शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृषकको उत्पादन आफैँ खरिद गर्ने पहिलो स्थानीय सरकार रेसुङ्गा

मङ्गलबार, १५ पुस २०७६, ११ : ४७
मङ्गलबार, १५ पुस २०७६

बुटवल ।  देशका ७ सय ५३ वटा स्थानीय सरकारमध्ये गुल्मीको रेसुङ्गा नगरपालिका कृषकलाई बजारिकरणको पुर्ण ग्यारेन्टी दिने पहिलो स्थानीय  सरकार बनेको छ । नगर क्षेत्रभित्रका कृषकहरुका पशुपन्छीदेखि हरेक कृषि उपज नगरपालिका आफैँले खरिद गरेर बजारिकरणलाई सहज बनाइदिएको हो ।

कृषकले उब्जाएका जुनसुकै तरकारी, मसलाजन्य वस्तु, अन्न, फलफूलदेखि लिएर पशुपन्छीसम्म रेसुङ्गा नगरपालिकाले खरिद गर्ने र उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्ने भएपछि कृषकले बजारको समस्या झेल्नु परेको छैन भने व्यापारीहरुको ठगीबाटसमेत किसान र उपभोक्ताले राहत पाएका छन् । सदरमुकाम तम्घासमा सञ्चालित पशुपन्छी, कृषि उपज उपसंकलन केन्द्र तथा हाट–बजारमा आफ्ना कृषि उपज लगेर विक्री गरी कृषकले दैनिक आम्दानी लिन थालेका हुन् । 

उक्त हाट–बजारमा लोकल कुखरा, अण्डा र कोदो बढीमात्रामा खरिदबिक्री हुने गरेको छ । सानो टमाटर, चुक अमिलो, गुन्द्रुक, अचारदेखि लोपोन्मुख फापर, गहतको दाल, सिमी दाल,  झिलिङ्गे  (सिल्थुङ्ग) मासको  दाल, भटमास, हरियो साग, सिमी लगायतका कृषि उपज कृषकले बेच्ने र उपभोक्ताले खरिद गर्छन् । जसबाट कृषकका हरेक उत्पादनले उचित बजार पाएको छ भने बिचौलियाबाट कृषक ठगिने क्रम अन्त्य भएको छ ।

दुई महिना अघिसम्म ८ सय रुपैयाँ प्रतिकिलो पाईने लोकल कुखरा अहिले त्यस हाट बजारमा ६ सय ५० रुपैयाँमा खरिद गर्न पाईन्छ भने कृषकहरुले सिधै प्रतिकिलो ६ सय रुपैयाँमा लोकल कुखरा बेच्न पाएका छन् ।

हाट–बजारमा कार्यरत रेसुङ्गा नगरपालिकाका कृषि प्राविधिक हरिशरण पन्थीका अनुसार कार्तिक २३ गते जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, नगरप्रमुख डिल्लीराज भुसाल र जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी र जनप्रतिनिधिहरुले उद्घाटन गरेको दिनदेखि हालसम्म २१ लाखभन्दा  बढीको कारोवार भईसकेको छ ।

हाट–बजारमा  प्रतिमहिना ११ लाख रुपैयाँसम्मको कारोबार हुन थालेको पछिल्लो महिनाको तथ्याङ्कले देखाएको छ । ५ क्विन्टल क्षमताको अत्याधुनिक कोल्ड स्टोर (शीत भण्डार) समेत राखेपछि समयमा बजार नपाउँदा सडे–गलेर घाटा ब्यहोर्न बाध्य भएका कृषकहरुले पनि ठुलो राहत पाएका छन् ।

प्रयोगविहीन थियो हाट–बजार 

२०६९ सालमा तत्कालीन जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला  पशु  विकास कार्यालय, जिल्ला प्रशासनको समेत समन्वय र  गुल्मी उद्योग बाणिज्य संघ, साविक तम्घास गाविस र केन्द्र सरकार समेतको पहलमा तम्घासको चारिखोलामा तरकारी तथा फलफुल  हाट–बजार सञ्चालनमा ल्याईएको थियो । मुलुक संघीय संरचनमा गएपछि  उक्त हाट–बजार झण्डै दुई वर्षसम्म अलपत्र बन्यो ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको पहलमा संघीय सरकार अन्तर्गत कृषि मन्त्रालयबाट ५० लाख रुपैयाँ पार्ने काम भयो । रकम विनियोजन तथा निकासाका लागि गुल्मी मै घर भएका सो मन्त्रालयका सचिव युवकध्वज जिसीको पनि ठुलो भुमिका रहेको मेयर भुसाल बताउँछन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पनि २०  लाख रकम हासिल भयो । नगरपालिकाले १० लाख छुट्याएर कोल्ड स्टोरसहित हाट बजार पुनः सञ्चालनमा ल्याउने र किसानले उत्पादन गरेका कृषि उपज घर घरमै पुगेर खरिद गर्ने ब्यवस्था मिलाईयो ।

स्थानीय उत्पादन सहजै पाइने र खरिद र विक्री मूल्यमा बिचौलियाका कारण हुने असन्तुलन हटेपछि किसान र उपभोक्ता दुवै पक्षले राहत पाएका छन् ।

मासु र दुधमा नगरपालिका झण्डै ७५ प्रतिशत आत्मनिर्भर भईसकेको र आगामी वर्षसम्म पूर्ण रुपमा आत्मनिर्भर हुने गरि काम सुरु गरिएको त्यस नगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नम्वर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।

प्रदेश सांसद कमलराज श्रेष्ठको पहलमा त्यस वडाको राङ्गवास गाउँलाई स्मार्ट कृषि क्षेत्र घोषणा गराई गत वर्ष प्रदेशको भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयबाट ३७ लाख ५० हजार रकम बजेट पारियो ।  त्यहाँ अहिले ५० घरधुरीमा नमुना बाख्रा पालन र लोकल कुखरा उत्पादन भइरहेको छ ।

राङ्गवास स्मार्ट कृषि तथा पशुपन्छी पालन कृषक समूह गठन गरि प्रदेश सरकारले चार वर्षे कार्यक्रम दिएको छ । जसअनुसार पहिलो वर्ष ३७ लाख  ५० हजार रकमबाट समुह गठन, लोकल कुखराका माउ र भाले, बाख्राको पनि माउ र बोका वितरण गरियो । पहिलो सिजनमा कृषकहरुले १ सय  ५० वटा लोकल कुखरा बेचेर आम्दानी लिई सकेका छन् ।

दोश्रो सिजनमा १५ सय वटा कुखराका चल्ला हुर्काउँदै छन् । तम्घासको  हाट बजार चलेपछि लोकल कुखरा र अण्डाको बजार विस्तार भएको छ ।

नगरपालिकाका उपप्रमुख  सिता भण्डारीले हाट–बजारलाई अझ बढी व्यवस्थित बनाउने र सेवा–सुविधालाई अझ विस्तार गर्न के गर्नुपर्छ भन्ने विषयमा सबै पक्षको राय बुझ्ने काम भईरहेको सुनाईन् ।

छिमेकी ईस्मा गाउँपालिका सदियौंदेखि कोदोको भण्डार मानिन्छ । त्यस गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले ईस्माको कोदोलाई संसारभर चिनाउने गरि काम थालेको बताए । यता नगरप्रमुख डिल्लीराज भुसालले ईस्माको कोदो त्यसै हाट बजारले खरिद गर्न अर्डर गरिसकेको बताए । मालिका गाउँपालिकाको अर्खबाङ्गको स्वादिलो आलु पनि हाट बजारमा मगाईएको उनको भनाइ छ । बाग्लुङ्ग ढोरपाटन र अर्खाबाङ्गको आलुको स्वाद उस्तै मानिन्छ ।

हाट बजार सञ्चालन हुन अघि गाउँमा त्यतिकै खेर जाने गरेको गिठा पनि हाल प्रतिकिलो ५५ रुपैयाँमा खरिद विक्री हुने गरेको छ । लप्सी ७० रुपैयाँ किलो, अमला सय रुपैयाँ किलो, तरुल ६० रुपैयाँ पर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप