शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० : कलाकार भन्छन्– हाम्रो भूमिका के ?

बुधबार, १६ पुस २०७६, १५ : ४१
बुधबार, १६ पुस २०७६

काठमाडौँ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न गतिविधिसमेत हुँदैछन् । यसका लागि सरकारले सुरक्षादेखि विभिन्न तयारीसमेत गरेको छ । तर राष्ट्रका गहनाका रूपमा चिनिने कलाकार भने ‘नेपाल भ्रमण वर्ष २०२०’ मा आफ्नो भूमिका के भन्ने विषयमा अन्यौल रहेका छन् । ‘भिजिट नेपाल २०२०’ का विषयमा कलाकारले राखेका विचार उनीहरुकै शब्दमाः

भुवन केसी (अभिनेता) 
‘भिजिट नेपाल २०२०’ को बारेमा मिडियामा प्रचार भइरहेको छ । यसको बारेमा थाहा नहुने त कुरै भएन । केही जानकारी छ । केही दिन पहिले अमेरिकामा एक कार्यक्रमका लागि गएको थिएँ । त्यस क्रममा अमेरिकाको सन्फ्रान्सिस्को सहरमा एक र्‍याली गरेर भिजिट नेपाल २०२० का लागि नेपाल भ्रमणको निम्तोसमेत दिएका थियौँ । यो बाहेक हामी कलाकारले खेल्ने भूमिका केकस्तो हो ? राज्यका तर्फबाट केही जानकारी आएको छ । नागरिकको हिसाबले गर्नुपर्ने दायित्व बहन गर्छु ।

करिष्मा मानन्धर (अभिनेत्री) 
भिजिट नेपाल २०२० को आज उद्घाटन सेरोमनी छ । त्यहाँबाट बोलवट आएको छ । जाँदैछु । तर ‘भिजिट नेपाल २०२०’ सफल पार्नका लागि हामी कलाकारले खेल्नुपर्ने भूमिका, क्रियाकलापको विषयमा आयोजक लगायत कुनै पक्षबाट केही जानकारी आएको छैन । देशको एउटा नागरिकले गर्नुपर्ने कर्तव्य म गर्छु । तर कलाकार भएको हिसाबले यो अवसरमा विषय भूमिका पनि खेल्न सकिन्थ्यो । तर हामीलाई त्यस्तो केही भनिएको छैन । 

बन्द्री पङ्गेनी (गायक) 
केही पहिले एउटा छलफलमा बोलाएर हाम्रो सुझाव लिइएको थियो । त्यसपछि हामीले खेल्ने भूमिका के, हामीबाट राज्यले कस्तो सहयोग चाहन्छ ? त्यसबारे हामी कलाकारलाई केही भनिएको छैन । हिजो पर्यटन बोर्डबाट उद्घाटन कार्यक्रममा सहभागीका लागि फोन आएको थियो । तर केही पहिले नै भैरहवाको कार्यक्रम फिक्स गरेकाले जाँदैछु । मैले विगत ६, ७ महिना यता देश तथा विदेश जहाँ जहाँ कार्यक्रम गरे, भिजिट नेपाल २०२० को विषयमा सन्देश दिएको छु । तर राज्य वा भ्रमण वर्ष आयोजक समितिले भने हामीले खेल्नुपर्ने भूमिकाको विषयमा केही भनेको छैन ।
हामी अन्यौलमा छौँ । खाली पोस्टर बनाएर प्रचार प्रसार गरेर ‘भिजिट नेपाल २०२०’ सफल पारौँ भनिएको छ । यसले सफल हँुदैन । हरेक नागरिकले गर्नुपर्ने कतव्र्य के । के गर्नेलगायतको सन्देश दिन सकेको छैन । विदेशका पाहुना नेपालका तारे होटलमा बस्न आउने होइनन् । उनीहरु नेपालको रमणीय गाउँघर बस्न र घुम्न आउने हुन् । त्यतातिर प्रचार गर्न सरकालाई मेरो सुझाव पनि छ ।

दीपकराज गिरी (अभिनेता) 
राज्यले हामीलाई ‘भिजिट नेपाल २०२०’ का लागि केही जिम्मेवारी दिएको त छैन । राज्यले केही नदिए पनि एउटा देशको सचेत नागरिकको हिसाबले आफूले गर्नुपर्ने कतव्र्य भने पूरा गर्नेछु । राज्यले हामी जस्तो कलाक्षेत्रका व्यक्तिलाई यस्तो भूमिका निर्वाह गर्छु, यस्तो कलासंस्कृति झल्काउनु भनेर जिम्मेवारी दिनुपर्ने हो त्यो दिन सकेको छैन । 

मिलन नेवार (गायिका)
केही महिना अगाडि पर्यटनमन्त्रीज्यूसँग भेट हुँदा तपाईं देश विदेश जहाँ कार्यक्रम गर्नुहुन्छ त्यहाँ ‘भिजिट नेपाल २०२०’ को जानकारी दिनु होला भन्नुभएको थियो । मैले त्यसै गरेको छु पनि । तर  ‘भिजिट नेपाल २०२०’ सुरु भएपछि यस्तो भूमिका खेल्नु, पर्यनलाई गतिसङ्गीतको तर्फबाट यस्तो गर्नु पर्‍यो ।
तपाईंहरु कलाकारको भूमिका यस्तो भनेर केही भनेको छैन । हाम्रो भूमिका के भन्ने विषयमा अनविज्ञ छु । राज्यतर्फबाट केही जानकारी नआए पनि एउटा नगरिकले गर्नुपर्ने कतव्र्य भने पूरा गर्नेछु । 

रवीन्द्र खड्का (अध्यक्ष, नेपाल कलाकार सङ्घ) 
म भर्खर विदेशबाट फर्किएको हुँ । यसको विषयमा कलाकारहरुले यसो गर्नुपर्‍यो भनेर राज्यकातर्फबाट केही आधिकारिक प्रस्ताव आएको छैन । हामीले कस्तो भूमिका खेल्न सक्छौँ, हाम्रो भूमिका के भन्ने विषयमा अहिलेसम्म अन्योल नै छ । राज्यतर्फबाट खबर नभए पनि म उहाँहरुसँग सम्पर्क गरेर हामीले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गरेर सहयोग पुर्‍याउने छु । यो मेरो दायित्व हो ।

आकाश अधिकारी (अध्यक्ष, चलचित्र निर्माता सङ्घ) 
‘भिजिट नेपाल २०२०’ मा नेपाली चलचित्र क्षेत्रको भूमिका के भन्ने विषयमा हामी अन्योलमा छौँ । राज्यले कुनै कलाकारलाई व्यक्तिगत रूपमा बोलाएर केही जिम्मेवारी दिएको भए थाहा भएन । राज्यले जसलाई ‘भिजिट नेपाल’को जिम्मेवारी दिएको छ, त्यो संस्थाले हामीलाई के कसरी गर्ने भन्ने विषयमा समेत सल्लाह सुझाव लिएको छैन । 
यो अवस्थामा हाम्रो भूमिका के भनेर कसरी भन्ने । हामीले व्यक्तिगत गर्ने काम गर्दछौँ । प्रोडुसर एसोसिएसन अफ साउथ प्यासेफिकको केन्द्रीय समितिमा पनि छु । यो संस्थामा ४८ राष्ट्र सदस्य छ । यो हिसाबमा मैले व्यक्तिगत तर्फबाट गर्नुपर्ने गर्छु ।

अनुष्का श्रेष्ठ (मिस नेपाल) 
राज्यको आधिकारिक संस्थाले त्यस्तो जिम्मेवारी केही दिएको छैन । तर मैले आफ्नो स्व–इच्छाले मिस वल्र्डको प्लेटफर्ममा पनि प्रचार गरेकी थिएँ ।  त्यो आफैले आफ्नो जिम्मेवारी बुझेर गरेकी हुँ । आज उद्घाटन कार्यक्रममा पनि बोलाउनुभएको छ । आज हिडेन ट्रेजर, नेपाल टुरिजम बोर्डबीच कन्ट्याक हुँदैछ ।  त्यो भएपछि मैले केही भूमिका खेल्नुपर्ने हुनसक्छ । अहिलेसम्म भने मेरो भूमिका यो भन्ने भएन । नागरिक भएको हिसाबले आफूले जाने बुझेको गरेकी छु । आगामी दिनमा पनि गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप