शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुरु भयो माधवनारायण मेला, तस्विरमा हेर्नुहोस्

शुक्रबार, २५ पुस २०७६, ११ : २६
शुक्रबार, २५ पुस २०७६

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।  हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ । 

यो मेला भक्तपुरमा नेपाल संवतको आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पूजारी शर्माले जानकारी दिए ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उनको भनाइ थियो । 

बर्तालुहरू त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ । भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुनःनिर्माण जारी रहेकाले बर्तालुलाई यही बस्ने व्यवस्था यस वर्ष गर्न नसकिएको माधवनारायण व्यवस्थापन समितिले जनाएको छ । 

वर्तालुहरूले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ । 

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप