शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा औँला सुन्निने समस्या छ ? यसरी बच्न सकिन्छ

शनिबार, १९ पुस २०७६, १४ : १३
शनिबार, १९ पुस २०७६

जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो (Pernio) वा चिलब्लेन (Chilblains) भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति ।

४० वर्षसम्मका महिलाहरुमा बढी देखिने चिलब्लेन चिसोको कारणले हुने गर्छ । यो समस्या बालबालिका र बृद्धबृद्धाहरुमा पनि देखिने गरेको छ ।

चिसो पानी चलाइरहने, चिसोमा काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिने धुलिखेल अस्पतालका वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

यो समस्या सँधै चिसो भइरहने ठाउँमा बस्नेलाई भन्दा मौसमी चिसो हुने ठाउँमा बस्नेहरुमा बढी देखिन्छ । जस्तोः हिमाली भेगको दाँजोमा पहाड र तराइमा बढी देखिने गरेको डा. कर्ण बताउँछन् ।

डा. कर्ण भन्छन्, ‘यो चिसोप्रति मानिसको शरीरको असामान्य प्रतिक्रिया हो । यो समस्या शरीरका खुल्ला रहने भागहरु जस्तोः हात, खुट्टा, मुख आदिमा बढी देखिन्छ । चिलब्लेनको समस्या भएमा सुन्निने मात्रै होइन रातो हुने, चिलाउने र घाउ नै हुन सक्ने र यो बढेमा संक्रमणको जोखिम पनि हुन सक्छ ।’

औंला सुन्निनु चिलब्लेन मात्र नभएर बाथको सुरुको अवस्था पनि हुन सक्छ त्यसैले यसबारे विरामी सचेत हुन जरुरी छ । हरेक चिसो मौसममा यस्ता समस्या दोहोरिएमा भने तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्दछ ।

औंला सुन्निनुका कारणहरु

चिसोका कारण मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ । स्वस्थ्य मानिसको शरीरको संयन्त्रहरु रक्तनलीहरु खुम्चिएपछि वा सांघुरिएपछि आफै फैलिने खालको हुन्छ । तर साँघुरिएको रक्तनलीहरु पूर्ववत स्थितिमा फैलिएन भने त्यस ठाउँमा रक्तसञ्चार राम्रो हुन पाउँदैन । रक्तनलीहरु खुम्चिएपछि र राम्रो रक्तसञ्चार हुन नपाएपछि विषालु तत्वहरु एक ठाउँमा जम्मा भइराख्छन् जसले गर्दा सुन्निने, पोल्ने अनि चिलाउने हुन्छ । औंला सुन्निने (चिलब्लेन)को समस्या हुनुमा अन्य कारणहरु पनि छन् :

–वंशानुगत कारण

–रक्तनली सम्वन्धि रोगहरु (मधुमेह, धुम्रपान मध्यपानका कारण हुने रोग, रगतमा चिल्लनेपदार्थको मात्रा धेरै हुनु)

–कम तौल भएका तथा पोषण तत्वको कमी हुनेहरुमा यस्तो समस्या आउने सम्भावना बढी हुन्छ ।

–डाइटिङ गर्नेहरमा पनि यो समस्या देखिन्छ

–हर्मोनको परिवर्तनका कारण

–रक्तनलीलाई खुम्च्याउने औषधीहरुको सेवन

–चिसो पानी धेरै चलाउँदा

–घाम नलाग्ने कोठामा बस्नेहरुमा

चिलब्लेनबाट शरीरका सबै अंग प्रभावित हुँदैनन् । केही अंगहरु मात्र प्रभावित हुन्छन् । विशेष गरेर हात खुट्टाका औंलाहरु, औंलाका पछाडि र छेउछाउका भाग, कुर्कुच्चा, खुट्टाको तल्लो भाग, वोसो जमेको भाग, नाकको टुप्पो, कानको लोती आदि भाग सुन्निने, चिलाउने र रातो हुने हुन्छ ।

लक्षणहरु

यो समस्या भएमा सुन्निने चिलाउने, रातो डावर आउने, पोल्ने, फोका हुने र घाउ नै हुने गर्छ । सुन्निएर घाउ नै भएमा दुख्ने गर्छ । रातो भाग निलो हुँदै पनि जाने गर्छ । कहिले काहीँ फोकाहरु लामो समयसम्म रहन सक्छ ।

रोकथाम र उपचार

चिलब्लेनको समस्या आउन नदिन मुख्यत चिसोबाट बच्नु पर्छ । यसमस्या आइहालेमा हातखुट्टालाई चिसो हुनुबाट बचाउनुपर्छ । धुम्रपान (निकोटिन)ले पनि रक्तनली खुम्च्याउने भएकाले यस्ता समस्या भएका मानिसले त धुम्रपान गर्नै हुँदैन । यस्ता समस्या आउन नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तोः

–घर अथवा कोठालाई न्यानो राख्ने, पूर्णरुपमा शरीर छोप्ने गरी कटन अथवा नरम खालको कपडा लगाउने गर्नुपर्छ ।

–हातखुट्टा छोप्न पन्जा अनि मोजाको प्रयोग गर्ने । तर धेरै कस्सिएको पन्जा अनि मोजा भन्दा हल्का खुकुलो लगाउने ।

–कतै हिडनु अगाडी हातका औंला अनि खुट्टाको व्यायाम गरेर निस्कने ।

–हात खुट्टालाई मनतातो पानीमा नुन राखी डुवाउने ।

–धेरै पानीमा काम गर्नुपरेमा पानी नपस्ने पन्जाको प्रयोग गर्ने ।

–घाममा सेकाउने ।

सामान्यतः यस्तो समस्या देखिएको एक सातादेखि तीन साताभित्रमा निको हुन्छ । निको भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

डा. कर्ण यस्तो समस्या भएमा हिटरको नजिक नवस्न सल्लाह दिन्छन् । हिटर नजिक बस्दा सुन्निएको भागमा असर गर्न सक्ने भएकाले अलि टाढा बस्ने । मनतातो पानीमा डुवाएर सुख्खा पार्ने र भेसलिन, लोसन लगाएर पन्जा, मोजा लगाउनु राम्रो हुन्छ ।

कहिले काही समस्या बढेर संक्रमणको जोखिम पनि हुन्छ । संक्रमण भयो भने घाउ हुने वा छाला कडा भएर अरु समस्या निम्तिन सक्ने भएकाले छाला रोग विशेषज्ञको सल्लाह लिन चिकित्सकहरु सुझाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप