शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंक एजीएमः आठ करोड शेयर सर्वसाधारणलाई निष्काशन गर्ने

सोमबार, ३० मङ्सिर २०७६, १२ : २४
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं– नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फाल्गुण महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

चुक्ता पूँजी १२ अर्ब, प्रतिशेयर आम्दानी ६.१०, प्रतिशेयर नेटवर्थ १०६.५७ रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी जम्मा आठ अर्ब रुपैंयाको शेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराए ।

नेपाल सरकारबाट मनोनित एक जना सञ्चालक बाहेक संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम रहेको उक्त सभाबाट अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी आगामी चार वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । भने, रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित सञ्चालक हुन् । 

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले विदेशी वित्त बजारबाट अफशोर बन्ड जारी गरी  पाँच अर्ब भित्र्याउने कार्य अघि बढाई सकेको छ । 

स्रोत परिचालन तर्फ दुई वटा जलविद्युत् आयोजनाहरुमा तीन अर्ब लगानी स्वीकृत गरिसकेको छ भने सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन गरिरहेको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी विस्तार गर्दे जाने बैंकको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप