शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल हब बन्नसक्छ: स्वास्थ्य मन्त्री ढकाल

आइतबार, १३ पुस २०७६, १३ : ०१
आइतबार, १३ पुस २०७६

काठमाडौं– काठमाडौंमा यही पुष ११ र १२ गते दुई दिनसम्म ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । उक्त समिटको दोस्रो दिन अर्थात् शनिबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्बोधन तथा अस्पतालका विभिन्न स्टलहरुको अवलोकन गरेका छन् ।

काठमाडौंको ‘याक एण्ड यती’ होटलमा आयोजित उक्त समिटलाई सम्बोधन गर्दै मन्त्री ढकालले नेपालमा पनि स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ ज्ञान र प्रविधिहरु भित्र्याउन सकिए विश्वमै नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्नसक्ने सम्भाव्यता औंल्याए । 

उनले भने, ‘हामीले आफ्नो विश्वनियतालाई बढाउन सक्यौं भने त्यो अवसर हामीसँग छ, मलाई यो क्षेत्रको धेरै अनुभव छैन । तर मैले गरेको अनुभुति के हो भने अहिलेपनि आँखा र दाँतलगायतका कतिपय विद्याहरुमा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा रहनुभएका साथीहरुले पनि सेवा लिनुपर्यो भने हाम्रो देशलाई छनौट गर्ने खालको जुन प्रक्रिया छ, हामीले केही विद्याहरुमा सुधार गर्न सक्यौं भने यो विश्वसनियताले हामी मेडिकल हबको रुपमा नै विकास हुन सक्ने सम्भावना छ ।’

मन्त्री ढकालले नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले नेपाललाई मेडिकल हब बनाउनको लागि अग्रणी भूमिका खेल्ने पनि विश्वास दिलाए । उनले भने, ‘यो क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानको लागि र निकास दिनको लागि म समन्वयकारी भूमिका निर्वाह गर्ने कुराको विश्वास दिलाउन चाहन्छु । हाम्रा नियम, कानून र ऐनहरु यो कार्यका लागि बाधक बनेका छन् भने आउनुहोस छलफल गरौं, त्यसमा संशोधन गर्न सकिन्छ । कतिपय परिस्थितिहरु पूराना छन्, तीनले अहिलेका आवश्यकत्तालाई पूरा गर्न सक्दैनन् भने त्यसलाई पनि उन्नत बनाउन सकिन्छ ।’

उनले चिकित्सकहरुको सेवा तथा सुविधाको हकमा ‘मिनिमम–स्ट्याण्डर्ड’ अर्थात् न्यूनतम मापदण्ड कायम गरि ढुक्कका साथ चिकित्सक तथा नर्सहरुलाई सम्बन्धित संस्थामा काम गर्ने वातावरण बनाउन सकियो र २४ घण्टा नै सेवा दिने अवस्था बनाउन सकिए  सेवाग्राहीहरु धेरै लाभान्वित हुनसक्ने तर्क गरे ।

नेपालीहरु उपचारको लागि अब विदेश जानुपर्दैन्: डा. महतो

कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई मेडिकल टुरिजमको हब बनाउन सकिने विश्वास दिलाए । उनले भने, ‘नेपाललाई मेडिकल हब बनाउनको लागि हामी सक्षम छौं, आर्थिक, बौद्धिक र मानसिक रुपमा पनि हामी यसलाई पूर्ण रुपमा अगाडि बढाउनसक्ने अवस्थामा छौं ।’

अब नेपालीहरुले उपचारको लागि विदेश जानुपर्ने बाध्यता नभएको पनि उनले जिकिर गरे । उनले भने, ‘मानसिक र शारिरीक रुपमा पूर्ण तन्दुरुस्त बनाउन सक्छौं, नेपालीहरु उपचारको लागि अब विदेश जानुपर्दैन, यो विश्वास दिलाउन चाहन्छु ।’ महतोले प्रतिस्पर्धाको जमाना भएकाले चिकित्सा क्षेत्रमा लागेका एकआपसमा मिलेर जानुपर्ने समय आएको बताए।

महतोले भने, ‘सही रुपमा मिलेर जाने हो भने नेपाल उपचारका लागी हब बन्ने छ ।’ नेपाललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य केन्द्र बनाउनका लागि आफू सदैव तत्पर रहेको पनि उनले प्रतिबद्धता व्यक्त गरे । उक्त समिटमा नेपाल, भारत र चीनका चिकित्सा क्षेत्रमा लागेकाहरु उल्लेख्य मात्रामा उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप