेहरुले युद्ध लडेका थिए भने अहिले पनि नेपाली युवा भारतीय गोर्खा सैनिक बनेर काश्मीर लगायतका स्थानमा मर्ने मार्ने खेलामै छन् । पछिल्लो समय त नेपाली युवा विदेशिने क्रम झनै बढेको छ । मलेसियादेखि अरब मुलुकहरुको प्रचण्ड गर्मीमा पसिना बगाउनु मात्र हैन, काठको बाकसमा लास मात्र फर्किनु पनि कतिपय नेपाली युवाको नियति बन्ने गरेको छ । तर, ती सबै कार्यहरू हामी सायद चुपचाप हेरिरहेका छौँ ।

राष्ट्र जब रेमिटेन्सबाट चल्न थाल्छ, मुलुक जब विदेशी सामान आयात गर्दा उठेको भन्सार र राजस्वमा गर्व गर्छ र देश जब दालभातमै परनिर्भर बन्न थाल्छ त्यतिबेला भन्नुपर्छ, देश असफल भयो । वर्षौंदेखि विदेशी वेश्यालयहरूमा नेपाली चेलीको चित्कार सुन्दै र त्यसको अन्त्यका लागि आवाज उठाउँदै आएका हामी नेपाली ती चेलीका चित्कार त रोक्न सकेनौँ नै दिनप्रति दिन युवाहरूलाई विदेशी भूमिमा बेच्दै भित्रिएको धनराशीमा रमाउन थालेका छौँ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन भित्रिने नेपाली युवाहरूको शवले न त नेपाली राजनीतिलाई पोलेको छ न हामी कसैलाई । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २४ महिला र ७८७ पुरुष गरी ८ सय ११ जनाको तथा आर्थिक वर्ष ०७३÷७४ मा १८ महिला र ७३८ पुरुष गरी ७५६ जनाको मृत्यु भएको थियो । ०७४÷७५ मा पनि वैदेशिक रोजगारीमा गएका १५ महिला र ५९३ पुरुष गरी ६०८ जना नेपालीले ज्यान गुमाएका थिए ।

आज पनि हरेक दिन हजारौँको सङ्ख्यामा युवाहरू विदेश पलायन हुँदैछन् र राज्य फ्री भिसादेखि वैदेशिक रोजगारीमा अफर लगाउँदै युवाहरूलाई विदेश पठाउन उत्प्रेरित गरिरेको छ ।

सम्भवतः एउटै मुलुक जहाँ तराई, पहाड र हिमाल उपलब्ध छ, त्यो मुलुक भनेको नेपाल हो । एकाध घण्टाको दूरी पार गर्दा मधेसबाट पहाड र पहाडबाट हिमाल पुग्न सकिने नेपाल जस्तो देश किन परनिर्भर बन्दै छ ? सबैको चासो हुनुपर्ने हो तर बिडम्बना मुलुकको अवस्थाप्रति कोहीँ कतै चिन्ता गरेको देख्न नपाइने देश पनि हो नेपाल ।

तर मुलुकले स्पष्ट राष्ट्र उन्नति र आर्थिक प्रगतिको पथ अवलम्बन गर्न सकेन भने युवाहरूले आफ्नै जन्मभूमिलाई धिक्कार्दै विदेशी भक्ति प्रकट गर्नेछन्, त्यतिबेला मुलुक कुन दिशामा जाने छ त्यो सजिलै अनुमान गर्न सकिन्छ ।

मुलुकको यस्तै अवस्था र युवाहरूको पलायन भएको परिदृश्यको पेरिफेरिबाट गुल्मी जिल्लाको एउटा गाउँबाट पैँचो नामको संस्था जन्माएका छन् । गरे के हुँदैन भन्ने भावनालाई सार्थकता दिन केही युवाहरूले जन्माएको पैँचोका पछिल्ला गतिविधिहरूले आशाका किरण देखाएको छ ।

नेपाललाई नारामा कृषिप्रधान देश भनिए पनि उपयुक्त कृषि नीति बन्न नसक्दा वर्षभरि मिहिनेत गर्ने किसानहरूले प्रतिफल पाउन सकेका छैनन् । किसानहरूको उत्पादन त्यसै सडेर गइरहेको छ भने किसानसँग भण्डारण हुँदासम्म मूल्य नपाउने र भण्डार रित्तिएपछि अरू कसैले मूल्य निर्धारण गर्ने परिपाटी रहिआएको छ । ग्रामीण भेगमा कृषि पेसा अपनाइरहेका किसानहरूलाई उपयुक्त मल, बीउ तथा कृषि सामग्री उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरित गर्ने र उनीहरूको उत्पादनलाई उचित मूल्य दिई बजारीकरण गर्न मात्र सक्ने हो भने युवाको विदेश पलायन धेरै हदसम्म रोक्न सकिन्छ ।

पछिल्लो समय गुल्मी जिल्लाबाट सुरु भएको पैँचो अभियानले मुलुकमा एउटा आशा देखाएको मात्र छैन, जिल्लामा विदेशिएका युवाहरूलाई रोक्न पनि सफल भएको छ । बेरोजगारीका कारण हरेक वर्ष हजारौँको सङ्ख्यामा विदेशिरहेका युवालाई स्वरोजगार प्रदान गर्दै विदेशिन बाध्यताबाट रोक्न पँैचो पसल थोरै मात्र भए पनि सफल देखिएको छ ।

केही वर्ष पहिलेसम्म गुल्मी छत्रकोटका युवा रामकृष्ण कँडेल पनि विदेशतिर हाम्फाल्ने पो हो कि भन्ने सोच्थेँ । उनको खेत भिरालो थियो सिंचाइ थिएन, बारीमा उब्जेको तरकारीको पनि बजार थिएन । तर विगत २ वर्ष यता उनको विदेश जाने इच्छा पूर्णरूपले मरेर गएको छ । वर्षमा ८ देखि १० लाख आफ्नो भिरालै जग्गामा उत्पादन भएको तरकारी र फलफूलले बचत गराउन सफल भएपछि उनीमा नयाँ जाँगर पलाएको हो । “अरब र मलेसियाभन्दा यतै खुसी छु, गरे यतै हुने रहेछ” कँडेल ढुक्कसँग भन्छन् ।

सङ्गठित बजारको अभावमा व्यवस्थित व्यापार विस्तार हुन नसकिरहेको अवस्थामा मुलुकको दूर दराजमा व्यवस्थित व्यवसायमा किसानहरूको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो प्रयोगका रूपमा पैँचो पसलको सुरुवात भएको थियो । परम्परामा सीमित हुन पुगेको वस्तु विनिमय प्रथालाई आधार मान्दै ग्रामीण क्षेत्रका आम जनताको उत्पादनको सही सदुपयोग र उपयुक्त बजार प्रवद्र्धन गर्ने पैँचो पसल खोलिएको थियो ।

ग्रामीण क्षेत्रका जनतालाई आवश्यक पर्ने आधारभूत वस्तुहरूको वितरण तथा उपयुक्त बजारको अभावमा खेर गैरहेका गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउने मुख्य उद्देश्यका साथ यतिबेला गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लामा पैँचो अभियान सञ्चालनमा रहेको छ । पैँचोका सञ्चालकहरूले गाउँका किसानको उत्पादनसँग प्रत्यक्ष उपभोक्ताको सम्बन्ध स्थापित गर्न पैँचो पसललाई सेतुको रूपमा उभ्याउने प्रयास गरिरहेका छन् ।

बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भइरहेका बेला पैँचोको सञ्चालनले धरै गाउँले स्थानीयवासीको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । गुल्मीको रिडीमा आफ्नै प्रशोधन उद्योग स्थापना गरी किसानहरूले उत्पादन गरेका अर्गानिक एवं विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त आईपीएम पद्धतिका कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय सामग्री समेत उपलब्ध गराउन सुरु गरेको छ ।

पैँचोले यतिबेला गुल्मी जिल्लाको बलेटक्सारमा प्रधान कार्यालय स्थापना गरी गुल्मीको सदरमुकाम तम्घास, बलेटक्सार, दिगाम, हुंगा, हर्दिनेटा, रिडी र पाल्पाको अर्गेलीमा मुख्य पैँचो पसलहरू सञ्चालनमा ल्याएका छ भने पँैचो पसलको माध्यमबाट गुल्मी, पाल्पा र अर्घाखाँचीका विभिन्न गाविसका ५० बढी स्थानमा तरकारी तथा फलफूलको सङ्कलन केन्द्र खोलेर स्थानीयवासीलाई पैँचो पसलको सेवा प्रदान गर्दै आएको छ । जसले गर्दा, सबै किसानहरूलाई पैँचो पसलसँग प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सहज बनेको छ ।

उता, विगत डेढ वर्षदेखि पैँचोले बुटवल र आसपासका क्षेत्रमा समेत बजार विस्तार गरी त्यहाँ बसोबास गर्ने सहरिया बासिन्दालाई उच्च तथा मध्य पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अर्गानिक तरकारी, फलफूल र खाद्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

लामो समयदेखि सहरमा बसोबास गर्दै आए पनि गाउँबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कषि उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले स्थापित पैचोले बजारिया उपभोक्ताको इच्छा पूरा गर्न विशेष बजारीकरणको व्यवस्थापन गरेको छ ।

‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै सहरिया भान्छा भान्छासम्म पैँचोको उत्पादनहरू पुग्ने गरी बजार व्यवस्थापन गरिएको छ । ग्रामीण क्षेत्रमा किसानको सहयोगी बनेको पैँचोका अभियन्ताहरू सहरका भान्छाका सहयात्री बनिरहेका छन् ।

एउटा फरक प्रयोगको रूपमा स्थापित पैँचो पसलले परम्परामा सीमित भइसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्‍याउने र उपयुक्त बजार प्रवद्र्धन गर्ने लक्ष्य लिएको थियो र त्यो अभियान निरन्तर जारी राखेको छ । पैँचोसँग अहिले हजारौँ किसान प्रत्यक्ष जोडिएका छन् भने लाखौँ सहरिया उपभोक्ताहरूसँग पैँचोको सम्बन्ध बन्ने क्रममा छ । पैँचोकै कारण हजारौँ किसान र उपभोक्ता सेवाबाट लाभाविन्त भएका छन् । सीधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गरिएको सम्भवत पैँचो प्रशोधन केन्द्र नै नेपालको पहिलो उद्योग हो ।

बजारमा रहेका बहुराष्ट्रिय कम्पनीहरूसँगको प्रतिस्पर्धा नै अहिलेको प्रमुख चुनौती रहेको पैँचोका प्रबन्धनिर्देशक ध्रुवराज न्यौपानेको ठहर छ । वर्षौंदेखि एकछत्र बजार कब्जा गरेको त्यस्ता कम्पनीहरूका बीच स्वच्छ, स्वस्थ र गुणस्तरीय उत्पादन लिएर बजार पुग्दा स्थानीय उपभोक्तामा विश्वास दिलाउन मुस्किल परेको न्यौपानेको अनुभव छ ।

सञ्चालकहरूका अनुसार आगामी दिनमा गुल्मी र पाल्पाका हजारौँ किसानहरूसँग सम्झौता नै गरी तरकारी र फलफूलको कमी आउन नदिने अभियान पनि थालेको छ । राज्यले समेत दूरदराजसम्म परिचालन गर्न नसकेको कृषि प्राविधिज्ञ तथा जेटीए, माटो विज्ञ र पशु चिकित्सकहरू पैँचोका माध्यमबाट गाउँमा परिचालित छन् ।

कृषकहरूमा व्यावसायिक चेतनाको विकास भई खेती गरेर जीवन धान्न पाउने आशा पलाएको छ । राज्यले अगाडि सारेको कृषि जोनको नीतिलाई आत्मसाथ गर्दै जिल्लाका ३ गाउँपालिकाका वार्डहरूलाई नमुनाका रूपमा विकास गर्दै वडा वडामा कृषि जोनको अवधारण पैँचोले तयार पारेको छ ।

यसै वर्षदेखि पैचोले सुरु गरेको पैँचो कृषि पाठशालाले हजारौँ किसानका परिवारलाई कृषि ज्ञान दिने अपेक्षासमेत गरिएको छ । यसै वर्षदेखि १ सय परिवार व्यावसायिक किसान र १ हजार आत्मनिर्भर किसान बनाउने अभियान थालेको पैँचोलाई राज्यले अभिभाकत्व प्रदान गर्न आवश्यक छ ।

गुल्मीका ३ गाउँपालिका छत्रकोट, रुरु र दरबार देशी स्थानमा मात्र वार्षिक ५० करोड रूपैयाँ बराबरको उपभोग्य सामग्री आयात हुँदै आएकोमा ती गाउँपालिकाबाट करिब ६० लाख बराबरको मात्र कृषि उपज निर्यात हुने गरेको थियो । पैँचो पसलको स्थापनापछि गत आर्थिक वर्ष ०७४/७५ मा मात्र पैँचोले ३ गाउँपालिकाबाट ४ करोड ८६ लाख बराबरको कृषि उपज निर्यात गरेको पैँचोका सञ्चालकहरूको दाबी छ । पैँचो बाहेकका व्यावसायिक निकायबाट समेत ३ गाउँ पालिकाबाट  करिब ७० लाख बराबरका निर्यात भएको अनुमान गरिएको छ । यो नै आत्मनिर्भरताको पहिलो उदाहरण हो भन्दा फरक पर्दैन ।

जबसम्म आयात बराबरको निर्यात गर्न सकिँदैन तबसम्म कृषिमा जिल्लालाई आत्मनिर्भर बनाउन सकिँदैन । जिल्लालाई खाद्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पैँचो अभियानले निश्चित कार्य योजनासहित काम गरेपश्चात जिल्लाका कतिपय स्थानमा तराईबाट आयात हुँदै गरेका कृषि उपजहरूको आयात प्रतिस्थापन समेत भएको छ । कृषकहरूमा व्यावसायिक चेतनाको विकास भई खेती गरेर जीवन धान्न पाउने आशा पलाएको छ । राज्यले अगाडि सारेको कृषि जोनको नीतिलाई आत्मसाथ गर्दै जिल्लाका ३ गाउँपालिकाका वार्डहरूलाई नमुनाका रूपमा विकास गर्दै वडा वडामा कृषि जोनको अवधारण पैँचोले तयार पारेको छ ।

तर पैँचो अभियानलाई सफल बनाउन धेरै चुनौतीहरू भने बाँकी नै छन् । राज्य र निजी क्षेत्रसँग ठूलो परिमाणमा चिस्यान केन्द्रहरू नहुँदा किसानहरूले उत्पादन गरेका तरकारी र फलफूलहरू भण्डारणको समस्या सानो समस्या होइन । छिमेकी मुलुक भारतमा राज्यले किसानहरूलाई दिएको अनुदान, सुविधा सम्पन्न चिस्यान केन्द्रहरू तथा कृषि बिमाको व्यवस्थाले नेपाली किसानहरू वर्षका झण्डै ९ महिना भारतीय तरकारी र फलफूल उत्पादनसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा रहेका छन्, जुन चुनौती स्वाभाविक रूपमा पैँचोले झेल्नै पर्दछ । पैँचोले उच्च पहाडी भेगका उत्पादनहरूलाई आफ्नो प्रशोधन केन्द्रको कच्चा पदार्थ त बनाएको छ तर कच्चा पदार्थ बाहेकका प्याकेजिङका अधिकांश सामानहरू भारतीय बजारसँगै निर्भर पर्नुपर्ने पैँचोका लागि अर्को चुनौती देखिन्छ । डिब्बाभित्र राख्ने सिमित तरकारी र फलफूलबाहेक आवश्यक मरमसलादेखि सिसा, लेबल, प्लास्टिक, कार्टुन जस्ता अधिकांश सामग्रीमा नेपाली उद्योगहरू परनिर्भर नै रहँदै आएका छन् । जबसम्म ती सबै कच्चा पदार्थहरूकै उत्पादन नेपालमा गर्न सकिँदैन तबसम्म उद्योगमा आत्मनिर्भर भएको मान्न सकिँदैन ।

शरण कर्माचार्य

एउटा गतिलो उद्देश्य राखेर नौलो कार्य गरे पनि नेपाल जस्तो राजनीतिक सङ्क्रमणले गति लिन नसकेको देशमा राखिएका उद्देश्य प्राप्त गर्न त्यति सजिलो भने छैन । नेपाल नै त्यस्तो देशहो जहाँ राज्यको कानुन नागरिकले मात्र होइन राज्यकै अङ्गहरूले मान्न तयार हुँदैनन् । देशको अर्थमन्त्रीले कृषिमा ६ प्रतिशत ब्याजमा ऋण दिने घोषणा गरेको १ दशक पुग्न लाग्दा नेपालमा कुनै पनि बैङ्कहरूले राज्यको घोषणा मान्न तयार छैनन् । कृषिमा लगानी, सहुलियत र अनुदान नेपालमा केवल कागजमा मात्र सीमित हुने गरेका छन् । गैरसरकारी निकायले गरेको कृषिको लगानी पनि अधिकांश फ्रिज हुने गरेका छन् भने कतिपय कागजी प्रक्रिया मिलाएर खर्च भएको देखाइने गरेको छ ।

 

सरकारी सेवा लिँदा किसानले व्यहोर्नुपर्ने झन्झटिलो प्रक्रिया, खुलेआम हुने भ्रष्टाचार र ढिलासुस्तीका कारण किसानको पहुँच राज्यको निकायसम्म पुग्न सकेको छैन । नेपाललाई व्यवहारमै कृषि प्रधान देश बनाउनका लागि जतिसक्दो छिटो राज्यको कृषि नीति परिवर्तन गर्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप