बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

८० वर्षको उमेरमा बुबा बनेपछि आर्थिक सहयोगका लागि हारगुहार

सोमबार, २१ पुस २०७६, १२ : २६
सोमबार, २१ पुस २०७६

बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिका–५, धुवाँखोला निवासी ८० वर्षीय कले परियार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेका छन् । यो उमेरमा आएर पुत्रलाभ गरेका उनले सुत्केरी श्रीमती र नवजात पुत्रको स्याहार–सुसारका लागि आर्थिक सहयोग जुटाउन दौडधुप गर्नुपरेको हो ।

नागरिकताअनुुसार ७१ वर्ष उमेर उल्लेख भए पनि आफ्नो वास्तविक उमेर भने ८० वर्ष रहेको उनी बताउँछन् । लौरोको सहारामा हिँडडुल गर्ने उनका कलेटी परेका शरीर, खुट्टामा फाटेको चप्पल, शरीरमा न्यानो कपडाको अभावले नै आर्थिक अवस्थालाई उजागर गर्दछ ।

श्रीमती देवी परियारको कोखबाट १० दिन अघिमात्र छोरा जन्मिएकोमा खुशी देखिएका उनी सुत्केरी उकास्ने र न्वारन गर्ने खर्च नहुँदा आर्थिक सहयोगका लागि दौडधुप गरिरहेका हुन् । चन्द्रकोट गाउँपालिकाको वडा नम्वर–५ का अध्यक्ष टेकबहादुर पुनबाट सिफारिसपत्र बनाई उनी गाउँपालिका कार्यालयमा सहयोग माग्न पुगे ।

‘के गर्नु हजुर, छोरा त जन्मियो तर सुत्केरी उम्काउने उपाय नभएपछि सहयोग उठाउँदै हिँडेको छु, गाउँघरमा चार÷पाँच माना चामल मागेर सुत्केरीलाई खुवाएँ, न्वारन गर्न बाँकी छ, सहयोगका लागि गाउँपालिकामा आएको हुँ,’ उनले यो उमेरमा कठ्याङ्ग्रिदो चिसोमा गाउँपालिका कार्यालयसम्म आउनुको बाध्यता सुनाए ।

उनले ९ वर्ष अघि देवी परियारसँग दोस्रो विवाह गरेका रहेछन् । विवाहको  दोश्रो वर्ष छोरी जन्मिएको उनले सुनाए ।

कले र देवीको दोश्रो सन्तानका रुपमा अहिले छोरा जन्मिएको हो । जेठी श्रीमती तुल्सी परियारतर्फ उनका ५ छोरा छन् । तुल्सीको निधन भएको अर्को वर्ष नै कलेले दोस्रो विवाह गरेका हुन् ।

जेठी तर्फका सबै छोरा बाल्यकालदेखि नै भारतमा मजदुरी गर्न गएका र हाल सम्म फर्केर नआएको उनले बताए ।

सन्तोषी प्राविका शिक्षक पृथ्वीराज पौड्यालका अनुसार पाखुरामा बल हुँदासम्म कलेले मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । बुढ्यौलीका कारण उनी ज्याला–मजदुरी गर्न सक्दैनन् । बढीमा दुई महिना खान पुग्ने उनको बारी पनि अहिले खनजोत गर्न नसक्दा बाँझै छ ।

‘यो उमेरमा छोरा जन्माउँदा कत्तिको खुशी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘खुशी त लागेको थियो क्यारे, तर सुत्केरी उम्काउन मुस्किल प¥यो ।’

वडाध्यक्ष टेकबहादुर पुनका अनुसार सुत्केरी व्यथा लागेपछि कलेले श्रीमतीलाई ग्वाघा स्वास्थ्य चौकीमा लिएर आएका थिए । त्यहाँ सुत्केरी गराउन नसकेपछि डाक्टरको पहुँच समेत रहेको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरस्थित स्वास्थ्य चौकीमा रिफर गरियो ।

तर उनीसँग शान्तिपुरसम्म गाडीमा जाने बाटो खर्च भएन । वडाध्यक्ष पुन भन्छन्, ‘उनीसँग बाटो खर्च नभएपछि मानवीयताको हिसाबले मैले व्यक्तिगत रुपमा गाडी भाडा दिएर त्यहाँ पठाएको थिएँ । त्यहाँ पनि सम्भव नभएपछि पाल्पा रिफर गरिएछ ।’

पाल्पा जाने बाटो खर्च नभएका कारण उनीहरु घर फर्केछन् । शौभाग्यवस् देवीले घरमै शिशुलाई जन्म दिइन् ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले कले परियारको अवस्थाबारे आफूलाई भर्खरमात्र थाहा भएको जनाउँदै तत्काल सहयोगको व्यवस्था गर्न लगाउने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप