बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमा भानुभक्त : अनुगमनको नाममा ‘भ्रमण’ कि कार्यदिशाको आधार निर्माण ?

सोमबार, ३० मङ्सिर २०७६, १५ : ३४
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । बङ्गलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएसँगै प्रतिनिधि सभाका सदस्य भानुभक्त ढकाललाई पहिलो पटक मन्त्री मण्डलमा सहभागी हुने अवसर जुर्यो । 

देशको कानुन निर्माण गर्ने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए पनि भानुभक्तले खासै सोचेजस्तो गर्न सकेनन् । केही समय पहिले मन्त्रीमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले आफ्ना ६ मन्त्री र ३

राज्यमन्त्रीलाई हटाएका थिए । केही मन्त्रीहरुको मन्त्रालय हेरफेरसमेत गरे । 
सोही समयमा कानुन मन्त्री भानुभक्तलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइयो । 

सङ्घीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिए पनि देशमा डेङ्गुको महामारी फैलिएको समयमा समेत कुनै चासो नदिनु, विदेश भ्रमणलाई महत्व दिनु र आफ्ना कार्यकर्तालाई नियुक्त गर्नेबाहेक कुनै काम नगरेको भन्दै आलोचना खेप्दै आइरहेका थिए । 

मन्त्रीमण्डल पुनर्गठन भएर यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिँदासम्म उनी स्वास्थ्य मन्त्रीको हैसियतले भारत भ्रमणमा व्यस्त थिए । 

यसकारण पनि भानुभक्तलाई उपेन्द्र यावदले भन्दा राम्रो काम गरेर देखाउनै पर्ने चुनौती थियो र छ । त्यसैले ढकाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएसँगै अहिले निकै व्यस्त छन् । मङ्सिर ५ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका ढकाल महिनामा ४ शनिबारबाहेक २१ दिन मन्त्रालयको काममा व्यस्त रहे । 

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मात्रै होइनन्, आफ्नो रुचीको क्षेत्र पनि हो । त्यसैले पनि उनी अहिले स्वास्थ्यको हरेक काममा सक्रियताका साथ लागिरहेका छन् । 

१० भन्दा बढी स्वास्थ्य संस्था अवलोकन 
कानुन मन्त्रालयमा हुँदा खासै सक्रियता नदेखाएका ढकाल स्वास्थ्य मन्त्रालयमा आएसँगै अहिलेसम्म धेरै सरकारी अस्पतालमा अनुगमनका लागि पुगिसकेका छन् । पहिला स्वास्थ्य क्षेत्रको संरचना र अवस्थाका बारेमा बुझ्ने अनि मात्रै काम सुरु गर्ने मन्त्री ढकालको योजना रहेको छ ।

त्यसै अनुरूप उनले सुरुमै मन्त्रालयकै कर्मचारीसँग छलफल गरे । स्वास्थ्य क्षेत्रमा भइरहेका कामका गतिविधि बारेमा बुझे भने समस्या समाधानका बारेमा पनि कर्मचारीहरुसँग छलफल गरे । त्यसपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा विभागका कर्मचारीसँग स्वास्थ्य क्षेत्रको बारेमा छलफल गरे ।

कर्मचारीहरुले मन्त्री ढकाललाई कर्मचारी अभाव, दरबन्दी भएर पनि जनशक्ति अभाव, बजेट अभाव, समायोजनले पारेको असर, स्वास्थ्य सेवा नियमावली, जनस्वास्थ्य सेवा नियमावली स्वीकृत नहुँदाका समस्या, ३ तहको सहकार्य र समन्वयमा समस्या, औषधि खरिदमा समस्या, समयमा रिपोर्टिङ नहुँदाका समस्या लगायतबारे पनि मन्त्रीको ध्यानाकर्षण गराए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले तीनवटै तहमा समन्वय गर्न समस्या, क्षयरोग, एड्सजस्ता रोगका औषधि खरिदमा समस्या भएको गुनासो मन्त्रीसमक्ष राखे । 

स्वास्थ्यमन्त्री ढकालले मङ्सिर १० गते देशकै जेठो अस्पताल वीर अस्पतालको अनुगमनमा पुगे । अनुगमनका क्रममा मन्त्री ढकालले अस्पतालको अवस्थाबारे निर्देशक तथा कर्मचारीबाट रिपोर्टिङ लिए । वीरका कर्मचारीले अस्पतालको कामभन्दा पनि धेरै गुनासो पोखेका थिए । कर्मचारीले अस्पतालमा पर्याप्त बजेट नभएको, अनुदानमा वीर कम प्राथमिकतामा पर्ने गरेको, उपकरण, जनशक्ति अभाव जस्ता समस्याको चाङ मन्त्री ढकालमाथि देखाए ।

कर्मचारीको गुनासो यतिमै सीमित रहेन, देशकै जेठो अस्पताल सधैँ उपकरणको अभावमा चल्नु परेको, नर्सिङ कर्मचारी कम भएको, कर्मचारी समायोजनले समस्या उत्पन्न गरेको र जनशक्ति अभावले गर्दा सेवा नै बन्द गर्नुपर्ने सम्मका समस्या उनीहरुले तेर्साए । 

यस्तै सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु, आयुर्वेद विभाग, बालबालिकाको उपचार गर्ने एक मात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा समेत अनुगमनका लागि मन्त्री ढकाल दौडिए । 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अस्पतालको अवस्थाबारे बुझ्न पुगे भने मङ्सिर २५ गते ढकाल अनुगमनकै क्रममा कोसी अञ्चल अस्पताल पुगेका थिए । 

एकैपटक काम सुरु गर्नुभन्दा पनि पहिला स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा बुझ्न आवश्यक भएको भन्दै मन्त्री ढकाल अहिले अस्पतालको अनुगमन गर्ने, कर्मचारीबाट अस्पतालको अवस्था, समस्याबारे बुझिरहेका छन् । 

कति पटकसम्म मन्त्रीलाई भेट्न समय माग्दासम्म समय नमिल्ने गरेको गुनासो आइरहदा मन्त्री आफै स्वास्थ्य क्षेत्रमा पुग्दा कर्मचारीहरु खुशी भए । धेरैले कामभन्दा पनि काम गर्दा आइपरेका समस्याको बारेमा स्वास्थ्य क्षेत्रका अभिभावक मन्त्री ढकाललाई खुलस्त पारे । 

कर्मचारीहरुले अपर्याप्त बजेट, दरबन्दी अनुसारको कर्मचारी नभएको, विशेषज्ञ चिकित्सकको अभाव, उपकरणको अभाव जस्ता कुराले सरकारी स्वास्थ्य संस्थाले नागरिकको इच्छाअनुसार सेवा दिन नसकेको बताएका थिए । साथै समायोजनको समस्या पनि छिटो भन्दा छिटो सुल्झाउनुपर्ने कर्मचारीहरुको माग थियो । 

अनुगमनको क्रममा अस्पतालको समस्या, कर्मचारीको अवस्था र भावी सुधारको बारेमा छलफल भएको ढकालको सचिवालयका एक सदस्यले बताए । 

स्वास्थ्य क्षेत्रको अवस्थाबारे बुझ्ने काम भइरहेको हुँदा अहिले त्यस्तो कुनै ठोस काम नभएको तर अनुगमन सकिएपछि काममा लाग्ने सचिवालयको भनाइ छ । अस्पतालको निरीक्षणपछि जनताको हितमा काम गर्नको लागि कर्मचारीहरुलाई मन्त्री ढकालले आग्रह गरेका छन् । 

स्वास्थ्य मन्त्रालय मातहतका संस्थाहरुको अवस्थाबारे बुझ्ने मुख्य—मुख्य काम सकिएको हुँदा अब काममा अगाडि बढ्ने मन्त्री ढकालको सचिवालयले जनाएको छ । 

यद्यपि अनुगमनको नाममा अहिलेसम्म खाएको भत्ता र भएको खर्चको सार्थकता खोज्न भने अब उनले तीब्रगतिमा काम गर्नैपर्ने हुन्छ । अनुगमनको नाममा भएको ‘भ्रमण’ मात्रै हो कि काम गर्ने आधार तयार गरिएको हो त्यो भने उनको आगामी कार्यदिशाले स्पष्ट पार्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप