शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा–राजपा समीकरणले काँग्रेस र समाजवादी पार्टीलाई घाटा

नेकपासँग तालमेल गरेपनि राजपा प्रतिपक्षमै बस्छ : महेन्द्रराय यादवसँगको कुराकानी
बिहीबार, ०३ पुस २०७६, १४ : ३१
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेकपाबीच एक अर्कालाई सघाउने सहमति भएपनि राजपा प्रतिपक्षमै बस्ने भएको छ । 

राजपाको अध्यक्ष मण्डलका एक सदस्य महेन्द्रराय यादवले दलबीच चुनावी तालमेल गर्ने मात्र सहमति भएको बताउँदै राष्ट्रियसभामा राजपाले प्रतिपक्ष दलकै भूमिका निर्वाह गर्ने बताए । 

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ को चार सिटमध्ये नेकपाले दुई र राजपाले दुई सीटमा एकअर्कालाई सघाउने सहमति गरेका हुन् । सो प्रदेशमा राजपाको २१ सय हाराहारी मातभार रहेको राजपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ पद खाली हुँदैछ, जसमा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र सरकारबाट मनोनित १ गरी १९ सदस्यको पद रिक्त हुँदैछ । प्रदेश २ मा २ सिट गुमाउने राजपाले नेकपासँगको सहमतिपछि पहिलेको पद जोगाउने भएको हो ।   

निर्वाचन आयोगले यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ । पुस २५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको मिति तोकिएको छ । 

के हुन्छ दुई दलको समीकरणपछि ?
राजपा र नेकपाबीचको समीकरणबाट प्रदेश २ मा राजपाले २ सिट र नेकपाले २ सिट पाउने निश्चित छ । यो समीकरणका कारण काँग्रेस र समाजवादी पार्टीलाई घाटा लाग्नेछ । उनीहरुले एक–एक सिट गुमाउने छन् । तर राजपाले २ सिट पाउँदा उसको सिट घटबढ भने हुनेछैन । 

सुरुमा नेकपा सरकारलाई समर्थन गरेको राजपाले पछि सरकारले आफूले उठाएको माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, राष्ट्रिय सभामा गुम्ने आफ्नो २ सिट जोगाउनका लागि राजपाले नेकपासँग तालमेल गरेको हो ।  दुई दलबीच भएको सहमतिका बारेमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँग गरिएको यो कुराकानीः 

नेकपा र राजपाबीच राष्ट्रिय सभामा चुनावी तालमेलको सहमति भयो, अब तपाइँहरु सत्तापक्ष कि प्रतिपक्ष ?
हामी त प्रतिपक्षमै बस्छौँ । 

चुनावी तालमेल पनि गर्ने फेरि प्रतिपक्षमै बस्ने ? 
यो त चुनावको लागि न हो, हामी त प्रतिपक्षमै बस्छौँ ।

जुन पार्टीले तपाइँका उम्मेदवारलाई मतदान गरेर राष्ट्रिय सभामा पु¥याउँछन् सोही पार्टीको सरकारको प्रतिपक्षमा बस्न नैतिकताले दिन्छ र ? 
पहिला पनि त हामीले त्यस्तै गरेका थियौँ । पहिला समर्थन ग-यौँ पछि फिर्ता पनि लियौँ । हाम्रो मतले पनि त उहाँहरुको उम्मेदार जितेर सत्तामा जानुहुन्छ, उहाँहरुको भोटले हामी प्रतिपक्षमा बस्छौँ । यो त नियमित प्रक्रिया हो, यसमा के सत्ता र प्रतिपक्षको कुरा आउँछ र ? भोट हाल्ने कुरा हो, जहाँ सहमति बन्यो । 

तपाइँहरुबीच कसरी सहमति बन्यो ? मधेशको मुद्धा सरकारले सम्बोधन गरेन भनेरसरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुभएको थियो नि ? 
यो सहमति राष्ट्रिय सभाको निर्वाचनको हो । निर्वाचनको एउटा विधि र प्रक्रिया हुन्छ । मुद्दा छुट्टै हो । विगतमा भएमा सहमति सरकारले कार्यान्वयन नगरेकोमा हाम्रो विमति छ । नयाँ कुरा त केही भनेको हैन । राष्ट्रिय सभामा हाम्रो २ सिट थियो । कुनै पनि पार्टीले आफूले पाउनुपर्ने सिट पाउनुपर्छ भन्ने मान्यता राख्छ । उहाँहरुले नै मिलौ, आधाआधा गरौँ भनेर सत्ता पक्षकै अनुरोध आइसकेपछि सहमति बन्यो । 

सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभाको निर्वाचनको साथै आगामी दिनमा पनि सहकार्य गर्दै जाने सहमति पनि भएको रहेछ, यो प्रदेश २ को सरकार फेरबदलसम्म अघि जाने कुरा हो ?  
त्यस्तो सरकार परिवर्तनको विषयमा केही छैन । अहिले हामीले विकास निर्माण सहित हाम्रो जुन मुद्दा छ त्यस लगायतका विषयमा छलफल हुन्छ । सकारात्मक कुरा भएको छ । सरकारलाई सकारात्मक रुपमा हेर्ने एउटा वातावरण बनेको छ ।

हाम्रो माग र मुद्दालाई सत्तापक्षले कसरी संबोधन गर्छ त्यो त आगामी दिनमा व्यवहारले देखाउने हो । विगतमा हामीले उहाँहरुलाई त्यसै आधारमा समर्थन ग¥यौँ, अहिले पनि हाम्रो त्यो मुद्दा छँदै छ । सहकार्य र सहमतिको आधारलाई कसरी बलियो बनाउने भन्ने कुरा सत्तापक्षमै निर्भर छ ।

भनेपछि यो सहमतिपछि सरकारलाई हेर्ने तर्पाँहरुको दृष्टिकोणमा परिवर्तन आयो ?  
परिवर्तन भयो । अब प्रतिपक्षमा भएपनि हाम्रो आफ्नौ नैतिक जिम्मेवारी पनि छ । गुणदोषको आधारमा हामी पनि सरकारको भूमिकालाई हेछौँ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप