अचम्मको कीरा : एकैदिनमा ३० हजार अण्डा पार्छ !
धमिराको रानी धमिरा तपाईं हामीले देखिरहेको जीव हो । मौरी, कमिलाजस्तै यो जीव पनि रानीको नेतृत्वमा समूहमा बस्ने गर्छ । रानीको मुख्य काम नै अण्डा पार्ने हो । धमिराका कतिपय प्रजातिमा त रानीले प्रतिदिन ३० हजारसम्म अण्डा पार्न सक्छ । यसको अण्डा पार्ने यो विलक्षण क्षमता देखेर जीवविज्ञानीहरुले यसलाई अण्डा पार्ने मेशिनको संज्ञा पनि दिने गर्छन् ।
धमिराको गुँडलाई देवल भनिन्छ । यस्तो देवल सानोदेखि लिएर ६ मिटर अग्लोसम्म हुन सक्छ । रोचक त के छ भने, मिहिनी माटो र धमिराको र्यालले बनेको तथा सूर्यको तापले सेकिएको यस्तो देवल निक्कै बलियो हुने गर्छ । धमिराको देवलभित्र निक्कै धेरै कोठाहरु हुने गर्छन् । कतिपय जानकारहरु त धमिराको देवललाई वास्तुकलाको अनुपम नमूनाको रुपमा पनि लिने गर्छन् किनभने त्यहाँ हावा तथा पानीको निकासको लागि राम्रो प्रबन्ध गरिएको हुन्छ ।
धमिराको एउटा समूहमा केही सयदेखि दशौं लाखसम्म धमिराहरु रहन सक्छन् । उष्णप्रदेशीय घना जंगलहरुमा गएर हेर्ने हो भने, प्रति एकड क्षेत्रमा केही दर्जनदेखि हज्जारौंको संख्यामा पनि धमिराका देवलहरु हुन सक्छन् । धमिराका धेरै प्रजातिहरुमा कार्य विभाजन अनुसार धमिराको सामाजिक तह पनि निर्धारित हुन्छ । कमिला वा मौरीमा जस्तै धमिरामा पनि कामदार, बच्चाहरुको सुसारे, सन्तानोत्पत्ति गर्ने, सिपाही जस्ता विभिन्न कार्य विभाजन भएको हुन्छ । कामदार धमिराको काम गुँड निर्माण गर्ने तथा रानी र समूहका अन्य सदस्यहरुलाई खानेकुरा उपलब्ध गराउने हुन्छ । त्यसैगरी, सिपाही धमिराको काम चाहिँ शत्रुबाट समूहको रक्षा गर्ने हुन्छ । अरु धमिराको तुलनामा सिपाही धमिराको टाउको र बंगारा ठूलो हुन्छ ।
सन्तानोत्पत्ति गर्न सक्ने धमिरा अलि गाढा रंगको भाले र पोथी हुन्छ र यसकोे पखेटा पलाएको तथा आँखा पनि विकसित हुन्छ । सन्तान उत्पादन गर्न सक्षम भएपछि ती धमिराहरु जोडा बनाएर गुँडबाट बाहिर उड्ने गर्छन् र अनुकूल ठाउँमा गएर नयाँ गुँड निर्माण गर्ने गर्छन् । यसभन्दा अगाडि नै उनीहरुको पखेटा झरिसकेको हुन्छ । ती दुई भाले र पोथी धमिराबीचको संसर्गबाट थप हज्जारौं धमिराहरु जन्मिने गर्छन् र नयाँ समूहको निर्माण हुने गर्छ । यसरी सबैभन्दा पहिले समूह निर्माण गर्ने भाले र पोथी धमिरा राजा र रानी हुने गर्छन्, जसको मुख्य काम नै अण्डा उत्पादन गर्ने र सन्तान उत्पादनको कार्यलाई निरन्तरता प्रदान गर्ने हुन्छ । अरु धमिराहरु भन्दा धमिराको राजा र रानी बढी समयसम्म बाँच्ने गर्छन् । केही प्रजातिका धमिरामा त राजा–रानी धमिरा १० वर्षदेखि १५ वर्षसम्म बाँच्ने गर्छन् । रोचक त के छ भने, धमिराको समूहमा रानीको शरीरको आकार अन्य धमिराको तुलनामा निक्कै ठूलो हुने गर्छ । तुलना गरेर हेर्ने हो भने यो आकार एउटा कामदार धमिराको तुलनामा २० हजार गुनासम्म ठूलो हुन्छ । यसो हुनुको कारण चाहिँ उसको पेटमा उत्पादन हुने हज्जारौं अण्डाहरुले गर्दा नै हो । आफ्नो यो विशालकाय शरीरको कारण रानी धमिरा हलचल गर्न पनि सक्दैन । यो पूर्णतः सुसारे–कामदार धमिरामाथि निर्भर हुने गर्छ ।
अहिलेसम्म धमिराको २०० भन्दा बढी प्रजातिहरु पत्ता लागिसकेका छन् । धमिरा र कमिलामा धेरै कुराहरुको समानता हुन्छ । त्यसैले कतिपय मानिसहरुले धमिरालाई सेतो कमिला पनि भन्ने गर्छन् ।
धमिराको प्रिय आहारा नै रुख तथा सेलुलोस हुने पदार्थहरु हो । धमिराले रुखपात तथा काठले बनेको सामानहरुलाई भित्रभित्रबाट खाएर पूरै काम नलाग्ने बनाइदिन्छ । त्यसैले मानिसहरु धमिरालाई शत्रुको रुपमा व्यवहार गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण