शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोहली दशककै शीर्ष ५ खेलाडीको सूचीमा

शुक्रबार, ११ पुस २०७६, ०८ : ५७
शुक्रबार, ११ पुस २०७६

एजेन्सी । विज्डनले बिहीबार दशकका टप पाँच खेलाडीहरुको नाम घोषणा गरेको छ । यसमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि समावेश गरिएका छन् । विज्डनका अनुसार कोहलीले आफ्नो प्रतिभाले हरेक चुनौतीलाई मात दिएका छन् । उनले सन् २०१४ मा इङ्ल्याण्डको भ्रमणदेखि बङ्गलादेशको दिवा–रात्री टेस्टसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् । पछिल्लो पाँच वर्षमा उनले ६३ को औसतले ५ हजार ७ सय ७५ रन बनाएका छन् । यस क्रममा उनले २१ शतक र १३ अर्धशतक बनाएका छन् ।

सन् २०१९ मा कोहलीले क्रिकेटको तीनै फर्म्याटमा ६४.०५ को औसतले सबैभन्दा बढी २३७० रन बनाए । उनले लगातार चौथो वर्ष एक क्यालेन्डर वर्षमा २ हजारभन्दा बढी रन बनाएका हुन् ।

विज्डनले घोषणा गरेको शीर्ष ५ खेलाडीमा कोहलीको साथै अस्ट्रेलियाका स्टीव स्मिथ र महिला खेलाडी एलिस पेरीलाई समावेश गरिएको छ । यसको साथै दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेन र ब्याटसम्यान एबी डिविलियर्सलाई पनि स्थान दिइएको छ ।

विज्डनका अनुसार शीर्ष पाँच खेलाडीहरुको चयनका लागि उनीहरुको औसतलाई मुख्य आधार बनाइएको थियो । कोहलीले क्रिकेटको तीनकै फर्म्याट मा ५० भन्दा बढीको औसतले रन बनाएका छन् । यस दौरान कुनै पनि खेलाडी औसतमा कोहलीको बराबरी गर्न सकेका छैनन् ।

विज्डनले दशकको टेस्ट टीम र एकदिवसीय टोलीको पनि घोषणा २४ डिसेम्बरमा गरेको थियो । कोहली टेस्ट र एकदिवसीय दुवै टोलीमा समावेश छन् । एकदिवसीय टिममा उनीसँगै रोहित शर्मा छन् भने टेस्ट टीममा कोहलीका साथै स्पीनर रवीचन्द्र अश्विन सामेल छन् ।

कोहलीले आफ्नो क्रिकेट करियरमा ८४ टेस्टमा ५४.९७ औसतले ७ हजार २ सय २ रन जोडेका छन् भने एकदिवसीयमा ५९.८४ को औसतले ११ हजार ६ सय ९ रन बनाएका छन् । टी–२० मा उनले ५२.६६ को औसतले २ हजार ६ सय ३३ रन बनाएका छन् । उनले तीनै फर्म्याट गरेर ७० शतक लगाएका छन् । यसमा उनी सचिन तेन्दुल्कर (१००) र रिकी पोन्टिङ (७१) पछि तेस्रो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप