मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादीले उम्मेदवार तय गरेपछि राजपालाई चुनौति, दाजुभाइको भिडन्त !

आइतबार, २० पुस २०७६, १४ : ५१
आइतबार, २० पुस २०७६

काठमाडौँ । समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ । प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादव र रामपृत पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

राजपा नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ सप्तरीका मृगेन्द्रसिंह यादवलाई उम्मेदवार बनाएपछि समाजवादी पार्टीले पनि मृगेन्द्रसिंह यादवका भाइ अनिरुद्र सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै राजपा नेपालले सप्तरीका शेखर सिंहलाई उम्मेदवार बनाउँदा समाजवादी पार्टीले दलितबाट रामपृत पासवानलाई उम्मेदवार बनाएको हो । 

प्रदेश २ मा राजपा नेपाल र नेकपाबीच २–२ सिटमा चुनावी तालमेल भएपछि दुई दलका चारैजना उम्मेदवार बलियो अवस्थामा छन् । तर गोप्य मतदान भएकाले केही मत ‘क्रस’ हुने सम्भावना पनि उत्तीकै रहेको बताइएको छ । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा केही मत तान्ने आश्वासन आफ्ना दल तथा काँग्रेस पार्टीलाई दिएको स्रोतले जनाएको छ । समाजवादी पार्टीले प्रदेश २ मा काँग्रेससँग तालमेल गरेको छ । जसअनुसार २ सिटमा काँग्रेसले उम्मेदवारी दिएको छ । 

अनिरुद्र एमाले पृष्ठभूमिका हुन् भने मृगेन्द्र काँग्रेस पृष्ठभूमिका । अनिरुद्र तत्कालीन एमालेबाट तत्कालीन फोरम नेपालमा प्रवेश गरेका थिए भने मृगेन्द्रसिंह यादव काँग्रेस हुँदै तत्कालीन सद्भावना पार्टीमा गएका थिए । उनी ज्ञानेन्द्र शाहको पालामा अञ्चालाधीश पनि भएका थिए । अञ्चालाधीशबाट हटेपछि उनी फोरम नेपालमा प्रवेश गरेका थिए । पछि विजयकुमार गच्छदारहरुसँग बाहिरिएका थिए । 

केहीपछि विजयकुमार गच्छदारलाई छाडेर सद्भावना पार्टीमा फर्केका उनी हाल राजपा नेपालका उपाध्यक्ष रहेका छन् । अनिरुद्र र मृगेन्द्र दोस्रो संविधानसभा निर्वाचनमा एउटै क्षेत्रबाट चुनावमा लडेका थिए । अनिरुद्र तत्कालीन फोरमबाट र मृगेन्द्र तत्कालीन सद्भावना पार्टीबाट चुनाव लडेका थिए । 

तर अनिरुद्रले चुनाव हारेका थिए । अनिरुद्र र मृगेन्द्र नाताले दाजुभाइ भएपनि उनीहरु जहिले पनि एकअर्काको प्रतिपक्षमा नै रहे । जनतामा दुवैजनाको त्यस्तै पकड रहेको कारणले नै राजपाले मृगेन्द्रलाई टिकट दिएको हो भने समाजवादी पार्टीले पनि रणनीतिकरुमा अनिरुद्रलाई टिकट दिएको विश्लेषण भइरहेको छ । 

यो चुनावमा रकमको चलखेल हुन सक्ने विश्लेषण सप्तरीमा सुरु भएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन्छन् । सिमित मतदाता भएको कारणले त्यहाँ चलखेल गर्ने ठाउँ नहुनसक्छ तर पैसाको चलखेल भयो भने जे पनि हुनसक्ने सम्भावना रहेको बताइन्छ ।

प्रदेश २ मा राजपा नेपाल र नेकपा गठबन्धनको प्रदेशसभा सदस्य ५७ र स्थानीय तह प्रमुख र उपप्रमुख १२७ रहेका छन् भने समाजवादी पार्टी र काँग्रेस गठबन्धनको प्रदेशसभा सदस्य ४९ र स्थानीय तह प्रमुख र उपप्रमुख १३३ रहेका छन् । काँग्रेस र समाजवादी पार्टीको मत स्थानीय तहमा बढी छन् । उता, प्रदेशसभामा राजपा र नेकपाको मत बढी छन् । स्थानीय तहभन्दा प्रदेशसभाको मत बढी भएको कारण स्थानीय तहको मत त्यहाँ मेकअप हुने देखिएको छ । तर थोरै मतान्तर भएकाले त्यहाँ पैसाको चलखेल भयो भने नतिजा दायाबायाँ हुन सक्ने बताइन्छ । 

चारवटा सीट रहेको प्रदेश २ मा काँग्रेस–समाजवादी गठबन्धनले दुई–दुई र राजपा–नेकपा गठबन्धनले दुई–दुई सीटमा सम्झौता गरेको छ ।  

समाजवादी पार्टीको दुईदिनसम्म बसेको पदाधिकारी बैठकले आइतबार राष्ट्रियसभा चुनावको उम्मेदवार टुङ्गो लगाएको हो । 

समाजवादी पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेका अनुसार समाजवादी पार्टीले प्रदेश २ बाहेक प्रदेश २ र ५ मा पनि उम्मेदवारी दिएको छ । 

पार्टीले प्रदेश १ मा भरत दाहाल, ज्ञानराज परियार र सविना खातुत तथा प्रदेश ५ मा कृष्णप्रसाद यादवलाई उम्मेदवार मनाउने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप