शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुलियो चिनीको तितो कथा : पाँच वर्षदेखि पैसा नपाएपछि उखु किसान काठमाडौँमा

सरकारले किसानलाई दिएको पैसामा पनि उद्योगीको गिद्देदृष्टि (फोटो/भिडियो)
आइतबार, १३ पुस २०७६, १६ : ४२
आइतबार, १३ पुस २०७६

पुसको चिसोमा तराईबाट एक हुल उखु किसान काठमाडौँ आएका छन् । उनीहरु काठमाडौं घुम्न, रमाइलो गर्न आएका भने हैनन् । चिनी मिल सञ्चालकहरुले आफूले उत्पादन गरेको उखुको भुक्तानी नदिएपछि सरकारलाई गुहार्न उनीहरुले माइतीघर मण्डलामा धर्ना थालेका छन् । यसरी धर्ना बस्ने किसानहरुले अघिल्लो बर्षदेखि ५ वर्ष अवधिसम्मको भुक्तानी पाएका छैनन् । एक जना किसानले उद्योगीबाट १२ लाख रुपैयाँसम्म भूक्तानी पाउनुपर्ने रहेको छ ।  

सर्लाहीका रहुदी महतोले चिनी उद्योगबाट ४ लाख हराहारी पैसा लिन बाँकी छ । उनले ३ वर्षदेखि उखु दिइरहेका छन् तर पैसा पाएका छैनन् । २ लाख रुपैयाँको उखु दिएपनि २० हजार जति मात्रै दिने गरेको उनले बताए । अघिल्ला वर्षमा थोरै पैसा दिएपनि अघिल्लो वर्षको उखुको कुनै रकम नपाएको उनले बताए । सर्लाहीमा मात्रै १२ सय हाराहारी किसानले उनले जस्तै समस्या भोगेका छन् ।

उखुको सिजन आएपछि आफ्नै खर्चमा उखु काटेर ट्रयाक्टर भाडा तिरेर मिलसम्म पु-याउने गरेका छन् । सरकारले तोकेको भाउमा नभइ उद्योगीले निर्धारण गरेको भाउमा उखु दिँदा पनि पैसा पाउने गरेका छैनन् ।

‘दिन्छु दिन्छु त भन्ने गरेका छन् तर पैसा दिएका छैनन् ।’ उनले भने ।

उनको खेतमा प्रतिकठ्ठा दुईदेखि तीन मन धान फल्छ । उचित मूल्य पाउने हो भने उखुबाटै फाइदा हुन्छ । उनले यस वर्ष पनि उखु लगाएका छन् तर चिनी मिललाई नदिने बिचारमा छन् । उनले भने–‘अब उखु खेती नगर्ने, नाम नगदेवाली भएपनि एक पैसा पाएको छैन । बरु अब धान खेती नै गर्ने ।’

सर्लाही सुसौटियाका ६० वर्षका सीताराम महतोपनि चिनी मिलले पैसा नदिएपछि काठमाडौँ आएका छन् । १० कठ्ठा जमिनमा उखु लगाउने गरेका उनले चिनी उद्योगीसँग ६० हजार रुपैया लिन बाँकी छ ।

उनले भने–‘पैसा नपाएका गाउँका साथीहरुले काठमाडौँमा हडताल गर्न जाँउ भनेपनि सँगै आएको ।’ १० दिन अघि गाउँबाट काठमाडौँ आउँदा ल्याएको पैसा पनि सकिएको उनले सुनाए ।

गाउँका धेरै किसानने २०७० सालदेखि २०७५ सालसम्म उत्पादन गरेर दिएको उखुको पैसा नपाएको उनले सुनाए । उनको परिवारमा श्रीमति, २ छोरा, बुहारी, र दुई नाती छन् । पैसा नहुदा खान लगाउन, बालबालिकालाई पढाउन समस्या रहेको उनले बताए ।  

महतोले भने, ‘उखु उद्योगीले एक सुका पनि दिन्न भनेका छन् । ऋण दिने साहु महाजनले ताकेता गरिरहेका छन् । काठमाडौँ आएपछि पैसा पाइन्छ कि भन्ने आशा छ ।’ १० दिने काठमाडौँ बसाईमा दुई–तीन दिन भोकै बसेको उनले सुनाए ।

सर्लाही सिसौटियाकै अर्का किसान रामविलास महतोले पनि डेढ विघा जमिनमा उखु लगाउने गरेका छन् । २०७३ सालदेखि नियमित रुपमा अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रिज प्रालिलाई उखु दिँदै आएका छन् तर उनले ३ लाख रुपैयाँ अझै पाउन सकेका छैनन् ।

सुगर मिल्समा गएर पैसा माग्दा काठमाडौँ गएर पैसा माग्न भन्ने गरेका छन् । कार्यालयमा जाँदा पैसा दिन्न भनेर धम्काउने गरेका छन् ।

उद्योगीबाट हैरानी खेपेका उनी काठमाडौँ आएका छन् तर खाने बस्ने ठाउँको टुङ्गो छैन । खानाको लागि पैसा पनि सकिएको छ । उनीहरु गाउँका साथीभाई, कवाडी सङ्कलन गर्ने ठाउँ लगायतका स्थानमा बस्ने गरेका छन् ।

उद्योगमन्त्रीसँग भेटघाट गरेको, मन्त्रीले चिनी मिलको मालिको नम्बर मागेर कुरा गर्छु भनेको उनले सुनाए ।

उनले भने, ‘गाउँमा ऋण तिर्न समस्या छ, बालबालिकालाई पढाउन समस्या छ । जाडोमा लत्ताकपडा किन्न समस्या छ । गाउँमा ऋण लिएको ठाउँमा पैसा मागिरहेको छ । गाउँ जाने अवस्था छैन ।’

अहिले पैसा पनि सकिएको र काठमाडौंको बसाइ गाह्रो भएको उनले बताए । काठमाडौँबाट पैसा नलिइ घर नफर्किने उनले सुनाए ।

सर्लाहीकै बिन्देश्वर राय पनि अर्का पीडित किसान हुन् । उनले पनि दुई वर्षदेखि नियमित रुपमा चिनी मिललाई उखु दिँदै आइरहेका छन् ।

उनले भने–‘उखुको एक रुपैयाँ पनि पाएको छैन् । चिनी मिलवालाले यो वर्ष उखु दिनुभयो भने अर्को वर्ष पैसा दिन्छौँ भने । हुदाँ हुदा ३ वर्ष भयो तर हामीले पैसा पाएनौँ ।’

ऋण धेरै भएपछि अब कसरी तिर्ने भन्ने समस्या रहेको उनले सुनाए । अब खेती गर्न साहुले ऋण पत्याएनन् । उनले दुःख पोखे, ‘दुई वर्षको ६–७ लाख पैसा बाँकी छ । यो वर्ष पनि उखु लगाएको छु । मिल बन्द भयो यो वर्षको उखु खेतमै सुक्ने भो । मिल मालिकले मन्त्रालय जाउ भन्नुहुन्छ । हामी कहाँ जाने ?’

किसानको माग–‘सरकारले तोकेको मूल्य कार्यान्वयन र बाँकी रकम भुक्तानी’

काठमाडौंमा धर्नामा आएका किसाहरुले चिनी उद्योगीहरुले भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । साथै सरकारले निर्धारण गरेको मूल्य पाउनुपर्ने उनीहरुको अर्को माग छ ।

उनीहरुले चिनी मिलले आफूखुसी कायम गरेको प्रतिक्विन्टल ५ सय रुपैयाँ खारेज गरी सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैयाँ कायम गर्न माग गरेका छन् । सरकारले उखु उद्योगीलाई प्रोत्साहन स्वरुप प्रतिक्विन्टल ६५ रुपैयाँ पनि दिने गरेको छ । तर त्यो रकम पनि चिनी उद्योगी मार्फत दिने भएका कारण किसानहरुलाई उद्योगीले घुमाएर ठगी गर्ने गरेका छन् ।

सार्लाहीको महालक्ष्मी चिनी मिलले ४ सय ३५ रुपैयाँको दरले प्रतिक्विन्टल उखु लिने गरेको छ । जवकी सरकारले तोकेको भाउ अनुसार उसले किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ ६५ पैसा दिनुपथ्र्यो । ४ सय ७१ रुपैयाँमा सरकारले दिने ६५ रुपैया अनुदान थपिएपछि किसानले प्रतिक्विन्टल ५ सय ३५ रुपैयाँ पाउनुपर्ने हुन्छ ।

तर चिनीमिल सञ्चालकले कम्पनीलाई घाटा लागेको छ ३५ रुपैयाँ छोडिदिनुस भनेपछि किसानले प्रतिक्विन्टल ३५ रुपैयाँ छोडिदिँदा समेत भुक्तानी पाएका छैनन् । राजनीतिक दलका नेताहरुको संलग्नतामा यस्तो संम्झौता भएको मायाशंकर यादव बताउँछन् । यसरी उद्योगीले कम मूल्य निर्धारण गर्दा प्रतिवर्ष किसानबाट ५ करोड रुपैयाँ लुटिने गरेको छ ।

माइतीघर मण्डलामा धर्ना बसेका यादवले सरकारले मूल्य निर्धारण गर्दा गर्दै पनि किसानलाई आफु खुसी मूल्य निर्धारण गर्ने चिनी मिललाई अख्तियारले पनि कारवाही गर्नुपर्ने धारणा राख्छन् ।

महालक्ष्मी सुगर मिलले किसानको २१ करोड रुपैयाँ दिन बाँकी छ । यो मिल गत बर्षदेखि सञ्चालनमा आएको हो । उता अन्नपूर्ण सुगरमिलले भने ५० देखि ६० करोड हाराहारी रकम भूक्तानी गर्न बाँकी रहेको छ ।

किसानहरुले उखु बिक्रीवापतको रकम पाउन जिल्ला प्रशासन कार्यालय पनि नधाएका हैनन् । त्यहाँ सम्झौता गरेपछि दुई चार जना किसानलाई थोरै रकम दिने र टार्ने गर्दै आएको यादवले बताए । 

मन्त्रीले जग्गाको मूल्य सोधे, काठमाडौँबाट उद्योगी भागे

उखुको भुक्तानी नपाएपछि सर्लाहीबाट काठमाडौं आएका किसानहरुले चिनी उद्योगको त्रिपुरेश्वरमा रहेको कार्यालयमा पनि धर्ना बसे तर किसान आएको थाहा पाएपछि ८ दिनदेखि कार्यालयमा ताला लागेको छ । ताला लगाएको कार्यालयमा किसानहरुले ४ दिन धर्ना समेत दिए ।

उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको मायाशंकर यादवले बताए । सो भेटमा मन्त्री भट्टले मिलवालाको जग्गा कति छ भनेर सोधे । किसान प्रतिनिधिले बिस पच्चिस बिघा जमिन रहेको बताए । मन्त्रीले फेरी सोधे –‘त्यो जग्गाको पैसाले किसानको पैसा तिर्न पुग्छ ?

किसानले भने–‘हामीले त सक्दैनौँ, त्यो तपाईंको काम हो । जग्गाबाट असुल्ने कि अन्त कहाँबाट दिन्छ त्यो तपाई असुलिदिनु ।’

त्यसपछि मन्त्रीले दुई चार दिनमा निकास निकाल्ने बचन दिएको किसानले बताए ।

३ दिनदेखि माइतिघर मण्डलामा धर्ना बसिरहेका उनीहरुले सरकारले आफ्नो आवाज नसुने मङ्गलबारसम्म माइतीघर मण्डला धर्ना बस्ने र बुधबारदेखि संसद भवन घेराउ गर्न जाने बताएका छन् ।

हेर्नुहोस भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप