शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इरान विमान दुर्घटना : कहाँका थिए ज्यान गुमाउने यात्रु ?

बुधबार, २३ पुस २०७६, १५ : १५
बुधबार, २३ पुस २०७६

तेहरान । १ सय ७० भन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको युक्रेनको बोइङ ७३७–८०० विमान इरानमा दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको इरानको मिडियाले जानकारी दिएको छ ।

युक्रेन इन्टरनेसनल एयरलाइनसको पीएस७५२ विमान स्थानीय समयअनुसार ६ बजेर १२ मिनेट जाँदा तेहरानस्थित इमाम खोमेनी विमानस्थलबाट युक्रेनको राजधानी किएभका लागि उडान भरेको केही मिनेटमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

तेहरानस्थित युक्रेनको राजदूतावासले इन्जिनमा समस्या आएपछि विमान दुर्घटना भएको र हालसम्म यो दुर्घटना आतङ्कवादसँग सम्बन्धित रहेको नपाइएको बताएको छ ।

‘प्रारम्भिक जानकारी अनुसार विमानको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण दुर्घटना भएको बुझिएको छ । तत्कालका लागि आतङ्कवादी आक्रमणलाई खारेज गरिएको छ,’ युक्रेनको विदेशमन्त्रालयको वेबसाइटमा जारी गरिएको दूतावासको विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनी (चालक दलका सदस्य) चार अफगानी, तीन बेलायती र तीन जर्मन नागरिक सवार रहेको विदेश मन्त्री भादिम प्रिस्ताइकोले जानकारी दिए ।

युक्रेनका राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले आफ्नो ओमान भ्रमणलाई छोट्याउँदै किएभ फर्कने जानकारी दिएका छन् । उनले आधिकारिक रिपोर्ट नआएसम्म दुर्घटनाबारे अनुमान र जाँच नगरिएका सिद्धान्तहरुको पछि नलाग्न चेतावनी पनि दिए ।

उनले आफ्नो वक्तव्यमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विमानमा १६८ यात्रु र ९ जना चालक दलका सदस्य उडान भर्नका लागि रजिस्टर गरिएको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि युक्रेन इन्टरनेसनल एयरलाइन्सले तेहरानमा उडान भर्न अनिश्चितकालिन रोक लगाएको छ । विमान कम्पनीले सोमबार मात्र विमानको अन्तिम पटक नियमित मर्मत गरिएको थियो ।

उद्धारकर्ताहरुले विमानको एउटा ब्ल्याक बक्स फेला पारेको इरानी मिडियाहरुले जनाएका छन् ।

बीबीसीका अनुसार दुर्घटनामा परेको विमान सन् २०१६ मा निर्माण गरिएको थियो र युक्रेनलाई नयाँ हस्तान्तरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप