शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गेष्टहाउसमा बन्धक बहिनीको दाइलाई त्यो भिडियो कल...

मङ्गलबार, ०१ पुस २०७६, १८ : २५
मङ्गलबार, ०१ पुस २०७६

कात्तिक २७ गते काठमाडौँमा बस्दै आएकी दोलखाकी (नाम परिवर्तन) निमा हराइन् । अघिल्लो दिनसम्म परिवारसँगै रहेकी निमा एकाएक हराएपछि परिवारले प्रहरीमा निवेदन हाल्यो ।

प्रहरीले हराएकी निमाको खोजीकार्य सुरु गर्यो । उक दर्जनभन्दा बढी निमाको साथीहरुसँग प्रहरीले सोधपुछ पनि गर्यो । निमाको खोजी गर्न व्यापक मात्रामा प्रहरी परिचालन भयो । तर, एक महिनासम्म प्रहरीले निमाको सुइँको पनि पाएन ।

अन्ततः हराएकी निमालाई जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार फेला पारेर परिवारलाई जिम्मा लगाएको छ । परिवारलाई खबरै नगरी एक महिनासम्म निमा कहाँ गइन् त ?

भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर निमालाई देहव्यापारमा लगाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । एक महिनासम्म कष्टकर जीवन बिताइन् निमाले ।

फिल्मी शैलीमा निमालाई जुगेडीस्थित हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले लुकाएर राखेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल बताउँछन् । निमासँगै अन्य ८ जना युवती गेष्टहाउसमा यौनकर्मीको रुपमा काम गर्थे ।

निमालाई बन्धन बनाएर राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । गेष्टहाउस सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी–२४ वर्षीया रेसिका राईलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै प्रहरी । 

कसरी पुगिन् निमा जुगेडी ?

काठमाडौँमा कोठा भाडा गरी बस्ने निमालाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम रेसिका राईले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी मल्ले बताए । निमालाई फकाएर रेसिकाले त्यहाँ लगेकी हुन् ।

फेसबुकमार्फत एक महिनाअघि रेसिका र निमाको चिनजान भएको हो । ‘फेसबुकमार्फत नै एउटा होटलमा कामदारको रुपमा केटी मागेको छ, राम्रो तलब दिन्छ’ रेसिकाले निमालाई भन्छिन् ।

निमाले लगत्तै आफ्नो मोबाइल नम्बर रेसिकालाई पठाउँछिन् ।

त्यसपछि रेसिकाले निमालाई फोन गर्छिन् ।

‘महिनाको ३० हजार हुन्छ’ निमालाई भन्छिन् ।

एक महिनाको ३० हजार भनेपछि निमाले सहमति जनाइन् ।

त्यसपछि उनीहरु भेट्ने मिति तय हुन्छ । २०७६ कात्तिक १० गते ।

त्यतिबेलासम्म निमालाई कुन होटल र कुन ठाउँ भनेर समेत थाहा नभएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

कलंकीको एक होटलमा उनीहरुबीच भेट हुन्छ । भेटको क्रममा रेसिकाले निमालाई फकाउँदै विभिन्न प्रलोभनमा पार्छिन् । अन्ततः निमा जुगेडी जान तयार हुन्छिन् ।

छुट्टिने बेला रेसिकाले कात्तिक २५ गते काठमाडौँ आउने निमालाई बताइन् । प्रहरीका अनुसार रेसिका निमालाई लिन भन्दै कात्तिक २५ गते काठमाडौँ आएकी थिइन् ।

२५ गते पनि रेसिका र निमाबीच भेट भएको छ । रेसिकाले भोलि अर्थात २६ गते जाने कुरा निमालाई भनेकी छन् । २६ गते बिहानै निमा कलंकी पुग्छिन् । रेसिकाले पहिला नै गाडीको टिकट लिइसकेकी थिइन् ।

त्यसपछि उनीहरु जुगेडीसम्मको लागि गाडी चढे । उनीहरु चढेको गाडी बिहान १० बजेतिर जुगेडी पुग्छ ।

काठमाडौँबाट चितवन जाँदा देब्रे साइडमा रहेको हलेसी एण्ड सगरमाथा गेष्टहाउस उनीहरु छिरे । त्यसपछि निमाको दुःखको दिनहरु सुरु भयो ।

एउटा बन्द कोठामा राखियो निमालाई । एकछिनमै होटल सञ्चालक क्षत्री आइपुगे । क्षत्री र रेसिकाबीच आँखाको इसारामा कुरा भयो । अनि रेसिकाले निमालाई भनिन्, ‘यो देहव्यापार गर्ने ठाउँ हो । यहाँ तेरो कुरा सुन्नेवाला कोही छैन् । यदि यो कुरा अरुलाई भनेको थाहा पाए मारदिन्छु ।’

त्यति भन्दै निमालाई बाहिरबाट चुकुल लगाएर रेसिका तल ओर्लिन् । १/२ बितेपछि निमा सबै दुःख सहेर बस्न बाध्य भइन् । कसैलाई भने मारिदिने धम्की थियो निमालाई । त्यही भएर उनी चुपचाप बस्नुको केही विकल्प थिएन ।

अन्य ७ जना युवतीहरु पनि गेष्टहाउसमा निमासँगै देहव्यापारमा संलग्न थिए । उनीहरु ७ जनालाई नै रेसिकाले विभिन्न ठाउँबाट ल्याएर निमालाई जस्तै धम्की दिएर राख्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

२ हप्तापछि निमालाई मोबाइल चलाउन दिइयो । मारिदिने धम्की दिएपछि कसैलाई केही नभन्लान भन्ने सोचेर निमालाई होटल सञ्चालकले नै मोबाइल चलाउन दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जङ्गबहादुर क्षत्री, निर्मला थापा र रेसिका राई ।

त्यो भिडियो कल...

निमा र होटल सञ्चालक एकआपसमा भेटेर कुराकानी गर्थे । निमाले होटल सञ्चालक क्षत्रीलाई प्रलोभनमा पारेर मन जितिसकेकी थिइने ।

मंसिर २७ गते होटल सञ्चालक क्षत्री निमाको कोठामा गए । क्षत्री कोठामा छिर्ने बित्तिकै निमाले आफ्नो मोबाइलमा ‘वाइफाइ’ कनेक्ट गरिदिन आग्रह गरिन् ।

लगत्तै क्षत्रीले मोबाइलमा वाइफाइ कनेक्टर गरिदिए । निमाले भनेपछि क्षत्री जे काम पनि गरिहाल्थे । निमाको मोबाइलमा वाइफाइ कनेक्ट गरेर क्षत्री आफ्नो काममा लागे ।

मोबाइलमा वाइफाइ कनेक्ट भएपछि निमा परिवारसँग कुरा गर्न खोजिन् । सुरुमै दाईलाई भिडियो कल गरिन् । होटल सञ्चालकको क्षत्रीको आँखा छलेर निमाले घटनाबारे दाईलाई सबै बताइन् ।

अनि प्रहरीलाई खबर...

निमाको दाईले लगत्तै प्रहरीलाई आफ्नो बहिनी सकुशल रहेको र उद्दार गरिदिन भन्दै काठमाडौँ परिसर पुगे । हराएकी निमा खोजिदिन भन्दै परिवारले हालेको निवेदनको पत्र परिसरले लगत्तै चितवन पठायो ।

चितवन प्रहरीले पत्र प्राप्त गर्नासाथ प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टको नेतृत्वमा टोली जुगेडीतिर लाग्यो । इन्सपेक्टर भट्टको टोलीले उक्त गेष्टहाउस पुरै सर्च गर्यो । केही पत्ता लागेन । पटक–पटक होटलमा खानतलासी गर्दासमेत निमालाई फेला पार्न सकेन ।

होटल सञ्चालक क्षत्रीले प्रहरी समक्ष बयानमा आफूलाई प्रहरी आउन लागेको खबर पहिला नै थाहा भएको बताएका छन् । प्रहरी आउने कुरा क्षत्रीले कसरी थाहा पाए अनुसन्धान भइरहेको भट्टले बताए ।

प्रहरी आउने थाहा भएपछि निमालगायत सबैलाई होटल सञ्चालक क्षत्रीले मारिदिने धम्की दिँदै किचन रुममा ‘फल्स बटम’ बनाएर अन्डरग्राउन्डमा लुकाएर राखेका थिए । प्रहरीले किचनमा पनि छापा मारेको थियो । तर, उनीहरुलाई फेला पार्न सकेन् ।

इन्सपेक्टर भट्टको टोली रित्तो हात फर्कियो । प्रहरी फर्किएपछि क्षत्रीले निमालाई फकाउँदै कसैलाई केही नभन्नु म आजै राती तिमीलाई काठमाडौँ लगिदिन्छु भन्दै फकाए ।

जब काठमाडौँको लागि प्रस्थान गरे

त्यतिबेला रेसिका पनि सँगै थिइन् । रेसिका र क्षत्रीले निमालाई काठमाडौँ लगेर छोडिदिने भन्दै निजी गाडीमा बसे । त्यतिबेला रातको १२ बजेको थियो । मुग्लिङमा चेकिङ हुने डरले क्षत्रीले निमालाई ओर्लिएर अगाडि आउनु भन्दै ओराले ।

गाडीबाट बाहिर निस्किने बित्तिकै निमा सिधै चेकिङमा रहेको प्रहरीमा पुगिन् । घटनाबारे बताइन् । तत्कालै इलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टरले जिल्लाका एसपी मल्ललाई घटनाबारे ब्रिफिङ गराए । त्यतिबेला क्षत्रीको गाडी मुग्लिनबाट अगाडि बढिसकेको थियो ।

एसपी मल्लको त्यो निर्देशन

दिउँसो रित्तो हात फर्किएर तनावमा भएको बेला एसपी मल्लले इलाका प्रहरी कार्यालय मुग्निलका इन्सपेक्टरलाई ‘त्यो गाडी र मान्छेहरु जसरी नि नियन्त्रणमा लिन’ निर्देशन दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको इन्सपेक्टर आफैं क्षत्री र रेसिकालाई खोज्न लागे । इन्सपेक्टरले मोटरसाइकलमा समेत २ जना प्रहरी परिचालन गरेका थिए ।

अन्ततः मुग्लिनको टोलीले क्षत्री र रेसिकालाई कुरिनटारबाट नियन्त्रणमा लिन सफल भयो । त्यसपछि उनीहरुसहित प्रहरी गेष्टहाउस पुगेर हेर्दा अन्धकार कोठामा राखेर निमालाई देहव्यापारमा लगाउने गरेको पाइएको हो ।

त्यतिबेला प्रहरीले गेष्टहाउसमा एक महिला देख्यो । ती महिला क्षत्रीको श्रीमती रहेको खुल्न आयो । लगत्तै ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका ३ जनालाई नै राती–राती जिप्रका लगिएको थियो ।

पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ ।

पृथ्वी राजमार्गका अन्य होटलहरुमा पनि यस्ता गतिविधि हुनसक्ने भन्दै चितवन प्रहरीले एउटा अभियान नै सञ्चालन गरेर होटलहरुमा छापा मार्ने एसपी मल्लले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप