शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषा बम विस्फोट : केही छैन भन्दै इन्सपेक्टर अघिअघि जवान पछिपछि, घटनास्थलका तस्बिरसहित

शनिबार, २८ मङ्सिर २०७६, ११ : २८
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । गएराती धनुषामा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा शनिबार बिहान ७ बजे मृत्यु भएको हो । 

यस्तै बम विस्फोटमा परेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका  ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरुमाराजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह रहेका छन् । 

यस्तै प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसरी घट्यो घटना 
राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा एउटा झोला झुन्ड्याइएको थियो । मध्यरातमा राजेशकी श्रीमती शौचका लागि उठिन् । ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई पनि उठाइन् । 

राजेशले तत्कालै झोला झुन्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । 

इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ आफै घटनास्थल पुगे । ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर छोएर हेर्न खोज्दा बम विस्फोट भएको हो । 

बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य चारजना घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो । बम विस्फोटबाट साहको बन्दै गरेको घरका झ्यालका सिसा, शौचालयका ढोका, घरको छानोलगायतमा पनि क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार विप्लव नेतृत्वको नेकपाले बम झुन्ड्याएको हुनसक्ने आशंका छ । डीएसपी कार्कीले भने, ‘अहिलेसम्म घटनाको कसैले जिम्मा लिएको छैन् ।’

मृतक साह विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ । घटना कसले, किन घटायो भन्ने विषयमा अनुसन्धान गर्न सुरक्षा समितिको बैठक बसिरहेको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप