बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर कति नै जमिन चाहिन्छ र ?!

गजाधर रुँदै बिलौना गर्न थाले, 'मेरा सारा पसिना बेकार भए ।' उनी रोकिनै लागेका थिए, तर चौधरीहरु अझै जोड जोडले कराइरहेका थिए, 'आई पुग्नै लाग्यौ, बल गर बल !'
शनिबार, २८ मङ्सिर २०७६, ०१ : १३
शनिबार, २८ मङ्सिर २०७६

जग्गा, जमिन र पैसा जस्ता निजी सम्पत्तिको विरुद्धमा कुनै बेला सबैभन्दा बढी आवाज बुलन्द गर्नेहरु नै यतिखेर सबैभन्दा बढी निजी सम्पत्तिको जोहो गर्ने भयानक दौडमा लागेका छन् । विश्व दिग्विजयी अलेक्जेण्डरले समेतले मर्दा साथै लैजाने केही हुँदैन भन्ने आत्मबोध गरेर  ‘आफू मर्दा हात लाशबाट बाहिर निकालेर प्रदर्शन गर्नु’ भनी दिएको आदेशको मर्मबोध गरेकाहरु नै पनि निजी सम्पत्तिको मानक मानिने जग्गा जमिन थुपार्ने अन्ध दौडमा होमिएका देखिन्छन् । सामुहिकतालाई भन्दा व्यक्तिवादलाई प्रधानता दिने आजको भौतिकवादी समाजमा आखिर मरेर जाँदा पुर्न वा जलाउन चाहिने जमिन त ६ फीट मात्र नै त हो भन्ने यथार्थलाई बोध गराउने विश्वविख्यात साहित्यकार लियो तोल्स्तोयको कथा हामीले यस पटक प्रस्तुत गरेका छौं । यो कथाको नेपाली भावानुवाद वामपन्थी नेता टंक कार्कीले गर्नुभएको हो ।

– क –

दुई दिदी बहिनी थिए । जेठीको विवाह शहरको व्यापारीसँग भएको थियो, कान्छीको गाउँको किसानसंग । एक दिन जेठी चाहिँ भेट्न भनेर कान्छी कहाँ आइन् । दिदी बहिनीको भेट, आपसी कुरा हुने नै भयो । चिया पिउदै भलाकुसारी गर्न थाले ।

जेठी दिदीले कुरो सुरु गरिन्, शहरिया जीवनको बढाइचढाइ गरेर, 'हामीहरु शहरमा बडो मस्तीका साथ बसेका छौं । चिरिच्याट्ट छौं, हाम्रा केटाकेटीहरु खातापिता छन् । तिनले कम्ता मीठा खानेकुरा खान पा'का छन्'र ?! आफू त छानी छानी कहिले नाचघर गइन्छ, कहिले घुमफिर गरिन्छ त कहिले धित मरुन्जेल मोजमस्ती गरिन्छ ।'

कान्छीको मन कटक्क काटियो । उनले ओठ लेप्र्याउदै आफूलाई त व्यापारीको जिन्दगानी राम्रो नलाग्ने बताइन् र भनिन्,  ‘बरु त किसानको जिन्दगी कति राम्रो राम्रो ।’


‘मलाई त तिम्रो जस्तो दिनचर्या चाहिएन ।' उनी भन्दै गइन्, 'हामी झुत्रेझाम्रे हौंला तर हामीलाई न शोक न सुर्ता, न भोक न भकारी । हो तिमेरु हामीभन्दा बढ्ता सुखसयलमा बसेका छौं र कमाइधमाइ पनि राम्रै छ तर के गर्नु छिनमै स्वाह हुन सक्छ । तिमीलाई त्यो लोकोक्ति थाहा होला नि - 'नाफा घाटा भनेका जुम्ल्याहा दाजुभाइ हुन् ।’


‘मलाई त तिम्रो जस्तो दिनचर्या चाहिएन ।' उनी भन्दै गइन्, 'हामी झुत्रेझाम्रे हौंला तर हामीलाई न शोक न सुर्ता, न भोक न भकारी । हो तिमेरु हामीभन्दा बढ्ता सुखसयलमा बसेका छौं र कमाइधमाइ पनि राम्रै छ तर के गर्नु छिनमै स्वाह हुन सक्छ । तिमीलाई त्यो लोकोक्ति थाहा होला नि - 'नाफा घाटा भनेका जुम्ल्याहा दाजुभाइ हुन् ।’ प्राय: गरेर के हुने गरेको छ भने, हिजोको करोडपति आज खाकपति भएर सडकमा हिँडेको छ । त्यस हिसाबले त हामी कता हो कता सुरक्षित छौं । किसानको जिन्दगी त्यस्तो तडकभडक छैन त के भो ?! उमेर लामै छ क्यारे ! हामी त्यत्रो धनी त नहुँला, तर हातमुख राम्रै जोडेका छौं, मनग्गे नै छ ।'

जेठीले ओठ लेप्राउदै खिसिट्युरीको शैलीमा भनी, '' मनग्गे छ रे ?! पेटै भर्न त गाई भैंसी र कुकुर बिरालाले पनि भरेका हुन्छन् । त्यो पनि जिन्दगी हो ?! तिमेरलाई खानदानी के हो, शिष्टता के हो, भुट्टिभाङ्ग आउँदैन । तिम्रो खसमले जतिसुकै पसिना बगाउन् न, तिम्रो जिन्दगी हिलो, गोबर मै बित्ने हो । तिम्रा छोराछोरीको पनि उही गति हो ।"

कान्छीले भनी, " तब के फरक पर्छ ?! हो, हाम्रो कामधन्दा त्यति साफसुग्घर छैन, तर अर्को पाटो भने पाको छ । हामीले कसैको अगाडि शिर झुकाउनु भने परेको छैन । जबकि शहरमा तिमेरु नानाभाँतीका लालचले घेरिएका हुन्छौ । आज त ठीकै चलेको छ भोलि के होला ? कुनै ढुक्क हुने स्थिति हुन्छ र ?! तिम्रो लोग्नेको मति बिग्रेर जुवा, तास र रण्डीबाजीमा पल्के भने सारा जहाज डुब्दैन ?! के यस्ता घटना अक्सर भ'का छैनन् र ?!"

घरधनी गजाधर मचानमा ढल्केर यी दुइटीको कचहरी सुनी राखेका थिए । "कुरो त क्या धीत मर्ने खालको छ !" उनी सोचमग्न थिए । " हो त नि, कलिलै उमेरदेखि जमिन खोस्रेको छ, छ । हामी किसानको दिमागमा अन्ठसंठ कुरै घुस्दैन । हाम्रो एउटै दुर्भाग्य के हो भने हामीसंग यथेष्ट जमिन नै हुँदैन । मसंग मनग्गे जग्गा-जमिन हुँदो हो त शैतानले पनि मेरो दाल गलाउने थिएन ।"


उनी सोचमग्न थिए । " हो त नि, कलिलै उमेरदेखि जमिन खोस्रेको छ, छ । हामी किसानको दिमागमा अन्ठसंठ कुरै घुस्दैन । हाम्रो एउटै दुर्भाग्य के हो भने हामीसंग यथेष्ट जमिन नै हुँदैन । मसंग मनग्गे जग्गा-जमिन हुँदो हो त शैतानले पनि मेरो दाल गलाउने थिएन ।"


दिदी बहिनीले चिया पिउने काम सिध्याए, थोरै समय लवाइका विषयमा चर्चा गरे । अन्ततः -भात भान्सा गरे, भाँडा कुँडा माझे, थानको- मान्को लगाए र सुत्ने तरखर गरे । नजिकै कुनामा शैतान लुकेर बसेको 'थ्यो । उसले त्यहाँ गरिएका एक एक कुरा सुन्न भ्यायो । उ भित्रै मनदेखि थियो । किसानकी श्रीमती गाउँको बारेमा हर्ष बढाइ गर्दै आफ्नो लोग्नेको खुब तारिफ गर्दै थिइन् । लोग्ने चाहिँ जग्गा जमिन मनग्गे हुने हो भने शैतान नै आए पनि उसलाई मतलब छैन भनेर फुइँ लाउथ्यो ।

शैतानले मनमनै सोच्यो, " ठीक छ न त हजुर, यहीं फैसला सही । तिमीलाई म मनग्गे जग्गा जमिन दिने भएँ । अनि त्यसैले गर्दा तिमि मेरो चंगुलमा आउँदा रहेछौ कि रहेनछौ पछि हेरौंला ।'

– ख –

गाउँको बगलमा एउटी सानी जमिन्दारनी बस्थिन् । तिनको तीनसय एकड जतिको कामत थियो । तिनको मोहीसंग राम्रै हिमचिम रहदै आएको थियो । तिनले एउटा कारिन्दा राखिन् । ऊ पहिला सिपाही थियो । ऊ अब मोहीकहाँ गएर जरिमाना गर्दै सास्ती दिन थाल्यो । गजाधर होशियार त हुन् नै । तर जतिसुकै कोशिस गरे पनि उनी यति हैरान थिए कि कहिले उनको घोडा जमिन्दारनीको बारीमा चर्न पुग्थ्यो, कहिले गाई तिनको बगैंचामा त कहिले बाछाबाछी गएर पालेको घाँसबारी नै स्वाहा बनाइदिने । अनि उनले जरिमाना तिरिरहनु पर्ने ।

जरिमाना त उनी तिर्थे तर खुब मुरमुरिन्थे । उदास हुँदै घर फर्किन्थे र आफ्नो चिडचिडाहट जहान परिवारसंग उतार्थे । त्यो वर्षको गर्मीयामभरि जमिन्दारनीको कारिन्दाले गर्दा उनले भएभरका हैरानी बेहोर्नु पर्यो । हिउँदमा भने उनलाई बडो राहत मिल्यो किनभने त्यतिबेला सारा वस्तुभाउ गोठैमा बाँधिए । बाहिर चरनमा न जाने हुँदा घाँस परालको दुःख त हुन्थ्यो तर जरिमाना तिर्नु पर्ने चिन्ताबाट त मुक्ति ।

अघिल्लो हिउँदमा हल्ला फिँजियो कि जमिन्दारनी जग्गा बेच्दैछिन् । कामतको मुन्सी भाउमा मोलमोलाई गर्दैछ । यो खबर सुन्नसाथै सबका सब किसान झसंग भए । " ठीकै छ," तिनले विचार गरे, " कथं मुन्सीले यो जमिन खरिद गर्यो भने त्यसले जमिन्दारनीको कारिन्दा भन्दा बढी सताउने छ । हाम्रो प्राण नै त्यस कामतमा अडेको छ ।" यसर्थ किसानहरु सामुहिक रुपमा फिराद गर्न भनेर जमिन्दारनी कहाँ गए र बिन्ति बिसाए, 'हजुर त्यस मुन्सीलाई जमिन नबेच्नुहोस् ।' तिनले यो पनि भने, 'बेच्ने पर्ने हो भने हामी उसले दिनेभन्दा बढी मुल्य दिन तैयार छौं ।' जमिन्दारनीले भनिन्, 'लु, भैगो त्यसो भए तिमेरु नै लेओ ।' तब किसानहरुले सामुहिक रुपमा कामतको सम्पूर्ण जग्गा खरिद गर्ने भनेर दुई पटक बैठक बसे । तर साझा निर्णयमा आउन सकेनन् । त्यसो हुनुमा शैतानको भित्र भित्रै ठूलो हात थियो । अन्ततः निर्णय चाहिँ के लिए भने 'सामुहिक रुपमा त नलिने भइयो, वैयक्तिकरुपमा भने आ-आफ्नो औकात अनुसार खरिद गर्न सकिन्छ ।' जमिन्दारनी पनि किसानहरुको यो प्रस्तावमा पहिला जस्तै राजी भइन् ।


किसानहरुले सामुहिक रुपमा कामतको सम्पूर्ण जग्गा खरिद गर्ने भनेर दुई पटक बैठक बसे । तर साझा निर्णयमा आउन सकेनन् । त्यसो हुनुमा शैतानको भित्र भित्रै ठूलो हात थियो । अन्ततः निर्णय चाहिँ के लिए भने 'सामुहिक रुपमा त नलिने भइयो, वैयक्तिकरुपमा भने आ-आफ्नो औकात अनुसार खरिद गर्न सकिन्छ ।'


हालसालै गजाधरले के हल्ला सुने भने आफ्नो नजिकैको एक छिमेकीले पचास एकड जमिन खरिद गर्ने भ'को छ । जमिन्दारनी के कुरामा पनि राजी भ'की छिन् भने तत्काललाई कुल मूल्यको आधी चुक्ता गर्ने र बाँकी रकम वर्षको अन्त्यमा तिर्दा हुने । गजाधरलाई भित्रभित्रै ठूलो औडाह भयो ।

'हे भगवान, त्यतिका जमिन आफ्नै आँखाका सामुन्ने बिक्री हुँदैछ, कस्तो मेरो नियति ?! मैले चाहिँ टुलुटुलु हेरेर बस्नु पर्ने ?! यो त भएन बा !' त्यसैले उनले आफ्नी श्रीमतीसंग कुरा गरे, 'हेर न, छर छिमेकीहरू हारालुछ गर्दै जमिन खरिद गर्दै छन् ।' उनी भन्दै गए, 'हामीले पनि बीस एकड जति त किन्नै पर्छ । जिउन झन् झन् कठिन हुँदै छ । त्यसमाथि त्यो कारिन्दाले जरिमानाका जरिमाना थपेर हाम्रो कन्तविजोग बनाउने भो ।'

अब जमिन खरिद गर्न कसरी पैसाको बन्दोबस्त गर्ने भनेर उनले आफ्नो भएभरको बुद्धि लगाए । हजार रुपैयाँ त जसोतसो बचाएर राखेका थिए । अनि भने एउटा घोडाको बछेडा बेचे, केही सामान जाकटी राखेर अलिकति उदारो लिए, एउटा छोरालाई मजदुरी गर्न पठाएर तलबको अग्रिम भुक्तानी लिए । अलिकति सालासंग सापट लिए । यसरी तिनले जेनतेन खरिद मुल्यको आधाउधी जम्मा गरे ।

यति गरिसकेपछि गजाधरले चालीस एकड जतिको जमिनको एउटा टुक्रा हेरे, त्यसको एक छेउमा सानो वन पनि थियो । जमिन्दारनीकहाँ गएर मोलमोलाई गरे । सहमतिमा पनि आए । बैना पनि गरे । माल अड्डा गएर कागजपत्रमा सही छाप पनि गरे । मन्जुरीनामाअनुसार आधी रकम उनले तुरुन्तै भुक्तानी गरे र बाँकी रकम दुई वर्षभित्र बुझाउनु पर्ने भयो ।

अब गजाधर जग्गाको मालिक आफै भए । बिऊबिजन उनले उधारो ल्याए र आफ्नो जग्गामा रोपे पनि । बाली राम्रै लाग्यो । वर्ष दिन भित्रै जमिन्दारनी र सालाको पैसा पनि चुक्ता गरे । अब भने उनी पनि जमिन्दार भए । क्या मज्जा ! आफ्नो जमिन आफै जोत्न, आफै रोप्न, आफ्नैमा घाँस पराल गर्न, दाउरा काट्न र आफ्नै चरनमा वस्तुभाउ चराउन पाउने भए । जमिन जोत्न जाँदा होस् या लह लह उम्रेको मकै बारी होस्, या ढकमक्क ढाकेको घाँसे मैदान होस् हेरेर फुरुंग हुन्थे । उनलाई आफ्नो बारीमा उम्रेको घाँस होस् या फूल अन्यत्र हुनै सक्दैन जस्तो लाग्थ्यो । त्यही जमिन पहिला पहिला सामान्य लाग्थ्यो, तर अहिले उनलाई त्यो नितान्त भिन्न लाग्न थालेको छ ।

  • ग –

गजाधर दिलखुस थिए । उनको मकै बारी या घाँस बारीमा छर छिमेकका बस्तुभाऊ आएर सुटुक्क न चरी दिने मात्रै हो भने उनी जति विन्दास को हुन्थ्यो होला र ?! जब जब त्यस्तो घटना घट्थ्यो उनी सकेसम्म विनयशील भएर शिकायत गर्थे । तर भोलिपल्ट जस्ताको तस्तै । हुँदा हुँदा गोठालाहरु दिनदहाडै उनको घाँस बारीमा गाईवस्तु ल्याएर छोडी दिने या राति घोडालाई मकैबारीमा छोडी दिने गर्न पो थाले । गजाधरले बारम्बार धपाउने काम गरे । उनले भईगो न त पनि भने । हदै सम्म सहेर उनले कसैलाई दण्ड जरिवाना पनि गरेनन् । हुँदा हुँदा आजित भएर उनले जिल्ला प्रशासनमा उजुरी गरे । उनलाई थाहा थियो, यो सब किसानहरुको आफ्नो जमिन न भएर भएको हो, आफैमा बिचराहरुले जानाजान गरेका पनि होइनन् । तैपनि उनी सोच्न बाध्य भए, ' यसरी मैले कहिलेसम्म वेवास्ता गर्ने ?! उनीहरुको यहीं पारा हुने हो भने म त बरबादै हुन्छु ! होइन, तिनलाई पाठ त सिकाउनै पर्छ ।'

त्यसरी उनले तिनलाई पाठ सिकाउने अठोट गरे । एकपछि अर्को गर्दै आफ्ना वस्तु छाडा छोड्ने गाउँलेलाई जरिमाना पनि गराउँदै गए । उता छिमेकीहरु भित्रभित्रै रिसले आगो हुन थाले । अब के थियो, जानाजान उनको खेतमा आफ्ना वस्तुभाउ छोडी दिन थाले । एउटा किसानले त मध्य रातमा उनको खेतमा घुसेर छपाछप पाँच ओटा हुर्किदै गरेका सिसौका रुख ढाल्यो । एक दिन खेतमा निरीक्षण गर्दै गर्दा गजाधर डंग्रङ ढलेका रुख पो देख्न पुग्छन्, ठुट्टै । उनी रिसले रातोपिरो भए ।

गजाधरले मनमनै गमे, ' दुष्टले यहाँ अलिपर अर्को काटेको भए पनि त्यति धेरै नोक्सान हुँदैनथ्यो । भैगो, त्यसलाई पुरस्कार नै मानिन्थ्यो होला । हेर्नु त चण्डालले त ड्याम कि ड्याम काटेको ! जसले यो कर्तुत गरेको हो, मैले त्यसको सुईको मात्रै थाहा पाएँ भने त्यसका बाउको विहे देखाइदिन्छु ।'

यो कसले गरेको होला ? उनको त मथिंगल नै खायो । अन्ततः उनी के निर्णयमा पुगे भने, ' पक्कै पनि यो बिर्खेको काम हुनु पर्दछ । अरु कसको साहस हुने ?!' यसैले उनी सरासर बिर्खेको घर गए , केही प्रमाण फेलापर्छ कि भनेर । तर त्यस्तो कुनै लक्षण त्यहाँ देखिएन, उनी खिस्रिक्क परे । तैपनि भित्र ब्रम्हले भन्थ्यो कि यो सब यसैको करामत हो । उनले प्रशासनमा उजुरी दर्ता गरे । बिर्खेलाई प्रशासनमा हाजिर गराइयो । मुद्दा चलाइयो । जिल्ला प्रशासन, अञ्चल प्रशासन हुँदै गयो । अन्ततः बिर्खेलाई प्रमाण नपुगेको भनेर सफाइ दिइयो । यसले गजाधरको रिसको पारो झन् बढेर गयो । उनले आफ्नो रिस प्रशासकमाथि पोख्न थाले । 'तिमिहरुले चोरलाई चौतारो बनाइदियौ । तिमीहरु इमान्दार भइदिएको भए यसरी चोरलाई सफाइ दिने थिएनौ ।'


अन्ततः बिर्खेलाई प्रमाण नपुगेको भनेर सफाइ दिइयो । यसले गजाधरको रिसको पारो झन् बढेर गयो । उनले आफ्नो रिस प्रशासकमाथि पोख्न थाले । 'तिमिहरुले चोरलाई चौतारो बनाइदियौ । तिमीहरु इमान्दार भइदिएको भए यसरी चोरलाई सफाइ दिने थिएनौ ।'


गजाधरले प्रशासकसंग त झगडा गरे नै, गाउँमा आएर छिमेकीसंग पनि झगडा गर्न भ्याए । प्रतिक्रियामा गाउँलेले उनको घर जलाउने धम्की पनि दिए । यसरी अरुको भन्दा धेरै जमिनको मालिक भएर पनि गजाधरमाथि समस्या झन् थपियो ।

यहीं नै बेला के अफवाह फैलियो भने वरिपरिका थुप्रै छिमेकी बसाइँ सर्दैछन् ।

'तिनिहरु सर्ने भए भन्दैमा मैले किन सर्नु नि ?!' गजाधरले अठोट गरे । ' केहीले छोडे भने के बिग्रियो त?! हामीलाई नै खुदो पल्टिन्छ । तिनको जमिन मै खरिद गर्छु । मेरो मौजा झन् ठूलो हुन्छ । अनि भने मलाई क्या हाई सन्चो हुन्छ ! अहिले त मलाई यसै पनि साँघुरो छ ।'

एक दिनको कुरो हो, गजाधर आफ्नै घरमा बसिरहेका थिए । त्यहीं गाउँ हुँदै एउटा किसान साँझपाख उनको घरमा टुप्लुक्क आइपुग्यो । उसले भातभान्सा त्यही गर्‍यो। त्यो रात त्यहीं बस्यो । तिनले खुब भलाकुसारी गरे । गजाधरले उसलाई सोधे, 'तिमी कुन ठाउँबाट आएका हौ ?' पाहुनाले भन्यो, 'म कोशी किनारबाट आएको हुँ । म त्यहीं काम गर्छु ।' एकपछि अर्को गर्दै उनीहरु खुब गफिए । पाहुनाले यो पनि बतायो कि अहिले त्यस क्षेत्रमा मानिसहरुको बसोबासको घुइँचो लाग्न थालेको छ । उनीहरु त्यहाँ कम्युन बनाएर बसेका छन् । त्यहाँ हरेक व्यक्तिलाई सित्तैमा पच्चीस एकड जमिन मिलेको छ । जमिन यति मलिलो छ कि त्यहाँ हलक्क सप्रेको गहुँ हुन्छ, घोडा जत्तिकै अग्लो । ती यति मोटा हुन्छन् कि गोडा पाचेक काट्दा मुठो भइहाल्छ । एउटा किसान त त्यहाँ रित्तै हात आएको थियो, तर ऊसंग अहिले तिन हल गोरु र दुइटा लैना गाई छन् ।


यो सब सुनेर गजाधरको भित्रभित्रै आशक्तिको र्‍याल काढिन थाल्यो । उनी सोचमग्न भए, 'म यस निस्सासिदो ठाउँमा के खान बसेको हुँला ?! हेर त मानिसहरु बाहिर कति ठाँटले बसेका छन् ?! म पनि अब आफ्नो भएभरको जायजेथा बेचेर नयाँ कारोबार सुरु गर्छु ।


यो सब सुनेर गजाधरको भित्रभित्रै आशक्तिको र्‍याल काढिन थाल्यो । उनी सोचमग्न भए, 'म यस निस्सासिदो ठाउँमा के खान बसेको हुँला ?! हेर त मानिसहरु बाहिर कति ठाँटले बसेका छन् ?! म पनि अब आफ्नो भएभरको जायजेथा बेचेर नयाँ कारोबार सुरु गर्छु । यस निस्सासिदो ठाउँमा झमेला बाहेक के नै छ र ?! तर त्यहाँ पनि के कसो हुने हो ?! म आफैं गएर हेरविचार नगरी त हुन्न ।'

गृष्मयाममा उनी परिवारसहित झिटीगुन्टा बोकेर त्यतातिर लागे । यात्रा लामो थियो । कोशी गर्तिरै गर्तिर जानु थियो । कहीं नाउ तर्नु पर्ने । थोरै हिँड्नु परेको हो र ?! कोशौं कोश । अन्ततः गन्तव्यमा आई नै पुगे । नभन्दै ठाउँ त त्यै पाहुनाले भने जस्तै रहेछ । किसानहरुलाई छेलोखेलो जमिन । हरेक व्यक्तिलाई गरिखान भनेर पञ्चायतले पच्चीस एकड जमिन दिएको रहेछ । पैसा हुनेले प्रति एकड पचास रुपैयाँका दरले छानी छानी थप जमिन किन्न पाउने पनि ।

आफूले चाहे जति सबै जानकारी बटुलेर गजाधर घर फर्किए । शरद ऋतु आउन लागेको थियो । अब उनी आफ्नो भएभरको जायजेथा बेच्न थाले । आफूले किनेको भन्दा अलि बढी मूल्यमै आफ्नो घर, जग्गा बेचे । वस्तुभाउ पनि बेचे । आफ्नो पञ्चायतबाट बिदा पनि लिए । अब उनले खालि बसन्त ऋतुसम्म मात्रै पर्खनु थियो । ऋतु सुरु हुनासाथै बसाइ सरे पनि ।

  • घ –

नयाँ बस्तीमा आउनसाथै गजाधरले गाउँको पञ्चायतमा प्रवेशको निम्ति दरखास्त हाले । यो गाउँ आफै भने विशाल गाउँ थियो । उनले त्यहाँका गन्यमान्यहरुलाई विनित भावले अभिवादन गरे र आवश्यक कागजात हात पनि पारे ।

उनी र उनका छोराहरुको भोगचलनका निम्ति भनेर उनलाई पाँच कित्ता सामुदायिक जमिन उपलब्ध गराइयो । त्यो सबै मिलाएर एक सय पच्चीस एकड जमिन हुन्थ्यो । तर त्यो एकै ठाउँमा भने होइन, अलग अलग ठाउँको मिलाएर । यसका अतिरिक्त उनलाई सामुदायिक चरन क्षेत्र पनि उपयोग गर्न सक्ने सुविधा दिइयो । गजाधराले आफ्नो सुविधाको घर पनि खडा गरे । आवश्यक वस्तुभाउ पनि खरिद गरे । पहिलेको भन्दा अहिलेको सामुदायिक जमिन तीन गुणा ठूलो थियो । झन् मलिलो पनि । दश गुणा बढी उब्जाउ हुने । उनीसंग अब छेलोखेलो जमिन थियो, बाली लाउन र चरन दुवैको निम्ति । जत्रो गोठ पाले पनि हुने भयो ।


सुरु सुरुमामा त गजाधरलाई यहाँ बस्ने र घर टहरा बनाउन नै समय खर्चिनु पर्यो । उनलाई यो सब मजै लागेको थियो । उनी भित्र भित्रै गजक्क फुल्थे पनि । जसै समय बित्दै गयो उनी सोच्न थाले, 'होइन भाइ, जमिन त अझै अपुरो भो !'


सुरु सुरुमामा त गजाधरलाई यहाँ बस्ने र घर टहरा बनाउन नै समय खर्चिनु पर्यो । उनलाई यो सब मजै लागेको थियो । उनी भित्र भित्रै गजक्क फुल्थे पनि । जसै समय बित्दै गयो उनी सोच्न थाले, 'होइन भाइ, जमिन त अझै अपुरो भो !' पहिलो वर्ष त उनले कम्युनले उपलब्ध गराएको सामुदायिक जमिनमा घुँडा धसेर काम गरे । राम्रै फलिफाप भयो पनि । उनलाई गहुँ पनि रोपूँ रोपूँ लागेको हो, तर जमिन अपुरो थियो । भएको जमिनमा अरु नै बाली लगाइसकिएको थियो । फेरि त्यस भेगमा गहुँ लगाउन पहिला अरु कुनै बाली न लगाएको नयाँ पर्ति जमिन चाहिन्थ्यो । यहाँको चलन चाहिँ नयाँ पर्ति जमिनमा एक दुई बाली गहुँ लागाउने अनि केही वर्षको निम्ति बाँझै छोडेर राख्ने र फेरि गहुँ लगाउने थियो । यहाँ गहुँ बाली लगाउन चाहने त थुप्रै थिए, तर के गर्नु त्यसको निम्ति मनग्गे जमिन नै थिएन । यसैले गर्दा स्थानीय बासिन्दा बीच यदाकदा खटपट भई रहन्थ्यो । जो पुगिसरिका थिए उनीहरु गहुँ लगाउने जमिनको ध्याउन्नमा हुन्थे र जो गरिव निमुखा हुन्थे ती भने जसोतसो बाली लागाएर आफूलाई गुजारा गर्न पुगोस् र तिरो तिर्न पनि पुगोस् भन्ने चाहन्थे । गजाधर भने बढी नै गहुँ फलाउन चाहन्थे । त्यसैले उनले स्थानीय महाजनसंग एक वर्षको निम्ति भनेर जमिन कुतमा लिए । त्यो वर्ष राम्रो बाली उठाए पनि । तर त्यो जमिन बस्तीबाट अलिक टाढा थियो । बाली उठाएर लिएर आउन नै दश माइलभन्दा बढी पार गर्नु पर्थ्यो । केही दिन पछि गजाधरलाई थाहा भयो कि कुनै कुनै महाजन त उति टाढा डेराडन्डै जमाएर बाली लगाउने र भरपुर फाइदा लुटिरहेका छन् । अब भने गजाधर सोच्न थाले :

'कास, म केही रैकर जमिन खरिद गर्न सक्दो हुँ र त्यसमा घर टहरा पनि बनाउन सक्दो हुँ त मेरो क्या भाग्य चम्किन्थ्यो ?!' त्यस्तो जमिन खरिद गर्ने विचारले गजाधरलाई घरिघरि सताइरहन्थ्यो । तीन वर्षसम्म त कुतमा जमिन लिएर उनले गहुँ बाली लगाई नै रहे । मौसमले पनि राम्रो साथ दियो र बाली पनि राम्रो भित्र्याए । अब भने उनी अरुलाई कर्जा दिने हैसियतमा पनि पुगे । उनलाई छेलोखेलो थियो । तर अब भने अर्काको जमिन कमाउँदा कमाउँदा र त्यसको निम्ति दौडधुप गर्दा गर्दा उनी हैरान भएका थिए । जहाँको जमिन उर्वर र मलिलो हुन्थ्यो त्यस्तो जमिनको निम्ति सबैको हारालुछ त चल्थ्यो नै । थोरै मात्र तलबितल हुँदा जमिन अर्कैले उडाई सक्थ्यो । सन्चोले बस्न कहाँ पाइन्थ्यो र ?! तेश्रो वर्ष त उनी र एक जना दलाल मिलेर केही किसानहरुबाट एउटा चरन क्षेत्र कुतमा लिएर खनजोत गर्न थाले । बीचमा यस विषयलाई लिएर विवाद भयो र मुद्दा अदालतमा पुग्यो । अदालतमा झन् ग्याजेमाजे भयो । यसले गर्दा यो बीचमा भएको सारा श्रम बेक्कार भयो । 'कदाचित, यो मेरो आफ्नै जमिन हुन्थ्यो त !' गजाधर मनमनै सोच्थे, 'यो सारा झन्झट केही पनि हुनेवाला थिएन ।'


उनले एउटा किसानसँग एक हजार तीन सय एकड जमिन भएको सुइँको पाए । तर त्यो किसान आर्थिक कठिनाइमा भएको हुँदा ऊ सस्तोमा भए पनि बेच्न चाहिरहेको रहेछ । गजाधर उसकहाँ गएर मोलमोलाइ गरे । आफू कठिनाइमा भएको हुँदा सस्तैमा दिन उ राजी पनि भयो ।


त्यहीं दिनदेखि उनी आफै खरिद गर्ने गरी जमिनको खोजीमा लागे । यस क्रममा उनले एउटा किसानसँग एक हजार तीन सय एकड जमिन भएको सुइँको पाए । तर त्यो किसान आर्थिक कठिनाइमा भएको हुँदा ऊ सस्तोमा भए पनि बेच्न चाहिरहेको रहेछ । गजाधर उसकहाँ गएर मोलमोलाइ गरे । आफू कठिनाइमा भएको हुँदा सस्तैमा दिन उ राजी पनि भयो । जमिनको मोल १५००० रुपैयाँमा तय पनि भयो । शर्त अनुसार केही तत्काल बैनाको रुपमा नगद दिनुपर्ने, बाँकी भाका राखेर दिनुपर्नेमा मन्जुरी पनि भयो ।

यतिकैमा एक दिन एउटा बटुवा आफ्नो घोडालाई दाना ख्वाउन भनेर गजाधरको आँगनमा टुप्लुक्क आइपुग्यो । कुरामा कुरा चल्दै गर्दा बटुवाले भन्यो कि ऊ त्यहाँभन्दा अलिक पर कोशी किनारबाट सिधै यहाँ आइपुगेको हो । उसले त्यहाँ मात्र दश हजार रुपैयाँमा तेह्र हजार एकड जमिन खरिद गरेको छ । जमिन पनि उम्दा छ ।


बटुवाले फ़ुई लायो, 'हाकिमसँग मेलजोल गर्न मात्रै जान्नु पर्दछ, मालामाल भइन्छ । आफ्नो काम पट्याउन मैले त हाकिमलाई एक सय रुपैयाँ, एकजोर दौरा सुरुवाल, एउटा गलैंचा र एक कार्टुन चिया नै टक्र्याएँ । त्यति मात्रै कहाँ र, तलका कर्मचारीलाई पनि एक एक बोतल रक्सी दिएँ । त्यसो गरेर मैले कौडीको मोलमा त्यो जमिन खरिद गरें ।'


गजाधरको उत्सुकता झन् बढेर गयो । उनी कुरा धुत्न थाले । बटुवाले फ़ुई लायो, 'हाकिमसँग मेलजोल गर्न मात्रै जान्नु पर्दछ, मालामाल भइन्छ । आफ्नो काम पट्याउन मैले त हाकिमलाई एक सय रुपैयाँ, एकजोर दौरा सुरुवाल, एउटा गलैंचा र एक कार्टुन चिया नै टक्र्याएँ । त्यति मात्रै कहाँ र, तलका कर्मचारीलाई पनि एक एक बोतल रक्सी दिएँ । त्यसो गरेर मैले कौडीको मोलमा त्यो जमिन खरिद गरें ।' यति भनेर उसले गजाधरको सामुन्ने लालपुर्जा देखाउदै भन्यो, 'जमिन कोशी नदीको बगलमै छ । फेरि सारा कित्ता एकै ठाउँका छन् । अवल र उर्वर ।' गजाधरले धित मरुन्जेल जिज्ञाशा राखे । उसै गरी बटुवाले एक एक गर्दै जवाफ दिए । ' जमिन त कति विशाल छ भनेर भनिसाध्यै छैन । दिनभरि हिँड्दा पनि एउटा कुनाबाट अर्को कुना छिचोलिदैन । त्यहाँका बासिन्दाहरु गौप्राणी छन् । जमिनको मुल्य यति सस्तो छ कि तृण बराबर ।’

गजाधरको होश खुल्यो, ' अँ, जमिन त यो पो ठीक छ त । यता दश हजार रुपैयाँमा जम्माजम्मी तेह्र सय एकड जमिन । त्यै पैसा उता खर्च गर्ने हो भने दश गुणा बढी खरिद गर्न सकिन्छ ।'

– ङ –

गजाधरले बटुवालाई सोधे, 'त्यो ठाउँ पुग्ने कसरी नि ?' बनियाँले बेलिबिस्तार लगायो । अनि भने उनले पनि त्यो ठाउँ जाने तरखर सुरु गरिहाले । घरको कामकाज श्रीमतीलाई जिम्मा लगाएर एउटा मानिसको साथ लागेर यात्रामा निस्के पनि । जाँदै गर्दा बजारमा तिनले उपहारको निम्ति भनेर चियाका केही प्याकेट, रक्सिका एकाध बोतल र अरु केही खुद्रा मसिना चीजहरु किने । हिड्दा हिड्दा तिनीहरु तीन सय माइल भन्दा बढी पार गरी सकेका थिए । सातौँ दिन तिनीहरु गन्तव्यमा आई पुगे । ठाउँ त बनियाले भने जस्तै दुरुस्त । कोशीपारी, समतल जमिन, अनन्तसम्म । थोरै माथि जमिनमा चौधरीहरु झुप्राझुप्री हालेर बसेका । ती त खेतिपाती पनि न गर्दा रछन् । तिनको खान्कीको बान्की नै अर्को । घाँसे मैदान । पर्याप्त वस्तुभाउ । दुध र दहीको छेलोखेलो । धार्नीका धार्नी घिऊ । चिज र छुर्पी पनि बनाउँदा रहेछन् । यी सब काम महिलाहरुको भागमा पर्दोरहेछ । लोग्नेमान्छेहरु बडो शौखिन ! कति खानसकेको खसीको मासु ?! भरखरै दुध खाएका छन्, एकैछिनमा चिया । हुक्का ट्वारट्वार पारेका छन् । बडो मोजमस्तीका । वर्षैभरि सिन्को नभाँच्ने । तिनलाई कालो अक्षर भैंसी बराबर । मातृभाषा बाहेक अन्य भाषीहरुसंग बोल्नु पर्यो भने फसाद ! किनभने तिनलाई सम्पर्क भाषै थाहा छैन । तैपनि बहुत शिष्ट र शालीन ।


घरको कामकाज श्रीमतीलाई जिम्मा लगाएर एउटा मानिसको साथ लागेर यात्रामा निस्के पनि । जाँदै गर्दा बजारमा तिनले उपहारको निम्ति भनेर चियाका केही प्याकेट, रक्सिका एकाध बोतल र अरु केही खुद्रा मसिना चीजहरु किने ।


गजाधरलाई देख्नासाथै गाउँलेहरु आआफ्नो झुपडीबाट बाहिर निस्के र उनलाई घेरे । नभन्दै एउटा दोभाषे पनि पाईयो । उपस्थित गाउँलेहरुलाई गजाधरले आफू जमिनको खोजीमा आएको बताए । गाउँलेहरु दिलखुश देखिन्थे । तिनले गजाधरलाई उनीहरुसंग भएको सुन्दरतम झुपडीमा लिएर गए । गलैंचा माथि चिटिक्क चकटी थियो, त्यहीं उनलाई बस्न भनेर भने । उनीहरु चाहिँ उनकै वरिपरि घेरिएर बसे । चिया र किसमिस पनि टक्र्याए । खसी काटेर मासु भात पनि ख्वाए । गजाधराले पनि बग्गीबाट चिया लगायतका उपहार झिके सबैलाई बाँडे । गाउँलेहरु फ़ुरुङ्ग देखिन्थे । तिनले गर्नु भलाकुसारी गरे । दोभाषेलाई अनुवाद गर्न भनियो ।

तिनको भनाइ छ कि ' दोभाषे भन्दै गयो, ' हामीले तपाईंलाई खुव मन पराएका छौं । हामीले पाहुनालाई गच्छे अनुसार सत्कार गर्नु पर्दछ र उपहारको बदला उपहार दिनु पर्दछ, यो हाम्रो संस्कार हो । तपाईंले हामीलाई मनग्गे उपहार दिनु भएको छ । अव तपाईं नै भनि दिनो'स्, हामीसंग भएको कुन चीज तपाईंलाई मन पर्छ ?

' मलाई औधी मन पर्ने तपाईंहरुसंग भएको चीज भनेको तपाईंहरुको जमिन हो ।' उनी भन्दै गए, ' हामीकहाँ जमिन ज्यादै सीमित छ । त्यो उर्वर पनि छैन । तर तपाईंहरुसंग भने फालाफाल रहेछ । फेरि उस्तै उर्वर पनि । यस्तो जमिन त मैले कहीँ कतै देखेको पनि छैन ।'

दोभाषेले अनुवादको काम सिध्यायो । गाउँलेले आपसमा खस्याकखुसुक गरे । उनीहरुले के कुरा गरे त्यो त गजाधरले बुझेनन् । तर तिनीहरु भित्र भित्रै मजा मानिरहेको उनले लख काटे । किनभने तिनीहरु गलल्ल हाँसिरहेका थिए । एकैछिनमा तिनीहरु शान्त भएर गजाधरलाई ट्वाल्ल के हेर्दै थिए, दोभाषेले अर्थ्यायो, 'यिनीहरु मलाई यो भनिदेऊ भन्दै छन् कि तपाईंले दिएको उपहारको बदलामा यिनीहरु तपाईंलाई खुशीसाथ तपाईंले चाहे जति जमिन दिन मन्जुर छन् । तपाईं यति जति जमिन चाहियो भनेर मात्रै देखाई दिनो'स त्यो जमिन तपाईंको भयो ।' गाउँलेले एकै छिन खासखुस गरे र हेर्दा हेर्दै झगडा जस्तो हुन थाल्यो । गजाधरले सोधे, 'केको गलाफत्ती हो यो ?' दोभाषेले जबाफ दियो, 'यी मध्ये केहीको विचार छ कि जमिनको बारेमा मुखियाको राय लिनु जरुरी हुन्छ । अन्यको विचार चाहिँ न लिंदा पनि हुन्छ भन्ने छ ।'

– च –

गाउँलेहरु गलफद्दी गर्दै थिए । यत्तिकैमा ठुलो भुत्ले टोपी लगाएको मानिस टुप्लुक्क आइपुग्यो । सबै जर्याकजुरुक्क उठे र उसलाई आदरपूर्वक अभिवादन गरे । दोभाषेले गजाधरलाई खुसुक्क भन्यो, ' वहाँ नै हो चौधरीका मुखिया ।' जुरुक्क उठेर गएर गजाधरले उम्दा कमेज सुरुवाल ल्याए अनि मुखियालाई उपहार दिए । उपहार ग्रहण गरेर उनी पनि आफ्नो आसनमा बसे । गाउँलेले उनीसंग खस्याक खुसुक गरे । उनीहरुको कुरा सुनेर सबैलाई एकछिन चुप लागेर बस्न अनुरोध गर्दै मुखियाले गजाधरलाई सम्वोधन गर्दै भने, ' ठीकै छ नि त ! तपाईं आफै रोज्नोस् र चाहे जति जमिन लिन सक्नु हुन्छ । हामीसंग मनग्गे जमिन छ ।'


गाउँलेहरु गलफद्दी गर्दै थिए । यत्तिकैमा ठुलो भुत्ले टोपी लगाएको मानिस टुप्लुक्क आइपुग्यो । सबै जर्याकजुरुक्क उठे र उसलाई आदरपूर्वक अभिवादन गरे । दोभाषेले गजाधरलाई खुसुक्क भन्यो, ' वहाँ नै हो चौधरीका मुखिया ।' जुरुक्क उठेर गएर गजाधरले उम्दा कमेज सुरुवाल ल्याए अनि मुखियालाई उपहार दिए ।


'चाहे जति त म कसरी लिन सकुँला र ?!' गजाधर मनमनै सोच्न थाले । ' तर मैले जमिन लिंदा भने पक्का गरे लिनु पर्दछ । अन्यथा पछि यिनले हामीले फिर्ता लियौं भने मेरो त बिल्लीबाठ हुन्छ ।' अनि भने बाठो गजाधरले भने, 'तपाईंहरुको उदार दिल देखेर म त नतमस्तक छु । तपाईंहरुसंग यत्रो धेरै जमिन छ । मलाई थोरै मात्र चाहिएको हो । तर मेरो भागको जमिनको बारेमा म ढुक्क त हुनु पर्यो नि ! जग्गा नापेर, कित्ताकाट गरेर मलाई दिंदा हुँदैन र ?! जीवन र मरणको कुरा त ईश्वरको मर्जीको कुरा भो । तपाईंहरु त मप्रति बडो दिलदार हुनुहुन्छ । तर पछि कथं तपाईंहरुका सन्तानले फिर्ता लिन चाहे भने मेरो र मेरा सन्तानको त कन्तबिजोग भई हाल्छ नि !'

'तपाईंको कुरा मनासिव छ ।' मुखियाले भने । 'तपाईंले चाहे जस्तै बन्दोबस्त मिलाउँला ।'

'मैले सुनेसम्म यहाँ कुनै एक जना बिचौलिया आ'का थिए रे ' गजाधर कुरो कोट्याउन थाले । 'उसलाई त तपाईंहरुले अलिक थोरै जमिन दिएर पनि तमसुक गर्नु भो अरे । मिल्छ भने मलाई पनि त्यसरी नै तमसुक गरेर दिनु भए हुन्छ ।'

मुखियाले कुरो बुझी हाले ।

'त्यो त के ठुलो कुरा भो र ?!' उनले जवाफ दिए । 'हामी कहाँ लेखनदास छँदैछ, उसलाई लेखापढी गर्न लगा'र शहरमा जाउँला र माल अड्डामा पास गरौंला ।'

'मुल्य चाहिँ कति हो कुन्नि ?!' गजाधरले घुमाउरो पाराले सोधे ।

'हाम्रो मुल्य त उहीं त हो नि : दिनको दश हजार ।'

गजाधर अक्क न बक्क भए ।

'एक दिनको ?! कति जमिनको ? कति एकड जमिनको मुल्य हो त्यो ?'

'हामीलाई त्यस्तो नापको हिसाब किताब त आउंदैन । हामी त दिनको हिसाब मात्रै जान्दछौं । एक दिनभरिमा हिँडेर तपाईं जति जमिनमा चक्कर लगाउनु हुन्छ, त्यसको हामी एक दिनको दश हजार लिन्छौं ।'

गजाधर तिन चित परे । 'एक दिनमा त थुप्रै पो जमिन चक्कर लगाइन्छ त !'

मुखिया गलल्ल हासे ।

'जति चक्कर लगाउन सक्नुहुन्छ, लगाउनु होस् । त्यो जमिन तपाईंको भो ।' उनले भने । 'तर त्यसमा एउटा शर्त छ । त्यो के भने तपाईंले जहाँबाट चक्कर लगाउन प्रारम्भ गर्नु हुन्छ त्यही दिन त्यहीं ठाउँमा आइपुग्नु भएन भने तपाईंको पैसा चाहिँ भुस हुन्छ नि ।'

'म चक्कर त लगाउँला तर त्यसको चिनो चाहिँ कसरी थाहा पाउने नि ?'


' त्यो पनि कुनै ठुलो कुरा हो र ?! तपाईं जहाँबाट सुरु गर्ने भन्नुहुन्छ हामी त्यहाँ जाउँला र त्यहीं तपाईंलाई रुघौंला । तपाईंले भने त्यस ठाउँबाट चक्कर लाउन सुरु गर्नु पर्दछ । तपाईंलाई एउटा खन्ती दिइने छ । हिँड्दै गर्दा तपाईंले जहाँ जहाँ मन लाग्छ त्यहाँ त्यहाँ चिनो लाउनु पर्दछ ।


' त्यो पनि कुनै ठुलो कुरा हो र ?! तपाईं जहाँबाट सुरु गर्ने भन्नुहुन्छ हामी त्यहाँ जाउँला र त्यहीं तपाईंलाई रुघौंला । तपाईंले भने त्यस ठाउँबाट चक्कर लाउन सुरु गर्नु पर्दछ । तपाईंलाई एउटा खन्ती दिइने छ । हिँड्दै गर्दा तपाईंले जहाँ जहाँ मन लाग्छ त्यहाँ त्यहाँ चिनो लाउनु पर्दछ । प्रत्येक मोडमा खन्तिले खोस्रेर सेउलाको थुप्रो लगाउनु, पछि हामी गएर त्यसलाई पक्का गरौंला । तपाईंले जति सक्नु हुन्छ त्यत्रो घेरा बनाउनु होला । तर घाम अस्ताउनुभन्दा अघि नै तपाईंले जहाँबाट सुरु गरेको हो त्यहाँ भने आइसक्नु पर्दछ । त्यसरी तपाईंले घेरा हालेको जति जमिन तपाईंको भो ।'

खुशीले गजाधरका खुट्टा भुईंमा थिएनन् । अर्को दिन विहान यो काम गर्ने भनेर टुङ्गो गरियो । एकछिन एसै भलाकुसारी गरेर बडो मेजमानका साथ खानपिन भयो । हुँदा हुँदा रात निक्कै छिप्पिइसकेको थियो । सुत्न भनेर गजाधरलाई गद्दादार मुलायम बिछ्यौना बन्दोबस्त गराइयो । अनि भने गाउँलेहरु भोलि पल्ट झिसमिसेमा निर्धारित ठाउँमा बेला हुने भन्दै आ-आफ्नो दर्गादिशा लागे ।

– छ –

गजाधर गद्दादार मुलायम बिछ्यौनामा सुत्न त सुते तर उनलाई पटक्कै निद्रा लागेन ।

यसो उसो गर्यो दिमागमा जमिनकै तराना आई रहने । 'आम्मम... ! मैले कति धेरै जमिनमा चिनो लगाको नि !' उनी सोच्न पुग्थे । 'दिनको पैतीस माइल त म एसै पनि हिंडेको छु । त्यसमाथि अहिले त झन् लामा दिन छन् । पैतीस माइलको परिधिले ढाक्ने जमिन कत्रो होला ?! पछि गएर अब्बल अब्बल चाहिँ छानी छानी आफू राखौंला । बाँकी रुखो पाखो चाहिँ बेचिदिउँला, के भो त ?! होइन, केही चाहिँ गरिबगुरुवालाई दिउँला । म दुई हल गोरु किनौंला, दुइटा हली पनि खोजौंला । एक सय पचास एकड जति जमिनमा बाली लाउँला, बाँकीलाई चरन क्षेत्र बना'र वस्तुभाऊ चराउँला ।'


गजाधर रातभर जाग्राम रहे । विहानपख मात्रै यसो झकाए । झपक्क निदा’का मात्रै के थिए उनले एउटा सपना देखे । हुन त उनी उहीं झुपडीमै सुतेका थिए । उनले बाहिरपट्टि कसैले खासखुस गर्दै गरेको सुने । दैलो खोलेर हेर्छन् त मुखिया स्वयम् ढोकामा खडा छन् र पेट मिचिमिची हाँस्दै छन् । नजिकै गएर उनले सोध्न चाहे, ' किन हो यत्रो हाँसो ?’ तर सोध्न नपाउदै झट्ट देख्छन् त त्यहाँ त मुखिया नभएर अलिक अघि आफ्नै घरमा बास बस्न पुगेको यहाँको जमिनको बारेमा बेलीबिस्तार लगाउने बिचौलिया पो छ ।


गजाधर रातभर जाग्राम रहे । विहानपख मात्रै यसो झकाए । झपक्क निदा’का मात्रै के थिए उनले एउटा सपना देखे । हुन त उनी उहीं झुपडीमै सुतेका थिए । उनले बाहिरपट्टि कसैले खासखुस गर्दै गरेको सुने । दैलो खोलेर हेर्छन् त मुखिया स्वयम् ढोकामा खडा छन् र पेट मिचिमिची हाँस्दै छन् । नजिकै गएर उनले सोध्न चाहे, ' किन हो यत्रो हाँसो ?’ तर सोध्न नपाउदै झट्ट देख्छन् त त्यहाँ त मुखिया नभएर अलिक अघि आफ्नै घरमा बास बस्न पुगेको यहाँको जमिनको बारेमा बेलीबिस्तार लगाउने बिचौलिया पो छ । अचम्म मानेर गजाधरले उसलाई सोध्न चाहे, 'तिमी पो ! कहिले आयौ ?!' तर आँखा झिमिक्क गरेर खोल्न पाउँदा नपाउदै यो मान्छे त्यो बिचौलिया नभएर अर्कै पो रहेछ, उ त धेरैअघि आफ्नो पुरानो घरमा कोशीबाट आएको किसान पो छ । अचम्म मान्दै गजाधर आँखा मिचेर खोल्छन् । देख्छन् त उ त त्यो किसान पनि होइन रहेछ । आफ्नो अघिल्तिर साक्षात दैत्य पो उपस्थित छ, सिङ्ग र खुट्टामा खुर भएको । उ त त्यहाँ गजधम्म बसेर ठट्टामा हाँसो गर्दैछ । उसको अघिल्तिर एक निमुखा मानिस छ, खाली खुट्टा, जीउमा बस् एक जीर्ण भोटो छ । गजाधर सपना देख्दै जान्छन्, त्यो निमुखा अरु कोही नभएर आफू स्वयम् हो । उनको होशहवाश नै उड्यो । झसंग हुँदै जाग्न पुग्छन् ।

' मान्छेले कस्ता कस्ता सपना देख्न पुग्छन् ?!' गजाधर झट्ट सोच्न पुगे । वर्तिर पर्तिर पल्याक पुलुक्क गर्छन् र देख्छन् त प्रभातको किरण ढोकाबाट भित्र छिरेको छ ।

'अव त तिनलाई पनि जगाउनु पर्दछ ।' उनी सोच्न पुगे । 'अव ढिलो गर्नु उचित हुँदैन ।'

उनी जर्याक जुरुक उठे र पटुका कसे । बग्गीमा सुतेको आफ्नो कारिन्दालाई उठाए र बग्गी तैयार गर्न अह्राए । आफू भने चौधरीहरूलाई बोलाउन गए ।

चौधरीहरु हस्याङ्ग फस्यांग गर्दै उठे र मुखियाकहाँ भेला भए । तिनले चियापान गरे र गजाधरलाई पनि चिया अघि सारे । तर गजधरलाई भने जमिन नाप्न भित्र भित्रै हतारो भइरहेको थियो । 'जाने हो भने त गई हालौं न ! किन ढिलो गर्ने नि ?!' उनले मुख फोरिहाले ।

  • ज –

चौधरीहरु तम्तयार भइहाले र जमिन नाप्न हिँडी पनि हाले । गजाधर कारिन्दालाई लिएर आफ्नै सानो बग्गीमा चढे । अरु कोही घोडामा, कोही गाडामा । उनले खन्ती पनि बोकी हाले । उनीहरु मैदानमा के पुगेका थिए, प्रभातको लालिमा जमिनमा ओर्लिन थालिसकेको थियो । तिनीहरु एउटा डाँडो जस्तो अलिक उँचो ठाउँमा पुगे र सबै आ-आफ्ना वाहनबाट उत्रिए । मुखियाले गजाधर कहाँ आएर तल विस्तृत मैदानलाई हातले इशारा गर्दै भने, ‘लु हेर्नोस्, यो तलको जमिन ! तपाईंको आँखाले भ्याए सम्मको सबै जमिन हाम्रै हो । चाहे जति तपाईं लान सक्नु हुन्छ ।’

गजाधरका आँखा धपक्क बले । जमिन सब अब्बल छ, हत्केला जस्तै समथल छ । माटो मलिलो न मलिलो छ । यत्रतत्र हलक्क उम्रेका घाँसपात छन् । मुखियाले लगाएको भुत्ले टोपी फुकाले र यसो छेउमा राख्दै भने, 'लु यो भो चिनो, यहाँबाट सुरु गरेर तपाईं यहीं आइपुग्नु पर्दछ । जति जमिन हिँडेर तपाईं भ्याउनु हुन्छ त्यो सब तपाईंको भो' ।'


गजाधरका आँखा धपक्क बले । जमिन सब अब्बल छ, हत्केला जस्तै समथल छ । माटो मलिलो न मलिलो छ । यत्रतत्र हलक्क उम्रेका घाँसपात छन् । मुखियाले लगाएको भुत्ले टोपी फुकाले र यसो छेउमा राख्दै भने, 'लु यो भो चिनो, यहाँबाट सुरु गरेर तपाईं यहीं आइपुग्नु पर्दछ । जति जमिन हिँडेर तपाईं भ्याउनु हुन्छ त्यो सब तपाईंको भो' ।'


गजाधरले गोजीको पैसा निकालेर टोपीमा राखे । दौराको बाहुला र सुरुवाल माथि सुर्के । पटुका कसे । खोपिलामा रोटी राखे । कम्मरमा तुम्लेट झुण्ड्याए । जुत्ताका तुना कसे । कारिन्दाबाट खन्ती लिए । प्रस्थान गर्ने सुरसार कसे । 'कुन बाटो जाँदा राम्रो होला ?!' एकसरो विचार गरे । जता हेर्यो उतै लोभ लाग्ने ! 'जे पर्ला पर्ला, घाम झुल्केतिरै जानु पर्ला ।' उनले निश्चय गरे ।

उनले घाम झुल्के तिर नजर लगाए । आङ ताने । धर्तीमा घामको झुल्को कहिले पर्ला भन्दै व्यग्रतापूर्व प्रतीक्षा गर्न थाले ।

'समय खेर फाल्नु हुन्न ।' उनी गम्न थाले, 'प्रभातको चिसो मै हिँड्नु सजिलो हुन्छ ।'

गगनमा घामको लालिमा फैलिएको मात्रै के थियो गजाधरले काँधमा खन्ती बोकेर तल मैदानतिर ओरालो लागे । सुरुमा उनको चाल न छिटो थियो न ढिलो नै । सय गज टाढा गए पछि उनी रोकिए अनि एउटा सानो खाल्डो खने र त्यसमाथि देखिन सजिलो होस् भनेर सेउला राखे । त्यस पछि उनी फेरि अघि बढे । अब भने उनले आफ्ना कदम अलिक तीव्र पारे । एकै छिनमा उनले अर्को खाल्टो खने ।

गजाधरले फर्केर पछिल्तिर नजर लगाए । अघि छोडेको डाडोमा झलमल्ल घाम लागेको छ । चौधरीहरु सल्याङ्ग बल्याङ्ग गर्दै छन् । बग्गीका पाङ्ग्रा टिलिक्क टल्केका छन् । अनुमान नै लगाउने हो भने गजाधरले तीन मिलको यात्रा पार गरिसकेका छन् । गर्मी बढ्दै गएको छ । त्यसैले उनले गन्जी फुकाले र काँधमा झुण्ड्याए । अनि बाटो तताए । गर्मीले पसिना छुटे । उनले गगनमा नजर लगाए । डाँडाबाट तीन जुवा जति माथि घाम आइसकेछन् । विहानको खाजा खाने बेला भएछ ।

‘पहिलो प्रहरको काम त सिद्धियो । तर क्यै छैन, दिनमा चार प्रहर हुन्छन् । मोडिनु पर्ने बेला त अझै भ'को छैन । जुत्ता भने फुकाल्नु पर्ला ।' गजाधर मनमनै गम्न थाले । थचक्क बसे, जुत्ता फुकाले, पटुकामा झुन्ड्याए र बाटो तताए । हिँड्नलाई अलिक सजिलो भयो पनि ।


'अझै तीन माइल अगाडि जान्छु र त्यसपछि देब्रे मोडिन्छु । त्यो ठाउँ त यस्तो गज्जबको छ त्यसलाई गुमाउनु भनेको दुर्भाग्य हुन्छ । जति जति अघि गयो जमिन त झन् झन् राम्रो ।' केही बेर त उनी सोझै अगाडि हाँकिए । अनि भने उनले वरिपरि चारैतिर एकसरो नजर लगाए ।


'अझै तीन माइल अगाडि जान्छु र त्यसपछि देब्रे मोडिन्छु । त्यो ठाउँ त यस्तो गज्जबको छ त्यसलाई गुमाउनु भनेको दुर्भाग्य हुन्छ । जति जति अघि गयो जमिन त झन् झन् राम्रो ।' केही बेर त उनी सोझै अगाडि हाँकिए । अनि भने उनले वरिपरि चारैतिर एकसरो नजर लगाए । अघि छोडेको डाडो त धमिलो मात्रै देखिन्छ । त्यहाँ रहेका चौधरीहरु त कमिला जस्ता देखिन्छन् । घामको रापमा पर न जाने के के हलचल गरे जस्तो लाग्थ्यो ।

'अहो, म त धेरै टाढा आएछु ।' गजाधर सोच्न पुगे । 'अब त मोडिनु पर्दछ । त्यसो त पसिनाले निथ्रुक्कै भइएको छ, तिर्खाले घाँटी पनि उत्तिकै सुकेको छ ।'

उनी रोकिए र सानो खाल्डो खने । त्यस माथि सेउला हाले । तुम्लेट खोले र पानी पिए । अनि भने उनी सोझै देब्रे हानिए । उनी अगाडी बढ्दै गए, बढ्दै गए । छिचोली न सक्नु घाँस, उसमाथि टन्टलापुर घाम - गजाधरलाई कम सकस परेको होइन ।

गजाधरका नौ नारी गलेर आए । गगनमा सूर्य माथि झलक्क एकसरो नजर लगाए । मध्यान्न भएको रहेछ ।

'आछ्या, एकै छिन विश्राम गर्दा के नै फरक पर्ला र ?! उनी सोच्न पुगे ।

थचक्क भुईंमा बसे । खोकिलाबाट रोटी निकाले, नुन खोर्सानी दलेर खाए । तुम्लेटको बिर्को खोले, पानी पिए । तर एक झपक यसो उघौँ न त गरेनन्, किनभने त्यसो गर्यो भने सुतेको सुतेकै हुन बेर छैन । एकछिन विश्राम गरेर उनले फेरि आफ्नो पूर्ववत बाटो तताए । सुरुमा त उनी सहजै हिँडे । रोटीले उर्जा दिएको पनि हुन सक्छ । तर प्रचण्ड गर्मी थियो, हिँड्दा हिँड्दै झपक्क झपक्क उङ्ग आउन थाल्यो । तैपनि उनी हिँड्दै रहे । मनमनै सोच्थे, 'दुःख त क्षणभरको न हो, अनि त सुख जीवन भरको ।'


थचक्क भुईंमा बसे । खोकिलाबाट रोटी निकाले, नुन खोर्सानी दलेर खाए । तुम्लेटको बिर्को खोले, पानी पिए । तर एक झपक यसो उघौँ न त गरेनन्, किनभने त्यसो गर्यो भने सुतेको सुतेकै हुन बेर छैन ।


यस दिशामा पनि उनले निकै लामो चक्कर लगाए । उनी फेरि दाहिने मोडिने नै वाला थिए, अघिल्तिर मलिलो जमिन देखे । 'यो गुमाइयो भने त मुर्खता नै हुनेछ ।' मनमनै सोच्न पुगे । ' यहाँ सनपाटको खेती लगाए गज्जव हुनेछ ।' यसर्थ उनले यस जमिनलाई पनि ओगट्ने गरी चक्कर लगाए र अर्कातिर मोडिनु अघि त्यहाँ कुनामा चिनो लगाए । उनले सुरुमा प्रस्थान गरेको डाँडालाई पुलुक्क हेरे । प्रचण्ड घामले गर्दा वस्तुको आकृति पनि तल वितल भइरहन्थ्यो । डाँडाका मानिस त मुस्किलले भुसुना जस्ता देखिन्थे ।

'अहो, म त यता तिर यतिका टाढा पो आइछु त । अव भने छोट्याउनै पर्छ ।' उनी तेश्रो दिशा लागे, हस्याङफस्याङ गर्दै । उनले पुलुक्क घाम हेरे । घामले त्यस्तै दुई तिहाई बाटो काटी सकेका । उनले चक्कर लगाएको जमिनको तेश्रो घेराको दुई माइल पनि पार गरेका छैनन् । उनी लक्ष्यबाट अझै दश माइल टाढा छन् ।

'होस न त, एकातिरको मेरो जमिन अलिक टेढो भएर के नै फरक पर्छ र ?! अव ढिलो न गरी सिधै हानिनु पर्दछ । यतिको जमिन ओगटिने वाला छ, थोरै यो कम हो र ?!' गजाधर मनमनै सोच्न पुगे । छेउमा खाल्डो खने र चिनो लगाए । अनि सिधै डाडा तिर हानिए ।

  • झ –

गजाधर हानिन त सोझैँ डाडातिर हानिए । तर अव भने उनलाई हिँड्न निकै सकस हुन थालेको थियो । उनी गर्मीले चुर चुर भइसकेका थिए । उनका खाली खुट्टा यतै कोत्रिएका उतै कोत्रिएका थिए । पिडुला बाउठेका र खुटा थरथरी काम्न थालेका थिए । विश्रामको जरुरत थियो । तर उनलाई त्यसो गर्ने सुविधा नै कहाँ थियो र ?! घाम अस्ताउनु अघि नै उनलाई डाँडामा पुगिसक्नु थियो । घामले त कसैलाई पनि पर्खने होइनन् । घाम पर क्षितिजमा झन् झन् तल ओर्लदै थिए ।


गजाधर झसंग भए, 'अहो ! मैले त ठुलो भूल गरें । यति धेरै ओगट्न किन मरिहत्ते गरेको नि ?! कथं म समयमा त्यहाँ पुगिन भने कम्ता हुनुहार हुन्छ र ?!'


गजाधर झसंग भए, 'अहो ! मैले त ठुलो भूल गरें । यति धेरै ओगट्न किन मरिहत्ते गरेको नि ?! कथं म समयमा त्यहाँ पुगिन भने कम्ता हुनुहार हुन्छ र ?!'

उनले पर डाँडालाई र माथि घामलाई एकसरो नजर लगाए । उनी आफ्नो लक्ष्यबाट अझै टाढा थिए । घाम अस्ताचलमा पुग्नै लागेका थिए । उनी हस्याङ्गफ़स्याङ्ग गर्दै कुद्न थाले । अझै कुदे । तैपनि उनी लक्ष्य भन्दा टाढै थिए । उनले गन्जी फ्याँके, लु जा त जुत्ता फ्याँके, तुम्लेट फ्याँके र हुँदा हुँदा टोपी पनि फ्याँकिदिए । बाँकी उनीसंग खन्ती मात्रै रह्यो, त्यो पनि लौरोको रुपमा ।

'हे भगवान अब म के गरौँ ?! मैले यतिका ओगट्ने धृष्टता गरें ।' उनी पश्चताप गर्न थाले । 'सारा सपना धुलोपिठो भयो । घाम अस्ताउनु अघि अब म त्यहाँ मरी गए पुग्दिनँ ।'

यस भयले उनको सास झन् रोकिन पुग्यो । बिचरा झन् जोड जोडले दगुर्न थाले । उनका दौरा सुरुवाल पसिनाले भिजेर लछ्याप्रै भए । उनको मुख सुकेर आयो । उनको छाती लोहारको आरन जस्तो पोलेर आउन थाल्यो । उनको हृदय घनले हाने झैँ धड्किन थाल्यो । खुट्टा यस्तो हुन् थाले, मानौं ती आफ्ना हुँदै होइनन् । गजाधरलाई अब डर लाग्न थाल्यो कि कतै उनको यहीं नै ईहलिला समाप्त नहोस् ।

मृत्युको भय भएर पनि उनी रोकिन सक्दैनथे । 'म यसरी रोकिने हो भने त अरुले मलाई के भन्लान्, हात्ती छिर्यो पुच्छर अड्क्यो ! कस्तो मुर्ख र'छ ?!' उनी सोच्न पुगे । उनी दगुरादगुर गर्न थाले । हुँदा हुँदा चौधरीहरु बसेको डाँडो नजिकै पुगे पनि । तिनको कल्याङ कुलुङ सुने पनि । उनीहरु उनलाई चिच्याई चिच्याई बोलाइरहेका थिए । तिनको त्यो आवाजले उनको हृदय भने झन् झन् पोल्न थाल्यो । भए भरको साहस बटुलेर उनी दगुर्न थाले ।


मृत्युको भय भएर पनि उनी रोकिन सक्दैनथे । 'म यसरी रोकिने हो भने त अरुले मलाई के भन्लान्, हात्ती छिर्यो पुच्छर अड्क्यो ! कस्तो मुर्ख र'छ ?!' उनी सोच्न पुगे । उनी दगुरादगुर गर्न थाले । हुँदा हुँदा चौधरीहरु बसेको डाँडो नजिकै पुगे पनि । तिनको कल्याङ कुलुङ सुने पनि । उनीहरु उनलाई चिच्याई चिच्याई बोलाइरहेका थिए ।


घाम अस्ताचलमा टुप्लुक्क पुगे । तेर्छा किरणले गर्दा घाम बडेमाको मात्रै होइनन् रगत जस्ता रातो पनि देखिन्थे । अँ, अब भने घाम अस्ताउनै लागेका थिए । गजाधर पनि लक्ष्य भेदन गर्ने नै वाला थिए, नजिकै आइपुगेका थिए । डाँडाबाट चौधरीहरु 'छिट छिटो गर !' भन्दै हात हल्लाइरहेका थिए । उनी जमिनमाथि रहेको भुत्ले टोपी र त्यसमा आफूले राखेको पैसा झल-झल्ति देख्दै थिए । नजिकै बसेका मुखिया पेट मिची मिची हाँस्दै थिए । गजाधरले आफ्नो सपना स्मरण गरे ।

'जमिन त मनग्गे ओगटियो तर के दैवले त्यसलाई भोग्न देलान् र ?!' उनी सोच्न थाले ।' ' मेरो त हुनुहार भो, हुनुहार । म त्यो ठाउँमा मरी काट्टे पुग्न सक्दिनँ ।'

गजाधरले पुलुक्क घामतिर हेरे । आधा घाम डुबिसकेका । भए भरको तागत लगाएर कम्मर झुकाउदै दगुर्न थाले । उनी डाँडाको फेदीमा पुगेका मात्रै के थिए, अँध्यारो भयो । घाम टुप्लुक्क अस्ताइसकेका थिए । गजाधर रुँदै बिलौना गर्न थाले, 'मेरा सारा पसिना बेकार भए ।' उनी रोकिनै लागेका थिए, तर चौधरीहरु अझै जोड जोडले कराइरहेका थिए, 'आई पुग्नै लाग्यौ, बल गर बल !' गजाधरको निम्ति तल घाम अस्ता'का भए पनि माथि डाँडामा चौधरीहरुको निम्ति अझै बाँकी थिए । गजाधरले लामो सास फेरे र डाँडातिर कुद्न थाले । घामका पहेला किरण त्यहाँ अझै बिस्कुन झैँ छरिएका थिए । उनी डाडाको शिरमा पुगे । सामुन्ने आफूले राखेको टोपी देखे । उता मुखिया भने पेट मिची मिची हाँस्दै थिए । गजाधरलाई फेरि सपनाको याद आयो । उनको सुस्केरा बाहिर निस्कियो । उनका नौ नारी फतक्कै भए । डंग्रङ्ग भुईंमा लडे । हातले टोपी स्पर्श गरे ।


'बहुतै कमाल गरे यिनले, बहुतै कमाल !' मुखिया हर्ष बढ्याई गर्दै थिए । 'यिनले त्यत्रो जमिन ओगट्न पुगे । उस्तैले कसरी सक्थ्यो र ?!'

गजाधरको कारिन्दा दगुर्दै सामुन्ने आयो । उसले गजाधरलाई उठाउन चाह्यो । तर, अफसोच, उनको मुखबाट रगत आइरहेको थियो । गजाधर परमधाम गइसकेका थिए ।


'बहुतै कमाल गरे यिनले, बहुतै कमाल !' मुखिया हर्ष बढ्याई गर्दै थिए । 'यिनले त्यत्रो जमिन ओगट्न पुगे । उस्तैले कसरी सक्थ्यो र ?!'

गजाधरको कारिन्दा दगुर्दै सामुन्ने आयो । उसले गजाधरलाई उठाउन चाह्यो । तर, अफसोच, उनको मुखबाट रगत आइरहेको थियो । गजाधर परमधाम गइसकेका थिए ।

चौधरीहरूले आफ्नो ओठ टोके । तिनिहरुलाई सारै नरमाइलो लाग्यो ।

उनको कारिन्दाले खन्ती उठायो र गजाधर अट्ने गरी चिहान खन्यो । त्यसैमा उनलाई सुताएर पुरपार गर्‍यो । आखिर उनको शिर देखि पाउसम्म ढाक्न उनलाई जम्मा जम्मी छ फिट जमिन नै पर्याप्त भयो ।

Picture sources: https://upload.wikimedia.orghttps://tammakale.com and https://aloksama.files.wordpress.com

अनुवादकको टिप्पणी : पाठकहरुको सहजताको निम्ति मूल रचनाका निम्न नाम निम्न अनुसार परिवर्तन गरिएको छ ,

पाखोम = गजाधर, बाश्किर = चौधरी, भोल्गा = कोशी, सिमोन = बिर्खे

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लियो टोल्सटोय
लियो टोल्सटोय
लेखकबाट थप