शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन् २०२६ मा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्ने

सोमबार, १४ पुस २०७६, १० : २५
सोमबार, १४ पुस २०७६

लखनऊ । सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।

रिपोर्टमा सो समयमा भारतको कूल ग्राहस्थ उत्पादन पाँच ट्रिलियन डलरसम्म पुग्ने बताइएको छ । यद्यपि, नरेन्द्र मोदी नेतृत्वको सरकारले यो लक्ष्य २०२४ मा नै पूरा गर्ने बताउँदै आएको छ ।

‘वर्ल्ड इकोनोमिक लिग टेबल २०२०’ शीर्षकमा छापिएको रिपोर्टमा भनिएको छ, ‘भारतले सन् २०१९ मा निर्णायक रुपमा विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्न फ्रान्स र बेलायतलाई पछ्याइरहेको छ । सन् २०२६ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने आशा छ र सन् २०३४ मा जापानलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्नेछ । आगामी १५ वर्षमा जापान, जर्मनी र भारतबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।’

यद्यपि, भारतको अर्थव्यवस्था अहिले जुन स्थितिमा रहेको छ र अगाडि पनि त्यही स्थितिमा रह्यो भने लक्ष्यसम्म पुग्न सजिलो हुनेछैन । हालैमात्र रिजर्व बैङ्कका पूर्व गभर्नर सी रंगराजनले वर्तमान वृद्धि दरबाट पाँच ट्रिलियनको लक्ष्य हासिल गर्न कठिन हुने टिप्पणी गरेका थिए ।

यही वर्ष अगस्तमा विश्व बैङ्कको सन् २०१८ को र्याङ्किङमा भारतको अर्थव्यवस्था छैटौँ स्थानबाट खस्केर सातौँ नम्बरमा पुगेको थियो ।

सन् २०१७ मा र्याङ्किङमा भारतको अर्थव्यवस्थाको आकार २.६५ ट्रिलियन डलरको थियो तर सन् २०१८ मा यो बढेर २.७३ ट्रिलियन डलर पुगेको थियो । तैपनि भारत एक स्थान तल खस्किन पुगेको थियो ।

सन् २०१८ मा फ्रान्स र बेलायतको अर्थव्यवस्था भारतको तुलनामा थप मजबुत बनेको थियो । यसअघि भारतले बेलायतलाई पछि छाड्दै पाँचौ नम्बरमा पुग्ने बताइएको थियो । तर बेलायत र फ्रान्सले भारतलाई सातौँ नम्बरमा धकेलिदियो ।

सन् २०१८ मा बेलायतको अर्थतन्त्र २.६४ ट्रिलियन डलरबाट २.८४ ट्रिलियन डलर पुगेको थियो भने फ्रान्सको २.५९ ट्रिलियन डलरबाट २.७८ ट्रिलियन डलर पुगेको थियो ।

२० ट्रिलियन डलरसहित अमेरिकाको अर्थव्यवस्था पहिलो नम्बरमा रहेको छ भने १३.६१ ट्रिलियन डलरसहित चीन दोस्रो नम्बरमा रहेको छ ।

४.९७ ट्रिलियन डलरसहित जापान तेस्रो नम्बरमा र जर्मनी ३.९९ डलरसहित चौँथो नम्बरमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप