बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले पनि मिसाइल हानेर खसाएको थियो इरानको यात्रुवाहक विमान, यस्तो छ इतिहास

शुक्रबार, २५ पुस २०७६, ०९ : ५७
शुक्रबार, २५ पुस २०७६

‘शकास्पद छ’ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको तेहरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७४७ विमानबारे गरेको टिप्पणी हो यो ।

उता, बेलायत र क्यानाडाले पनि १७६ यात्रु सवार पीएस७५२ विमानलाई दुर्घटनाअघि इरानको मिसाइलले लागेको सूचना प्राप्त गरेको जनाएका छन् ।

इरानले अमेरिकाको नेसनल ट्रान्सपोर्टसन सेफ्टी बोर्डलाई अनुसन्धानमा भाग लिन आग्रह गरेको छ । इरानको उड््डयन प्राधिकरण अधिकारी फरहाद पर्भरेसले एजेन्सीले आफ्नो अनुसन्धानकर्ता पठाउन सहमति पनि जनाएको जानकारी दिएका छन् ।

इरानमाथि मिसाइल हानेर यात्रुवाहक विमान खसालेको आरोप लागिरहँदा यस्तो घटना भएको पहिलो पटक भने होइन । पछिल्लो चार दशकमा यस्ता थुप्रै घटना भएका छन् । यहाँ त्यस्ता घटनाका केही उदाहरणहरु प्रस्तुत गरिएका छन् ।


युक्रेन : २९८ जनाको मृत्यु (जुलाई १७, २०१४)

मलेसिया एयरलाइन्सको एमएच१७ लाई विद्रोही पक्षको कब्जामा रहेको युक्रेनको पूर्वीभागमा मिसाइल हानेर खसालिएको थियो । विमान एम्सटरड्यामबाट क्वाललम्पुरका लागि उडेको थियो । बोइङ ७७७ विमानमा सवार सबै २९८ यात्रु मारिएका थिए जसमा १९३ डच नागरिक थिए । किएभका अधिकारीहरु र पूर्वी युक्रेनलाई नियन्त्रण लिन खोजिरहेका रुससमर्थित विद्रोहीहरुले एकअर्कालाई उक्त विमानलाई मिसाइल हानेर खसालेको आरोप लगाएका छन् । सन् २०१९ मा नेदरल्याण्ड्सका अनुसन्धानकर्ताहरुले उक्त दुर्घटनाका लागि रसियाको सेनाका तीन सदस्यसहित चारजनालाई दोषी करार गरेको थियो ।

सोमालिया : ११ जनाको मृत्यु ( मार्च २३, २००७)

बेलारुसियन एयरलाइन्सको इल्युसिन २–७६ विमानलाई सोमालियाको राजधानी मोगादिसुबाट उडान भरेको केही बेरमा नै रकेट हानेर खसालिएको थियो । दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । उक्त विमानमा बेलारुसका इन्जिनियर र प्राविधिक सवार थिए । उनीहरु दुई हप्ताअघि मिसाइल प्रहार भएको अर्को विमानको मर्मतका लागि त्यहाँ पुगेका थिए ।

ब्ल्याक सी : ७८ को मृत्यु (अक्टोबर ४, २००१)

रसियन सिबिर टुपोलेभ–१५४ विमान तेल अभिभदेखि नोभोसिब्रिस्कतर्फ उडान भर्ने क्रममा ब्ल्याक सीको आकाशमा विस्फोट भएको थियो । उक्त विमानमा सवार ७८ जना, प्रायः इजरायली, को मृत्यु भएको थियो ।

युक्रेनको क्रिमेइन तटबाट ३ सय किलोमिटर टाढा उक्त दुर्घटना भएको थियो । एक हप्तापछि किएभले भूलवस युक्रेनको मिसाइलले उक्त विमानलाई खसालेको स्वीकार गरेको थियो ।

इरान : २९० जनाको मृत्यु (जुलाई ३, १९८८)

इरानको बान्दार अब्बासबाट युएईको दुबईका लागि उडेको केही बेरमा नै इरान एयरको एयरबस ए–३०० इरानको क्षेत्रभित्र पर्ने पर्सियन गल्फमा खसालिएको थियो । स्ट्रेट अफ होर्मुजको गस्ती गरेको अमेरिकाको युएसएस भिन्सेनिस युद्धपोतले विमानलाई युद्धक विमान ठानेर दुईवटा मिसाइल प्रहार गरेको थियो । विमानमा सवार २९० यात्रुको मृत्यु भएको थियो जसमा ६६ बालबालिका थिए । इन्टरनेसनल कोर्ट अफ जस्टिसमा सहमति गर्दै अमेरिकाले इरानलाई १०.१८ करोड अमेरिकी डलर क्षतिपुर्ती तिरेको थियो । सहमति अनुसार अमेरिकाले दुर्घटनाका लागि कानूनी दायित्व वा इरानसँग औपचारिकरुपमा माफी मागेन । अमेरिकाले पछि युएसएस भिन्सेनिसका कप्तान विल सी रोजर्सलाई लिजयन अफ मेरिट पुरस्कारले सम्मानित गरेको थियो ।

रसिया : २६९ जनाको मृत्यु (सेप्टेम्बर १, सन् १९८३)

गलत बाटो हिँडेको दक्षिण कोरियाको कोरियन एयरआबद्ध बोइङ ७४७ विमानलाई सोभियत फाइटर विमानले सखालिन टापुनजिकै खसालेको थियो । दुर्घटनामा २ सय ६९ यात्रु र चालकदलका सदस्यले ज्यान गुमाएका थिए । दुर्घटनाको पाँच दिनपछि सोभियत संघका अधिकारीहरुले दक्षिण कोरियाको विमान खसालेको स्वीकार गरेका थिए ।

सिनाइ मरुभूमि : १०८ जनाको मृत्यु (फेब्रुअरी २१, १९७३)

त्रिपोलीबाट कायरोका लागि उडान भरेको लिबियन अरब एयरलाइनको बोइङ ७२७ विमानलाई इजरायलको फाइटर विमानले सिनाइ मरुभूमिमा खसालेको थियो । विमानमा १ सय १२ जना सवार रहेकोमा ४ जना बाँच्न सफल भएका थिए । सिनाइमा रहेको आफ्नो सैन्य बेसमाथि उडेपछि इजरायलको सेनाले खसालेको थियो । इजरायलका अधिकारीहरुले विमानले ल्याण्ड गर्न नमानेपछि आफूहले बाध्य भएर खसालेको बताएका थिए ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप