केन्द्रीय संस्करण
वेथिति

२३ वर्षदेखि दर्ताबिनै सञ्चालनमा भक्तपुर क्यान्सर अस्पताल

एक एनजीओले अस्पताल यसरी गर्‍यो कब्जा

person explore access_timeपुस १६, २०७६ chat_bubble_outline1
मदन ढुङ्गाना

रातोपाटी

२०३९ सालमा दर्ता भएको एउटा एनजीओ जसको मुख्य उद्देश्य क्यान्सर रोगबारे जनचेतना जगाउने र सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न जनचेतना जगाउनु थियो । त्यही एउटा एनजीओले यतिबेला सरकारी सम्पत्ति कब्जा मात्रै गरेको छैन, संस्थाका पदाधिकारीहरूको मनलाग्दीले अहिले एउटा संस्था धरापमा परेको छ ।

अहिले धराप वा विघटनको सँघारमा पुगेको संस्था भक्तपुर क्यान्सर अस्पताल हो भने अस्पताललाई धराशयी बनाउने नेतृत्व चाहिँ नेपाल अर्बुद रोग निवारण संस्था अर्थात् एनसीआरएसका पदाधिकारीहरू हुन् ।


भक्तपुर क्यान्सर अस्पतालको स्वामित्व कसले लिने र व्यवस्थापन समिति कसले सम्हाल्ने भनेर विवाद हुँदा भक्तपुर क्यान्सर अस्पताल लामो समयदेखि व्यवस्थापन समितिविहीन मात्रै भएको छैन, कर्मचारीलाई तलब भत्ता खुवाउनेदेखि अन्य व्यवस्थापनका कामसमेत अलपत्र परेका छन् ।

आफ्नो कुनै हक अधिकार नै नभएको नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पताललाई लामो समयदेखि आफ्नो अस्पताल भन्दै सञ्चालन मात्रै गरेन, सामान खरिद र अन्य भौतिक पूर्वाधार निर्माणमा चरम भ्रष्टाचार गर्न थालेपछि कर्मचारीको आन्दोलन सुरु भयो । गएको वर्षदेखि सुरु भएको कर्मचारीको आन्दोलन चर्किँदै गएपछि भक्तपुर नगरपालिकाले आफ्नै व्यवस्थापकीय जिम्मेवारी रहने गरी व्यवस्थापन समिति गठन गरेसँगै बढेको विवाद अदालतसम्म पुग्यो ।

भक्तपुर नगरपालिकाले अस्पतालको व्यवस्थापन समितिको जिम्मा आफू मातहतमा लिएको घोषणा गरेसँगै पुरानो व्यवस्थापन समिति अर्थात् नेपाल अर्बुद रोग निवारण संस्था सर्वोच्च अदालतलाई गुहार्न पुग्यो । भक्तपुर नगरपालिकाको व्यवस्थापन समिति ‘कानुनविपरीत’ भएको भन्दै तत्काल नयाँ व्यवस्थापन समितिलाई काम गर्न नदिन र पुरानोलाई नै निरन्तरता दिन अन्तरिम आदेश भयो । त्यसलगत्तै कागजीरूपमा भक्तपुर अस्पतालको व्यवस्थापनको जिम्मेवारी पुरानो व्यवस्थापन समितिले नै पायो ।

तर पुरानो व्यवस्थापन समिति भ्रष्टाचारमा चुर्लुम्म डुबेको र अस्पताल तथा यहाँ कार्यरत कर्मचारीहरूको वृत्ति विकासमा असहयोग गरेको भन्दै पुरानो व्यवस्थापन समितिलाई अस्पताल प्रवेश नै गर्न दिएन । त्यसपछि अहिले भक्तपुर अस्पताल व्यवस्थापन समितिविहीन बन्न पुगेको छ ।

तर सर्वोच्च अदालतले भक्तपुर अस्पतालले नयाँ व्यवस्थापन समिति गठन गर्नु कानुनविपरीत रहेको बताइरहँदा पुरानो व्यवस्थापन समितिको हैसियत नै कानुन विपरीत भएको तथ्य रातोपाटीले फेला पारेको छ ।

भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा नेपाल अर्बुद रोग निवारण संस्थाको कुनै हक अधिकार नरहेको तथ्य रातोपाटीले फेला पारेको छ ।

अहिले १ सय १० बेडको अस्पताल सञ्चालन गरिरहेको भक्तपुर अस्पताल कुनै पनि निकायमा दर्तासमेत भएको छैन । सरकारी निकायमा दर्तासमेत नभई सञ्चालनमा रहेको यो अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था अर्थात् एनसीआरएसले वर्षौंदेखि कब्जा गरेर चलाइरहेको छ भने यसको हिसाब किताबसमेत एनसीआरएसले लुकाउने गरेको पाइएको छ ।

यसरी स्थापना भएको थियो भक्तपुर क्यान्सर अस्पताल

नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएपछि २०५३ साल मङ्सिर २५ गते भक्तपुर अस्पतालमै केही व्यक्तिहरूको भेला भयो । क्यान्सर रोगको उपचारमा सहजीकरण गर्नका लागि भन्दै भक्तपुर अस्पतालका तत्कालीन क्यान्सर रोग विशेषज्ञ डाक्टर अन्जनीकुमार शर्माको अध्यक्षतामा २२ जना व्यक्तिको भेला बस्यो । उक्त भेलाको नाम ‘भक्तपुर क्यान्सर प्रोजेक्ट’ दिइयो ।

उक्त भेलामा भक्तपुर क्यान्सर अस्पतालकै ५ जना डाक्टर अस्पताल व्यवस्थापन समितिका व्यक्तिहरू तथा विभिन्न संस्थाका व्यक्तिहरू पनि उपस्थित थिए । त्यो भेलामा नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीलाई पनि आमन्त्रित सदस्यका रूपमा भेलामा बोलाइएको थियो । भेलामा आउने एनसीआरएसका सदस्यहरूमा कर्ण शाक्य, दिवाकर राजकर्णिकार, जितबहादुर श्रेष्ठ र ज्ञान बहादुर न्याइच्याई थिए । त्यसबाहेक रोटरी क्लबका पदाधिकारी पनि भेलामा सहभागी भए ।

उक्त भेलाको उद्देश्य भक्तपुर अस्पताल हातामै रेडियोथेरापी युनिट जडान गर्नका लागि भवन निर्माण गर्ने र सोको जग्गा खोज्ने काम गर्ने, जग्गा तयार भएपछि भवन निर्माणको व्यवस्थापकीय जिम्मेवारी एनसीआरएसले गरिदिने, रेडियोथेरापी मेसिन किन्ने, भवन निर्माणका लागि विभिन्न व्यक्तिले दिने सहयोग लिने आदि विषय समावेश गरिएको थियो ।

भक्तपुर क्यान्सर प्रोजेक्टको पहिलो बैठकको निर्णय 

भक्तपुर क्यान्सर अस्पतालको हालको अवस्थालाई हेर्ने हो भने यसको स्थापना यसरी भएको देखिन्छ । सुरुमा भक्तपुर क्यान्सर प्रोजेक्टका रूपमा स्थापना भएको एउटा अवैधानिक संस्था २०५५ सालमा अस्पताल नै स्थापना गर्ने अवस्थामा पुग्यो ।

जतिबेला रेडियोथेरापी मेसिन ल्याएर क्यान्सरको उपचार गराउने उद्देश्यका साथ यो प्रोजेक्ट स्थापना भएको थियो । त्यतिबेलाको आशय भक्तपुर अस्पतालकै एक अङ्गका रूपमा विकास गरिने अभिप्राय राखिएको देखिन्छ । भक्तपुर अस्पताल हातामै अस्पताल बनाउने, भवन निर्माणका लागि जग्गा दिने आदि कुराले यो भक्तपुर अस्पतालकै एक हिस्सा रहने गरी सञ्चालन गर्ने उद्देश्य राखेको देखिन्छ ।

तर जब अस्पताल बन्यो त्यसपछि भने यसको नेतृत्व लिन नेपाल अर्बुद रोग निवारण संस्था अर्थात् एनसीआरएसले धेरै मिहिनेत गरेको देखिन्छ । यही अस्पताल देखाएर विदेशबाट डोनेसन ल्याउन पाइने भएपछि यस अस्पताल व्यवस्थापनको जिम्मेवारी एनसीआरएसले हत्याउन थालेको थियो ।

भक्तपुर क्यान्सर प्रोजेक्टबाट सुरु भएको यो संस्था २०५५ सालमा भक्तपुर क्यान्सर केयर सेन्टरका रूपमा नाम परिवर्तन भई सञ्चालन भएको देखिन्छ । जब क्यान्सर केयर सेन्टर सञ्चालनमा आयो, त्यसपछि नेपाल अर्बुद रोग निवारण संस्थाले नै यसको व्यवस्थापकीय जिम्मेवारी लिएको देखिन्छ ।

२०५५ साल साउन १८ गते बसेको भक्तपुर क्यान्सर केयर सेन्टरको वैठकले यो सेन्टरलाई स्वायत्तता प्रदान गर्ने निर्णय गरेको देखिन्छ । मतलब अब यो क्यान्सर केयर सेन्टर भक्तपुर अस्पतालको एउटा अङ्गका रूपमा नभई छुट्टै संस्थाका रूपमा विकास गर्ने र स्वायत्तता प्रदान गर्ने नीति लिएको देखिन्छ । यो संस्थालाई छुट्टै दर्ता गरी सञ्चालन गर्ने र सार्वजनिक संस्था बनाउने उद्देश्य राखेको देखिन्छ ।

अस्पतालको भवन निर्माण भई रेडियोथेरापी मेसिनसमेत आइसकेपछि २०५६ साल असोज २१ गते तत्काली राजा वीरेन्द्रबाट उक्त क्यान्सर केयर सेन्टरको भवन उद्घाटन गराई सेवा प्रारम्भ गरिएको थियो ।

यो संस्था सञ्चालनका लागि भक्तपुर नगरपालिका तथा भक्तपुरका जनताबाट तत्कालीन समयमै २५ लाख, रोटरी क्लबबाट तत्कालीन समयमै ५ हजार अमेरिकी डलर, भक्तपुर अस्पताल तथा विभिन्न व्यक्तिहरूबाट चन्दा र सहयोग प्राप्त भएको देखिन्छ । त्यसबाहेक तत्कालीन श्री ५ को सरकारबाट पनि सहयोग लिएको देखिन्छ । तत्कालीन समयमा एनसीआरएसले भने जम्मा २१ हजार रूपैयाँ बैङ्क खातामा डिपोजिट गरेको देखिएको छ । त्यसबाहेक संस्थाले थप सहयोग गरेको देखिँदैन ।

यता २०५९ सालमा नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो विधान नै संशोधन गरेर भक्तपुर क्यान्सर केयर सेन्टर सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी आफूले लिएको घोषणा गर्यो । उसले विधानमा नै नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्ष नै भक्तपुर क्यान्सर केयर सेन्टरको पदेन अध्यक्ष रहने गरी विधान संशोधन गर्यो । जबकि हालको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिमा मात्रै उनीहरू रहेका थिए । तर उनीहरूले अस्पताल नै नेपाल अर्बुद रोग निवारण संस्थाले चलाएको जस्तै गरी आफ्नै विधानमा त्यस्तो विषय उल्लेख गरे ।

त्यति बेलासम्म भक्तपुर क्यान्सर केयर सेन्टरमा भक्तपुर नगरपालिकाका मेयर वा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति, सीडीओ कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था थियो । तर २०५९ सालमा उनीहरूले विधानमा नै व्यवस्थापनको जिम्मेवारी आफ्नो हातमा लिने घोषणा मात्रै गरेनन्, एक एनजीओको विधानमा हुनै नसक्ने र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतसमेत नगराई स्वास्थ्य मन्त्रालयको सहसचिव सदस्य रहने गरी व्यवस्थापन समिति बनाउने निर्णय गरायो र संस्थाको नाम नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको नामबाट सञ्चालन गर्ने निर्णय गर्‍यो ।

पहिलो कुरा उनीहरूले विधानमा व्यवस्था गरेको यो कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन महले खण्डमा उल्लेख वा संशोधन भएको छैन भने दोस्रो कुरा कुनै एक एनजीओले स्वास्थ्य मन्त्रालयको सहसचिवलाई व्यवस्थापन समितिको सदस्य बनाउन सक्दैन । तर पनि उनीहरूले आफूखुसी व्यवस्थापन समिति बनाउने र अस्पताल सञ्चालन गर्ने दुस्साहस गरिरहे ।

दर्ता नभएको संस्थालाई सञ्चालन स्वीकृति !

भक्तपुर क्यासर अस्पताल अहिलेसम्म कुनै पनि निकायमा दर्ता भएको छैन । यो अस्पताल नेपाल अर्बुद रोग निवारण संस्थाको स्वामित्वमा रही सञ्चालन भएको पनि होइन । अस्पताल सञ्चालनका लागि पूरा गर्नुपर्ने जिम्मेवारी पनि अस्पतालले पूरा गरेको छैन ।

तर पनि आफ्नो पहुँच प्रयोग गरेर नेपाल अर्बुद रोग निवारण संस्थाले २०७४ साल साउन २ गते स्वास्थ्य सेवा विभागबाट १ सय शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको पाइएको छ ।

स्वास्थ्य सेवा विभागको चिठ्ठी

स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत हेमन्तचन्द्र ओझाले हस्ताक्षर गरी दिएको पत्रमा ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को दफा ९ को उपदफा ४ बमोजिम उक्त अस्पताललाई १ सय शय्याको अस्पतालका रूपमा स्तर उन्नती गरी सञ्चालन गर्न स्वीकृति दिइएको बताइएको छ ।

जबकि यसरी स्तर उन्नती गर्न स्वास्थ्य संस्था पहिले दर्ता हुनुपर्ने हुन्छ । तर भक्तपुर क्यान्सर अस्पताल अहिलेसम्म कुनै पनि निकायमा दर्तासमेत भएको छैन । तर कुनै पनि निकायमा दर्तासमेत नभएको यो संस्थालाई स्वास्थ्य सेवा विभागले सञ्चालन अनुमति दिएको छ । जुन कानुन विपरीत छ ।

अस्पताल देखाएर डोनेसन खाने तर अस्पतालको कर नतिर्ने !

नेपाल अर्बुद रोग निवारण संस्था अर्थात् एनसीआरएसले विगत १६ वर्षदेखि यो अस्पताललाई आफ्नो अस्पताल भन्दै विभिन्न देश र संस्थाबाट डोनेसन लिने गरेको छ । उसका वार्षिक आम्दानी १ करोडभन्दा बढी छ । यो आम्दानी उसले चन्दा र सहयोगमार्फत् प्राप्त गरेको आम्दानी हो । तर उसले भक्तपुर क्यान्सर अस्पताललाई आफ्नो अस्पताल हो भनेर दाबी गरिरहे पनि न त उसँग कुनै कानुनी आधार र हैसियत छ न त उसले यो अस्पतालको कर चुक्ता नै गरेको छ ।

अस्पतालको अडिट रिपोर्ट

अर्बुद रोग निवारण संस्थाको अडिट रिपोर्ट

आर्थिक वर्ष २०७४–०७५ को कर चुक्ता प्रमाणपत्र लिँदा नेपाल अर्बुद रोग निवारण संस्थाले १ करोड १७ लाख ५१ हजार ६ सय ८३ रूपैयाँ आम्दानी भएको कर चुक्ता प्रमाणपत्र लिएको छ । जबकि उसले भक्तपुर क्यान्सर अस्पतालको प्यान नम्बर पनि नेपाल अर्बुद रोग निवारण संस्थाको प्यान नम्बर ३०१६३२१६६ नै प्रयोग गरिरहेको छ । तर सोही आर्थिक वर्षमा भक्तपुर क्यान्सर अस्पतालले १५ करोड ९७ लाख २० हजार ३ सय २६ रूपैयाँ आम्दानी गरे पनि उक्त अस्पतालको कर चुक्ता प्रमाणपत्र भने लिएको छैन । आफूलाई अस्पताल देखाउनुपर्दा मेरो सम्पत्ति हो भनेर देखाउने तर करको दायित्व आएमा भन नेपाल अर्बुद रोग निवारण संस्था सधँै पन्छने गरेको छ ।

भक्तपुर क्यान्सर अस्पताल अहिले बिना दर्ता सञ्चालन भइरहेको छ । न यसको कानुनी हैसियत छ न त राज्य नै यस अस्पतालप्रति जिम्मेवार छ । यदि यस अस्पतालमा चिकित्सकीय लापरबाहीले कुनै दुर्घटना भयो भने पनि कानुनी उपचार खोज्ने आधार छैन । किनभने दर्ता नै नभई सञ्चालनमा रहेको यो अस्पताल यतिबेला बेवारिसे अवस्थामा छ । व्यवस्थापन समितिमा बसी सामान खरिद, कर्मचारी भर्ती र ठेक्कापट्टामा रमाइरहेका एनसीआरएसका पदाधिकारीका कारण यो अस्पतालमा जुनसुकै बेला ताला लाग्न सक्ने अवस्था देखिएको छ ।

२१ वर्षदेखि बिना दर्ता अस्पताल सञ्चालन भइरहे पनि राज्यको आँखा पर्न सकेको छैन । बरु दर्ता नै नभई सञ्चालनमा आएको अस्पताललाई पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ३ वर्ष अघि ५ करोड रूपैयाँ अनुदान दिए । त्यति मात्रै होइन २ वर्ष अघि पनि अस्पताललाई ३० लाख रूपैयाँ सरकारले दिएको थियो, त्यो पनि स्वास्थ्य मन्त्रालयमार्फत् । स्वास्थ्य मन्त्रालयबाट विगत ५ वर्षमा करिब १० करोड रूपैयाँ त यो अस्पतालले अनुदान नै पाएको छ । आफैले अनुगमन गर्नुपर्ने अस्पतालको सञ्चालन स्वीकृतिसमेत नभएको अवस्थामा मन्त्रालयले कुन आधारमा आर्थिक सहयोग गरिरहेको छ, त्यो पनि बुझ्न सकिएको छैन ।

बेवारिसे बन्दै अस्पताल

यतिबेला कानुनी जटिलता र व्यवस्थापकीय जिम्मेवारीका सम्बन्धमा विवाद उत्पन्न हुँदा भक्तपुर क्यान्सर अस्पताल बेवारिसे बनेको छ । कानुनी अस्तित्वमै नरहेको अस्पतालका सम्बन्धमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै व्यवस्थापन समिति नचलाउन भनेकोे छ । जबकि अदालतले गरेको स्टे अर्डरको त्यो आदेश पनि कानुन विपरीत नै रहेको एक कानुनविद् बताउँछन् ।

अस्पताल अहिले अभिभावकविहीन अवस्थामा रहेको छ । भक्तपुर अस्पताल भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बनेको छ, चलेको छ । तर यसको व्यवस्थापनको सबै जिम्मेवारी एनसीआरएसले लिएको छ र उसले त्यहाँ हालीमुहाली गरिरहेको छ । सरकारले यस अस्पतालमा तत्काल हस्तक्षेप नगरे १ सय १० शय्याको उस अस्पताल कुनै पनि समय विघटन हुने खतरामा पुगेको छ ।  

कमेन्ट

  1. Jan. 3, 2020, 3:04 p.m. prakash
    ज्ञान बहादुर न्यायच्याई रेडक्रस सोसाइटीका सदस्य थिएनन् बरु भक्तपुर नगरपालिकाका जननिर्वाचित मेयर हुनुहुन्थ्यो । अस्पतालको जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिनु नै कानुनी र व्यावहारिक रुपमा सही हुनेछ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...