बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखबारे निर्णय गर्न ओली–प्रचण्ड बालुवाटारमा छलफल

सोमबार, २१ पुस २०७६, १२ : २०
सोमबार, २१ पुस २०७६

काठमाडौँ । सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनीभूत छलफल सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् । 

बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफल हुनेछ । 

नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताएका थिए ।

 ‘सचिवालय अलि मिलेको छैन । मिलाउनुपर्छ,’ नेता नेपालले धनगडीमा भनेका थिए । तर ओली भने तत्काल सचिवालय सदस्य नबढाउने पक्षमा छन् । गत पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकमा समेत सचिवालय संख्या बढाउने वा नबढाउने भन्ने बहस भएको थियो । 

नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अवको बैठक पुस २७ गतेलाई बोलाइएको छ । 

नेकपाकै कतिपय नेताहरुले उपसभामुख तुम्वाहाङफेले राजीनामा दिएपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार तय गर्न सहज हुने बताउदै आएका छन् । संविधानतः एउटै पार्टीको सभामुख हुन नपाउने भएकाले नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद मात्रै पाउने छ ।

त्यसो हुँदा संसदको ठुलो दल भएकाले पनि नेकपाले सभामुखमा दावी गर्नु अस्वभाविक होइन । तर यसअघिको समीकरणमा तत्कालीन नेकपा माओवादीले समुहले पाएको सभामुख पद अव पनि उसैले पाउनुपर्ने अडान पूर्व माओवादी पक्षको छ । तर पार्टी एकता घोषणा भैसकेकाले पुर्व माओवादी र एमाले भन्न नहुने भन्दै प्रधानमन्त्री ओली पूर्व एमालेबाटै सभामुख चयन गर्ने पक्षमा छन् । त्यसका लागि ओलीले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् ।

पूर्व माओवादी समुहले अध्यक्ष प्रचण्डमार्फत पूर्व सहमति तोड्न नहुने भन्दै पूर्व माओवादीबाटै सभामुख बन्नुपर्ने दवाव दिइरहेका छन् । पूर्व माओवादी समूहबाट अग्नि सापकोटा,देव गुरुङ र पम्फा भुसाल उम्मेदवारका रुपमा चर्चामा आएका छन् । 

पूर्वमाओवादी समूहका नेताहरुले पटकपटक कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर कुनै हालतमा सभामुख पद नछोड्न दवाव दिइरहेकाले प्रचण्डले आजको बालुवाटार बैठकमा आफ्नो बाध्यता सुनाउने तयारी गरेका छन् ।

‘यस्तो अवस्थामा जुन अध्यक्षले कन्भिन्स गर्न सक्छन् उसैले भनेको व्यक्ति सभामुखको उम्मेदवार हुन्छ’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘अहिलेसम्म पूर्व एमाले कि पूर्व माओवादी भन्ने विनविन सम्भावना छ । तर अब हुने छलफलमा जसले बढी कन्भिन्स गर्नसक्छ उसैको पक्षमा निर्णय हुन्छ ।’ 

आगामी पुस २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने भएकाले पनि त्यसअघि नै नेकपाले यसबारे टुगो लगाउनुपर्ने बाध्यता छ । 

नेताहरुले सभामुखको उम्मेदवार टुङ्ग्याउन ढिला गरेकाले उता उपसभामुख तुुम्वाहाङफेले उम्मेदवार तय नभइ राजीनामा नदिने अडान राख्दै आएकी छन् । तुम्बाहाङ्फे आफै पनि सभामुख हुने दौडमा छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको नेकपाकै नेताहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप