बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा मन्त्री बस्नेतको सम्बोधनः नेपाल जस्ता मुुलुकको जलवायु क्षेत्रमा लगानी गर्न धनी देशहरुलाई आग्रह

बिहीबार, २६ मङ्सिर २०७६, १५ : ३५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशहरुलाइ आह्वान गरेका छन् । 

स्पेनको राजधानी मड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाइ कार्बन उत्सर्जन र  बढ्दो तापक्रम न्यूनीकरण सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने उहाँको भनाइ थियो । 

मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता ब्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराए ।  गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उनले कार्बन उत्सर्जनको वर्तमान बृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरुले उच्चतम जोखिममा रहेको उल्लेख गरे । 

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दु–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औंल्याए । 

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्याधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उहाँले यो क्षेत्रमा विषेश ध्यान दिन सरोकारवालाहरुको ध्यानार्षण गराएका थिए ।
 
‘जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ,’ मन्त्री बस्नेतले भने । नेपालले स्थानीय स्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको जानकारी समेत उनले सम्मेलनमा दिए । 

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाइ प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी समेत गराए । उनले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप