बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कासिम सुलेमानीकी छोरीले सोधिन्, ‘बदला कसले लिन्छ ?’

सोमबार, २१ पुस २०७६, ०७ : १९
सोमबार, २१ पुस २०७६

शनिबार एकातर्फ इराकमा हज्जारौं मानिसहरु इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको शोकसभामा समावेश हुनका लागि सडकमा उत्रिएका थिए, अर्कातर्फ त्यहि समयमा इरानमा राष्ट्रपति हसन रुहानी भने कमान्डर सुलेमानीको घरमा उनका परिवारलाई हिम्मत यथावत् राख्न भनिरहेका थिए ।

राष्ट्रपति रुहानी कमान्डर सुलेमानीको घर पुग्दा उनकी छोरी जेनब सुलेमानीले सोधिन्, ‘मेरो पिताको हत्याको बदला कसले लिन्छ ?’ यसको जवाफ दिँदै रुहानीले भने, ‘हामी सबै ।’

कमान्डर सुलेमानीकी छोरी र राष्ट्रपति रुहानीबीचको यो कुराकानी इरानको सरकारी टिभी च्यानलमा प्रसारित भएको छ ।

रुहानीले जेनब सुलेमानीलाई सान्त्वना दिँदै भने, ‘भगवानले तिमीलाई धैर्य धारण गर्ने क्षमता दिउन् । पीडा र दुःखको यो घडीमा भगवान तिम्रो साथमा हुनुहुन्छ र यसको न्याय पाइन्छ । हामी सबै बदला लिनेछौं । तपाईं यसबारे चिन्ता नलिनुहोस् ।’

इरानमा के भइरहेको छ ?

इरानको प्रमुख शहरमध्ये एक अहवाजमा आइतबार बिहान हज्जारौं मानिसहरु सुलेमानीको शोकसभामा उपस्थित हुन जम्मा भए ।

इरानको सरकारी समाचार एजेन्सी अनुसार दक्षिण–पश्चिमस्थित अहवाज शहरमा नै इराकबाट कमान्डर सुलेमानीको शव ल्याइएको छ । इरानी झण्डामा बेह्रिएका सुलेमानीको शवलाई राष्ट्रिय सम्मानका साथ विमानबाट उतारियो । उनीसँगै इरानका पाँच सैनिकको शव पनि थियो ।

अहवाज शहरस्थित मौलवी स्क्वायरमा जम्मा भएका मानिसहरुले आफ्नो छाती पिट्दै ‘अमेरिका मुर्दाबाद’ को नारा लगाइरहेका छन् ।

इरानको आधिकारिक वेबसाइटका अनुसार देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनेइले ‘सुलेमानीको हत्याको कठोर बदला लिइयोस्’ भनेका छन् । खमेनेइले सोमबार तेहरान युनिभर्सिटीमा सुलेमानीलाई अन्तिम श्रद्धाञ्जली दिनेछन्, त्यसपछि जनरल कासिम सुलेमानीको शवलाई अन्त्येष्टिका लागि केरमान कस्बेमा रहेको उनको घरमा पुर्‍याइनेछ ।

इरानका राष्ट्रपति हसन रुहानीले भनेका छन्, ‘अमेरिकाले सुलेमानीको हत्या गरेर निकै ठूलो गल्ती गरेका छन् ।’

इरानको तर्फबाट आइरहेको प्रतिक्रियाको जवाफमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्, ‘इरानले यदि अमेरिकाको कुनै पनि सम्पत्ति छोए अमेरिकाले यसको निकै कठोर र तीब्र जवाफ दिनेछ ।’

अमेरिकाले भन्यो, ‘हतियार तयार छन्’

आइतबार बिहान डोनल्ड ट्रम्पले ट्वीट गरे, ‘अमेरिकाले हालै सैन्य उपकरणमा दुई ट्रिलियन डलर खर्च गरेका छन् । हामी सबैभन्दा विशाल र संसारमा अहिलेसम्म सर्वोत्तम छौं । यदि इरानले कुनै पनि अमेरिकी बेस वा कोही अमेरिकी नागरिकलाई छोएमात्रै पनि हामी यी नयाँ हतियारमध्ये केहीलाई इरानसम्म पठाउन अलिकति पनि हिच्किचाउने छैनौं ।’

ट्रम्पले अर्को एउटा ट्वीटमा ‘अमेरिकासँग इरानका ५२ निशानाको एउटा सूची तयार’ भएको बताएका छन् ।

सुलेमानीको हत्या पछि सुरु भएको यो शीतयुद्धमा इरानी राष्ट्रपतिले पनि भनेका छन्, ‘सुलेमानीको हत्याको परिणाम अमेरिकी जनताले आजमात्रै नभई अबका थुप्रै वर्षसम्म पनि भोग्नुपर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप