शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलिपको यसरी भयो हत्या

शुक्रबार, २५ पुस २०७६, १७ : ५९
शुक्रबार, २५ पुस २०७६

जनकपुर । गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका एक युवकको शुक्रबार विहानै रहस्यमयी हत्या भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतो एका विहान मर्निङ्गवाकमा साथी रोशनसँग निस्केका थिए । मृतक दिलिपका साथी रोशन यादवलाई प्रहरीले हत्या भएको केही समयमै नियन्त्रणमा लिएको थियो । यता दिलिपको हत्या रहस्यमयी बन्दै गएको छ । 

दिलिपको हत्या कुन किसिमले भएको छ भन्ने कुरा समेत रहस्यमयी बनेको छ भने टिपरले हत्या भइसकेका दिलिपको शवलाई कुल्चेर पुनः हत्या गरेको हुनसक्ने आशंका उनको परिवारको छ ।

दिलिपका दाजु वीरेन्द्रकुमार महतोले औरही खोलामा दिलिपलाई योजनाबद्ध तरिकाले हत्या गरेको आरोप लगाएका छन् । दिलिपले विगत कही वर्षदेखि खोला नदीको कटान र दोहनको विरोधमा आवाज उठाउँदै आएका थिए ।

उनलाई पटक–पटक प्रहरीले समेत किन विरोध गरेको भन्दै मिलाउन खोजेको आरोप उनका दाजु वीरेन्द्रले लगाए । दिलिपको अनाहकमा हत्या भएपछि अहिले उनको घर परिवार र गाउँ नै स्तव्ध बनेका छ । कोही कसैसँग बोल्न सक्ने अवस्थामा छन् । सबै निशब्द छन् ।

हत्यापछि विहानै देखि दिउँसो १ बजेसम्म श्रीपुरस्थित पूव–पश्चिम राजमार्ग स्थानीयवासीले अवरोध गरेका थिए । प्रहरी प्रशासन र स्थानीय तहको विरोधमा चर्को नारावाजी लगाउँदै स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेका प्रहरीले २५ राउण्ड अश्रु्रग्यास प्रहार गरेपछि सो राजमार्ग अहिले सुचारु भएको छ ।

शुक्रबार बिहानै दिलीपको हत्यापछि घरका आफन्तजन तथा स्थानीयवासी शोकमा डुबेका छन् । त्यसका साथै उनीहरु प्रहरी प्रशासन र स्थानीय सरकारबिरुद्ध आक्रोश समेत पोखि रहेका छन् ।

दिलीपका बुवा ४८ वर्षीय रामजीवन महतो र आमा चन्द्रकलादेवी महतो निशब्द छन् । केही बोल्न सक्ने अवस्थामा छैनन् ।  

दिलीपकी फुपू सर्लाहीको वागमति बस्ने कुसुम कुमार महतोले दिलीप क्रसर उद्योगहरुले गर्ने गरेको अवैध उत्खनन् बिरुद्ध आवाज उठाउँदै आएकाले नियोजित पूर्वक हत्या गरिएको जिकिर गरिन् ।

 उनले, ‘यो घटनालाई प्रहरी प्रशासनले समेत गम्भीरतापूर्वक नलिएको र ढाकछोपको प्रयासमा लागिपरेको छ ।’

भारतको भोपालस्थित मैकेनिकल इन्जिनियरिङ्गमा दिलीप इन्जिनियरिङ्गको अन्तिम वर्षमा अध्ययनरत्त थिए । उनी जनवरी एक तारिकमा विदाका दिन घर आएका थिए । पछिल्लो ५ वर्षदेखि दिलीप समाजिक अभियन्ताका रुपमा कार्यशरु गर्दै आइरकेको स्थानीयवासीको भनाइ छ । दाइ समाजमा रहेका बेथिति बिरुद्ध आवाज उठाउँदै आएको र औरही खोलामा भइरहेको दोहनको विरोधमा क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर बनकाले हत्या भएको बहिनी लक्ष्मी कुमारी महतोको आरोप छ ।

लक्ष्मीका अनुसार रोशन यादवको फोन आएपछि बिहानै ४ बजे दिलीप घरबाट निस्किेका थिए । घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर प्राप्त भयो । दाजु ढलेको सुने लगत्तै आफू खोला तर्फ दौडिए,’ उनले भनिन्, ‘दाजुलाई पहिले नै हातपात गरेर हत्या गरिएको र त्यसपछि टिपरले किचिएको छ ।’

क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलोमतोमा दाजुको हत्या भएको उनको दाबी छ ।

दिलिपसँगै क्रसर उद्योगको अवैध उत्खनन बिरुद्ध आवाज उठाउँदै आएका कान्छी आमाका छोरा रजनीश कुमार महतोले भने, ‘रोशन नभागेको भए उनको पनि हत्या गर्ने थियो । तर रोशनले ज्यान जोगाएर दाइको हत्या भएको खबर जानकारी गराएका थिए र’ उनले दिलिपलाई पहिलेदेखि नै यो सब बन्द गर नभए तताई बन्द गरिदिन्छु भन्दै पटक पटक धम्की आउने गरेको बताए । 

मुचुल्का बिना नै शव उठाउँदा प्रहरी शंकाको घेरामा

रोशन यादवले अवैध उत्खनन् गरिरहेको खबर गरेपछि दिलीप उनीसँगै उत्खनन भइरहेको स्थल पुगेका थिए । दिलिप घरबाट निस्किएको केही समयमै गाउँभर नै उनको हत्या भएको खबर फैलिसकेको थियो । बहिनी लक्ष्मी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादव लगायत केही स्थानीयवासी घटना स्थलमा पगिसकेका थिए । साथै प्रहरी प्रशासन शव उठाउनका लागि पुगेको थियो ।

वडाध्यक्ष श्यामबावु महतोको सहमतिपछि दिलिपको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा जनकपुर पुर्याइयो । दिलीपको शव उठाइए पनि परिवारका सदस्यहरुले आफूहरुको सहमति तथा मुचुल्का बिना नै शव घटनास्थलबाट लगिएको भन्दै पोष्टमार्टमका लागि शव दिन तयार छैनन् ।

यता वडाध्यक्ष श्यामबाबु यादवले मुचुल्का बिना नै शव उठाइएको बताए । उनले घटनास्थल पुगे लगत्तै शवलाई आफ्नै तौलियाले ढाकेको र गाउँको एक होनहार युवा गुमाएपछि मेरो मस्तिष्क समेत काम गर्न नसक्दा र शव उठाउन दिएको जनाए ।

यता मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले यस विषयमा कुनै किसिमको प्रतिक्रिया दिन चाहेनन् । उनले कसैको भान्सा घरमा के कति काम हुन्छ, त्यो हामीलाई के थाहा हुन्छ भन्दै यस सम्बन्धमा केहि बोल्न चाहेनन् । बरु उनी पञ्छिए ।

शव पोष्मार्टमका लागि प्रादेशिक अस्पतालमा छ भने परिवारका सदस्यहरुले बिना मुचुल्का किन शव उठाइयो भन्ने विषयमा स्पष्ट जवाफ नआउदाँसम्म आफूहरु शवको पोष्टमार्टमका लागि तयार नहुने बताए । 

वीरेन्द्र यादवले प्रहरीले झुक्याएर शवलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको आरोप लगाए । उनले घर परिवारजनलाई जानकारी नै नदिए र शव उठाउनु प्र्रहरीको कस्तो नियती हो भन्दै प्रश्न समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप