शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमस सँगै जोडिएको ‘बक्सिंग डे’

बुधबार, ०९ पुस २०७६, २० : ३९
बुधबार, ०९ पुस २०७६

लन्डन ।  इसाई धर्मावलम्बीहरुद्वारा मनाइने क्रिसमससंगै जोडिने अर्को महत्वपूर्ण दिनको रुपमा ‘बक्सिंग डे’ लाई लिने गरिन्छ ।  क्रिसमस अर्थात २५ डिसेम्बरको भोलिपल्ट २६ डिसेम्बरका दिन मनाइने बक्सिंग डे लाई सन् १८७१ देखि बेलायतमा राष्ट्रिय बिदाको रुपमा मनाउदै आइएको छ ।

झट्ट सुन्दा बक्सिंग खेलसंग सम्बन्धित हो कि जस्तो लाग्ने भए पनि बक्सिंग डे को खेलसंग कुनै सम्बन्ध छैन् । तैपनि बेलायतमा बक्सिंग डे का दिन विभिन्न किसिमका खेलहरुको पनि आयोजना हुने गर्दछन् ।

बक्सिंग डे युनाइटेड किंगडमबाट शुरु भएको हो र यसलाई ब्रिटिश साम्राज्य रहेका देशहरुमा विशेष रुपमा मनाउने गरिन्छ । बक्सिंग डे लाई अमेरिकाको ब्ल्याक फ्राईडे जस्तै शपिंग होलिडे को रुपमा लिने गरिन्छ । उक्त दिन प्रायजसो सामान अत्यधिक सेलमा विक्री वितरण गरिन्छ । कतिपय पसलहरु त  बिहान ५ बजेबाट नै  खुल्ने गर्दछन् ।

ठूला ठूला इलेक्ट्रोनिक्स सामान देखि दैनिक उपभोगका  सामानहरुको मूल्यमा आश्चर्यजनक रुपमा छुट गरिने भएकाले मध्यरात देखि नै ग्राहकहरु लाइन लागेर बस्ने गर्दछन् । 

उक्त दिन सामानहरुको मूल्य घट्ने आशामा महिनौं देखि ग्राहकहरु बक्सिंग डे को प्रतिक्षामा बस्ने गर्दछन् । कतिपय सामानहरु सिमित भएकोले सामानको लागि तछाडमछाड गर्दै ग्राहकबीचको खिचातानीलाई टेलिभिजनको स्क्रिनमा सर्वत्र देख्न सकिन्छ । 

अत्यधिक मात्रामा सरकारी राजस्व संकलन गर्ने दिनको रुपमा पनि बक्सिंग डे लाई लिइन्छ । कतिपय व्यापारीहरुले बक्सिंग डे को सेललाई ‘बक्सिंग वीक’ को रुपमा लम्ब्याएर नयाँ वर्षसम्म सेल लाउने गरेको पाइन्छ । 

तर पछिल्लो समयमा आएर यस्ता किसिमका सेल प्रति ग्राहकहरुको विश्वसनीयता घट्दै गएको पाइन्छ । व्यापारिक प्रतिष्पर्धाका कारण प्राय संधैं जसो सेलको विज्ञापन देखिरहने भएकोले पनि ग्राहकहरुको आकर्षण कम भएको हुन सक्छ ।

अनलाइन व्यापारको बढ्दो प्रभावका कारण विगतका तुलनामा पसलमा गएर किनमेल गर्ने मानिसहरुको संख्या निकै कम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप