बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न छलफल

शनिबार, २८ मङ्सिर २०७६, १७ : ४१
शनिबार, २८ मङ्सिर २०७६

स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिकाबारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । 
 
    कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका सञ्चालक समिति संयोजक बोधराज अर्यालले बताए । 
 
    “स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भए पनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन”, उनले भने, “सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएको छ, चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा अप्ठ्यारा बुँदामा परिमार्जन गरेर पुनः सम्झौता भएको छ ।”
 
    सुन्तला निर्यात गर्ने सम्बन्धमा चिनियाँ पक्षले केही शर्त राखेको छ । ती शर्त पूरा गरेपछि मात्रै स्याङ्जाको सुन्तला निर्यात हुने अवस्था आउने भएकाले सुन्तलामा लाग्ने रोग किरा तथा गुणस्तरमा ध्यान दिनु जरुरी रहेको संयोजक अर्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइअन्तर्गत स्याङ्जाका सुन्तला पकेट क्षेत्र रहेका स्थानीय तहका प्रमुख, वडाध्यक्ष एवं सरोकारवालासँग सुन्तलालाई रोग तथा किरामुक्त बनाउने र गुणस्तरयुक्त बनाउनका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइका कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप