शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : इरानले ट्रम्पको टाउकाको मूल्य तोक्यो, सुनको मूल्य आकाशियो

सोमबार, २१ पुस २०७६, १९ : २३
सोमबार, २१ पुस २०७६

ओली–प्रचण्ड 

सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफल केन्द्रित थियो ।

नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताएका थिए । नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरे पनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । 

पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अबको बैठक पुस २७ गतेलाई बोलाइएको छ । नेकपाकै कतिपय नेताहरुले उपसभामुख तुम्वाहाङफेले राजीनामा दिएपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार तय गर्न सहज हुने बताउँदै आएका छन् ।

संविधानत: एउटै पार्टीको सभामुख हुन नपाउने भएकाले नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद मात्रै पाउने छ ।

काँग्रेस 

नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले काँग्रेस नेतृत्व अनुदार र असहिष्णु भएको गुनासो गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबार सुरु भएको सभापति देउवा इतर पक्षका जिल्ला सभापतिहरुको परामर्श बैठकमा चार बुँदे ध्यानाकर्षण पत्र पेश गरिएको छ । 

ध्यानाकर्षणपत्रमा नेपाली काँग्रेसको गत वर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउँदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

त्यस्तै महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ । 

सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेसनको मिति तोकेका थिए । उक्त बैठकमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह अनुपस्थित भएको थियो । 

बैठकमा ४१ जना जिल्ला सभापतिहरुको सहभागिता रहेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नो धारणा राखेका थिए । त्यसैगरी आज चारजना जिल्ला सभापतिहरुले पनि आफ्नो धारणा राखेका छन् । परामर्श बैठक भोली पनि जारी रहने काँग्रेसले जनाएको छ ।


महिला समिति

छाउपडि उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ ।  सबैभन्दा बढी अछाममा ९४९ र सुर्खेतमा ३०० गरी पुस २० गतेसम्म १ हजार २७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको छ । 

महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार बझाङमा ७ दैलेखमा १७, सल्यानमा २ र  जाजरकोटमा १ छाउगोठ भत्काइएका छन् । यो वर्षभित्र छाउगोठ उन्मुलन गर्ने अभियान नै सञ्चालन भएको छ । सुर्र्खेतमा १५ सय छाउगोठ भत्काउन बाँकी रहेको छ । त्यसैगरी अछाममा २५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी रहेको सचिव राईले बताबताए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छाउगोठ राख्न नराख्ने व्यहोराको पत्रमा लिखित हस्ताक्षर गराउने अभियान थालिएको उनले बताए । 

संघीय मामिला मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गाउँघरमा अझै किशोरी÷युवतीहरुलाई भोली दुःख हुन्छ भनेर डर देखाउने भएपछि उनीहरुपनि छाउकोठमा जान बाध्य भएको बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले छाउपडिविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

सांसद दुर्गा बहादुर राउतले जनप्रतिनिधिहरुको घरमा नै यस्तो खालको कुप्रथा रहेको उल्लेख गर्दै अभियानको सुरुवात गर्न स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने बताए ।

सांसद लक्ष्मी परियारले धार्मिक अगुवाहरुलाई कानूनको विषयमा जानकारी गराउने र उनीहरुलाई कानूनको दायरमा ल्याउन सके अभियान सफल हुने  बताइन् । त्यसैगरी, सांसद विमला नेपालीले सुदूरपश्चिम र कर्णालीमा मात्रै नभएर काठमाडौंमा पनि जातिय भेदभाव अझै रहेको बताइन्।

सोमबार समितिमा छाउपडि उन्मुलनका लागि भएका प्रयास र परिणाम सम्बन्धमा छलफल भएको छ । कञ्चनपुर, कैलाली, बैतडी, डडेल्धुरा, दार्चुला, डोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा छाउगोठ नभएको जानकारी समिति बैठकमा दिइएको छ । 

महिला समिति निर्देशन

यता, समितिले महिनावारी भएका बेला गोठमा बस्ने महिला र बस्न लगाउने अभिभावकलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नुहने भन्दै जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्ने व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो ।

यसैगरी सुदुरपश्चिम तथा कर्णाली प्रदेश एवं स्थानीय तहसँग समुन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला बालकालिका मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको छ । 

राष्ट्रिय सरोकार समिति

सांसदहरुले भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले अन्य देशबाट आउने सहयोगबाट हुने पुननिर्माणको काम सम्पन्न हुन लागिसेको तर भारतको सहयोगमा निर्माण हुने अधिकांस पुननिर्माणको काम सुरु हुन नसकेको भन्दै प्रश्न गरेका हुन् । 

सांसदहरुले समितिको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसँग भारतीय सहयोग ढिलो आउनुको कारणको जवाफ मागेका हुन् ।

सांसद खिमलाल भट्टराईले भारतीय सहयोग ल्याउन पछिल्लो समय नयाँ सर्तहरु आएको समाचार आएको भन्दै त्यसलाई स्पस्ट पार्न आग्रह गरे । 

त्यस्तै सांसद सुरेन्द्रराज पाण्डेले अन्य मुलुकबाट आउने सहयोगबाट हुने पुननिर्माण सकिन लाग्दा पनि भारतीय सहयोग हुने पुननिर्माण सुरु हुन नसकेको भन्दै प्राधिकरणसँग जवाफ माग गरे ।

बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भारतीय सहयोगमा केही नयाँ सर्तहरु पुरागर्नुपर्ने भएकाले सहयोग रकम आउन ढिलाई भएको स्वीकार गरे ।

भारतले आफ्नै निर्माण कम्पनी र आफ्नै निर्माण सामग्रिको प्रयोग गर्नुपर्ने सर्त राख्दा वैदेशीक सहयोग घट्दै गएको बताए ।

बैठकमा सांसदहरुले एकिकृत वस्ती निर्माणका कामहरु अन्तिम चरणमा पुगेको भएपनि बस्ती सार्ने विषयमा समस्या रहेको भन्दै त्यसको समाधानका लागि जोड दिन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । त्यस्तै समितिका सभापति दिल कुमारी रावल थापाले पुननिर्माणको कामको प्रगति सन्तोषजनक रहेको र वैदेशिक सहयोग आउन ढिलाई हुन नदिन प्राधिकरणलाई निर्देशन दिए । 

यस्तै सांसदहरुले पुरातात्वीक सम्पदाहरुको पुननिर्माणमा भएको ढिलाईको सम्बन्धमा पनि चासो देखाएका छन् ।

सांसदहरुले धरहरा, सिंहदरबार, तथा रानीपोखरिको पुननिर्माण सुरुभएपनि उपत्यका बाहिर रहेका सम्पदाहरुको पुननिर्माण सुरुहुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् । 

सुन 

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको जनाएको छ । अमेरिका र इरानबीचको युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुनको माग बढेको र यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरुको भनाइ छ । 

नेपाली बजारमा केही दिन यता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ ।

यो मुल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको छ । 

२०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर फेरी एकसाता याता सुुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।

सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध रहेको महसचिव बज्राचार्य बताउनुहुन्छ । अमेरिका र इरानबीचद्ध युद्धको सम्भावना बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई लिएका छन् ।

त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन् । त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ । यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ ।  

विश्व बजारमा सुनको माग अझै बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना रहेको बज्राचार्य बताए  । 

उनका अनुसार मूल्य बढेसँगै बजारमा खरिद गर्ने भन्दा विक्री गर्न आउनेहरुको भिड लाग्ने गरेको छ । पुष महिनामा नेपाली बजारमा कारोबार न्यून हुने र त्यसमा पनि मूल्य बढेपछि देशैभर दैनिक १÷२ केजि मात्र कारोबार भएको उनको भनाइ छ ।  

विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् । त्यसैले पनि अहिले सुनको माग अन्तराष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको छ । सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ । एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो । 


इरानले डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोक्यो

अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । 

आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर लगभग ९ अर्ब रुपैयाँ तोकिएको हो ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ ।  ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । 

मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप