मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कसको भागमा पर्ला उपसभामुखको ‘चिठ्ठा’ ?

सोमबार, ०७ पुस २०७६, ११ : ५३
सोमबार, ०७ पुस २०७६

हिउँदे अधिवेशनमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो बैठक यही पुस ११ गत दिउँसो १ बजे बस्दैछ । सोही बैठकले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने प्रवल सम्भावना छ ।

नेकपाले राजिनामा गर्न निर्देशन दिएमा वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दोश्रो बैठकमा निर्वाचनको कार्यक्रम प्रस्तुत पछि राजीनामा दिनेछिन् । उनको राजिनामा पछि प्रतिनिधि सभाको अध्यक्षता ज्येष्ठ सदस्य अर्थात राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले गर्नेछन् । उनको अध्यक्षतामा बसेको बैठकले सभामुख र उपसभामुख निर्वाचित गर्नेछ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बेलासम्म नेकपाले सभामुखको उम्मेदवारी तय गर्नेछ । सभामुखका लागि नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, उपनेता देव गुरुङ,  सांसद अग्नि सापकोटा र डा.शिवमाया तुम्बाहाम्फेको नाम चर्चामा छ भने उपसभामुखका लागि अहिलेसम्म कुनै नाम चर्चामा छैन । सभामुख पद आफूले लिएपछि उपसभामुख पद कांग्रेसलाई नदिन नेकपाले अर्को कुनै दललाई अघि सार्नुपर्ने हुन्छ । त्यसका लागि सम्भावित विकल्पमा कांग्रेस बाहेक संसदमा रहेका कम्युनिष्ट घटक र मधेस केन्द्रित दल छन्, जसमध्ये कुनै दलले उपसभामुख पाउने पक्का छ ।

सम्भावना कसको ?

संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट सभामुख र उपसभामुख निर्वाचित हुन नसक्ने व्यवस्था छ । नेकपाले सभामुख पद आफ्नो भागमा राखेपछि उपसभामुख फरक दललाई सुम्पनुपर्ने हुन्छ । त्यसका लागि संसदमा अहिले नेकपाबाहेक कांग्रेस, समाजवादी, राजपा, नेमकिपा, राप्रपा र जनमोर्चा छन् । प्रतिपक्षी कांग्रेसलाई उपसभामुख पदमा नेकपाले सहयोग गर्ने कुरै भएन । प्रतिनिधि सभामा एक–एक सिट भएका दुई कम्युनिष्ट पार्टी नेमकिपा र जनमोर्चा छन् । यी दुई दलमध्ये जनमोर्चा नेकपासँग नजिक छ, जबकि नेमकिपा सदाबहार प्रतिपक्षको भूमिका रुचाउने दल हो । नेकपाले आफ्नै सिद्धान्तसँग मिल्ने जनमोर्चालाई सहयोग गर्ने संभावना पनि प्रवल छ किनकि जनमोर्चाकी सांसद दुर्गा पौडेल प्युठान–१ मा नेकपासँगको तालमेलबाट निर्वाचित भएकी थिइन् ।

सांसद पौडेल कम्युनिष्ट आन्दोलनका पूराना नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । बेला बेला पौडेललाई मन्त्री बनाइदिन नेता सिंहले नेकपा नेताहरुलाई आग्रह गरेको समाचार पनि आउने गरेको थियो । अर्को कुरा, अहिले नेकपामा रहेका अधिकांश नेता तथा सरकारमा रहेका मन्त्री कुनै न कुनै रुपमा कुनै कालखण्डमा मोहनविक्रमका चेलाका रुपमा थिए । स्वाभाविक रुपमा मोहनविक्रम फरक कम्युनिष्ट पार्टीकै भए पनि उनलाई नेकपाका नेताहरुले एउटा आदर्श नेताका रुपमा लिने गरेका छन् । भावनात्मक सम्बन्धका कारण पनि उपसभामुख जनमोर्चाको पोल्टामा जाने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

मधेश कार्ड : राजपा वा समाजवादी ?

कुनै बेला प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नाम नै सुन्न नचाहने राष्ट्रिय जनता दल र नेकपा बिच एउटा तालमेल भयो । गत पुस २ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा राजपाका अध्यक्ष राजेन्द्र महतोसहित अन्य अध्यक्ष मण्डलका सदस्यहरुबिच २ बुँदे सहमति भयो । जसमा पहिलो बुँदामा माघ ९ गते निर्वाचन हुने राष्ट्रिय सभा अन्तर्गत प्रदेश २ मा खाली रहेको ४ सिटमध्ये २ सिटमा नेकपा र २ सिटमा राजपाले एक अर्कालाई सहयोग गर्ने र बुँदा नम्बर २ मा समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको थियो ।

यसअघि मधेशको मुद्धा उठाउने एउटा दल समाजवादी पार्टीलाई सरकारमा भित्र्याएको नेकपाले अर्को दल राजपालाई प्रतिनिधि सभाको उपसभामुख पद दिने सम्भावना पनि उत्तिकै छ । बेला बेला उग्र रुपमा मधेशको मुद्दा अघि सार्ने, मन्त्री वा अन्य कुनै लाभको पद हासिल गरेपछि शान्त रहने मधेस केन्द्रित दलको चरित्र बुझेको सरकारले राजपालाई सन्तुलनमा राख्न उपसभामुख दिने सम्भावना पनि उत्तिकै छ ।

समाजवादीलाई सरकारमा समावेश गरेको नेकपाले राजपालाई उपसभामुख दिएर शान्त बनाउने रणनीति अख्तियार ग¥यो भने अनौठो नमान्नुपर्ने हुन्छ । यसबारेमा राजपामा औपचारिक छलफल नभए पनि सो दलले उपसभामुख पाउने भयो भने पार्टीका महामन्त्री समेत रहेकी सांसद चन्दा चौधरीलाई अघि सार्ने चर्चा छ ।

राजपा अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले उपसभामुखको बारेमा अहिलेसम्म नेकपासँग कुनै छलफल नभएको बताए । राष्ट्रिय सभाको निर्वाचनका बारेमा सहकार्य गर्ने भए पनि यसबारेमा कुनै कुरा नभएको उल्लेख गर्दै नेकपाले उपसभामुखका लागि प्रस्ताव गरे त्यतिबेलै छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप