शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रमण वर्षले पर्यटनमा बढाएको आश

बुधबार, ०९ पुस २०७६, १३ : २१
बुधबार, ०९ पुस २०७६

पोखरा । नेपाल भ्रमण वर्ष २०२० उद्घाटनको तयारी गण्डकी प्रदेशले तीव्र पारेको छ । भ्रमण वर्ष उद्घाटनको लागि लगभग सबैजसो तयारी पूरा भई सकेको गण्डकी प्रदेशको भ्रमण वर्ष सचिवालयले बताएको छ ।

व्यवसायी र पर्यटन सम्बन्धित निकायलाई भ्रमण वर्ष सफल पार्ने जिम्मेवारी त छ नै । जिम्मेवारी सँगसँगै पर्यटन क्षेत्रमा केही नयाँ परिवर्तन हुने आश पनि बढाएको छ । 

अंग्रेजी नयाँ वर्षलाई भ्रमण वर्षमा भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्ष २०२० भित्रमा २० लाख पर्यटक भित्राउने महत्वकांक्षी योजना सरकारको छ । यसको लागि सातै प्रदेशमा भ्रमण वर्षको लागि अभियान पनि थालिएको छ । त्यसको लागि सातै प्रदेशका प्रतिनिधीहरु पनि दौडधुपमा व्यस्त छन् । 

भ्रमण वर्ष उद्घाटनका लागि सरकारी निकायदेखि नीजि क्षेत्र सक्रिय रुपमा लागेको भ्रमण वर्षका गण्डकी प्रदेश सह – संयोजक अग्नि कँडेलले जानकारी दिए । ‘भ्रमण वर्षको लागि मन्त्रालयदेखि गाउँपालिका, नगरपालिकादेखि नीजि क्षेत्रका सबै संयन्त्र परिचालित छ,’ उनले भने । 

कँडेलका अनुसार भ्रमण वर्षले पर्यटन क्षेत्रमा छाउन थालेको मन्दी कम हुने आशा संगसँगै पर्यटन व्यवसायमा लाग्नेहरुलाई उर्जा पनि थपेको छ । भ्रमण वर्षले आन्तरिक पर्यटनमा पनि जागरण ल्याउने उनको मत छ । ‘अन्तर्राष्ट्रिय रुपमा पनि सहजता प्रदान गर्न सक्यौं भने, हाम्रा कुराहरुलाई पस्किन सक्यौं भने निकै उर्जा थप्छ जस्तो लाग्छ,’ उनले सुनाए । 

भ्रमण वर्ष सफल पार्न नीजि क्षेत्रदेखि सरकारी निकाय उत्साही भएर लागेको उनले दोहो-याए । 

भ्रमण वर्ष गण्डकीका सदस्य तथा टानका सचिव जीवन सापकोटा विगतको इतिहास हेर्दा पनि भ्रमण वर्षले पर्यटन क्षेत्रलाई बढाउन सहयोग पुगेको बताउँछन् । ‘विगतमा पनि तपाईं हेर्न सक्नुहुन्छ, भ्रमण वर्षका कार्यक्रमले पर्यटन क्षेत्रलाई बढाएका छन्, राजनीतिक अस्थिरताका कारण फेरि तल झ¥यौ,’ उनले भने, ‘तल झरि सकेपछि ०११ मा नेपाल टुरिजम इयर मनायौं । त्यसले अलिकति भए पनि पर्यटन क्षेत्रलाई उकास्न मद्दत मिल्यो ।’

अझै पनि नेपालको पर्यटन र पर्यटकीय क्षेत्रबारे विश्व अनभिज्ञ रहेको उनले सुनाए । नेपाल भ्रमण वर्ष र पर्यटनसंग सम्बन्धित कार्यक्रमले नेपाललाई विश्वसामु चिनाउन मद्दत मिलेको उनको भनाइ छ । भूकम्पपछि तहसनहस बनेको पर्यटनलाई भ्रमण वर्षले तंग्राउन मद्दत पु¥याउने उनी बताउँछन् । 

२०२० भित्रै सबै कुरा प्राप्त गर्न नसकिए पनि भ्रमण वर्षपछि नेपाली पर्यटन विश्वसामु चिनिँदै जाने उनको मत छ । ‘अहिले नै सबै कुराको अपेक्षा नराखौं,’ उनले भने, ‘कमसेकम भ्रमण वर्षको माध्यमबाट नेपाल र नेपाली प्रोडक्टबारे चिनाउन सक्यौं भने आउँदा दिनमा पर्यटनको भविष्य राम्रो हुन्छ जस्तो लाग्छ, मेरो विचारमा ।’ 

पोखराका अर्का पर्यटन व्यवसायी भरत पराजुली भ्रमण वर्षले पर्यटन क्षेत्रमा अहिले नै सब थोक पाइने भन्दा पनि विस्तारै परिवर्तन हुँदै जाने बताउँछन् । पराजुली होटल संघका पूर्व केन्द्रिय सदस्य समेत हुन् । 
२०२० भित्रमै २० लाख पर्यटक भित्राउन नसके पनि आउँदा दिनमा पर्यटक बढ्दै जाने उनी मत राख्छन् । 

भ्रमण वर्षको लागि सरकारी निकायबाट चाहिने जति सहयोग भने नमिलेको उनको आरोप छ । सरकारले दिन्छु भनेका पूर्वाधार पनि दिन नसकेको उनको गुनासो छ । यद्यपि, भ्रमण वर्ष जसरी भए पनि सफल पार्ने उनको भनाइ छ । 

प्रदेशका पर्यटकीय गन्तव्य पहिचान गर्दै विकासको गतीमा लम्किने योजना सहित गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । आन्तरिक भ्रमण वर्षमा १५ लाख पर्यटक मनाउँने प्रदेश सरकारले महत्वकांक्षी योजना पनि अघि सारेको थियो । 

आन्तरिक भ्रमण वर्षमा अघि सारिएको योजनाले पूर्ण रुपमा सफलता नपाए पनि आन्तरिक भ्रमण वर्षले केही नयाँ सन्देश दिएको आन्तरिक भ्रमण वर्ष गण्डकीका संयोजक जुद्ध गुरुङले जानकारी दिए । आन्तरिक भ्रमण वर्षको छेकोमा अरु प्रदेशमा पुगेर आफ्ना प्रदेशको विषयमा धेरै जानकारी पु¥याइएको उनी बताउँछन् । 

के-के छन्, गण्डकी प्रदेशमा टुरिस्ट डेस्टिनेसन ?
भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेशले प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई पहिचान गरि बाहिर ल्याउने र पर्यटनको नयाँ आधारशिला खडा गर्ने वार्षिक कार्ययोजना बनाएको छ । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा पर्यटकीय सम्भावना बोकेका ठाउँहरु धेरै पनि छन् । 

भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेश आउने पर्यटकको लागि पोखराको प्राकृतिक दृश्यहरुले तान्ने छ । यस्तै, पोखराबाट आसपासमा देखिने दृश्यहरु विश्व शान्ति स्तुपा, डेभिजफल्स, मट्टिखान, भरतपोखरी भ्यु टावर, काहूँ डाँडा, अर्मला भ्यु टावर, सराङकोट, गुप्तेश्वर महादेव, महेन्द्र गुफा, चमेरे गुफा, हिमालय पर्वतीय संग्रहालय, बेगनास र फेवाताल, बाराही मन्दिर, बिन्ध्यवासिनी, भद्रकालीले पनि पर्यटकलाई लोभ्याउँने छन् । 

-याफ्टिङका लागि सेती, प्याराग्लाइडिङ, बन्जि जम्प, मुक्तिनाथ मन्दिरदेखि अपुर मुस्ताङका गुफा होटल लगायतका ठाउँहरु टुरिजम गण्डकी प्रदेशका टुरिजम डेस्टिनेसन बन्न सक्छन् । 

पर्यटन वर्षको छेकोमा सर्वसाधारणका लागि बन्द रहेको रत्न मन्दिर पनि खुलाउँने तयारीमा प्रदेश सरकार लागेको छ । केही समय अघि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गरेको एक दिने पोखरा भिजिटले पनि पर्यटन क्षेत्र बढ्नेमा व्यवसायीहरुमा आशा बढाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप