बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्छ: मन्त्री त्रिपाठी

आइतबार, २९ मङ्सिर २०७६, २१ : ३७
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री  हृदयेश त्रिपाठीले विरासत बचाउँदै सङ्घीयताको जग बलियो बनाउन काठमाडौँ महानगरपालिकाले उदाहरणीय काम गर्नुपर्ने बताएका छन् ।
महानगरपालिकाको २५औँ दिवसका अवसरमा उनले भने, ‘काठमाडौँको विरासत ठूलो छ, यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो, सबै मिलेर यसको गरिमा बचाउनुपर्छ ।’ सङ्घीय व्यवस्थाको जग दरो बनाउन पनि सङ्घीय राजधानी शहरको जग बलियो बनाउनु पर्ने उनको भनाइ छ । 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँको सभ्यता नदीहरुको संरक्षणमा महानगरको मुख्य भूमिका हुने बताए । सांसद् जीवनराम श्रेष्ठले महानगरको विकास र समृद्धिका लागि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै रचनात्मक कामका लागि सुझाव दिए । प्रदेशसभा सदस्य नारायण सिलवालले महानगरको गरिमालाई अझ उँचो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

सम्मान, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र मौलिक खानाका प्रदर्शनसँगै शुरु भएको वार्षिकोत्सव शानिवार र आज आइतबार गरी दुई दिनसम्म मनाइने छ । कार्यक्रममा पैदल तथा साइकल यात्राको प्रवद्र्धनका लागि साइकल ¥याली, दमकल विस्तार गरी वडा नं ६ बाट सेवा शुभारम्भ, उत्कृष्ट व्यक्तिगत करदाता सम्मान, परम्परागत नाच तथा बाद्य गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत कार्यक्रमसमेत गरिएको थियो ।

समारोहमा ज्यापु समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथी, गुँला बाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी मखं त्वाःकी कुमारी प्रकृति महर्जन र किलाघः त्वाःकी कुमारी रेसुका महर्जनलाई मासिक रु १५ हजार भत्तासहित सम्मान गरिएको छ । इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरिएको थियो । 

नगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरबासीका चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि जस्तासुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताए ।

राससकर्मी पाठकलाई ‘सुशासन पत्रकारिता’ पुरस्कार

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का शर्मिला पाठकलाई ‘सुशासन पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी नेपाल समाचारपत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिकाका तीर्थ बस्नेत,  राजधानी दैनिकका केशव पाण्डे, झीगु डट कमका रेखा शाक्य र लहना वाःपौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठलाई समेत सोही पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । 

उत्कृष्ट करदातामा सम्पत्ति करतर्फ वडा नं ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरिएको थियो । उहाँले रु चार लाख ६४ हजार ३८४ कर तिरेका थिए । त्यस्तै बहाल करतर्फ वडा नं ११ की जयाराज्य लक्ष्मी शाहलाई सम्मान गरियो भने व्यवसाय करतर्फ वडा नं ५ मा रहेको उपमा डेभलपर्स प्रालिलाई सम्मानित गरियो । शाहले रु २४ लाख बहाल कर तिर्नुभएको थियो भने प्रालिले रु ५० हजार व्यवसाय कर तिरेको थियो ।

 मनोरञ्जन करतर्फ वडा नं ३० मा रहेको कुमारी चलचित्र मन्दिरलाई सम्मान गरिएको थियो । चलचित्र मन्दिरले रु १५ लाख ७० हजार ७६३ मनोरञ्जन कर तिरेको थियो । सो रकम गत आवमा भएको कारोवारका आधारमा लिइएको हो । यससँगै महानगरमा २५ वर्ष नियमित सेवा गर्ने १७ कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगरपालिका घोषणा भएको २५ वर्ष पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप