बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'अब उपेन्द्रजी के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ '

उपेन्द्र यादवजी सरकारमा जाँदा आत्महत्या नहुने, हामी जाँदा आत्महत्या हुने ? : लक्ष्मणलाल कर्ण
बिहीबार, १० पुस २०७६, १६ : ०७
बिहीबार, १० पुस २०७६

राष्ट्रियसभाका लागि नेकपा र राजपाबीच भएको दुई बुँदे सम्झौताले अहिले मधेशको राजनीति तातेको छ । तर धेरैलाई थाह नहुसक्छ, यो सम्झौताका सुत्रधार हुन्, राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्ण । कर्णले सम्झौताका लागि वतावरण मिलाएका थिए । सोही सम्झौतापछि मधेशको राजनीतिमा ठूलो तरङ आयो । कतिसम्म भने समाजवादी पार्टी सरकार छाड्न पनि बाध्य भयो । योसँगै अब राजपा नेपाल पनि सरकारमा जाने चर्चा शुरु भएको छ । विगतमा सरकार र मधेशवादी दलबीच हुने गरेको वार्ता र छलफलमा सहभागी हुँदै आएका कारण सरकार र मधेशवादी दलको ‘केमेस्ट्री’लाई राम्रोसँग बुझेका राजपा नेपालका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णसँग समाजवादी पार्टीको बहिर्गमन, राजपा नेपालको इन्ट्री र अगामी यात्रा लगायतका विषयमा रातोपाटीले गरेको कुराकानी प्रस्तुत छः

राजपा नेपाल कहिले सरकारमा सहभागी हुँदैछ ?

–राजपा नेपाल सरकारमा जाने त्यस्तो कुनै निर्णय गरेको छैन र  केही भएको पनि छैन ।

त्यसो भने यत्रो चर्चा किन भइरहेको छ, केही नभएसम्म चर्चा पनि हुँदैन नि ?

–चर्चाको कारण के हो भने हामीले राष्ट्रियसभाको सदस्यका लागि नेकपासँग दुई बुँदे सम्झौता गर्यौं र त्यही सम्झौताले यस्तो तरङ्ग ल्याएको छ । सोही सम्झौताको आधारमा राजपा नेपाल सरकारमा जाँदैछ भनेर शुरु भएको चर्चामा कुनै सत्यता छैन । राष्ट्रियसभामा हाम्रो दुईटा सीट थियो । दुई वर्षे ती दुईटै सीटको म्याद सकिँदैछ । त्यसलाई जोगाउनका लागि हामीले नेकपासँग राष्ट्रियसभाको चुनावमा सहकार्य गर्ने आवश्यकता पर्यो । यसअघि काँग्रेस र समाजवादी पार्टीसँग हाम्रो गठबन्धन थियो । पुनः त्यही गठबन्धनलाई दाहोर्याउनेबारे हामीले समाजवादी पार्टीसँग कुरा गर्दा त्यो दलले कुनै वास्ता गरेन । यता, काँग्रेससँग मिलेर मात्र हामीलाई दुईटा सीट जोगाउने कुनै आधार नै थिएन । त्यही कारणले हामी नेकपासँग मिलेर चुनावी गठबन्धन गर्यौं । त्यसको आधारमा मान्छेले विभिन्न अडकवाजीहरु गरिरहेका छन् । त्यसमा कुनै सत्यता छैन ।

त्यही दुई बुँदे सम्झौताको बुँदा नम्बरमा दुईमा ‘दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रकृयालाई अघि बढाउने’ लेखिएको छ । यो भनेको के हो र यसले के संकेत गर्छ ?

–हामी पनि यो देशकै नागरिक हौं, बाहिर मुलुकका नागरिक होइनौं । देशमा बसेका पार्टीहरुको बीचमा आपसमा कुनै सहकार्य हुन्छ भने त्यसका औचित्य हुन्छ । त्यस प्रकारको कुनै सहकार्य गर्नुको अर्थ सरकारमा जानु होइन ।

सहकार्यका धेरै विषयहरु हुन्छन् । विकास निर्माण कार्यका कुरा हुनसक्छ, सरकार सञ्चालनका विधि प्रकृयाको कुरा हुनसक्छ, कानुन निर्माणका विषयमा पनि हुनसक्छ अर्थात सहकार्य, छलफल, संवाद जे विषयमा पनि गर्न सकिन्छ । सहकार्यको अर्थ सरकारमा जाने मात्र होइन ।

सरकारमा जानका लागि हामीलाई कसैले रोकेको थिएन र अहिले पनि रोकेको छैन । हामीेले यो सरकारलाई समर्थन पनि गरेका थियौं । सरकारमा आउनका लागि तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र गठबन्धनले आग्रह पनि गरेको थियो । तर हामील सरकारमा गएनौं । मुद्दा फिर्ता र संविधान संशोधन नभएसम्म सरकारमा नजाने भनेर हामी गएका थिएनौं । अहिले पनि यथास्थितिमा हामी सरकारमा जाँदैनौं ।

राजपा नेपाल सरकारसँग यस्तो किन अछुतो व्यवहार गरेको छ, राजपा नेपाल सरकारमा किन जानु हुँदैन, जसलाई सोध्दा नि सरकारमा जाँदैनौं भन्छन् किन त्यस्तो ?

–हामीले कहिल्यै पनि सरकारमा जाँदैनौ भनेका छैनौं । हामी पहिला पनि सरकारमा गएकै हौं । हामी सरकारमा जाँदैनौ भन्नुको अर्थ यो अछुतो हो भनेको होइन । राजनीतिमा आएपछि सरकार सञ्चालन, नीति निर्माणको तहसम्म जानुपर्छ । यो आवश्यक पनि हो तर त्यहाँ जानका लागि केही पूर्वशर्तहरु हुुन्छन् । हाम्रो एजेण्डा पूरा हुँदा हामी सरकारमा जानसक्छौं, जुन भएको छैन । हाम्रा नेता, सांसद, कार्यकर्ताहरु अहिले पनि जेलमै छँदा कसरी हामी सरकारमा गएर झण्डा फहराएर हिँड्न सक्छौं । नैतिकताले यो काम गर्न दिँदैन ।

त्यसो भने राजपालाई सरकारमा जाने बाटो खोल्न सरकार वा सत्तारुढ दलले के के गरिदिनुपर्छ त ? 

–हामीले शुरुमा भनेको कुरा मुद्दा फिर्ता र सविधान संशोधन : यी दुईटा काम सरकार वा सरकारलाई नेतृत्व गरेको दलले पूरा गरिदिए सरकारमा जाने बाटो खुल्छ ।

संविधान संशोधन भएपछि मात्र सरकारमा जानु हुन्छ कि त्यसको प्रकृया मात्रै शुरु भएपछि पनि जानुहुन्छ ?

–त्यसका लागि कुरा हुनुपर्छ पहिला । वार्ता र संवाद भएपछि त्यहाँ कस्तो अवस्था सृजना हुन्छ, त्यसमा भरपर्छ । संशोधनका लागि सरकार तयार छ कि छैन, कुनै कुरै नभइकन अन्दाजको भरमा अगाडि जानु हुँदैन । छलफलका क्रममा विश्वासका कस्ता वतावरण तयार हुन्छ त्यसको भरमा अगाडि बढ्ने सम्भावना हुनसक्छ । यस विषयमा सरकारसँग हाम्रो कुनै कुरा नै भएको छैन ।

समाजवादीवादी पार्टीले हिजो सरकारबाट समर्थन फिर्ता लिएको छ । पत्रकार सम्मेलनमा तपाईहरु सरकारबाट बाहिरिएपछि राजपा नेपाल जान लागेको छ, भनी सोधिएको प्रश्नको जवाफमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जवाफ थियो, ‘राजपा नेपाल आत्महत्याका लागि सरकारमा जान्छ जस्तो लाग्दैन, सरकारमा जानु आत्महत्या सरह नै हुन्छ ।’ वास्तावमा त्यस्तै हो त ?

–यस्तो कुरा सुनेर आश्चर्य लाग्छ । उपेन्द्र यादव सरकार जाँदा आत्महत्या हुँदैन, अन्य गए आत्महत्या हुन्छ । यो उपेन्द्रजीको कुरा हो । हामी अहिले जान लागेका नै छैनौँ भने यो आत्महत्याको कुरा कहाँबाट आयो ? लाग्छ उपेन्द्र यादव राजपा नेपालबाट अलि बढी नै तर्सिनुभएको छ । अरुले आत्महत्या गर्न लाग्यो, हामी बचाउन लाग्यौँ भनेर अरुलाई भन्नुको सट्टा पहिला आफूलाई हेर्नुपर्छ । अरुलाई गाली गर्नुभन्दा पहिला आफूभित्र हेर्नुपर्छ । हामी अहिले गएकै छैनौँ, त्यससम्बन्धी कुनै कुरा नै भएको छैन भने त्यस प्रकारको आलोचना गर्नु बेकार छ ।

अब त समाजवादी पार्टीसँग एकीकरणको बाटो खुल्यो नि होइन ?

–दुईटा पार्टीको मिलन आवश्यक छ । मिलनका लागि छलफल गर्ने बाटो कहिले बन्द हुँदैन । हिजो पनि बन्द थिएन, आज पनि बन्द छैन । पार्टी मिलनको दुईटा अवस्था हुन्छ । म त्यो टीम छैन तर मेरो नजरमा पार्टी मिल्ने दुईटा आधार हुन्छ । यो सरकार छोडोस् अनि हामी मिल्छौं भनेर मैले कहिल्यै भनेको छैन । मैले पटक पटक के भनेको छु भने पार्टी मिलनको आधार नीति र नेतृत्व हुन्छ । पहिला यी दुई कुरामा छलफल हुनुपर्छ । बाटो सधैं खुल्ला हुन्छ । सरकारमा किन छ किन गएन, त्यो सार्वभौम पार्टीको तजबीजको कुरा हो । इच्छा लाग्यो समाजवादी पार्टी सरकारमा गयो, इच्छा लागेन सरकारबाट बाहिरियो ः यो उहाँहरुको पार्टीको निर्णय हो । यसमा राजपा नेपालले कुनै हस्तक्षेप गर्नु हुँदैन, कुनै शर्त पनि राख्नु हुँदैन । हो, पार्टी एक भइसकेपछि मात्र सरकारमा जाने, नजाने विषयमा कुराकानी हुनसक्छ । उसले पार्टी छाड्यो भने मात्रै पार्टी मिलन गर्ने भन्ने खालका कुरामा मेरो कहिले सहमति रहेन र मैले यो कुरा कहिले गरेको पनि छैन ।

तपाईकै पार्टीबाट गठन भएको वार्ता समितिका संयोजक राजेन्द्र महतोले पहिलो शर्त नै सरकार छाडेपछि मात्र एकताको कुरा अगाडि बढ्छ भन्नुभएको थियो नि ?

–हाम्रो वार्ता समितिका संयोजक राजेन्द्र महतोले के भन्नुभयो त्यो उहाँलाई नै थाहा होला । वार्तामा उहाँ नै बस्नु भएको थियो । वार्तामा के के भयो उहाँलाई नै थाह होला । त्यो विषयमा मसँग कुनै छलफल भएको छैन । किन त्यो बेला वार्ता भएन, किन पार्टी मिलेन त्यो उहाँले जवाफ दिन कुरा हो तर एकीकरणका लागि हिजो बाटो बन्द थिएन, आज पनि बन्द छैन । यो बाटोलाई कसैले रोक्न सक्दैन ।

तपाई पार्टीको सहअध्यक्ष हुनुहुन्छ, पार्टीको नेतृत्व तहमै हुनुहुन्छ र तपाईंले नै भन्नुहुन्छ कि वार्ता समितिले के गर्यो, कस्तो वार्ता भयो त्यसबारेमा मलाई केही पनि थाहा छैन । तपाईले यो कसरी भन्न मिल्छ ?

–मैले भन्न मिल्दैन त्यो अलग प्रसंग होला तर म भन्दैछु नि । भएको कुरो भन्दैछु । वास्तावमा मलाई केही पनि थाहा छैन । र, मलाई जानकारी पनि गराएको छैन । म यो एकीकरण प्रकृयाको विषयमा अनभिज्ञ नै छु । तपाईंहरु जस्तै सञ्चारमाध्यममा आएका कुराहरुबाट नै अलिअलि थाह पाएको छु । त्यति मात्र हो ।

भन्नाले पार्टीमा यो एकीकरणको बारेमा केही पनि छलफल हुँदैन ?

–पार्टीमा जे कुरा मसँग हुन्छ त्यो कुरा मात्र थाहा हुन्छ । अरु कुरा थाहा हुने कुरै हुँदैन । अहिलेसम्म पार्टीमा वार्ताका विषयममा छलफल भएको कुरा मलाई थाहा छैन । कुनै छलफल भएको छैन । छजना (अध्यक्षमण्डल) को बीचका कुरा भएको होला, त्यो बेग्लै कुरा हो तर मसँग भएको छैन । पार्टीका अन्य संगठनहरु छन्, राजनीतिक समिति छ, पदाधिकारी समिति छ, केन्द्रीय समिति छ, त्योभित्र छलफल भएको मैले पाएको छैन ।

विगतमा एउटै गठबन्धन तथा मोर्चामा काम गरेका राजपा र समाजवादी पार्टी दुवै सरकार बाहिर छन्, दुई दलको अबको अगामी यात्रा त्यति सुखद हुने छैन कि क्या हो ?

–मधेशको जनताको इच्छा हेर्ने हो भने यी दुई दल मिलेपछि हामी बलियो हुन्छौं । यसका लागि पटक पटक प्रयास भयो तर उपेन्द्र यादवले उपेक्षा गर्नुभयो । स्थानीय निकायको चुनावमा उहाँले उपेक्षा गर्नुभयो । उहाँले त्यतिबेला भन्नुभएको थियो, ‘हामी चुनावमा अहिले नजाऔं, मधेशमा सीट सँख्या थोरै गरिदिए ।’ हामी आन्दोलनमै रहँदा उहाँ चुनावमा भाग लिनुभयो । त्यो कारणले हाम्रो क्षति पनि भयो । अन्त्यमा हामी पनि प्रदेश २ मा चुनावमा भाग लियौं । त्यहाँ भाग लिनुको कारण थियो, हामीले आन्दोलन गरेको कारण सरकारले १९ वटा गाउँपालिका बढायो । वीरगञ्ज र विराटनगरलाई महानगरपालिका बनायो । अनि मात्र हामी चुनावमा भाग लिएका थियौं । हामी साथै निर्वाचन लडेका थियौं । त्यो अनुसार परिणाम पनि दियो । तर उहाँले हामीसँग कुनै सल्लाह नै नगरिकन सरकारमा सहभागी हुनुभयो । त्यसैले सँगै यात्रामाा हिँड्नका लागि उहाँले बाटो सिधा गर्नुपर्छ । कुरा एउटा गर्ने, काम अर्को गर्ने हो भने एकीकरणमा बाधा हुन्छ । र, त्यही भएको हो । अहिले उपनिर्वाचनमा पनि उहाँले साथ दिनुभएन । हामीले एकीकरण गर्ने कुरा गरिराखेको बेलामा स्थानीय चुनाव पनि एकीकृत भएर लड्नु पथ्र्यो नि ! त्यसले पनि एकीकरणका लागि वातावरण बनाउन सक्थ्यो । एक दुईटा सीट हार्दैमा जित्दैमा केही फरक पर्दैन । पार्टी एकीकृत भयो भने सीटहरु जित्न सकिन्छ । त्यसलै समग्रमा हेर्ने हो भने उहाँ (उपेन्द्र यादव) ले कसरी कदम चाल्नु हुन्छ, धेरै कुरा त्यसमा भरपर्छ । हिजै जस्तै एकछिनका लागि एकता गर्ने अनि फेरि बाटो फेर्ने हो कि के हो त्यो कुरा स्पष्ट हुनुपर्छ ।

तपाईंले जसरी समाजवादी पार्टीमाथि आरोप लगाउनुभयो, समाजवादी पार्टीबाट धोका भएको भन्नुभयो, त्यसमा पछिल्लो समय तपाईहरुले पनि समाजवादी पार्टीसँग सल्लाह नै नगरिकन नेकपासँग वार्ता गरी चुनावी गठबन्धन बनाउनुभयो । त्यो किन गर्नुभयो त ?

–हामीले समाजवादी पार्टीलाई सोधेका हौं । राष्ट्रिसभाको चुनावमा साथमा जाने कि नजाने भनी हामीले सोध्यौं । तर उहाँले अहिले सम्भव छैन भन्नुभयो, अहिले समय लाग्छ भन्नुभयो । उहाँको कतै कुरा भइराखेको थियो कि त्यो उहाँले नै भन्ने कुरा हो । त्यसबेला हामीसँग विकल्पै नरहेपछि नेकपासँग जानुको बाध्यता भयो । मैले धोका भने शब्द कहीँ प्रयोग गरेको छैन । मैले भनेको के हो भने उपेन्द्र यादवजी जुन स्प्रीटमा हिँड्नु भएको थियो त्यो स्प्रीट कहिले कायम राख्न सक्नुभएन । उहाँको त एउटा सीट कम भयो, हाम्रो दुईटा सीट कम हुने अवस्था थियो । हाम्रो यो दुईटा सीट गुमेको भए अपर हाउसमा उपस्थिति शुन्य हुन्थ्यो । त्यस्तो अवस्थामा उहाँले कुरा नगर्दा अन्यत्र जाने अवस्था आएको हो । नेपाली काँग्रेससँग हामीले कुरा किन गरेनौं भने नेपाली काँग्रेस र हामी मिल्दा जित्ने अवस्था थिएन । त्यो कारणले पनि हामीले नेकपासँग मिल्नुको बाध्यता थियो । हामीले कसैलाई धोका दिएको होइनौं । हामीले उहाँ (उपेन्द्र) लाई पहिलो प्राथमिकतामा राखेका थियौं । तर उहाँ नमिलेपछि अर्को विकल्पमा गएका हौं । 

भित्रभित्रै केलाउँदै गयो भने राजपा र समाजवादी पार्टीबीच निकै मतान्तरहरु छन्, यसरी दुईटैको विचार मिलेन र दुरी बढ्दै गयो भने तपाईहरुले उठाउँदै आउनु भएको संविधान संशोधन गराउन समस्या होला नि ?

–संविधान संशोधन एक्लै हुँदैन, दुईटै मिलेपछि मात्र हुन्छ भन्नु कल्पनाको विषय हो । एक्लै हुन्छ भनेर नै त उपेन्द्रजी जानु (सरकारमा) भएको हो । उपेन्द्रजी सरकार छाडेपछि तपाईसँग एक्लै हुँदैन भन्ने, उपेन्द्रजी एक्लै जाँदा हुने भन्ने यो त प्रश्न नै होइन । संविधान संशोधनको विषय अहम् प्रश्न हो । दुईटै मिलेर दवाव दिनु झन राम्रो । भएन भने आफ्नो बाटोमा उभिराख्ने । संशोधनको कुरा गर्ने, दवाव दिइरहने । आफ्नो सामथ्र्य भएपछि संशोधन गराउने । सामथ्र्य भएन भने विभिन्न बार्गेनिङ गराएर संशोधन गराउने । यो बाहेक दुईटा पार्टी मिलेर पनि औचित्य छैन । दुईटा पार्टी मिलेपछि संशोधन भइहाल्छ चे पनि निश्चित छैन । एक्लै कसैले गराई हाल्छ त्यो पनि निश्चित छैन । त्यो समय र परस्थितिले बताउँछ । संविधानमा नै संविधान संशोधनलाई अगिंकार गरेको छ । संशोधनको अत्यन्तै उदार व्यवस्था गरेको छ । केही विषय छाडेर सम्पूर्ण विषयमा हामीले संविधान संशोधन गर्न सक्छौं । र, त्यसको लागि दुई तिहाई बहुमत चाहिन्छ । संविधान संशोधनका लागि मधेशवादी दल जहिले पनि तयार रहनुपर्छ । दवाव बनाइरहनुपर्छ ।

तपाईंहरुले सरकारबाट समर्थन फिर्ता लिइसक्नु भएको छ, ओली नेतृत्वको सरकारसँग दुई तिहाईको बहुमत छैन, त्यही बहानामा संविधान संशोधनको कुरा अगाडि नबढ्न सक्छ । संविधान संशोधन वा केही कुराका लागि दुई  तिहाइको आवश्यकता पर्यो भने तपाईंहरुको समर्थन हुन्छ कि हुँदैन ?

–संविधान संशोधनका लागि हिजा काँग्रेसले पनि कुरा गर्दा हामी साथमा थियौं । जसले सविधाना संशोधनको कुरा गर्छ, त्यसको साथमा हुन्छौं हामी । संविधान संशोधनको विषय मल एजेण्डा हो । र, हामी पनि सम्मलित भयौं भने दुई तिहाई भइहाल्छ ।

भन्नाले सरकारलाई जहाँ दुईतिहाईको आवश्यकता पर्छ त्यहाँ तपाईहरुले सहयोग गर्नुहुन्छ ?

–जहाँ पर्छ त्यहीँ सहयोग गर्ने होइन । संविधान संशोधनमा आवश्यकता पर्यो भने हामी सहयोग गर्न तयार छौं । अरु विषय के आउँछ, त्यसको अध्ययन गर्ने, छलफल गर्ने अनि आवश्यकता र औचित्यका आधारमा हामीले सहयोग गर्छौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप