बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ भन्दा पुरानै सहमति कार्यान्वयनमा जोड

मङ्गलबार, ०६ भदौ २०७४, १२ : २१
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने राजकीय भारत भ्रमणको तयारी तीव्र पारिएको छ । 

यसअघि सोमबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तय गरेको थियो । भ्रमणका एजेण्डाबारे प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री, परराष्ट्रविद र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेर आफुले उठाउनुपर्ने विषयका बारेमा सुझाव लिइरहेका छन् ।
 

मंगलबार बिहानमात्रै प्रधानमन्त्रीले पुर्व परराष्ट्रमन्त्रीहरुसँग भ्रमणका एजेण्डाका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको यो भ्रमणका बेला नयाँ सहमति र सम्झौता नभएपनि यसअघिका सम्झौताको कार्यन्वयनका विषयमा आफ्नो तर्फबाट प्रष्ट धारणा राखेर भ्रमण फलदायी बनाउनुपर्ने तथा नेपाललाई अहित हुने कुनैपनि सहमति र सम्झौता नगर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् । 

प्रधानमन्त्री देउवा ५ दिने औपचारिक भ्रमणका लागि बुधबार (भोलि) भारत जाँदै छन् । प्रधानमन्त्रीका रुपमा देउवाले चौथो पटक भारत भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना परियोजना र भारतीय बाँधका कारण नेपाली भूभाग डुवानको समस्या लगायतका विषयमा छलफल हुनेछ । 

‘विगतमा प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्दा दुई देशबीच भएका सहमतिको कार्यान्वयनमा विशेष पहल हुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भटराईले भने। उनका   अनुसार पुराना सन्धिसम्झौताका विषयमा छलफल हुनेछ भने लक्ष्मणपुर र कोसी बाँधबारे पनि कुराकानी हुनेछ । त्यस्तै भूकम्पपछि नेपालको पुनर्निर्माणलाई आर्थिक सहयोगका विषयमा  कुरा उठ्नेछ । 
यस्तो छ भ्रमणतालिका 
पाँचदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपालबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । विमानस्थलबाट देउवा राष्ट्रपति भवन जाने र ताजमानसिंह होटलमा बस्नेछन् । सोही दिन भारतीय ऊर्जामन्त्रीले देउवासँग भेटघाट गर्नेछन् । देउवाले बुधबारै प्रवासी नेपाली संगठनका अगुवाहरूसँग छलफल गर्ने कार्यक्रम छ । देउवाको प्रमुख भेटघाट बिहीबारमात्रै हुनेछ । विहिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदी तथा मन्त्रीहरूसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवा हैदरावाद जाने र त्यहाँको उच्च प्रविधि सहरको अवलोकनसमेत गर्नेछन् । शनिबार तिरुपति र आइतबार बोधगयाको धार्मिक भ्रमण समेत गर्ने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ । 


नेपालले उठाउने प्रमुख एजेण्डा 
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा नेपालले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली परियोजना, अरुण तेस्रो, ऊर्जा क्षेत्रमा सहयोग, अन्तरदेशीय प्रसारण लाइन, पुनर्निर्माण, सहुलियतपूर्ण ऋण, गण्डक नहर, नेपाली भूभाग डुबानमा पर्नेगरी भारतले सीमामा बनाएका बाँध, व्यापार तथा पारवहन, क्रस बोर्डर कनेक्टिभिटी, एलपिजी बुलेट, भारतीय मुद्रा सटही, क्रस बोर्डर रेलसेवा, एकीकृत चेक पोस्ट, हवाई रुट, सैन्य सामग्री, निर्वाचनका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल गर्ने नेपाल सरकारको तयारी छ । 
फुक्ला गाँठो ?
विशेषगरी नेपाल भारतबीच विवाद हुदै आएका ठुला परियोजना सञ्चालन गर्ने विषयमा पनि प्रधानमन्त्रीको भ्रमणका वेला गहन छलफल हुने अपेक्षा गरिएको छ । यसका लागि नेपाल भारत दुवैपक्षबीछ आन्तरिक छलफल तीव्र बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पुर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा पञ्चेश्वर, अरुण तेस्रो तथा माथिल्लो कर्णालीबारे भ्रमणका बेला गहन छलफल गरी समस्या समाधान गर्नुपर्ने बताउँछन् । भन्छन्– ‘ हामीले हाम्रो धारणा प्रश्ट राख्न सक्नुपर्छ, समस्या यो हो भन्न सक्नुपर्छ र त्यसलाई कुटनीतिक हिसावले सम्बोधन गर्ने प्रयास हुनुपर्छ ।’ भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र मोदीबीच छुटछुट्टै भेटवार्ताका क्रममा ती विषयमा छलफल हुने सरकारी पक्षले जनाएको छ । त्यस्तै नेपालले ऊर्जा व्यापार सम्झौता (पिटिए) कार्यान्वयनमा पनि जोड दिनेछ । भारतले सीमापार ऊर्जा व्यापारका लागि हालै ल्याएको नयाँ नियमले नेपालसँग भएको पिटिए प्रभावित हुने आशंका भइरहेका बेला यो विषयलाई उच्च तहमा कुराकानी गरेर सुल्झाए नेपालले राहात पाउने विश्वास गरिएको छ । 
कोशी सम्झौता र बाँध 
नेपाल भारतबीचको कोसी सम्झौता अर्को महत्वपुर्ण विषय भएकाले त्यस विषयमा पनि छलफल हुनुपर्ने नेपाली पक्षको माग रहँदै आएको छ । भारतले कोसी परियोजनाको १० किलोमिटरसम्मको परिधिभित्र पर्ने नेपाली भूभागमा विद्युत् उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म उपलब्ध गराएको छैन । त्यस्तै भारतले सीमा क्षेत्रमा बाधेका झण्डै दुई दर्जन बाँध र बर्षाका समयमा नेपालमा पुग्ने क्षतीका बारेमा पनि प्रधानमन्त्रीले आफ्नो भ्रमणका बेला कुटनीतिक हिसावले समस्या समाधानको प्रयास गर्ने अपेक्षा गरिएको छ ।  प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणका बेला भारत सरकारले प्रतिवद्धता जनाएअनुसार भुकम्पछि दिने भनेको सहायता रकम दिन पनि ताकेता गर्नेछ । 
दोक्लम तनाव र नेपाल
दुवै छिमेकी देश भारत र चीनबीच दोक्लम बिबादले उचाइ लिइरहेका बेला नेपालका सरकार प्रमुखको भारतमा हुन गइरहेको भ्रमणले अर्को छिमेकी देश चिढिने हो कि भन्ने आशंका र अड्कलबाजीप्रति पनि  विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यद्यपी उनीहरुले भुटान र चीनवीचको सीमा विवाद दोक्लमबारे नेपाल तटस्थ बस्नुपर्ने सुझाव दिएका छन् ।

भुटान चीनवीचको यो विवादमा भारत हावी हुन खोजेपछि दुई देशबीचको सम्बन्धमा दरार पैदा भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खड्ग केसीका अनुसार यसअघिका प्रधानमन्त्री भारत भ्रमणमा गएका वेला संयुक्त बक्तव्य जारी गरेर अर्को छिमेकीलाई आशंका थप्ने भए त्यो ठुलो गल्ती हुनेछ । ‘नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने वित्तिकै भारत भ्रमण हुने परम्परा पुरानै हो तर, यस्ता भ्रमणमा नेपालको अहित हुने किसिमका सम्झौता गर्नुहुन्न, त्यसमा नेपाली पक्ष सर्तक र सजग हुन जरुरी छ,’ प्राध्यापक केसीले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप