केन्द्रीय संस्करण
डाक्टरका कुरा

‘खेलाँची नठानौँ दम रोगलाई’

समयमै दम रोगको उपचार गरिएन भने फोक्सो र मुटुजस्ता अङ्ग गुम्न सक्छ : छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गाना

person explore access_timeपुस ७, २०७६ chat_bubble_outline1

मधुमेह, ब्लड प्रेसर जस्तै दीर्घ रोग हो दम । नेपालको कुल जनसंख्याकोे ११ प्रतिशत अर्थात् झण्डै ३० लाख नेपालीमा दम रोग देखिएको छ । दम वृद्धवृद्धामा मात्रै देखिन्छ भन्ने धेरैको बुझाइ छ तर यो रोग सबै उमेर समूहको व्यक्तिमा हुने चिकित्सकहरु बताउँछन् । समयमै दम रोगको पहिचान गरी उपचार गरिएन भने फोक्सो र मुटुजस्ता शरीरका महत्वपूर्ण अङ्ग गुम्न सक्छन् ।

नेपालमा वर्षेनी दमका बिरामी बढ्दै गईरहेका छन् । दम रोग लाग्नुमा धुम्रपान मुख्य कारण भए पनि पछिल्लो समय बढ्दो वायुप्रदूषण पनि मुख्य कारण बन्न थालेको छ । दम कस्तो रोग हो ? कस्ता व्यक्तिलाई लाग्छ ? नेपालमा दम रोगीको अवस्था, चिसोको समयमा दमबाट बच्ने उपाय आदिका बारेमा वीर अस्पतालका छाती रोग विभागका प्रमुख डा. अशेष ढुङ्गानासँग गरिएको कुराकानी–

दम कस्तो खालको रोग हो ?

दम भनेको श्वासप्रश्वास सम्बन्धी एउटा दीर्घ रोग हो । विभिन्न उमेर समूहका व्यक्तिमा विभिन्न किसिमका दम हुन्छन् । यसमध्ये मुख्य गरी सिओपिडी दम धुम्रपान गर्ने व्यक्तिमा, वायुप्रदूषण (घरभित्र र बाहिरको प्रदूषण)को कारणले हुन्छ । यस्तै कम उमेर समूह र विशेषगरी महिलाहरु, एलर्जीका समस्या भएका व्यक्तिहरुलाई आस्मा दमको समस्या देखिएको छ । साथै मुटुसम्बन्धी रोग भएका बिरामी, रक्तअल्पता र अन्य रोगका बिरामीलाई पनि श्वाँ—श्वाँ हुन्छ, त्यसलाई पनि सामान्य रुपमा दम नै भन्ने गरिन्छ । त्यसैले दम धेरै रोगको एउटा समूह हो भने शरीरमा हुने धेरै रोगको लक्षण पनि ।

आफूलाई दम भएको हो कि भनेर अनुमान गर्न सकिने लक्षणहरु कस्ता हुन सक्छन् ?

दम रोगको पहिलो र मुख्य लक्षण भनेको श्वाँ श्वाँ हुनु हो । श्वास फेर्न अप्ठ्यारो हुने हो । सुरुवाती अवस्थामा हेर्ने हो भने सामान्य अथवा भारी काम गर्दा, लामो बाटो हिँड्नु पर्दा र फटाफट हिँड्नु पर्दा, उकालो या सिडी चढ्दा यदि तपाईलाई श्वास फेर्न अप्ठ्यारो हुन्छ भने त्यो दमको पहिलो लक्षण हो । यो अवस्थामै उपचार भएन र दम बिग्रिदैँ गयो भने सामान्य काम गर्दा, दुई–चार पाईला हिँड्दा पनि समस्या हुन्छ । बस्दा बस्दै पनि श्वास फेर्न गाह्रो हुन्छ ।

साथै दमका बिरामीलाई लामो समयसम्म खोकी लाग्ने, सेतो वा पहेंलो रङको खकार आउने, छाती दुख्ने, लामो समय खुट्टा झु्ण्ड्याउँदा सुन्निने वा निलो हुनेजस्ता लक्षणहरु रोग बढ्दै गएपछि आउने समस्याहरु हुन् । 

त्यसैले श्वास फेर्न गाह्रो भएको छ, छाती भारी भएको या श्वाँ–श्वाँ भईरहेको छ, छातीबाट घ्यारघ्यार आईरहेको छ अथवा लामो समय खोकी लागेको छ भने दम रोग हुन सक्छ । विशेषत धुम्रपान गर्ने र विभिन्न कारणले प्रदूषित हावामा श्वास लिन परिरहेकाहरुले माथि उल्लेखित लक्षण भएका मानिसहरुले स्वास्थ्य संस्थामा गएर आफूलाई दम भए–नभएको पत्ता लगाउनु राम्रो हुन्छ ।

नेपालमा कुन दमका रोगी बढी छन् ?

राष्ट्रिय अनुसन्धान परिषद्ले गरेको सर्भेमा पनि नसर्ने रोगमध्ये सबैभन्दा बढी सिओपिडी दम भएको पाईएको छ । नेपालको कुल जनसंख्याको ११ प्रतिशत हाराहारीमा यो दमका रोगी भएको पाईन्छ । आस्मा दम पछिल्लो समय कम उमेर समूहका व्यक्तिमा धेरै देखिएको छ । श्वाँ—श्वाँ हुने, छाती घ्यार—घ्यार हुने, खोकी लाग्ने समस्या बोकेर कम उमेर समूहकै व्यक्ति आउँछन् । नेपालमा बढी मात्रामा देखिएको पनि सिओपिडी र आस्मा दम नै हो ।

दमका समस्या बोकेर मानिस कुन अवस्थामा अस्पताल आउँछन् ?

वीर अस्पतालमा दमका समस्या बोकेर देशको विकट ठाउँबाटसमेत मानिस आउनु हुन्छ । कर्णाली र सदूरपश्चिम प्रदेश जहाँ धुवाँको प्रकोप धेरै छ, ती प्रदेशमा अझै पनि दाउराको प्रयोगबाट खाना बनाउने चलन धेरै छ । अन्य क्षेत्रभन्दा ती क्षेत्रका मानिस दमको समस्या बोकेर बढी मात्रामा आउँछन् ।

यस्तै सहरी क्षेत्रको कुरा गर्ने हो भने बढ्दो वायुप्रदूषणको कारणले दमको समस्या बोकेर आउने नागरिकको संख्या पनि उत्तिकै छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो समस्या बोकेर आउँछन् ।

यसमा पनि कोही व्यक्ति दमको सुरुवातको अवस्थामा आउनु हुन्छ भने कोही दम धेरै बल्झेर अक्सिजन नै चाहिने अवस्थामा अस्पताल आउँछन् । कोही त मुटुलाई पनि असर गरिसकेपछि अस्पताल आउँछन् । हामीले दमको अवस्था अनुसार उपचार गर्दै आईरहेका छौँ ।

दम रोगप्रति हेर्ने दृष्टिकोणमा केही फरक पाउनु भएको छ ?

केही दिन पहिला हामीले नेपाल सरकारको पहलमा विश्व सिओपीडी दिवस पनि मनायौँ । सिओपिडी दमबाट विश्वमा ३५ करोड मानिस प्रभावित छन् । धेरै लामो समयदेखि नै विश्व समूदायले दम रोगको बारेमा जनचेतना फैलाईरहेका छन् । तर, नेपालमा भने जनचेतना कम पाएका छौँ ।

राष्ट्रिय अनुसन्धान परिषदको तथ्याङ्कलाई हेर्ने हो भने कर्णाली प्रदेशका २५ प्रतिशत नागरिकमा सिओपिडी दम पाएका छौँ भने नेपालभरमा ११ प्रतिशत छ । त्यसैले पनि दमको बारेमा जति जनचेतना हुनुपर्ने हो, त्यति भएको छैन ।

स्वास्थ्यप्रतिको पहुँच हामीले सोचेको जस्तो हुन नसके पनि बिस्तारै बढ्दै गईरहेको छ । त्यसैले पनि दम रोगका बिरामीको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । भविष्यमा पनि बढ्दै जाने हामीले अनुमान गरेका छौँ ।

दम वंशाणुगत रोग हो भन्न मिल्छ ?

नेपाली नागरिकलाई धेरै देखिएको सिओपिडी दममा वंशाणुगत जोखिम कमै हुन्छ । तथापी केही रुपमा यो दममा पनि वंशाणुगत जोखिम चाहीँ रहन्छ । तर, आस्मा दममा भने वंशाणुगत जोखिम धेरै देखिन्छ ।

आमा बाबुमध्ये कसैलाई आस्मा या एलर्जी सम्बन्धी दम छ भने परिवारका अन्य सदस्यलाई पनि आस्मा या एलर्जी सम्बन्धी दम हुने सम्भावना बढी हुन्छ । त्यसैले सिओपिडी दमभन्दा आस्मा दम वंशाणुगत हुने जोखिम धेरै हुन्छ ।

दमले चिसोको समयमा धेरै समस्या निम्त्याउछ, किन ?

चिसोको समयमा दमको बिरामीमा बढी समस्या देखिने दुई, तीनवटा कारण छन् । चिसोको समयमा घरभित्र बस्न बढी रुचाउँछौँ । त्यस्तो बेला एक अर्काप्रतिको क्लोजनेश बढी हुन्छ । त्यसले गर्दा छाती सम्बन्धी विभिन्न संक्रमण एकबाट अर्काे व्यक्तिमा फैलिने सम्भावना बढी हुन्छ । विभिन्न खाले भाइरस संक्रमणहरु, रुघा खोकीको प्रकोप चिसोको समयमा बढी हुने देखिएको छ ।

चिसोको समयमा वायुप्रदूणषको कुरा गर्ने हो भने सहरमा वायुप्रदूषणको मात्रा बढी हुन्छ । चिसो हावा जमिनमा सेटल हुन्छ र हावाको फ्लो कम हुन्छ त्यसले गर्दा पनि वायुप्रदूषणको मात्रा बढी हुन्छ । चिसोले गर्दा दमका दीर्घ रोगी अथवा दमको समस्यानै नभएको व्यक्तिलाई पनि छाती सम्बन्धी विभिन्न समस्या आउने सम्भावना हुन्छ ।

चिसोमा दमबाट बच्नका लागि के–के कुरामा ध्यान दिनुपर्छ ? 

दमका रोगीले चिसोको समयमा आफूलाई न्यानो राख्नुप-यो, सकेसम्म चिसोबाट बच्नु प¥यो । दोस्रो कुरा दीर्घ श्वासप्रश्वासका जो रोगीहरु छन्, उनीहरुलाईे समयमै स्वास्थ्य परीक्षण गरेर औषधि प्रयोग गर्न मेरो सुझाव छ । दीर्घ श्वासप्रश्वासका रोगीलाई श्वासबाट तान्ने औषधि दिन्छौँ, त्यो औषधिको नियमित प्रयोग गर्ने र आफ्नो दम बिग्रेको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा जाने, स्वास्थ्य परीक्षण गर्ने र औषधिको मात्रा बढाउनु पर्ने हो भने बढाउनु पर्छ । मास्क प्रयोग गर्ने, वायुप्रदूषण भएको ठाउँमा आवत जावात कम गर्ने हो भने दम रोगी र श्वास प्रश्वासको रोगीमा आउने थप समस्याबाट बच्न सकिन्छ । 

दमको उपचार अन्य दीर्घ रोगजस्तै निरन्तर औषधि सेवन नै हो कि उपचारले पूर्ण रुपमा निको नै हुन्छ ?

दम भनेको श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो । सिओपिडी दम एक पटक भएपछि पूर्ण रुपमा निको हुँदैन । तर पूर्ण रुपमा निको नभए पनि विभिन्न किसिमको औषधिको प्रयोगबाट सबै दमका रोगीहरुले सामान्य जीवनयापन गर्न सक्छन् । त्यसमा प्रयोग हुने मुख्यमा तान्ने (इन्हेलर) औषधिप्रतिको जनचेतना कम छ । धेरै मान्छेले यो औषधिलाई नकारात्मक रुपमा लिन्छन् र चिकित्सकले सल्लाह दिँदा दिँदै पनि लामो समय प्रयोग गर्दैनन् ।

यस्ता समस्याले गर्दा धेरैजसो दीर्घ श्वास रोगीहरु उपचार नै नगराई बसिराख्ने समस्या धेरै ठाउँमा देखिएको छ । सामान्य रुपमा श्वाँ—श्वाँ हुनु भनेको बुढेसकालको निसानी हो, यो समस्या होइन भन्ने नागरिकको बुझाइ छ । दम लागेपछि उपचार गर्ने आफ्नो ठाउँमा छँदैछ तर पनि वायुप्रदूषण, धुम्रपान र पेशागत जोखिमलाई कम ग¥यौँ भने दम लाग्नबाट बच्न सकिन्छ । त्यो प्रतिको जनचेतनाको कमी देखिन्छ ।

वंशाणुगत रुपमा हुने आस्मा दमका बिरामीले पनि तान्ने औषधि (इन्हेलर) प्रयोग गरेमा सामान्य अवस्थामा ल्याउन सकिन्छ । धेरैजसो बिरामीहरुले इन्हेलरको प्रयोग लामो समयसम्म गर्नु पनि पर्दैन, समस्या भएको बेलामा या समस्या बल्झेको बेलामा मात्र प्रयोग गर्नुपर्ने दमका विभिन्न उपचार पद्धतिहरु छन् ।

समयमा वा चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गरिएन भने दम झन् टिल बन्दै जाने, जीवनभरी औषधि (इन्हेलर) प्रयोग गर्नुपर्ने हुन्छ । थप विभिन्न समस्याको पनि सामना गर्नुपर्ने हुन्छ ।

दम लागेपछि स्वास्थ्यमा थप अन्य समस्या आउँछ कि आउँदैन ?

दमको बिरामीले राम्रोसँग ख्याल नगर्ने हो भने अन्य समस्याहरु पनि आउँछन् । दमले मुख्य रुपमा फोक्सोलाई असर गर्छ । दम लागेपछि फोक्सोले श्वास लिने अथवा अक्सिजन शरीरमा पु¥याउने क्रम कम हुन्छ । यसका साथै दमले मुटुलाई पनि असर गर्छ । मुटुको प्रेसर बढाएर मुटु फेल हुने सम्भावना हुन्छ ।

साथै दमले अन्य विभिन्न समस्याहरु पनि निम्त्याउँछ । रक्तधमनी सम्बन्धी रोग सिओपिडी दम भएका बिरामीलाई बढी देखिन्छ । हुनत सिओपिडी दम र मुटुमा समस्या निम्त्याउनुमा धुम्रपानको पनि विशेष भूमिका हुन्छ । साथै हड्डी कमजोर हुने, व्यायाम गर्ने क्षमता कम हुने, हिड्न डु्ल्न गाह्रो हुने, एनिमिया हुने, कहिले काहीँ रगत धेरै बढ्ने यस्ता जटिलताहरु सिओसिडी दम भएका बिरामीहरुमा आउँछन् ।

लामो समयसम्म उपचार नगराएका आस्मा दमका बिरामीहरुमा पनि यो समस्या देखिने सम्भावना हुन्छ । तर, समयमै उपचार गरियो भने यो सबै जटिलताबाट जोगिन पनि सकिन्छ ।

दम रोगीको संख्या घटाउन कस्को कस्तो भूमिका हुनुपर्छ ?

सिओपीडी दम लाग्नुको कारकतत्वहरु पत्ता लागिसकेका छन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । त्यसैले दमको बारेमा समाजमा जनचेतना फैलाउन जरुरी छ । दम मुख्य रुपमा धुम्रपान, वायुप्रदूषण र पेशागत जोखिमका कारण लाग्ने रोग हो । यी कुराहरुलाई निर्मूल पार्नका लागि नीति निर्माणको तहबाट सरकारले गर्नुप¥यो भने हामी व्यक्तिले पनि यी कुरामा ध्यान दिनुपर्छ । दमका रोगी कम गराउने हाम्रो सामाजिक दायित्व पनि हो ।

आस्मा दम हुने जुन प्रक्रिया छ, त्यो हाम्रो हातमा नभएको हुनाले त्यस्ता रोग देखिएको व्यक्तिले समयमै आफ्नो स्वास्थ्य परीक्षण र उपचार गर्ने हो भने यसबाट हुने जटिलताबाट जोखिन सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 23, 2019, 3:52 p.m. Bijendra Suwal
    How do I contact Dr. Ashesh Dhungana? Can you share his contact number (mobile)? I am suffering from Astham/COPD short of.
  2.  1 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.