शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. भोला रिजालको जीवन : अहिलेसम्म १२ सय टेस्ट्युब बेबी जन्माइसकेँ

ओम अस्पताल निर्माण गर्नु के मेरो भूल थियो त ?
शनिबार, १२ पुस २०७६, ११ : १४
शनिबार, १२ पुस २०७६

डा. भोला रिजालको परिचय एक होइन धेरै छन् । केहीले उनलाई डाक्टरका रूपमा चिन्छन् भने केहीले फिल्म निर्माता । कतिपयले उनलाई गीतकार तथा साहित्यकारका रूपमा चिन्ने गरेका छन् । नेपालको पहिलो मेल गाइनोकोलोजिस्ट भोलाको योगदान धेरै क्षेत्रमा उल्लेखनीय छन् । चिकित्सा क्षेत्रमा ओम अस्पताल निर्माण गर्नेदेखि नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउनेसम्म थुप्रै उल्लेखनीय काम गरेका रिजालले नेपाली गीतसङ्गीतको क्षेत्रमा २६ सयभन्दा बढी गीत दिएका छन् । चलचित्र क्षेत्रमा ८ फिल्म निर्माण गरेका डा. भोला रिजालको जीवनका पाटाहरू रातोपाटीको मेरो जीवन स्तम्भमा हामीले खोतल्ने प्रयास गरेका छौँ ।

मेरो खाना
म नन्भेज हुँ । तर भेजिटेरियन मनपर्छ । अरू मनपर्ने खानेकुरा भनेको कालो दाल, दालको मस्यौरा, अमिलो नभएको तामा, सजिउन र लुँडे तथा लट्टेको साग । यी पाँच चिज भए माछामासुको मतलब लाग्दैन । मन नपर्ने भन्ने अहिलेसम्म केही छैन ।

पहिले रेस्टुरेन्ट धेरै जान्थेँ । अचेल समय मिल्दैन । गएँ भने पनि कोही फोटो खिच्न आउँछन्, कोही केही सोध्न । रेस्टुरेन्टमा बसेर खाने र रमाउने माहोल मिल्दैन । रेस्टुरेन्टका नुडल्स्, सुप र मिटबल आइटम मीठो लाग्छ । पकाउन रुचि छ । पहिले श्रीमतीलाई पकाउन सघाउँथे । अहिले सक्दिनँ । सबै प्रकारका परिकार बनाउन आउँछ । 

मेरो पोसाक
मनपर्ने पोसाक दौरा सुरुवाल, कोट र ढाकाको टोपी हो । चिकित्सा सेवाले गर्दा पहिरन बारम्बार फुकाल्न र लगाउन पर्ने भएकाले नर्मल सर्ट, पाइन्ट र कोट प्रयोग गर्छु । जतिबेला बलिउडमा देवानन्दको चकचकी थियो, सो समय परिवारले भन्थे, ‘देवानन्दले लगाएका सेतो सुट, सर्टहरू धेरै सुहाउँछ ।’

तर अहिले मल्टिकलर पहिरन पर्छ । अफिसियल्ली पहिरन कालो रङ्गको हो । ब्रान्डभन्दा पनि मनपर्ने पहिरन किन्छु । छोराहरूले ल्याउँदा ब्रान्डेड ल्याइदिन्छन् । पाकिस्तानमा पढेकाले त्यहाँको पहिरन मैले धेरै लगाएँ । त्यहाँको जस्तो राम्रो पहिरन अन्तको लागेन । त्यहाँ पढ्दा किनेको पहिरन झन्डै २० वर्ष जति लगाएँ । मेरो पहिरन श्रीमती तथा छोराहरूले किन्ने गरेका छन् । वार्षिक २५, ३० हजार पहिरनमा खर्च होला ।

मेरो फिट्नेस 
पहिले फिट्नेस नगरेकाले अहिले दुःख पाइरहेको छु । आफै योग गर्ने भनेर एक समय ओम अस्पतालमा योगा सुरु गराएँ । तर समय अभावका कारण गर्न भ्याइन । पहिले पहिले गेम खेल्थेँ । त्यसले पनि फिट्नेसको काम गर्दथ्यो । अहिले केही छैन । त्यस कारण मेरो ढाडमा समस्या देखियो । अहिले भने दैनिक २, ३ घन्टा फिजियो थेरापी गर्छु ।
 
मेरो अध्ययन
फुर्सद मिल्यो भने लेख्ने र पढ्ने गर्छु । यो सानैदेखिको बानी हो । प्रायः बेलुका अध्ययन गर्छु । रातको ९ बजे अफिसबाट फर्किएँ भने पनि अध्ययन नगरी सुत्दिनँ । कोर्सका किताब, व्यक्तिका जीवनी, साहित्य, सङ्गीत र कलाका किताब पढ्छु । कर्ण शाक्यको सोच, अन्तर्मनको यात्रा, झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ र एक बहिनीले दिएको १२ वर्षको द्वन्द्वकालमा भोगेको भोगाइ किताब अहिले अध्ययन गरिरहेका पुस्तक हुन् ।

मेरो घुमफिर 
घुमघाम धेरै मनपर्छ । देशको अधिकांश ठाउँ चिकित्सा पेसाको सिलसिलामा घुमेँ । धेरै पटक पुगेको ठाउँ मुक्तिनाथ हो । मुक्तिनाथमा स्वामी कमलनयन आचार्यको सङ्कल्पमा १८ वर्षदेखि स्वस्थ्य सेवा श्रम अस्पताल चलिरहेको छ । स्वामीजीले त्यसको अध्यक्ष मलाई बनाउनुभएको छ । त्यो अस्पताल अहिले म हेर्छु । प्रत्येक वर्ष ८ महिना त्यहाँ निःशुल्क उपचार हुन्छ । पश्चिमका कर्णाली, हुम्ला, जुम्ला पुग्न सकेको छैन । विदेशका भने प्रायः देश पुगिसकेँ । केही अफ्रिकन मुलुक, भियतनाम, कम्बोडिया जान बाँकी छ । 

मेरो फुर्सद
सबैभन्दा अप्ठ्यारो नै यही हो । मलाई २४ घन्टाको दिन जहिले पनि अपुग भयो । जतिखेर मैले चलचित्र निर्माण गर्थें । त्यो समय पनि पुगेन । चलचित्र निर्माण पूरै छोडेर चिकित्सा पेसामा होमिएँ । अहिले पनि पुगेको छैन ।

मेरो खेलकुद 
पहिले स्पोर्ट म्यान थिएँ म । २० वर्ष अगाडि ब्याडमिन्टिन, टेबुलटेनिस लगायत गेम खेल्थेँ । १०० मिटर दौड, जम्प, साइक्लिङ लगायत गर्थें । अहिले यसलाई निरन्तरता दिन सकिनँ । अहिले समय भयो भने टिभीमा खेल हेर्छु ।

मेरो मोबाइल
मोबाइल बोक्न थालेको भर्खर ४ वर्ष भयो । नेपालमा मोबाइल नबोक्ने केही व्यक्ति मध्येको म पनि एक थिएँ । ०७२ को भुइँचालो गएको समय देशको विभिन्न भागमा स्वस्थ्य क्याम्प लिएर पुगँे । सो समय क्याम्पमा जाँदाखेरी केही अप्ठ्यारा स्थिति समेत पर्यो । त्यस बेला लाग्यो मोबाइल बोक्नुपर्ने रहेछ । सो समयदेखि मोबाइल बोक्न थालेँ । मसँग अहिले सामसुङ ब्रान्डको एउटा मोबाइल छ । फोन गर्न, भाइबर, फेसबुक लगायत चलाउन प्रयोग गर्छु ।

मेरो टिभी
बेलुका नियमित टिभी हेर्ने सेड्युल छ । मैले छानेर लगातार नेपालका टेलिभिजन रिमोटमा सेट गरेको छु । टिभीका समचारहरू छुटाउँदिन । पहिले पहिले कमेडी सिरियल तीतो सत्य, मेरी बास्सै, हिजोआजका कुरा नियमित हेर्थें । अहिले टिभीमा आउने रियालटी सो हेर्छु । साँझको समय एक घन्टा नियमित टिभी हेर्छु । 
 
मेरो चलचित्र 
चलचित्र हेर्नका लागि समय नै पुग्दैन । मैले हेरेको पछिल्लो चलचित्र ‘छक्का पन्जा २’ हो । त्योभन्दा अगाडि केही हिन्दी हेरेको थिएँ । भुवन केसीको ड्रिम्स प्रिमिएर सोमा जानै पर्ने भएकाले हेरेँ । केही अन्य हेरको छु । समय मिल्यो भने हेर्छु । राजकपुरले बलिउडमा निर्माण गरेको फिल्म ‘जिस देशमा गङ्गा बहेते हे’ धेरै राम्रो लागेको फिल्म हो । मैले पनि ८ वटा फिल्म निर्माण गरेको छु । पछिल्लो फिल्म गौँथली हो । त्यो धेरै ठाउँमा देखाउन बाँकी छ । 

मेरो भाषाशैली 
मेरो परिवार नै साहित्यमा ढल्किएको छ । मेरो बुबा पनि जन्डिप्रसाद रिजाल पनि साहित्यकार हुनुहुन्थ्यो । उहाँको थुप्रै किताब निस्किएका छन् । मेरो कजन कालिप्रसाद रिजाल, राधाप्रसाद रिजाल पनि साहित्यमा छन् । हाम्रो परिवारिक माहोल सानैदेखि साहित्य, कला र सङ्गीत भएकाले मीठो र नरम भाषाशैली नै राम्रो लाग्छ ।

मैले धेरै पटक चिकित्सक साथीहरूलाई दुई हात जोडेर भन्ने गरेको छु । बिरामी धेरै पीडा भएर असाय भएर हामीलाई भेट्न आएका हुन्छन् । उनीहरूलाई त्यस्तो भाषा प्रयोग गर्नुस् जुन भाषाले उनीहरूको आधा रोग त्यसै निको होस् । कर्कस भाषा कहिल्यै प्रयोग नगर्नुस् भनेर सम्झाउँछु । मेरा लागि भाषा महत्त्वपूर्ण छ ।

मेरो प्रेम
मेरो मागी विवाह भएको हो । विवाह हुँदा म १५ वर्षको थिए भने मेरी श्रीमती १२ वर्षकी थिइन् । म सानैदेखि हजुरबुबाको प्रिय नाति थिए । उहाँ कासीबास जाने तयारी गर्दैगर्दा भोलाको विवाह गर्दिन पाए म ढुक्क भएर जान्थेँ भन्नुभयो । काकाहरूले मेरो घरदेखि २ सय मिटर परको एक घिमिरे थरकी केटी खोजेर विवाह गर्दिनुभयो । सो समय मलाई विवाहमा इन्ट्रेस्ट थिएन ।

तर हजुरबुबाको कुरो हार्न नसकेर विवाह गरेँ । विवाह अगाडि केटीको मुख पनि हेरेको थिइनँ । विवाहको दिन केटी मन नपरे जग्गेबाट भाग्छु भन्ने विचार थियो । तर विवाह भयो । विवाहपछि उनीसँग प्रेम बस्यो । विवाह भएको अहिले ५८ वर्ष भयो । सम्बन्ध र प्रेम राम्रो चलिरहेको छ । विवाह भएपछि पनि धेरैले मलाई मन पराएका थिए । तर प्रपोज गर्न सकेनन् ।


 
मेरो पेसा
विसं २०२९ सालदेखि चिकित्सा पेसामा आबद्ध छु । यो पेसाको पहिलो केही महिना म विराटनगर बसेँ । त्यसपछि फस्ट पोस्टिङ लिएर तौलिहवा गएँ । ०३९ मा फेरि मैले पोस्टग्र्याजुएट गरेर आएँ । नेपाल सरकारको जागिर छोडेर युनिभर्सिटीको जागिर सुरु गरेँ । 

०४६ को आन्दोलनमा म टिचिङ अस्पतालको निर्देशक थिएँ । ०५० सम्म टिचिङमा काम गरेँ । त्यसपछि मैले ओम अस्पताल सुरु गरेँ । अहिले ओम अस्पताल छोड्नु पर्यो । अहिले हेम्स् अस्पताल र नेपाल मेडिकल कलेजमा कार्यरत छु । डाक्टरको रूपमा धेरै बिरामीको साथी ।

मेरो दुःख
मानिस दुःखी आफ्नो कारणबाट कहिल्यै हुँदैन । जब उसलाई अर्काको सुख सहन गर्न अप्ठ्यारो पर्छ अनि मानिस दुःखी बन्छ । त्यसकारण हामीले आफ्नो भन्दा पनि अरूको खुसीमा रमाउन सिक्नुपर्छ । यसो गर्यो भने हामी कहिल्यै दुखी हुनुपर्दैन । 

मेरो मापसे 
२०३९ साल पुस १३ गते नेपाल मेडिकल एसोसिएसनबाट हामी तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरबिक्रम शाहको जन्मोत्सव मनाउने गर्दथ्याँै । जन्मदिन त १४ गते पथ्र्याे हामी भने १३ गते भव्यताका साथ मनाउँथ्याँै ।
त्यही पुस १३ गते मैले अन्तिम पटक मापसे गरेँ । १५ गतेबाट मैले टिचिङ अस्पतालमा गाइनोको लेक्चररको रूपमा सेवा सुरु गरेँ । सो समय टिचिङ अस्पताल बनेको थिएन । म प्रसूतिगृहमा जान्थेँ । सो समय छोडेको मापसे आजसम्म पनि छोएको छैन । चुरोट पनि खादिनँ ।

म अन्यलाई पनि कहिलेकाहीँ लिमिटमा मापसे गर्दा हुन्छ । तर सूर्तिजन्य चुरोट होस् वा अन्य । त्यो कहिल्यै नखानुस् भनेर अनुरोध गर्छु । सम्पूर्ण रोगको जड भनेकै सूर्तिजन्य पदार्थ हो ।
म अहिले निःसन्तानहरूको उपचार गरिरहेको छु । पुरुषहरूमा निःसन्तान हुनुको पचास प्रतिशत कारण चुरोट हो । यसले वीर्यमा शुक्रकिटको नास गरिदिन्छ ।

मेरो गीतसङ्गीत
राम्रा गीतहरू मनपर्छन् । गीतसङ्गीत सकेसम्म छोड्दिनँ । थोरै थोरै गरेर अहिले म आउट अफ ट्र्याक हुँदैछु भन्ने लागेको छ । झन्डै २५ सय ३ हजार गीत लेखे होला । २ सयभन्दा बढी गीत चलचित्रमा छन् । मानिसहरू मेरा गीतमा कति नाचे होलान् । 

मलाई सुन्न पुराना खालका, केही चिजभित्र भएका गीत सङ्गीत मात्र मनपर्छ । अहिले आएका नयाँ खालका सबै प्रकारका गीत पनि सुन्छु । बिहान, बेलुका, यात्रामा जहिले पनि गीत सङ्गीत सुन्न मनपर्छ । जुन गीतले मन छुन्छ त्यो गीत सुन्छु । चाहे त्यो हिन्दी होस् वा नेपाली । 
 
मेरो सपना 
धेरै कुरा गर्न बाँकी छ । एमबीबीएस गरेर फर्किएपछि २० हजारको जागिर छोडेर ४५० को जागिर सुरु गरेको मैले । नेपालको पहिलो मेल गाइनोकोलोजिस्ट भएर काम सुरु गरेँ । त्योबेला मानिसलाई मेल गाइनोक्लोजिस्ट नेपालमा चल्छ र ? भन्थे । २०४४ सालमा पहिलो पटक नेपालमा टेस्टट्युब प्रविधिबाट बच्चा जन्माउने प्रविधिको प्रयोग गरँे । नेपालमा असुरक्षित गर्भपतन थियो । त्यसलाई सुरक्षित गर्भपतन नगराएसम्म मातृ मृत्युदर कम हुँदैन भनेर नेपालमा आवाज उठाउने पहिलो व्यक्ति पनि मै हुँ । आवाज उठाएको १३ वर्षपछि त्यसले कानुनी मान्यता पायो । 
नेपालमा निःसन्तानका लागि रोइदिने कोही देखिएनन् । त्यसका लागि मैले टेस्टट्युब बेबीको प्रयोग गरेँ ।

अहिलेसम्म ओम अस्पतालबाट झन्डै १२ सय टेस्ट ट्युब बेबी जन्मिसकेका छन् । विवाहित दम्पतीको करिब १५ प्रतिशत अहिले पनि नेपालमा निःसन्तान छन् । अल्ट्रा साउन्ड गरेर छोरी भनेर हेरेर फाल्ने विरुद्ध सुरु गरेको अभियान मेरो अहिले पनि जारी छ ।

मैले झण्डै ४५ वर्ष यो पेसामा बिताएँ । अहिले पनि टाढा, टाढा गाउँमा रहेका गर्भवती महिला बच्चा जन्माउन नसकेर मर्छन् । ती व्यक्तिका लागि अहिले पनि सेवा दिन सकिएको छैन । घरआँगन नामक संस्थाले राम्रो काम गरिरहेको छ । कतिलाई यस्तो अवस्थाबाट बचाएको छ । त्यसको प्रयास प्रशंसनीय छ । तर त्यसले मात्र पुग्दैन ।

यो सेवा स्थानीय स्तरमा उपलब्ध गराउन सकेका छैनौँ । त्यो अहिलेको मेरो सबैभन्दा चिन्ताको विषय हो । कुनै पनि सुत्केरी डाक्टरी सेवा नपाएर मर्न नपरोस् भन्ने वातावरण बनाउने सपना र कोसिस निरन्तर छ । अर्काे कुरो कोही पनि निःसन्तान नहोस् भन्ने पनि छ । 

मेरो भूल
गरेको काम नियाल्ने हो भने कति सही गरियो । कति भूल गरियो होला । अहिले मैले कसैलाई पनि दोष नदिने सोच निकालेको छु । दोष जति आफू लिने । अरू सबै सही गल्ती गर्ने म मात्र हुँ । ओम अस्पताल सिर्जना गर्नु के मेरो भूल थियो त ? त्यसमा जति साथीभाइ समेटँे के त्यो मेरो भूल थियो त ? ओम अस्पतालबाट अहिलेसम्म लाखौँ मानिसले सेवा पाएका छन् ।  ओम अस्पतालले विश्वमा नेपाल पनि चिनाएको छ । आज पनि विश्वका १३ देशबाट टेस्टट्युब बेबीका लागि नेपालको ओम अस्पतालमा आउने गरेका छन् । आज हामी जसलाई भूल भन्छौँ त्यो उक्त समय भूल थिएन । त्यसैले सही र गलत छुट्याउन गाह्रो छ । 

मेरो रोग
अहिलेसम्म रोग केही छैन । त्यस्तै २०३०, ०३१ सालमा राजविराजमा पोस्टिङ हुँदा ढाड सड्किएको थियो ।  सो समयमा राम्रो ध्यान दिइनँ । ४४ वर्ष अगाडिको त्यो समस्यले विगत १० वर्षदेखि दुःख दिन थालेको थियो । ५ वर्ष अगाडिबाट यसको पनि अपरेसन हुन थालेको रहेछ । मैले ६ महिना अगाडि अप्रेसन गरँे । अहिले त्यस्तो केही रोग छैन । 
मैले मुटुका दुईवटा स्टेन्ट हालेको छु । यो रोग लागेर होइन । साधारण चेकअप गर्दा दुईवटा नली अलिकति खुम्चिएको छ । तपाईं धेरै मिहिनेत गर्नुहुन्छ । स्टेन्ट हालौँ भनेर डाक्टरहरूको सल्लाह दिनुभयो । अनि हालेको । 

मेरो राशि 
मेरो मेष राशि हो । वासु शास्त्री, योगराजजीले तपाईंको अहिले योग छ । यसबाट थोरै बचौँ भनेर भन्ने गर्नुहुन्छ । उहाँहरूले राम्रो छ भन्दा पनि ठिकै लाग्छ । नराम्रो छ भन्दा पनि ठिकै लाग्छ । विश्वास गरेर यसको पछि लाग्दिनँ ।

मेरो मृत्यु
मृत्यु प्रकृतिक नियम हो । यसलाई सहज रूपमा हेरेको छु । मानिसहरू मृत्युसँग डराउँछन् । तर म डराउँदिन । ०४६ सालको आन्दोलनमा मैले मृत्युसँग खेलेर जुन भूमिका खेलेँ त्यो जापानिजले ‘काठमाडौँ स्प्रिङ’ भन्ने पुस्तकमा पनि उल्लेख गरेका छन् । 

सो समय पुलिसको गाडीको बर्नेटमाथि बसेर मैले कीर्तिपुरको ४ वटा लास उतारेको दृश्य कसैले कल्पना पनि गर्न सक्दैन । किनभने त्यो समय एकतिर ढुङ्गा हिर्काउने सयौँ मानिसको भीड थियो, अर्काेतिर ती भीड तह लगाउन गोलीसहित सजिएका सुरक्षाकर्मी थिए । त्यो समय टिचिङ अस्पताल कुरुक्षेत्र होइन भनेर दुवैको बीच रहेर मैले काम गरेँ । 

त्यतिबेला मलाई मृत्युसँग अलिकति पनि डर थिएन । म जायज र सत्यमा छु भने नराम्रो हुँदैन भन्ने विश्वास ममा थियो । अहिले राम्रो काम गर्यो भने मृत्यपछिको संसार झन् राम्रो पाइन्छ भन्ने मेरो धारणा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप