शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अप्राकृतिक गठबन्धनहरु

बिहीबार, २४ पुस २०७६, ०८ : ५९
बिहीबार, २४ पुस २०७६

काठमाडौ । एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन’ । हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका छन् ।

एकअर्काको खेदो खन्ने दलहरुको बीचमा गठबन्धन बनाउनेदेखि लिएर सरकार निर्माण गर्ने काम विगतमा पटक–पटक भएकै हो । नयाँ संविधान निर्माणपछि तत्कालीन एमाले र काँग्रेस गठबन्धनको सरकार गठन भएको थियो । त्यसपछिका सरकार गठन गर्ने सिलसिलामा विगतमा एकअर्कालाई प्रमुख दुश्मन ठहर गर्दै कट्टर वैमनस्यता राखने काँग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनको सरकार बनेको थियो । त्यो बेला पनि यी गठबन्धनहरुलाई अनौठो मानिएको थियो ।

काँग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले र माओवादी केन्द्रबीच निकै दुरी बढेको थियो । दुवै पार्टी एक अर्काको नाम नै सुन्न चाहदैन थिए । तर अन्ततः दुई दलबीच एकीकरण नै भयो ।

अहिले नेकपा–राजपा गठबन्धन तथा समाजवादी–काँग्रेस गठबन्धनको पनि चर्चा त्यही रुपमा भइरहेको छ । अस्वभाविक रुपमा अघि बढेका यी गठबन्धनका प्रक्रियालाई पनि अप्राकृतिक गठबन्धनको रुपमा चर्चा भइरहेको छ ।

नेकपाको स्थायी कमिटी बैठकमा त सो  पार्टीका नेता भीम रावलले ‘राजपा–नेकपा गठबन्धन अप्राकृतिक’ भएको टिप्पणी नै गरेका थिए । भीम रावलले मात्र होइन, सोही पार्टीका अन्य नेताहरुले पनि यसलाई अप्राकृतिक गठबन्धनको रुपमा बुझेका छन् ।

यता, राजपा–नेकपा गठबन्धनबाट प्रचण्ड पनि सन्तुष्ट छैनन् । उनको इच्छा समाजवादी पार्टीसँग नेकपाले गठबन्धन कायम राख्नुपर्ने रहेको थियो तर नेकपाका अर्का अध्यक्ष केपी शर्मा अ‍ोलीले हतार हतारमा राजपा नेपालसँग गठबन्धन बनाएको टिप्पणीहरु भइरहेका छन् । यी दुई दलले राष्ट्रिय सभाको निर्वाचनका लागि चुनावी गठबन्धन गरेका छन् । 

त्यति मात्र होइन, समाजवादी–काँग्रेस गठबन्धन पनि अप्राकृतिक रहेको टिप्पणीहरु भइरहेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सबै वामपन्थी विचारधाराका व्यक्ति हुन् । उनीहरुको पृष्ठभूमि वामपन्थी रहेको छ । त्यस हिसाबले उनीहरुको गठबन्धनको दिशा स्वभाविक रुपमा नेकपातिरै सोझिनुपर्ने थियो । अझ समाजवादीका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध शुरुवातदेखि नै माओवादीसँग रहदै आएको थियो । व्यक्तिगत रुपमा नेकपाका अध्यक्ष प्रचण्डसँग उपेन्द्र यादवको राजनीतिक सम्बन्ध राम्रो छ । यी कारणहरुले गर्दा स्वभाविक रुपमा नेकपा–समाजवादी गठबन्धन हुनुपर्ने हो । तर अहिले राजनीतिक परिस्थितिको विकासले समाजवादी–काँग्रेस गठबन्धन बन्न पुगेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि समाजवादी पार्टीले नेकपासँग गठबन्धन बनाउन नचाहेको पनि होइन । त्यसका लागि पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डसँग एकचरणको कुराकानी पनि गरिसकेका थिए । प्रचण्डबाछ गठबन्धन बनाउनेदिशातर्फ सकारात्मक संकेत पनि उनीहरुले पाइसकेका थिए । तर बीचैमा राजपा नेपालले बाजी मारेपछि नेकपा–समाजवादी गबन्धनको भ्रूण हत्या हुन पुग्यो । फलतः समाजवादी पार्टीले बाध्य भएर काँग्रेससँग गठबन्धन गरेको हो ।

त्यसो त अहिले निकटता र गठबन्धनको दिशातिर अघि बढेको राजपा नेपाल र नेकपाका मुख्य हिस्सेदार तत्कालीन एमालेबीच ‘छत्तीसको आँकडा’ थियो । मधेश आन्दोलन नै एक किसिमले ‘एमाले भर्सेज मधेश’ नै हो कि भन्ने हदमा परिणत भएको थियो । त्यतिबेला राजपा नेपालका नेताहरुभन्दा उपेन्द्र यादवको दृष्टिकोण र रवैया एमालेप्रति अलि नरम नै थियो । त्यतिबेला केपी शर्मा ओलीले मधेशप्रति ओकलेको ‘छुच्चो’ धारणाले पनि राजपा र तत्कालीन एमालेका बीच दूरी बढाउने काममा मलजल गरेको थियो ।

रोचक कुरा, त्यसबेला तत्कालीन एमालेसँग राजपा र समाजवादीको राम्रो सम्बन्ध नभए पनि तत्कालीन माओवादी केन्द्रसँग ती दलको राम्रो सम्बन्ध थियो । यी दलहरुको बीचका पटकपटक सरकारी गठबन्धन बन्नुदेखि लिएर आन्दोलनका लागि पनि गठबन्धन बनेको थियो ।

पछिल्लो चुनावमा एकातिर तत्कालीन एमाले–माओवादी गठबन्धन थियो भने अर्कोतिर राजपा–समाजवादी गठबन्धन थियो । राजपा–समाजवादीले काँग्रेसलाई पनि गठबन्धनमा  समावेश गर्न चाहेका थिए तर सीट बाँडफाँडमा कुरा नमिलेपछि काँग्रेस एक्लै भयो ।

यद्यपी औपचारिक गठबन्धन नभएपनि समाजवादी, राजपा र काँग्रेसले चुनावमा ठाउँठाउँमा एक अर्काको सहयोग लिएका थिए । कतै द्वन्द (जनकपुरमा राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी द्वन्द्व) पनि थियो । राष्ट्रिय सभा चुनावमा भने राजपा, समाजवादी र काँग्रेसबीच चुनावी गठबन्धन थियो । सो गठबन्धनलाई अहिलेको राष्ट्रिय सभा चुनावमा पनि निरन्तरता दिने सोच राजपा नेपालको थियो । तर समाजवादी पार्टीले भित्रभित्रै नेकपासँग गठबन्धन बनाउन चलखेल सुरु गरेपछि परिस्थितिले नाटकीय मोड लियो ।

समाजवादी पार्टीप्रति नेकपाका अध्यक्ष केपी शर्मा ओली सकारात्मक थिएनन् । सरकारको विषय लिएर ओली र उपेन्द्रबीच राम्रो सम्बन्ध थिएन, त्यसैको फाइदा उठाएर राजपा नेपालले चुनावी गठबन्धन बनाउन सफल भयो ।

राजपा नेपालमा महेन्द्र राय यादवबाहेक प्रायः नेताहरु प्रजातान्त्रिक विचारधाराका छन् । उनीहरुको सोच, विचारहरु प्रायः काँग्रेससँग मिल्ने खालका छन् । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर स्वयम् काँग्रेस छाडेर मधेश राजनीतिमा आएका हुन् । राजपा नेपालमा थुप्रै नेताहरु काँग्रेस पृष्ठभूमिका छन् । यस अर्थमा उनीहरुको वैचारिक निकटता पनि स्वभाविक रुपमा काँग्रेससँगै मिल्दोजुल्दो छ । सैद्धान्तिक रणनीतिक रुपमा उनीहरु कम्युनिष्ट विचारधाराका विपरीत धु्रवमा छन्  तैपनि अहिले यी दुई दलबीच गठबन्धन बनेको छ ।

त्यसो त राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लाल नेकपा र राजपाबीच विकसित पछिल्लो सकारात्मक सम्बन्धलाई गठबन्धनका रुपमा स्वीकार्न तयार छैनन् । उनी भन्छन्, ‘यो गठबन्धन नै होइन, यो एउटा चुनावी रणनीति मात्र हो ।’

उनले थपे, ‘ नेकपा र राजपा नेपालबीच वैचारिक हिसावले धेरै कुरामा फरक छ । नेकपासँग कुनै वैचारिक रुपमा तथा राजनीतिक एजेण्डामा छलफल नै नभएको अवस्थामा भएको  अहिले यसलाई चुनावी तालमेल मात्र भन्न सकिन्छ ।’

‘अगामी दिनमा भयो भने त्यो छुट्टै कुरा हो,’ उनले सम्भावित गठबन्धनको सम्भावनालाई भने नकारेनन् ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले पनि ‘चुनावी रणनीति तहत काँग्रेससँग तालमेल गरेको’ बताए । ‘यो कुनै गठबन्धन होइन, चुनावी तालमेल मात्र हो । विष्यमा समाजवादी–काँग्रेस गठबन्धन बनोस् भने आफूहरुको चाहना रहेको समाजवादी पार्टीले मात्र चाहेर केही नहुने बताउँदै काँग्रेस पनि मधेशको मुद्दाप्रति सकारात्मक हुनुपर्ने जिकिर गरे ।

आफ्नो पार्टीलाई ‘जबर्जस्ती वापन्थीसँग जोडेको’ बताउँदै उनले ‘आफ्नो पार्टीका शीर्ष नेता वामपन्थी विचारधारा भएका व्यक्ति भएपनि कसैले कम्युनिस्टलाई नरुचाएको’ बताए । ‘कम्युनिस्टले देश विकास हुँदैन भन्ने सबैले निष्कर्ष निकालिसकेको’ बताउँदै उनले बरु आफूहरुको विचार अलिअलि काँग्रेससँग मिल्ने दावी गरे ।

‘विगतमा कम्युनिस्टसँग के सम्बन्ध थियो, त्यो कुरा बितिसक्यो । अब आउने दिनमा नयाँ ढंगबाट अगाडि बढ्ने,’ उनले बताए । उनले भने, ‘हामी काँग्रेसप्रति सकारात्मक छौँ ।’  आफ्नो सीट बढाउनका लागि विश्वभर नै यस्तो ‘अननेचुरल’ गठबन्धन हुने गरेको उल्लेख गर्दै उनले अगाडि भने, ‘भारतमा पनि विभिन्न दलबीच सीटका लागि गठबन्धन भएकै हो, हामीहरुले राष्ट्रिय सभाका लागि नेकपासँग तालमेल गर्न चाहेका थियौँ । तर सम्भव भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप