शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पौडेल–सिटौलाको अनुपस्थितिमै देउवाद्वारा काँग्रेस र तरुण दलको म्याद थप, महाधिवेशनको कार्यतालिका पारित

शुक्रबार, ११ पुस २०७६, १९ : ०५
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्। 

मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अनुपस्थित रहेपछि सभापति देउवाले शुक्रबारको बैठकबाट बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्याद थप गरेका छन्। 

बैठकले पार्टीको चारवर्षे कार्यकाल आगामी फागुन १० गते सकिने अवस्थामा विधानको प्रावधान अनुसार विशेष परिस्थिति र संक्रमणकालको अवस्थालाई ध्यानमा राख्दै ०७७ फागुन १९ गतेसम्म म्याद थप गरेको हो ।आगामी जेठ १ गतेदेखि असार १५ गतेसम्म नयाँ र नविकरण गरेका क्रियाशील सदस्यताको सूची प्रकाशन गरेर केन्द्रीय कार्यालयमा पठाउने मिति तय गरिएको छ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि आगामी असार १६ गतेदेखि असार मसान्त तोकिएको छ। नयाँ र नविकरण गरेका क्रियाशील सदस्यमाथि प्रारम्भिक छानविन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नुपर्नेछ। निर्णयमा चित्त नबुझेमा साउन मसान्तसम्म केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिने अवधि तोकिएको छ।

उजुरी/पुनरावेदन उपर केन्द्रीय छानविन समितिले भदौ मसान्तभित्र निर्णय लिने कार्यतालिकामा उल्लेख छ। क्रियाशील सदस्यताको अन्तिम नामावली असोज मसान्तमा प्रकाशित हुनेछ।

बैठकले २०७७ मंसिर ९ गते गाउँ र नगरका वडाहरुको अधिवेशन गर्ने, २०७७ मंसिर ११ मा ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन  र प्रदेशसभाका ३ सय ३० वटा प्रदेशसभाको क्षेत्रीय अधिवेशन २०७७ मंसिर १५ गते हुनेछ ।

त्यसैगरी १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन २०७७ मंसिर १७ गते गर्ने कार्यतालिका तय भएको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते हुनेछ भने ७ वटा प्रदेशको अधिवेशन २०७७ पुस १५ गते सम्पन्न गरि कार्यतालिका बैठकले सार्वजनिक गरेको छ ।

यसै गरी पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म सम्पन्न गर्ने गरी कार्यतालिका पारित, विभागको संख्या बढाएर ४७ पुर्याउने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको बैठकको केन्द्रीय सदस्य डिला संग्रौलाले रातोपाटीलाई जानकारी दिइन् । 

बैठकमा वरिष्ठ पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुको सहभागिता थिएन। महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भ्रातृसंस्थाको विषयमा सहमति गरेर बैठकको सहज सञ्चालनका लागि काँग्रेसमा वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको थिए । 

उक्त विषयमा प्याकेजमा सहमति जुटाउन देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । तर दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय लिएको हुन् । 

यता  शुक्रबार पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । उक्त छलफलमा पौडेल समूहले पार्टीको  १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप