शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालापानी र कृष्णे

शनिबार, २८ मङ्सिर २०७६, ११ : २४
शनिबार, २८ मङ्सिर २०७६

-कृष्णमणि पराजुली

मन कटक्क काटिएको हुन्छ
आँखाभरी आँशु भरिएको हुन्छ
अनुहारमा चमक हराएको हुन्छ
कता कता आफै हराए जस्तो हुन्छ
किन ऊ यस्तो भइरहेछ
ऊ आफै अनभिज्ञ छ ।

हातगोडा लुला भएका हुन्छन्
चिट चिट पसिना आएको हुन्छ
मलमूत्र एकै चोटी निस्के जस्तो हुन्छ
आखिर मर्ने दिन आजै हो जस्तो लाग्छ ।

बल्ल ऊ होसमा आउँछ
उसले सुनेको रहेछ
देखेको रहेछ
उसको देश ठूल दाइले कब्जा गरेको रहेछ
उसले आफ्नै मानचित्रमा भित्र्याइसकेको रहेछ
त्यसैले त,
कृष्णबहादुरको मन रोएको रहेछ ।

यसपाली त ऊ झनै दिग्दार भएको छ
दक्षिण पट्टीको ठूल्दाइले
यसो साँध किल्ला मात्र नसारेर
कृष्णबहादुरको हिमाल तिरको
पूरै साँध मेटाउन भ्याएछ 
कालो पानीले रसाउने मलिलो खेत पनि
पूरै आफ्नै बनाइसकेछ
चाँदी जस्तो चम्किलो लिपुलेक पनि
कसैले थाहै नपाई
धूर्त ब्वाँसोको चाल  गरी आफ्नै बनाएछ
लिप्पियाधुराको समथल भूमि पनि
आफ्नै परेड मैदान पो बनाएछ
हो अब त
आफ्नो कालापानी  नरहे
लिपुलेक पनि नरहे
लिप्पियाधुरा पनि नरहे
सबै आफैभित्र भित्र्याइसकेछ
बाँकी नै के पो रहन्छ र ?
                ⁃⁃⁃
पोहोर साल उसको गाउँको ठूल दाइले पनि
गैरी खेतको सीमाना पर सारेकोमा
उसको सारै मन दुखेको थियो रे
पुरानो अदृश्य तमसुकले पनि
उसको घरबारै उठेको थियो रे ।

झन् आज कति चिन्तित छ होला कृष्णे
साँच्चै हो अब उसको न घर छ
न आफ्नो भूमि छ
सबै लुटिएपछि 
शून्य आकाश जस्तो उसको मन हुनेछ 
केही वर्ष पछि शून्य पनि गायव हुनेछ ।

गाउँमा पनि ससाना ब्वाँसाहरुले 
घुसपैठ गरी आफ्ना बनाइसके
मेची कालीको सरहद पनि
ठूला ब्वाँसाहरुले भ्याइ नै सके
त्यसैले होला
कृष्णबहादुरको मन सारै दुखेको छ
किनकि
उसको आफ्नो गाउँ लुटिएको छ
सहर लुटिएको छ
आखिरमा कालापानी लुटिएको छ
कुनै दिन ऊ आफै र उसको देशै पनि त
लुटिन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप