शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा भोलि ‘समानान्तर’ बैठक : सानेपा प्रवेशमा इतर पक्षको ब्रेक

बुधबार, १६ पुस २०७६, १६ : ०३
बुधबार, १६ पुस २०७६

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठकबाट भएका निर्णय नसच्याए पार्टीको कुनै पनि बैठकमा उपस्थिति नजनाउने नीति लिएको छ । 

इतरको उपस्थितिविना गत शुक्रबारको बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टीका विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको सङ्ख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप्ने निर्णय गरेको थियो ।

सोही निर्णय सच्याउनुपर्ने बटमलाइन बनाएको इतर पक्षले बुधबार साँझ ५ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा समेत उपस्थिति नजनाउने भएको छ ।

यता बिहीबार दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक आफूहरुको उपस्थिति नरहने इतर पक्षका नेता अर्जुननरसिंह केसीले रातोपाटीलाई जानकारी दिए । 

बुधबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेर फर्किएका केसीले भने, ‘विधि–विधान र पार्टी परम्परा विपरीत भएका निर्णय नसच्याएसम्म बैठकमा जाने कुरा सोच्न पनि सकिँदैन ।’ 

यता पार्टी उपसभापति विमलेन्द्र निधिले भने पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकमा इतर पक्षको उपस्थिति गराउने कसरत जारी रहेको बताए । 

उनले भने, ‘पदाधिकारी बैठकमा रामचन्द्र दाइ र कृष्ण सिटौलाजीलाई सहभागी गराउने कसरत जारी छ । आज पाँच बजे पदाधिकारी बैठक बस्दै छ । उहाँहरु आउनु हुनेछ भन्ने आशा छ ।’ निधिका अनुसार पदाधिकारी बैठकले भोलिको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्ने छ । जसमा राष्ट्रिय सभा निर्वाचनसँग सम्बन्धित एजेन्डा मात्रै रहेको उनले बताए । 

उनले भने, ‘भोलिको केन्द्रीय समिति बैठक पार्टीको आन्तरिक विषयमा होइन । राष्ट्रिय राजनीतिको विषय हो । तपाईं आइदिनु पर्‍यो भनिरहेका छौँ ।’ 

इतर पक्षले के प्रतिक्रिया दियो भन्ने प्रश्नमा निधिले भने, ‘उहाँ (रामचन्द्र)ले राष्ट्रिय सभा निर्वाचनका विषयमा मसँग वार्ता गर्न मिनेन्द्र रिजाललाई जिम्मेवारी दिनुभएको छ । मैले रिजालजीसँग कुरा गरेँ । उहाँले राष्ट्रिय निर्वाचन सम्बन्धमा तपाईंहरुले लिने निर्णयमा हाम्रो सहमती रहन्छ । बैठकमा भाग लिँदैनौँ भन्नु भएको छ ।’

तर आफूहरुले बैठकमा सहभागी भइदिन अनुरोध गरिरहेको उनले बताए । यस विषयमा छलफल गर्न उपसभापति निधि सोमबार बिहान पौडेल निवासमा पुगेका थिए ।

उक्त छलफलमा पौडेलले निधिसँग गत शुक्रबार पार्टीले लिएको निर्णय नसच्याएसम्म आगामी बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए । 

आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनबाट १९ जना सदस्य निर्वाचित भएर आउने छन् । त्यसमध्ये काँग्रेसको तर्फबाट एक जना पनि निर्वाचित हुने सम्भावना छैन । तर काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिने तयारी थालेको छ । 

यसबारे संस्थापन पक्षले गरेका निर्णय मान्य हुने र त्यसमा आफूहरुको सहयोग रहने रिजालले रातोपाटीलाई बताए । उनले पनि बैठकमा भने सहभागी नरहने जिकिर गरे । यता संस्थापन पक्षले भने निर्णय सच्याउने कुनै सङ्केत देखाएको छैन ।

गत आइतबार देउवा निवासमा बसेका संस्थापन पक्षको भेलाले निर्णय नसच्याउने तर आगामी दिनमा सहमतिबाट अगाडि बढ्ने निष्कर्ष निकालेको थियो । 

इतर पक्षको कसरत
यता संस्थापन इतर पक्षले संस्थापन पक्षको निर्णयका विरुद्ध खरो रूपमा उत्रिएको छ । 

विशेषतः उसले क्रियाशील सदस्यतासम्बन्धी विधानका तीनवटा दफाका चारवटा प्रावधान निलम्बन गरिकोप्रति आपत्ति जनाएको छ । 

जसमा पार्टी विधानको दफा ५० को उपदफा (६) मा महाधिवेशनमा उम्मेदवार तथा मतदाता हुन ६ महिनाअघि नै क्रियाशील सदस्यता लिइसकेको हुनुपर्ने व्यवस्था छ ।

अधिवेशनभन्दा ६ महिनाअघि सदस्यता वितरण र नवीकरण बन्द गरिने प्रावधानसमेतलाई केन्द्रीय कार्यसमितिले निलम्बन गरेको छ । यसले महाधिवेशनमा ठूलो प्रभाव पार्ने भन्दै निर्णय सच्याउनुको विकल्प नरहेको इतर पक्षको ठहर छ । 

जसका लागि इतर पक्षका नेताहरु सभापतिलाई दबाब दिन निरन्तर आपसी संवादमा छन् । इतर पक्षले शनिबार, सोमबार र मङ्गलबारको बैठकबाट आन्तरिक रणनीति बुनेको छ । 

शनिबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा छलफलका साथै केन्द्रीय समितिको बैठकविरुद्ध पत्रकारसम्मेल समेत गरिएको थियो । त्यसपछि सोमबार सांसद दिव्यमणि राजभण्डारीको निवास मन्डिखाटारमा बसेको बैठकले थप रणनीति बनाएको थियो । त्यहाँ १७ गते बोलाइने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने कि नहुने भन्ने छलफलसमेत भएको थियो ।

उक्त बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेताहरु केसी, डा. रामशरण महत, शेखर कोइरालालगायतका नेताहरूको सहभागिता थियो । 

उक्त बैठकले पार्टी निर्णय नसच्याएसम्म सभापति देउवाले गठन गर्न लागेका विभाग, नेविसङ्घ र तरुण दलमा संस्थापनइतर पक्षबाट सहभागी नहुने निष्कर्ष निकालेको मङ्गलबार सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले बताएका थिए । 

यता मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सनेपामा पौडेलको कार्यकक्षमा बसेको इतर पक्षको बैठकले आफूनिकट जिल्ला सभापतिको भेला बोलाएको छ ।

त्यसका लागि जिल्ला सभापतिहरुलाई पुस २१ गते केन्द्रीय कार्यालयमा बोलाइएको छ । उक्त बैठकमा सिटौला पक्षको सहभागिता थिएन । उनी भने विवाद समाधानको सुझाव र शुक्रबारको बैठकको निर्णय सच्याउने दबाबपत्र बोकेर देउवा निवास पुगेका थिए ।

सानेपा प्रवेश बिहीबारलाई ब्रेक

पौडेल पक्ष मङ्सिर २६ पछि पहिलो पटक पुस १५ मा छलफलका लागि सानेपा प्रवेश गरेको थियो ।

यसअघि इतर पक्षका प्रमुख नेताहरूको निवासमा भेटवार्ता गर्दै आएका थिए । गत शुक्रबार पार्टी कार्यालय सानेपाबाट पौडेल पक्ष मानिने महेश आचार्यले ‘अमूक’ नेताको निवासमा हुने छलफलको औचित्य नहुने टिप्पणी गरेका थिए । 

नेताको निवासमा हुने छलफलमाथि प्रश्न उठेपछि पौडेल पक्षले मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालयबाटै गतिविधि सुरु गर्ने निर्णय गरेको थियो । मङ्गलबारको बैठक त्यसको सुरुवात हो । 

तर नेता केसीका अनुसार भोलि केन्द्रीय समिति बैठक बस्ने भएकाले पौडेल पक्ष पार्टी कार्यालय नजाने भएको छ । सानेपामा भोलि केन्द्रीय समिति बैठक सुरु भएपछि सोही समयमा आफू पक्षीय नेताहरूबीच बैठक राख्ने पौडेल पक्षको तयारी छ ।

कुन नेताको निवासमा भेला हुने भन्ने कुरा भने तय भइनसकेको केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप