शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयर कन्डिसन लग्जरियस गुड्स मात्रै होइन, स्वास्थ्यकर पनि छ

वायु प्रदूषणबाट बच्न एयर कन्डिसनको प्रयोग उपयुक्तः व्यवसायी राजेन्द्र श्रेष्ठ
मङ्गलबार, ०८ पुस २०७६, १४ : ४९
मङ्गलबार, ०८ पुस २०७६

एक दशकभन्दा अघिबाटै हो नेपालमा विश्व तापमान (ग्लोबल वार्मिङ्ग)को बहस सुरु भएको । विश्वले त धेरै भयो विश्व तापमानबारे बहस थालेको ।  र सँगसँगै विश्वले तापमानको असरबाट बच्ने उपायको खोजी गर्दै आएको पनि धेरै भयो । 

तापमानको असरलाई छल्न बजारमा विभिन्न इलेक्ट्रोनिक्स सामानहरुको उत्पादन र विक्री वितरण भइरहेको छ । अत्यधिक तातो र अत्यधिक चिसो मौसमले मानव स्वास्थ्यमा पर्ने असर र दैनिक जीवनमा आउने अफ्ठेराहरुबाट बच्न विभिन्न विकल्पहरुको खोजी हुँदै गर्दा एयर कन्डिसनको विकास भएको पाईन्छ ।

यस्तैमा, नेपालमा पनि मौसम अनुसार अत्यधिक चिसो र तातो हुने भएकाले यसलाई छल्नकै लागि विभिन्न इलेक्ट्रोनिक्स सामानले प्रवेश पायो । हिटर, कुलर, फ्यानले नेपालमा प्रवेश पाएको धेरै भए पनि एयर कन्डिसन भित्रिएको धेरै भएको छैन ।

लग्जरियस गुड्समा गनिएको एयर कन्डिसन शुरुमा हुने खाने र ठूला व्यापारिक कम्पनीहरुले मात्रै प्रयोग गर्ने गर्दथे भने आज नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै घरघरको आवश्यकता बनेको छ । समाज आधुनिकतातिर ढल्किरहँदा सुविधाभोगी हुनु स्वाभाविकै हो ।

विगत केही वर्षयता नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्व बजारमा नाम चलेका ब्राण्डहरुको व्यापारिक केन्द्र बनेको छ नेपाल । त्यसमा पनि इलेक्ट्रोनिक सामानका लागि त नेपाल मुख्य केन्द्रको रुपमा विकास भएको छ ।

अझ नेपाल विकासको चरणमै छ । यस्तोमा इलेक्ट्रोनिक सामानहरुको माग बढ्नु स्वाभाविक पनि हो । मागसँगै विश्वमा नाम चलेका ब्राण्ड र त्यसका उत्पादनहरु भित्रिने र भित्र्याउने क्रम बढ्दो छ । यस्तैमा एक चर्चित इलेक्ट्रोनिक ब्राण्ड हो ‘ग्री’ । ग्रीका एयर कन्डिसन विश्वमै पहिलो रोजाइमा पर्दै आएको छ र नेपालमा पनि यसले आफ्नो पकड बनाएको छ ।

कि कन्सेप्ट र ‘ग्री एयर कन्डिसन’

विश्व बजारमा स्थापित ‘ग्री’ चाइनाको मल्टिनेशनल ब्राण्ड हो । ग्रीका इलेक्ट्रोनिक्स सामान विश्वमै लोकप्रिय छन् । जसमध्ये ‘ग्री एयर कन्डिसन’ को बजार दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

नेपालमा ग्री एयर कन्डिसनको मुख्य विक्रेता हो ‘कि कन्सेप्ट नेपाल प्रालि ।’ कि कन्सेप्टले विगत ९ वर्ष (सन् २०१०)देखि नेपालमा ग्रीको विक्री वितरण गर्दै आएको छ । एयर कन्डिसनिङमा विश्वको नम्बर वान कम्पनी ग्रीले नेपालमा पनि आफूलाई नम्बर वानमै राख्न सफल भएको कम्पनीको भनाइ छ ।

शंकरदेव क्याम्पसबाट एमबीए गरेका व्यवसायी राजेन्द्र श्रेष्ठले जगदम्बा समूहको कोनका टेलिभिजनमा काम गर्ने अवसर पाएका थिए २०५६ सालतिरै । जगदम्बा समूहमै काम गर्दा टेलिभिजनको बजार र टेलिभिजन खरिदको सिलसिलामा दुबई पुगेको श्रेष्ठको टोली नेपालमा इलेक्ट्रोनिक्स सामानकै व्यापार गर्ने मानसिकता लिएर फर्कियो ।

सोही समयमा नेपालमा ग्लोबल वार्मिङ्गको बहस खुब हुन्थ्यो । दुबईजस्तो उच्च तापमान भएको देशका जनताको जीवनयापन गर्ने शैलीबाट नेपाली व्यवसायी प्रभावित भए । व्यवसायको हिसावले नेपालमा भविष्यमा जम्न सक्ने व्यवसायमा इलेक्ट्रोनिक्स सामानको व्यावसाय उत्तम विकल्पको रुपमा थियो । 

राजेन्द्र श्रेष्ठ र उनका साथीहरु मिलेर २००३ मा ‘किरारा इलेक्ट्रोनिक्स’ नामक कम्पनी दर्ता गरी इलेक्ट्रोनिक्स सामानहरु, होम एप्लायन्सेस् र ग्री एयर कन्डिसनको विक्री वितरण सुरु गरे । सोही कम्पनी सात वर्षपछि नाम परिवर्तन भएर ‘कि कन्सेप्ट नेपाल’ बन्यो । 

कि कन्सेप्टले २०१० अक्टुवरबाट भने ‘ग्री’ एयर कन्डिसनको मात्रै व्यापार सुरु ग¥यो । कि कन्सेप्टका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठ भन्छन्, ‘त्यो समयमा एयर कन्डिसन बिक्रीका लागि बजार बुझ्न हिँड्दा मान्छे हास्थे । एयर कन्डिसन लग्जरियस गुड्समा गनिन्थ्यो । हुनेखालेको पहुँचमा मात्रै हुन्थ्यो । सामान्यले त यो सोच्न पनि सक्दैन थिए । तर अहिले समय बदलिएको छ र ती हास्नेहरुलाई एयर कन्डिसन अनिवार्य भएको छ ।’ 

नेपाल हिमाल, पहाड र तराइ मिलेर बनेको देश । यहाँ चिसो पनि उत्तिकै हुने र गर्मी पनि उत्तिकै हुने भएकाले एयर कन्डिसन यहाँको जरुरत थियो । अझ नेपाल पर्यटकिय देश भएका पर्यटकको सुविधाको लागि पनि होटल, रेष्टुरेन्ट, हस्पिटलहरुमा एयर कन्डिसन अनिवार्य नै भयो । 

हुन त १० वर्ष अगाडिसम्म काठमाडौंको तापक्रम सामान्य नै हुन्थ्यो । यहाँ सर्वसाधारणले एयर कन्डिसनको जरुरत महसुस गरेका थिएनन् । तर अहिले सर्वसाधारणहरुले पनि घरघरमा एयर कन्डिसन जडान गर्न थालिसकेका छन् ।

एयर कन्डिसन स्वास्थ्यका हिसावले पनि उत्तम मानिन्छ । एयर कन्डिसिङ, ह्यूमिडिफिकेसन (आद्रता मापन), एयर प्यूरिफिकेशन, कोल्ड चेन सवैको काम गर्ने भएकाले पनि यो अनिवार्य आवश्यकता हो ।

स्वास्थ्यका लागि एयर कन्डिसन

लग्जरियस गुड्स मानिएको एयर कन्डिसन स्वास्थ्यका हिसावले पनि लाभदायक छ भन्नेबारे धेरै अनभिज्ञ नै छन् । स्वास्थ्यबारे सचेत हुनेहरुले भने एयर कन्डिसन प्रयोग गर्ने गरेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछन् । 

ग्लोबल रिसर्चले पनि एयर कन्डिसन स्वास्थ्यकर रहेको बताएको छ । नेपाल, अझ काठमाडौं विश्वकै प्रदूषित १० शहर मध्येमा सातौं नम्बरमा पर्दछ । त्यसैले पनि वायु प्रदूषणको प्रभावबाट बच्नका लागि पनि एयर कन्डिसन उत्तम विकल्प भएको श्रेष्ठ सुझाउँछन् ।

वायु प्रदूषणको पीएम १० र पीएम २.५ मात्रा मापन गर्ने गरिन्छ जसमा पीएम १० आँखाले देख्न सकिने धुलोका कणहरु हुन जसलाई फिल्टर गर्न सकिन्छ तर पीएम २.५ वातावरणमा मिसिएर बसेको हुन्छ जसलाई प्रत्यक्ष देख्न सकिँदैन । पीएम २.५ लाई सजिलै फिल्टर गर्न पनि सकिँदैन । तर एयर कन्डिसनले यस्ता साना साना प्रदूषण पीएम २.५लाई पनि फिल्टर गर्न सक्ने क्षमता राख्दछ । त्यसैले पनि प्रदूषणबाट बच्नको लागि पनि एयर कन्डिसन प्रयोग बढ्दै गएको श्रेष्ठ बताउँछन् ।

सामान्यतया एयर कन्डिसन भनेको चिसो र तातोको लागिमात्रै प्रयोग हुने धारणा छ तर यो वातावरण प्रदूषणबाट बच्नका लागि उत्तम विकल्प हो । एयर कन्डिसनले एयर प्यूरिफिकेसन (वायू शुद्धिकरण)को काम पनि गर्ने श्रेष्ठ बताउँछन् । एयर प्यूरिफिकेसन हुँदा घरभित्र हुने प्रदूषण पीएम २.५लाई पनि घटाएर ४० भन्दा तल झारिदिन्छ । जुन वायु स्वास्थ्यकर मानिन्छ । विशेष गरेर दम, मुटुलगायतका विरामीहरुका लागि तापक्रम मिलाएर राख्दा लाभदायक हुन्छ । त्यसैले त हस्पिटलहरुमा अझ आइसीयू, सिसियूहरुमा तापक्रमको सन्तुलन मिलाइएको हुन्छ जसले विरामीको स्वास्थ्यमा सुधार गर्न प्रत्यक्ष सहयोग गरिरहेको हुन्छ । 

नेपालमा जाडो मौसममा हिटर तथा कोइला बालेर घरभित्र बस्दा निस्सासिएर मृत्यु भएका घटना बारम्बार दोहोरिरहन्छ । कोठाभित्र झ्याल, ढोका बन्द गरेर हिटर, कोइला बाल्नु स्वास्थ्यको हिसावले खतरनाकमात्रै होइन कि ठूला ठूला दुर्घटना पनि हुन सक्छन् । त्यसैले पनि एयर कन्डिसन उत्तम विकल्प हुन सक्छ । बरु यसलाई सर्वसाधारणसम्म सर्वसुलभ तरिकाले पु¥याउन सरकारी तवरबाटै यसको व्यापारमा प्रत्यक्ष सहयोगको जरुरत देख्छन व्यवसायीहरु ।

एयर कन्डिसनको व्यापार उपत्यका बाहिर बढी

नेपालमा एयर कन्डिसनको माग दिन प्रतिदिन बढ्दो छ । हुन त देशका मुख्य मुख्य शहरहरु पोखरा, चितवन, विराटनगर, बुटवल, भैरहवा, विरगंज, जनकपुर, धरान, इटहरी आदि क्षेत्रमा पनि यसको माग बढ्दै गइरहेको छ । यी क्षेत्रमा नयाँ नयाँ होटल व्यवसाय फस्टाउने क्रममा एयर कन्डिसनको व्यापार पनि ह्वात्तै बढेको हो । 

पहिला ६० प्रतिशत डिमाण्ड काठमाडौंमा र ४० प्रतिशत उपत्यका बाहिर थियो भने अहिले ७० प्रतिशतको हाराहारीमा उपत्यका बाहिर एयर कन्डिसनको माग भएको श्रेष्ठ बताउँछन् । बाहिर होटल तथा विभिन्न कार्यालयहरु खोल्ने क्रम बढेसँगै यसको माग पनि बढेको उनको तर्क छ ।

विद्युतको समस्या समाधानसँगै फस्टाएको व्यापार

एकताका थियो नेपालमा दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो । विद्युतीय सामानहरुको व्यापार ठप्पजस्तै थियो । विगत ३ वर्षदेखि नेपालमा लोडसेडिङको समस्या विस्तारै कम हुँदै गयो र अहिले लोडसेडिङको समस्या छैन । बरु विद्युत प्राधिकरणले विद्युत खपत बढाउन बेला बेला सर्वसाधारणलाई आग्रह गरिरहको छ ।

लोडसेडिङको अन्त्य र विद्युत खपत बढेसँगै विद्युतीय सामानको खरिद विक्री पनि ह्वात्तै बढ्यो । एयर कन्डिसनको व्यापार पनि अहिले दुई गुनाले बढेको छ । कि कन्सेप्टले विक्री सुरु गरेको ग्री एयर कन्डिसनको व्यापारिक संजाल अहिले देशभरी फैलिएको छ ।

विद्युतको समस्या हुँदा जेनेरेटरकै भरमा भए पनि सीमित कर्पोरेट हाउस, हस्पिटल, होटल, मल, सिनेमा हलहरुमा मात्र प्रयोगमा आएको एयर कन्डिसन विद्युतको समस्या समाधानसँगै घरघरमा भित्रिएको छ । अझ, वैदेशिक रोजगारीमा गएर आउनेहरुको जीवनयापन गर्ने तरिकामा आएको परिवर्तन, विदेश भ्रमण गरेर फर्कने नेपालीहरुले देखेका प्रविधिहरु उनीहरु नेपालमा आएसँगै त्यसको अनुसरण गर्नुले पनि एयर कन्डिसनको माग दिनानुदिन बढ्दै गएको हो ।

सजिलै खरिद गर्न सकिने

पहिला कुनै पनि सामान खरिद गर्नको लागि हातमा क्यास पैसा हुनुपर्दथ्यो । आज समय बदलिएको छ । बैंकहरु खुल्ने क्रम बढेसँगै बैंकहरुले दिने सुविधा पनि बढ्दै गएको छ । यसले गर्दा जुनसुकै सामान खरिद गर्दा बैंकबाट मासिक किस्ता (इएमआई)बाट खरिद गर्न सकिन्छ । सुन्य ब्याजदरमा सीमित अवधिको लागि बैंकले सामान खरिद गर्न ऋण दिने भएपछि सामान्य आम्दानी हुनेहरुलाई पनि सहज बनाइदिएको छ । 

त्यसैगरी, कम्पनीले पनि इएमआई गरिदिन सहयोग गर्ने भएकाले एयर कन्डिसन खरिद गर्नेहरु बढेको कि कन्सेप्टका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हामीले एयर कन्डिसन किन्न चाहने हाम्रा ग्राहकलाई इएमआईका लागि सहज पारिदिने र कम्पनीको सवै सेवा सुविधा प्रदान गर्ने गरेका छौं । यसले ग्राहकलाई सामान खरिद गर्न सहज त बनाएको छ नै साथसाथै कम्पनीप्रतिको विश्वास पनि बढाएको छ ।’

कम्पनीले एसीको खरिदमा नेपालका ठूला बैंकहरु सेञ्चुरी, नविल, सनराइज लगायतका बैंहरुसँग सिधै कारोबार गर्न सक्ने गरी सम्झौता गरेकाले ग्राहकलाई अझ सहज भएको छ ।

ग्री मल्टिनेशनल ब्राण्ड

मल्टिनेशनल ब्राण्ड ग्रीका थुप्रै उत्पादनहरु छन् । चाइनाको प्रतिष्ठित कम्पनी ग्रीका होम एप्लाईन्सेस्हरु विश्वमै लोकप्रिय छन् । ग्रीका एसी, रेफ्रिजेरेटर, भ्याकुम, वासिङ्ग मेसिन, वाटर डिस्पेन्सर, राइस कुकर लगायतका सामान पनि उत्तिकै लोकप्रिय छन् । 

ग्रीका अन्य उत्पादन नेपाली बजारमा उपलब्ध भए पनि कि कन्सेप्ट नेपालले भने एयर कन्डिसनको विक्रीलाई मात्र बढी प्राथमिकता दिएको श्रेष्ठले बताए । ग्रीका एयर कन्डिसन किफायती र गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा परेको श्रेष्ठ बताउँछन् ।

मुख्यतया एयर कन्डिसनले विद्युत धेरै खपत गर्छ भन्ने मानसिकता छ । तर ग्री ब्राण्डका एयर कन्डिसनले विद्युत खपत पनि कम गर्ने भएकाले यसको प्रयोगकर्ता बढेका छन् । 

नेपाली बजारमा ग्रीका व्यावसायिक र घरायसी गरी दुई प्रकारका एयर कन्डिसनर विक्री वितरण भइरहेका छन् । श्रेष्ठका अनुसार कि कन्सेप्टले ग्रीका उत्पादनलाई विस्तार गर्न काठमाडौँ बाहिर १३ वटा शाखा सञ्चालनमा ल्याएको छ । ग्रीका एयर कन्डिसनलाई आधिकारीक रुपमा नेपाल भित्र्याएको कि कन्सेप्टले बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई विशेष प्राथमिकता दिएको श्रेष्ठ बताउँछन् ।

बिक्रीपछिको सेवामा कि कन्सेप्ट

कि कन्सेप्ट नेपालले आफ्टर सेल्स सर्भिस (बिक्री पछिको सेवा)लाई महत्व दिएको छ । कि कन्सेप्टका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठ ग्री ब्राण्डका एसी अन्य कम्पनीको एसीभन्दा गुणस्तरीय र किफायती भएकाले ग्राहकहरुले खोजी खोजी खरिद गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘ग्री ब्राण्डको गुणस्तरमा कुनै शंका छैन । अझ हाम्रो कम्पनीले आफ्टर सेल्स सर्भिसलाई फोकस गरेकाले पनि ग्राहकहरुले निकै रुचाउनु भएको छ ।’ 
ग्राहकको सन्तुष्टि नै कम्पनीको सफलता भएको बताउने श्रेष्ठ सामान विक्री गरेपछि चुप लागेर आफ्नो कम्पनी नवस्ने बताउँछन् । उनी भन्छन्, ‘कम्पनीले विक्री पछिको सेवाका लागि तालिम प्राप्त प्राविधिकहरुको टोलीनै खडा गरेको छ । कि कन्सेप्टसँग तीन सयभन्दा बढी एयर कन्डिसनका प्राविधिकहरु छन् । उनीहरुलाई विशेष तालिम दिएर स्वरोजगार हुन पनि प्रेरित गरिरहेका हुन्छौं । यसबाट धेरैले रोजगारी पनि पाउँछन् र आत्मनिर्भर पनि । र, कि कन्सेप्टले उत्पादन गरेका धेरै प्राविधिकहरुले विदेशमा गएर पनि राम्रो रोजगारी पाएका छन् ।’

देशभरका इच्छुक युवाहरुलाई कि कन्सेप्टले तालिम दिने र तलिम अवधिमा भत्ताको पनि व्यवस्था गरेकाले उनीहरुलाई खर्च व्यवस्थापनमा सहज हुने कम्पनी बताउँछ । तालिमपछि देशैभर रहेका सर्भिस सेन्टरमा उनीहरुलाई रोजगारीको व्यवस्था हुन्छ । कि कन्सेप्ट ग्री एसीको सर्भिस सेन्टर नेपालभर १२ स्थानमा संचालनमा छ ।

वारेन्टीको हिसावले पनि ग्रीका एसीमा दुई वर्षको अनकन्डिसनल वारेन्टी छ । कुनै पनि सर्त विना वारेन्टी, रिपेयर, मेन्टिनेन्स निःशुल्क हुने भएकाले ग्रीका एसीप्रति ग्राहकको विश्वास बढेको श्रेष्ठ बताउँछन् । 

विश्वमै एयर कन्डिसनको माग दिनानु दिन बढ्दै गइरहेकोले यसको विक्रीलाई मात्र भन्दा पनि विक्री पछिको सेवालाई विशेष ध्यानु दिनु पर्ने श्रेष्ठ बताउँछन् । नेपालमा एयर कन्डिसनको प्रयोग नयाँ भएकाले चलाउन नजान्दा पनि धेरै विग्रिने तथा समस्या आउने गर्छ त्यसैले पनि विक्री पछिको सेवालाई विशेष महत्व दिनु कम्पनीको दायित्व हो । साथै ग्रीका एयर कन्डिसनका स्पेयर पारटस् पनि सजिलै पाउने भएकाले यसको प्रयोग ढुक्क भएर गर्न सकिने कम्पनी बताउँछ ।

व्यवसायमा जोखिम छैन

नेपालका स्थापित उद्योगी व्यवसायीहरुले बारम्बार भन्ने गरेका छन् कि नेपाल त हिरा फल्ने देश हो । हुन पनि यहाँका कुनै पनि क्षेत्र लगानीका लागि उपयुक्त छन् । युवा व्यवसायी राजेन्द्र श्रेष्ठ पनि यहि सोच राख्छन् । उनी नेपालमा गर्न जान्ने हो भने कुनै पनि व्यवसाय फस्टाउने बताउँछन् । 

नेपालीको चाहना, नेपालीको आय र क्रय क्षमता सवै थाहा हुने भएकाले त्यही अनुसारको व्यावसायलाई अगाडी बढाउन सकिन्छ । नेपालको क्रेडिट संस्कारले चाहीँ केही अफ्ठेरो पार्ने गरेको छ तर व्यवसायीहरुले यसलाई व्यवस्थापन गर्न सिकीसकेको श्रेष्ठ बताउँछन् । 

वास्तवमै विदेशमा गएर श्रम पसिना फाल्नुभन्दा सानै होस्, स्वदेशमै लगानी गर्ने हो भने छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेमा दुईमत नभएको व्यवसायीहरुको अनुभवले देखाउँछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप