बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुटुको प्रत्यारोपण कहिलेदेखि गरिन थालियो ?

कृत्रिम मुटुको प्रत्यारोपणको नालीबेली !
मङ्गलबार, १५ पुस २०७६, २२ : २४
मङ्गलबार, १५ पुस २०७६

सबैभन्दा पहिले सन् १९६७ को डिसेम्बर ३ मा ५३ वर्षीय लेविस वासकान्स्की नाम गरेका मान्छेको मुटु अर्को मान्छेको मुटुमा प्रत्यारोपण गरिएको थियो । त्यसरी मुटु प्रत्यारोपण गर्ने पहिला व्यक्ति थिए–दक्षिण अफ्रिकी सर्जन क्रिस्टियन बर्नार्ड । उक्त प्रत्यारोपण दक्षिण अफ्रिकाको ग्रुटे स्चुर अस्पतालमा गरिएको थियो ।

https://www.history.com

उनले गरेको मुटु प्रत्यारोपणको नतिजा सकारात्मक देखिएपछि संसारमा मुटु प्रत्यारोपणको ढोका खुल्यो, अन्य धेरै सर्जनहरुले मुटु प्रत्यारोपण गर्न थाले ।

शुरुशुरुमा यसरी मुटुको प्रत्यारोपण गरिएपनि रोगीहरु धेरै समयसम्म बाँच्न भने सकेनन् । किनभने, मान्छेको शरीरमा हुने प्रतिरक्षा प्रणाली  अर्थात् हाम्रो शरीरको बाहिरी वस्तुहरुलाई हानिकारक ठानी स्वतः प्रतिरोध गर्ने वा अस्वीकार गर्न प्राकृतिक प्रणालीले गर्दा त्यसरी प्रत्यारोपण गरिएका मुटुहरुले काम गर्न सकेनन् । फलतः त्यसरी अरु व्यक्तिहरुबाट दान लिएर मुटु प्रत्यारोपण गरिने कुराले त्यति उत्साहजनक परिणाम ल्याउन सकेन । त्यसैले, सन् १९६८ मा १०० जना जतिको मुटु प्रत्यारोपण गरिएका थिए भने, सन् १९७० मा आइपुग्दा त्यो संख्या झरेर १८ मा सीमित रहयो ।

यो समस्यालाई कसरी हटाउने वा न्युन गर्ने भन्ने बारेमा क्यालिफोर्नियाको पालेमाअल्टोमा सर्जन नर्मन सुमवे तथा उनका सहयोगीहरुले अनुसन्धान जारी राखे । र, १९८० को शुरुवातताकामा आएर उनीहरुले के पाए भने, त्यसरी मुटु प्रत्यारोपण गरिएका आधाभन्दा बेसी मान्छेहरु एकवर्षदेखि बाँचिरहेका छन् । अर्कोतिरअन्य मानवबाट प्राप्त अंगलाई प्रत्यारोपण गरिएको मान्छेको शरीरले अस्वीकार गर्ने समस्यालाई कम पार्न नयाँ नयाँ खोजिएका औषधीहरुले पनि मद्दत गरे ।

मुटु प्रत्यारोपण गर्ने सिलसिलामै एउटा विवादास्पद घटना पनि भएको थियो । त्यो के भने, सन् १९८४ मा क्यालिफोर्नियामा मुटु फेर्नु पर्ने अनिवार्य अवस्थामा एउटा अशक्त महिलामा बब्न नाम गरेको बाँदर प्रजातिको प्राणीको मुटु प्रत्यारोपण गर्ने प्रयास गरिएको थियो । तर, त्यो प्रत्यारोपण सफल भने हुन सकेन । त्यस महिलाको शरीरले त्यो बाँदरको मुटुलाई अस्वीकार गरेको थियो ।

उक्त घटनाले त्यसबेला चिकित्सा जगत‍्मा ठुलो विवादलाई जन्म दिएको थियो ।

कृत्रिम मुटुको अविष्कार र प्रत्यारोपण

१९६७  मा मानव मुटुको प्रत्यारोपण गरिनुभन्दा एक वर्ष पहिले नै सफलतापूर्वक कृत्रिम मुटुको प्रत्यारोपण गरिएको थियो र सन् १९६६ मा डा. मिचेल डे बाकेले एउटा रोगीमा अस्थायी रुपमा बुस्टर पम्प प्रत्यारोपण गरी कृत्रिम मुटुको प्रत्यारोपण कार्यको शुरुवात गरेका  थिए । त्यसरी प्रत्यारोपण गरिएका पम्पहरुमध्ये एउटा पम्पले त धेरै वर्षसम्म पनि काम गरेको थियो । कृत्रिम मुटु प्रत्यारोपणको इतिहासमा त्यो एउटा अपवाद नै थियो ।

१९६९ मा अएर डा. डेनटन कोलीले सम्पूर्ण रुपमा तयार गरिएको कृत्रिम मुटु सफतापूर्वक प्रत्यारोपण गरे । त्यो मुटु पनि रोगीमा अस्थायी रुपमा नै प्रत्यारोपण गरिएको थियो ।

https://cropper.watch.aetnd.com

त्यसको करीब एक दशकपछि आएर अर्थात १९८० को शुरुवातमा डा. विलियम डेभ्रिसले स्थायी रुपमा नै प्रत्यारोपण गर्न सकिने कृत्रिम मुटुको निर्माण गरे । उनले तयार गरेको कृत्रिम मुटुलाई जारभिक–७ (Jarvik-7) नाम दिइएको थियो । उक्त कृत्रिम मुटु सर्वप्रथम १९८२ मा सियाटलका डेन्टिस्ट बारने क्लार्क नाम गरेका एकजना रोगीमा प्रत्यारोपण गरिएको थियो । त्यो रोगी मुटु प्रत्यारोपण गरिएपछि तीन महिनासम्म बाँचेको थियो ।

यो प्रत्यारोपणको सफलतापछि धेरै रोगीहरुमा कृत्रिम मुटु प्रत्यारोपण गरिएको थियो । यसरी कृत्रिम हृदय प्रत्यारोपण गरिएका रोगीहरुमध्ये एकजना रोगी त ६२० दिनसम्म पनि बाँचेको थिए ।

तर सामान्यतः कृत्रिम मुटुको प्रत्यारोपणले पनि धेरै नै गम्भीर चिकित्सकीय अपठ्याराहरु पैदा गरे । मुटु प्रत्यारोपणको इतिहासलाई हेर्दा, कृत्रिम मुटुको प्रत्यारोपणभन्दा पनि विभिन्न अप्ठ्याराहरुका बाबजूद दाताबाट प्राप्त हुने मानव मुटुको प्रत्यारोण नै बढी सफल भएको देखिन्छ । त्यसैले आजभोलि दाताबाट मुटु प्राप्त नभइन्जेलसम्मको समयका लागि ‘अस्थायी रुप’मा मात्रै कृत्रिम मुटु प्रत्यारोपण गरिने गरिन्छ ।

https://upload.wikimedia.org

वैज्ञानिकहरु कृत्रिम मुटुलाई अझै भरपर्दो बनाउनेतर्फ कोशिसरत छन् । र, मानव मुटुले काम नगरेको अवस्थामा कृत्रिम मुटुलाई नै पूर्ण रुपमा मुटुको काम गर्न सक्ने कसरी बनाउन सकिन्छ भनेर अझै पनि अनुसन्धानहरु भइरहेका छन् । 

पछिल्ला अध्ययनहरुले कृत्रिम मुटु प्रत्यारोपण गरिएका मध्ये ७५ प्रतिशत रोगीहरु सामान्यतः पाँच वर्षसम्म बाँचेको देखाएको छ । त्यसो त बेलायतका पिटर हाउटन कृत्रिम प्रत्यारोपण गरेर सबैभन्दा बढी बाँचेका मानिस हुन् । उनमा जुन २०, २००० मा अक्सफोर्डको जोन राडक्लिफ अस्पतालमा जारभिक २००० नाम गरेको कृत्रिम मुटु प्रत्यारोपण गरिएको थियो । उनको निधन नोभेम्बर २५, २००७ मा भएको थियो । त्यसैगरी, कृत्रिम प्रत्यारोपण गरिएकामध्ये ८५ प्रतिशत मानिसहरुले बाँचुन्जेल पहिलेको जस्तै सामान्य जीवन बाँच्न सकेको पनि देखिएको छ ।

अहिले त जारभिक ७ लाई धेरै सुधारिएको छ, जसाई सिन्कार्डिका टेम्पोररी टोटल आर्टिफिसियल हार्ट (SynCardia temporary Total Artificial Heart) भनिन्छ । डिसेम्बर २, १९८२ देखि डिसेम्बर ३१, २०१४ को ३० वर्षको अवधिभित्र १३९७ जना मानिसहरुमा यो कृत्रिम मुटु प्रत्यारोपण गरिसकिएको थियो । 

https://syncardia.com

यो कृत्रिम मुटु प्रत्यारोपण गरिएका सबैभन्दा कान्छो व्यक्ति चाहिँ आन्द्रेइ नाम गरेका १२ वर्षीय केटा हुन् । अप्रिल २१, २०१७ का दिन रोम, इटालीको बाम्बिनो गेसु चिल्ड्रेन्स हस्पिटलमा उनको काम गर्न नसक्ने अवस्थामा पुगिसकेको मुटु हटाएर त्यो कृत्रिम मुटु प्रत्यारोपण गरिएको थियो । त्यसको २ हप्तापछि उनमा मिल्दो दाताबाट प्राप्त मुटु प्रत्यारोपण गरिएको थियो ।

त्यसो त आन्द्रेईभन्दा पहिले बेलायतमा सन् २०१६ मा एक १२ वर्षीया केटीमा पनि कृत्रिम मुटु प्रत्यारोपण गरिसकिएको थियो । तर उनी आन्द्रेईभन्दा १७ दिनले जेठी थिइन् ।

Title Photo: https://www.wearable-technologies.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप