बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी वायुसेनाले गल्तीपूर्वक युक्रेनी विमानमाथि आक्रमण गरेको हुनसक्ने दाबी

बिहीबार, २४ पुस २०७६, ०७ : ४६
बिहीबार, २४ पुस २०७६

१ सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको विमान इरानमा बुधबार बिहानै दुर्घटनाग्रस्त भएको थियो । तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएपनि आफूहरु सो कुरामा विश्वस्त हुन नसकेको युक्रेनी अधिकारीले बताएका छन् ।

युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

फ्लाइट रडार २४ वेबसाइटका अनुसार बोइङ्ग ७३७–८०० लाई अन्तिम पटक रडारमा २ हजार चार सय मिटरमाथि देखिएको थियो । तेहरानले इराक स्थित अमेरिकी शिविरमा दर्जन बढी ब्यालिस्टिक मिसाइल प्रहार गरेको केही घण्टापछि नै विमानले उडान भरेको थियो ।

‘हामीले दुर्घटना निम्तिनुका सबै सम्भावित पाटोबारे अनुसन्धान गर्नुपर्छ,’ युक्रेनका राष्ट्रपति भोलोदिमाइर जेलेन्स्कीले इन्जिनमा आएको प्राविधिक गडबडीका कारण पाइलटले नियन्त्रण गुमाएपछि दुर्घटना भएको विज्ञप्ति सार्वजनिक भएको केही बेर पछि नै फेसबुकमा लेखेका छन् ।

जेलेन्स्कीले युक्रेनी अभियोजकलाई दुर्घटनाबारे अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् ।


जेलेन्स्कीको घोषणापछि इरानस्थित युक्रेनी राजदूतावासले आतङ्कवादी आक्रमण खारेज गर्दै सार्वजनिक गरेको आफ्नो विज्ञप्ति हटाएको युक्रेनी मिडियाले जानकारी दिएको छ ।

युक्रेनी युनियान समाचार एजेन्सीले जोर्डनको एल हदाथ समाचार एजेन्सीलाई उद्धृत गर्दै इरानी वायुसेनाले गल्तीपूर्वक विमानमाथि आक्रमण गरेको हुनसक्ने दाबी गरेको छ ।

‘आधिकारिक अनुसन्धान समाप्त नहुञ्जेल यसैको नाम भनेर किटान गर्नु  जालझेल गर्नु सरह हुनेछ,’ प्रधानमन्त्री ओलेक्सी होन्चारुकले पत्रकार सम्मेलनमा विमानमाथि आतंकवादी हमला भएको हुनसक्ने सम्भावना व्यक्त गर्दै सोधिएको प्रश्नको जवाफ यसरी दिए ।

विमान दुर्घटनाबारे अनुसन्धान गर्न विज्ञको एक समूह इरान जाने तयारीमा भएको  र पीडितको अवशेष जम्मा गरेर युक्रेन फिर्ता गर्न लागेको उनले जानकारी दिए ।

‘हामीले प्रस्थानका लागि एउटा समूह तयार पार्दै छौं,’ उनले भने ।

इरानी अधिकारीले ब्ल्याक बक्स भनेर चिनिने फ्लाइट डाटा र ककपिट भोइस रेकर्डर भेटेको जानकारी दिए । ब्ल्याक बक्सको अनुसन्धानपछि दुर्घटनाको मुख्य कारणबारे पत्ता लाग्ने आशा गरिएको छ ।

यससँगै युक्रेनको अन्तर्राष्ट्रिय एयरलाइनले तीन वर्ष पुरानो उक्त विमानको सोमबार मात्रै परीक्षण गरिएको जसमा कुनै प्राविधिक गडबडी नभेटिएको जानकारी दिएको छ ।


‘त्यो हाम्रो सबैभन्दा उत्कृष्ट विमानमध्येको एक थियो जसमा विश्वसनीय चालक दलका सदस्य थिए,’ कम्पनीका सिइओ यभहेन दिख्नेले आँसु झार्दै किभमा आयोजित पत्रकार सम्मेलनमा भने ।

‘तेहरान विमानस्थल त्यति सजिलो छैन भनेर हामीलाई राम्रोसँग थाहा थियो, त्यसकारण चालक दलका सबैलाई तेहरान विमानस्थलमा विशेष खालको उडान तालिम आयोजना गरिएको थियो,’ एयरलाइनका सह–अध्यक्ष इहोर सोस्नोभ्स्कीले पत्रकारलाई भने ।

‘विमान हराउनुअघि यसलाई रडारमा जमिनभन्दा २ हजार चार सय मिटर माथि  देखिएकोले चालक दलका सदस्यको गल्तीका कारण दुर्घटना भएको भन्नु सान्दर्भिक देखिँदैन,’ दिख्नेले भने ।

विमान मिसाइल आक्रमणका कारण खसेको हो कि भन्ने पत्रकारको प्रश्नको भने उनले जवाफ दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप