शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा हिमपात: परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

शुक्रबार, २७ मङ्सिर २०७६, १६ : २०
शुक्रबार, २७ मङ्सिर २०७६

–दाने बोहरा
हुम्ला । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । 

आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् । कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताए । 

स्थानीय तहस्तरीय भएका कारणले सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्म रहेका सबै विद्यालयमा आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुसार आजदेखि परीक्षा एकसाथ सञ्चालन गरिएको शिक्षिका रावतले बताइन् । लेख्न नसकेर कक्षा १ र २ का विद्यार्थी रुन थाले पनि कक्षाकोठमाभित्रै आगो बालेर समूहसमूहमा राखी आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताइन् ।
   
आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा हिमपातले लेख्न कठिनाइ भएको बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताइन् । यस्तै सदरमुकाम सिमकोटमा रहेका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीले चिसोले गर्दा वार्षिक परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले बताए ।

कक्षा ९ को वार्षिक परीक्षा दिइरहेका सन्दिप जेठाराका अनुसार बिहीबारदेखि हिमपात हुँदा आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा चिसोले लेख्न कठिनाइ र लेख्दालेख्दै हातका औँला बाउडिने गरेका बताए । हिमपातले चिसो बढ्ने भएका कारण आफूहरुले हातेपञ्जा, बाक्लो कपडा लगाएर परीक्षा दिन कक्षाकोठामा गए पनि लेख्न नै समस्या बनाएको उनले जानकारी दिए । 
   
यस्तै वडा नं ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएकाले वार्षिक परीक्षा स्थगन गरेको छ । बिहीबारबाट निरन्तर हिमपात हुम्ला घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थी परीक्षामा सहभागी भएको वडा ३ मा रहेको रलिङ माविका शिक्षक सूर्यमणि बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ । चिसोले गर्दा उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जी, यारी, मुचु, गाउँका स्थानीयलाई घर बाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हवाइ उडान अवरुद्ध

बिहीबार बिहानदेखि शुक्रबारसम्म निरन्तर हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु हुँदा हवाई उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट बिहान ७ः०० बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता र समिट एयरलाइन्सका उडान प्रभावित भएका छन् । 

यहाँको तापक्रम माइनस छ डिग्रीमा झरेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । दोस्रोपटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए ।,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप