मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम

आइतबार, २९ मङ्सिर २०७६, १५ : ५२
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको छ ।

सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्री समावेश गरी राष्ट्रिय वाणिज्य बैङ्क, प्रधान कार्यालयका दुई सय ५० भन्दा बढी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा दिइएको हो ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक सेवामा करिब तीन दशक काम गरिसकेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुलाई यस्ता सचेतना कक्षामा स्वयंसेवकका रुपमा खटाएको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत ट्राफिक सम्बन्धी स्वयंसेवकका रुपमा खटाइएका हाछेथु विभिन्न कलेज, विद्यालयका विद्यार्थीलाई ट्राफिक ज्ञान दिदैँ आएका छन् । यस पटक उनले बैङ्कका कर्मचारीलाई प्रशिक्षार्थीका रुपमा रोजे । ‘विद्यार्थीमात्र होइन, सडक प्रयोग गर्ने सबैले यस्ता कक्षा लिन आवश्यक हुन्छ,’ हाछेथुले भने, ‘दुर्घटनाले सानो–ठूलो, धनी–गरिब, शिक्षित–अशिक्षित भनेर छुट्याउँदैन, त्यसैले सडक प्रयोग गर्ने सबैमा ट्राफिक ज्ञान हुनैपर्छ ।’

उनले राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ समक्ष सचेतना कक्षाको प्रस्ताव गरे । उनको प्रस्तावमा सिइओ श्रेष्ठले तत्कालै सहमति जनाए । ‘पहिलो चरणमा प्रधान कार्यालयका कर्मचारीलाई सचेतना कक्षामा समावेश गरियो, उपत्यकाभित्रका सबै शाखाका कर्मचारीलाई यस्तो कक्षा दिने योजना उहाँहरुले बनाउनु भएको छ,’ हाछेथुले रातोपाटीसँग भने ।
सचेतना कक्षा किन ?


सडक प्रयोगकर्ताको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिन सक्छ । दुर्घटनाको परिणाम जो सूकैको जीवनमा भयावह हुन सक्छ । काठमाडौँ उपत्यकामा प्रतिमहिना सरदर २२ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गर्दछ । नेपालमा प्रतिदिन सरदर ७ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गरेको पाइन्छ ।

सडक प्रयोगकर्ताको सानो लापरवाहीले ठूला दुर्घटना निम्तिएका कयौँ उदाहरण छन् । सडकमा एक जनाले गरेको गल्तीको परिणाम कयौँले भोग्नु परेका उदाहरण पनि प्रशस्त छन् । त्यसैले सडक प्रयोग गर्दा सबैले ट्राफिक नियम पालना गर्नुका साथै अरुले गर्न सक्ने गल्तीप्रति समेत सावधानी अपनाउन आवश्यक हुने हाछेथु बताउँछन् । 

सवारी दुर्घटनाबाट बच्ने उपाय, बाटो काट्दा र सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा सबैले जान्नैपर्ने उनको भनाइ छ । मलाई ट्राफिक नियमको राम्रो ज्ञान छ, म सडकमा ट्राफिक नियम पालना गर्छु भनेरमात्र पनि दुर्घटनाबाट जोगिन नसक्ने उनको भनाइ छ । ‘आफू सही हुँदा हुँदै अर्काको गल्तीका कारण पनि दुर्घटना भएर क्षति भोग्नु परेका कयौँ उदाहरण छन्,’ उनले भने, ‘त्यसैले सडकमा आफूमात्र ठिक भएर हुँदैन, अर्काको गल्तीप्रति पनि सचेत रहेर सावधानी अपनाउनुपर्छ ।’
सचेतना कक्षामा दुर्घटनाका विभिन्न प्रकृतिहरु उनले भिडियोमार्फत देखाउने गरेका छन् । कस्ता–कस्ता लापरवाहीबाट कस्ता दुर्घटना हुने गरेका छन् र त्यसबाट कस्तो क्षति हुने गरेको छ भन्ने लगायतका सामग्रीलाई पनि उनले सडक प्रयोगकर्ता सामु प्रस्तुत गरेर सचेत तुल्याउने गरेका छन् ।

सडकमा हतार, तीव्रगति र लेन अनुशासन पालना नगर्दा धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ । वित्तीय संस्थाहरु, ठूला व्यापारिक प्रतिष्ठानहरुले सामूहिक रुपमा यस्ता सचेतना कक्षा लिन सक्ने उनले बताए । ‘दुई घण्टाको कक्षा लिँदा सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ र ठूलो क्षति टार्न सकिन्छ भने किन यसमा पहल नगर्ने ?’ उनले भने, ‘एक जनाको सानो गल्तीको परिणाम जोसूकैको जीवनमा भयावह बन्न सक्छ, उसको परिवारले जीवनभर दुर्घटनाका परिणामलाई व्यहोर्नु पर्छ भने हामी बेलैमा किन सचेत नहुने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप