शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पैँचोबाट कृषि क्रान्ति : ३ सय जनालाई रोजगारी, १२ हजार कृषक आत्मनिर्भर

बुधबार, १६ पुस २०७६, १४ : ३६
बुधबार, १६ पुस २०७६

 गुल्मीमा निजी क्षेत्रको एक कम्पनीले कृषि क्षेत्रमै क्रान्ति ल्याएको छ । कृषि प्रधान देश भनेर नेपाल चिनिने गरे पनि कृषकको जीवनस्तरमा खासै सुधार आउन नसकेको बेला ‘पैँचो पसल प्रालि’ले कृषि क्षेत्रमा क्रान्ति ल्याउँदै किसानलाई आत्मनिर्भर बनाउनेमात्र होइन, आयआर्जन वृद्धि गराउने र युवालाई रोजगारीका अवसरसमेत सिर्जना गरेको छ ।

५ वर्ष अघि गुल्मीको बलेटक्सारमा स्थापना भएको पैँचो पसल प्रालिको एउटै छानामुनी हाल ३ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने १२ हजार कृषक नगदेबालीबाट आत्मनिर्भर बनेका छन् । किसानको घर–आँगनमा खेर फालिने मुलाका पातदेखि कर्कलोसम्म पैँचो पसलले नगदमा खरिद गर्छ । जसले गर्दा किसानले बजारको अभावमा कृषि उपज खेर फाल्नु परेको छैन भने आफूले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पनि पाउन थालेका छन् ।

एक  समय रोजगारीका लागि भारतमा भौँतारिएका गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ४ श्रृंगा रुक्से गाउँका ४५ वर्षीय रामकृण कँडेलले विगत एक वर्षमा उक्त पसलमा १० लाख ९५ हजार रुपैयाँको तरकारी बिक्री गरे । तरकारीका अलावा सुन्तला खेतीसमेत गरेका उनले आफ्नै बारीमा १५ लाख सुन्तलाका बेर्ना रोपेका छन् । उनले एक वर्षमा सुन्तलाका बेर्ना बेचेरमात्रै ११ लाख रुपैयाँ कमाए । 

मंगलबार पैँचो पसल प्रालिको पाँचौं बार्षिकोत्सव समारोहमा उनलाई सर्वोत्कृष्ट कृषकका रुपमा सम्मान गरियो । ‘म पहिला रोजगारीका लागि भारतमा भौँतारिएको थिएँ,’ सम्मानित भएका कृषक कँडेलले भने, ‘पैँचो पसल स्थापना भएपछि मैले गाउँमै ब्यावसायिक खेती गर्न सुरु गरेँ, र आज यो स्थानमा आइपुगेको हुँ ।’

दोस्रो उत्कृष्ट कृषक भुवन खराल भए । सर्वोत्कृष्ट साझेदार बी एण्ड बी स्टोर लुम्छा, गुल्मी भयो भने उत्कृष्ट कृषि संकलकमा तुलसी बुढामगर भए । सर्वोत्कृष्ट कर्मचारी रामप्रसाद पोखरेल भए ।

वार्षिक रुपमा कृषिबाट लाखौँ आम्दानी गर्ने कुल २७ जना कृषकलाई सो अवसरमा सम्मान गरियो । सम्मानित कृषकहरुलाई सम्बोधन गर्दै पैँचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले भने, ‘एकै चोटी सबै जनालाई त सकिँदैन होला तर आगामी वर्षभित्र कम्तीमा १० जनालाई तरकारीबारी खनी–खोस्री गर्दागर्दै चिल्लो कार चढ्ने आर्थिक अवस्थामा पु¥याइन्छ ।’

उनका अनुसार गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानसहितका १२ हजार किसान त्यस प्रालिमा आवद्ध छन् । उनीहरुले त्यस प्रालिका लागि आवश्यक कृषि उपज उत्पादन गर्दछन् । ती किसानले पैँचो पसलको डिपार्टमेन्ट स्टोरबाट आवश्यक सबै प्रकारको उपभोग्य वस्तुहरु कृषि उपज बराबरको रकमबाट किनेर लैजान्छन् ।

बडिगाड कोरिडोरमा ५७ वटा कृषि उपज संकलन केन्द्र छन् । गुल्मीदेखि बागलुङसम्मको करिडोरमा यस बर्ष थप १० वटा संकलन केन्द्रसहित ६७ वटा केन्द्र बनाईदै छ भने प्रदेश १ बाहेक देशका सबै प्रदेशमा पैँचो पसलका कृषि उपजहरुले बजार ओगटेको छ । प्रदेश १ मा पनि यस बर्षदेखि बजार विस्तार गर्ने सञ्चालकहरुको भनाइ छ ।

मकै, कोदो र गुन्द्रुकको माग अधिक
त्यस प्रालिका प्रमुख सञ्चालन अधिकृत केशवराज न्यौपानेका अनुसार काठमाडौँ सहित ठुला शहरका संभ्रान्त परिवारमा कोदोको ढिँडो र मकैको च्याँख्लाको माग बढ्दो छ । मागको २५ प्रतिशत पनि कोदो र मकै पु-याउन नसकिएको उनले बताए । ढिँडोका लागि फापरको माग झन अधिक रहेको उनको भनाइ छ ।

माग बढेकै कारण पैँसो पसलले किसानलाई फापर खेतीका लागि प्रेरित गरिसकेको छ । कोदो, मकै, फापर, गहतको दाल, सिस्नो, गिठा, गुन्द्रुक, तितौरा (मस्यौरा ),  चुक, अचार, टिमुर लगायत नेपालको रैथाने उत्पादनको माग पनि त्यति कै  बढ्दो छ ।

‘बसे पनि शहर, गाउँकै खाने रहर’ मुल नारा बनाउँदै पैँचो पसल प्रालिले गुल्मी कै रिडी बजारमा देश कै ठुलो र अत्याधुनिक कृषि उपज प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । जहाँ स्थानीय उत्पादनबाट जाम, अचार, मह, गुन्द्रुक, मस्यौरासहित विभिन्न प्रकारका खाद्यवस्तु उत्पादन  गरिन्छ । यस्ता खाद्यवस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गरिएको छ ।

पैँचो पसल प्रालिले अस्ट्रेलियामा बजार विस्तार गरिसकेको छ भने बेलायत र चीनमा पनि बजार विस्तारको क्रम सुरु भई सकेको प्रवन्ध निर्देशक ध्रुव न्यौपानेले बताए । उनका अनुसार यी तीन मुलकसँग मात्रै वार्षिक ५० टनसम्म कोदो, मकै पठाउन सकिने छ । तर मागअनुसार उत्पादन नहुने हो कि भन्ने चिन्ता रहेको उनले बताए ।

पैँचो पसल प्रालिका ९ वटा शाखा छन् । गुल्मीको बलेटक्सार प्रधान कार्यालय हो भने गुल्मी कै तम्घास, दिमाग, हुँगा, पाल्पाको तानसेन, अर्गली, बुटवलसहित विभिन्न स्थानमा शाखा छन् ।

२०७१ सालको पुस महिनामा बलेटक्सारबाट त्यस प्रालिको कारोवार सुरु भएको थियो । सुरुमा २ करोड रुपैयाँ लगानीबाट सुरु भएको पसलमा अहिले ३० करोड लगानी पुगिसकेको छ । यस बर्ष १० करोड लगानी थप गरि बजार विस्तार गर्ने सञ्चालक बताउँछन् । 

गत वर्ष २४ करोड रुपैयाँको कारोवार भएको बताइन्छ । त्यसमध्ये तरकारी मात्रै ६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यस वर्ष ४० करोडको कारोबार गर्ने लक्ष्यसहित थप ४ वटा शाखा खोलिँदै छ ।
सरकारलाई गतिलो शिक्षा
बार्षिकोत्सव समारोहमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिले पैँचो पसलबाट राज्यले गतिलो शिक्षा लिनुपर्ने बताए । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद चन्द्र भण्डारीले कृषि क्षेत्रमा पैँचो पसल प्रालिले उदाहरणीय कार्य गरेर सरकार र सबैलाई गतिलो शिक्षा दिएको बताए ।

कोदो, मकै भन्ने कुरा आरन चलाउने, कपडा र जुत्ता सिलाउने लगायतका कामदारले मात्रै खाने हो भन्ने भ्रममा परेर पहिला पहिला खाइएन, अहिले  कहाँ पाईन्छ ?,’ उनले भने, ‘विशेष भोजनका रुपमा आँटा र ढिंडो खोज्दै हिड्ने गरेका छौं, पैँचो पसलले स्थानीय उत्पादनको महत्व दिलाउन अहम् भूमिका खेल्यो ।’

नेकपाका नेता तथा प्रदेश सांसद कमलराज श्रेष्ठले पैँचो पसल किसानका लागि वरदान नै रहेको बताए । ‘हामीले हिजो मुलाका पातहरु बेच्ने–खाने चिज हो र भनेर फाल्यौं,’ उनले भने, ‘मुलालाई  नराम्रो अर्थमा मुला नै बनायौं । आज त्यही मुलालाई पैँचो पसलले देशैभरका मानिसलाई स्वादिलो अचार बनाएर खुवाएको छ ।’

कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सरकारका भूमि ब्यवस्थापन कृषि सहकारी मन्त्री आरती पौड्यालले पनि पैँचो पसलले कृषकहरुका पक्षमा राज्यले गर्न नसकेको काम गरेर देखाएको बताइन् ।
जसले ५ सयको सामान डोकोमा राखेर बेच्थे

पैँचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेको व्यावसायिक यात्राको कथा कुनै एउटा चलचित्रको जस्तै छ । गुल्मी कै हुँगामा सामान्य किसान परिवारमा जन्मिएका उनले स्कुल पढ्दा पढ्दै पढाइ खर्च जुटाउन नसकेर आमासँग पाँच सय रुपैयाँ मागेर बजारमा पुगेर चियापत्ती, चिनी लगायतको किराना सामान डोकोमा राखेर बेच्थे । जतिबेला उनी १३÷१४ वर्ष उमेरका थिए ।

माध्यामिक तहको पढाई सकेर उच्च शिक्षासँगै रोजगारी गर्न भन्दै दाजुले काम गरिरहेको स्थान कैलालीमा पुगेका उनले दाजुसँगै मिलेर एउटा सानो झुपडीमा चिया, चाउमिन पसल गरे । त्यहीँबाट विजनेश नेटवर्कको अवधारणा बनाएका उनले सिद्धार्थ विजनेश ग्रुप खोलेर केही समय काम गरे ।

केही पछि उनी सहितका युवाहरुको समूहले पैचौ पसलको अवधारणा ल्यायो । कुनै समय डोकोमा पाँच सय रुपैयाँबाट पसल खोल्ने त्यही न्यौपाने हाल ३ सय जना कामदारको बोस बन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप