मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बँदेल र हात्तीको आक्रमणमा ४ जना घाइते

बिहीबार, २६ मङ्सिर २०७६, १४ : १४
बिहीबार, २६ मङ्सिर २०७६

चितवन । बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो । 

बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए । उनीहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बदेलले आक्रमण गरेको थियो । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै कञ्चनपुरमा केही दिनयता जङ्गली हात्तीको समूहले आतङ्क मच्चाउँदै आएका छन् । बुधबार बिहान यहाँको महाकाली नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा दुई महिलाको ज्यान लिएको एक दिन नबित्दै फेरी बेदकोट नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट मुक्तकमैया बस्तीका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

बेदकोट–२ का वडाध्यक्ष नरेश सिंहले जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय सिताराम डगौंरा गम्भीर घाइते भएको जानकारी दिए । ‘बुधबार मध्यराति जङ्गली हात्तीको बधान मुक्तकमैया बस्तीमै पसेर आतङ्क नै मच्चाए’, उनले भने, ‘गाउँलेले हो–हल्ला गरेपछि मात्रै हात्ती वनतिर लागे ।’ बुधबार बिहान जङ्गलमा घाँस दाउरा सङ्कलन गर्न गएका महाकाली नगरपालिका–२ का ३८ वर्षीया बसन्ती भट्ट र ५० बर्षीया भुरी बोहराको भारतीय जंगलबाट आएका हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

उक्त घटनामा परेर स्थानीय चार महिला गम्भीर घाइते भएका छन । घाइतेमध्ये दुईको भारतको खटिमास्थित तपन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी गत असोज २९ गते शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । उक्त पीडित परिवारलाई सरकारले रु १० लाख राहत रकम उपलब्ध गराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप